मेरो चस्माको पावर स्थिर भएको पनि दशौँ वर्ष भयो। टाढाको नदेख्ने भएर होला, चस्मा मेरो प्रिय मित्र। आजभोलि त चस्मा पनि बजारमा अद्भुत किसिमको पाइँदो रहेछ। घाममा कालो न कालो देखिने, आँखालाई शीतल तुल्याउने अनि रातमा रङहीन देखिने चस्मा। आँखाको सर्जरी गर्न डर लागेर भनूँ या गोजीमा पैसो नभएर साथीको सल्लाहले मैले पनि नयाँ चस्मा किनिहालेँ, ताकि टाढाको पढ्न सकियोस्, टाढाबाट मान्छेहरू चिन्न सकियोस्।
म अझै सम्झन्छु, आँखाको कमजोरीले आफू एकोहोरो भई हिँड्थेँ, टोलका मान्छेहरू नचिन्दा मन खल्लो लाग्थ्यो।
मेरो टोलमा एक जना नेताजी हुनु हुनहुन्थ्यो। उहाँलाई कहिल्यै चस्मा चाहिँदैनथ्यो। चोकतिर हुने कार्यक्रमहरूमा जम्मा भएको भीडमा उहाँले नचिनेको मान्छे पाउन मुस्किल लाग्थ्यो। किनकि उहाँले भीडमा पनि एउटा अनुहार छुटाउनु हुन्नथ्यो। सबैसँग हात मिलाउने, बोल्ने अनि दुःख सुखका कुरा गर्ने भएकाले उहाँ सबैमाझ प्रिय नेता कहलिनु हुन्थ्यो। मलाई पनि उहाँ असाध्यै मन पर्थ्यो।
त्यस बेला उहाँ भन्नुहुन्थ्यो, ‘मेरो आँखा कमजोर छैन, मेरो मन नजिक छ। प्रत्येक जनता मेरा दाजुभाइ हुन्।’
हामी ताली बजाउँथ्यौँ।
मलाई पनि उहाँसँग हात मिलाउने खुबै रहर जाग्थ्यो। तर त्यो रहर कहिल्यै जुरेन। समयको रफ्तार चल्दै गयो। उहाँ पनि राष्ट्रिय स्तरको नेता बन्ने अभ्यासमा लाग्नुभयो। उहाँलाई भेट्न स्वदेशी मात्र नभई विदेशी पनि आउन थाले। उहाँको नारा आकर्षक थियो, जनताको समाजवाद।
समय बित्दै गयो, उहाँको आँखामा कालो चस्मा देखिन थाल्यो। मैले लगाउने चस्मा र उहाँले लगाउने चस्मा एउटै थियो। फरक थियो त, केवल तिनको मूल्य।
कुर्सीले हो कि बाध्यताले उहाँले चस्मा उपहार पाउनुभयो— कालो फ्रेमको, महँगो र विशेष गुण भएको।
त्यो चस्मामा देखिएको दिनदेखि उहाँ टोलमा पहिलेभन्दा बढी देखिन थाल्नुभयो। तर उहाँको साथीभाइ भेट्ने थलो भने उही थिएन। उहाँको घरमा विदेशी बास बस्ने गरेको पनि सुनिन्थ्यो। नाम चल्ने नेता भएर पनि होला, उहाँले भेट्न मानिसहरूको भीड लाग्थ्यो।
खोइ किन हो कुन्नि, मेरो नजिकका आफन्तहरू उनीभन्दा चार कोस परै हुन्थे। आजभोलि चस्मा लगाएदेखि उहाँले प्रत्येक विदेशी नेता, व्यापारी र साहु महाजन, टोले गुन्डा सबै चिन्नुहुन्थ्यो। तर टोलका जनता नजिक हुँदा चस्माले चिन्न गाह्रो पार्थ्यो, उहाँको चस्मा, यानिकि टाढाको क्यामेरा— एकदम स्पष्ट।
आज नेताजी फेरि मेरो टोलमा आउनु भएको थियो। हामी उहाँकै लागि उभिएका थियौँ— घाम, धुलो, आशा सबै बोकेर।
आमाले घरमा मलाई भन्नु भएको भयो, ‘कुरेर काम छैन, नेताले तँलाई चिन्दैन।’
मैले भनेँ, ‘आमा, किन नचिन्नु? हाम्रै नेता त हो नि।’
कार्यक्रम सुरु भयो, मेरै अगाडिबाट नेताजी स्टेजमा चढ्नुभयो। सबैले ताली बजाए। नेताले मलाई हेरेको जस्तो पनि गरेनन्। खुरुखुरु स्टेज चढ्नुभयो। उहाँले चस्मा मिलाउनुभयो। साम्राज्यवाद विरोधी गगनभेदी भाषण गरे। दर्शक दीर्घाबाट फेरि ताली बज्यो।
‘प्रिय जनता,’ उहाँले भन्नुभयो, ‘म तपाईंहरूसँगै छु।’
हामी एकअर्कालाई हेर्दै हाँस्यौँ। किनकि उहाँ स्टेजमा हुनुहुन्थ्यो, हामी जमिनमा। भाषण सकियो। ताली बज्यो— अधिकारप्राप्त हातहरूबाट।
नेताजी गाडीभित्र पस्नुभयो। एसी चल्यो। गाडीभित्र एक सुन्दर युवती सँग उहाँले फुसफुसाउनु भयो।
फेरि चस्मा झिक्नुभयो।
त्यतिकैमा, एक वृद्ध काका लट्ठी टेकेर गाडीको झ्यालतिर अगाडि बढे।
‘हजुर, मैले चिनिनँ,’ नेताजीले चस्मा पुछ्नुभयो। फेरि चस्मा लगाएर काकालाई भगाउनु भयो।
काका गायब भए।
गाडी अघि बढ्यो। धुलो उड्यो। धुलोले हाम्रो आँखा मात्र होइन, मन पनि पोल्यो।
साँझ चिया पसलमा पुग्दा सन्नाटा थियो। त्यही वृद्ध काका बोल्नुभयो, ‘चस्माले होइन, नेताले हामीलाई नदेखेको रहेछ।’
सबै हाँस्यौँ। तर त्यो हाँसो अलि बेरमै आँसुजस्तै चुपचाप झर्यो। बेलुकी आमाले बिस्तारै भन्नुभयो, ‘बाबु, हामी त अझै भुइँमै छौँ। अब उहाँको हैसियत हामीसँग मिल्दैन।’
त्यो दिन मैले बुझेँ— नेता दृष्टिविहीन हुँदैन। चस्मा लगाएपछि भुइँमान्छे बिर्सिँदै जाँदो रहेछ।
तैपनि चस्माले जोगाएछ कि कसो, जेन्जी आन्दोलनमा उनको घर र पैसा जलेन। बाटोमा हिँड्ने बटुवाले समेत उहाँको घर बचेकोमा अचम्म मान्थे। चस्मा त तगडै रहेछ।