सबैलाई खुसी बनाउने चक्करमा
म आफू खुसी हुने मौका गुमाइरहेको त छैन?
यता रिसाउलान् भन्यो
यता रिझायो
रिसाएर बन्द भएको बोली फर्काउन खोज्यो।
उता मन दुखाउलान् भन्यो
उतै मन फर्कायो
उता रिसले रापिएको आगोको झोक्काले झसङ्ग बनाउँछ।
के म आफैँमा खुसी हुनलाई
यसलाई र उसलाई, यता र उता सबैलाई रिझाइदिन पर्ने हो?
आफैभित्र तनावग्रस्त मन र मस्तिष्कको लडाइँलाई
थाम्न मुस्किल भएका बेला
यसको र उसको खुसीको जिम्मेवारी
मैले नै बोकिदिन पर्ने हो?
उता त्यो रिसाएको बेला,
यता यसको गाली र हेपाइ
खाइरहनु मात्रै हो त मेरो भागमा?
यो जिन्दगी वास्तवमा कस्का लागि?
भन्ने प्रश्नले पिरोली रहेछ
उत्तर दिने कसले?
यसले कि उसले?
बरु कामदारले समय खर्चिए अनुसारले
आफ्नो हिस्सा प्राप्त गर्छ र खुसी हुने कोसिस गर्छ
तर म त न हिस्सा खोजिरहेको छु
न त फाइदा नै
म केवल ‘म’ भएर जिउने अनुमति मागिरहेछु।
सधैँ आफ्नै सोचेर मैले
मेरो जिन्दगीको आधाभन्दा बढी हिस्सा
यसलाई र उसलाई सुम्पिएको छु
सायद अब हिसाब गर्ने बेला भयो होला
कि अझै हिसाबमा जित्नलाई
त्यसलाई र उसलाई मेरो बाँकी जीवन पनि
समर्पण गर्न पर्ने हो?
यो मन यति बिथोलिएको छ कि
म व्यक्त गर्न सकिरहेको छैन।
मेरो वर्तमान कहाँ, मेरो भविष्य कहाँ?
के मैले सधैँ अरूकै लागि जिउने हो?
म मेरो भएर जिउन नपाउने?
म मेरो लागि जिउन नपाउने?