म संसार खुसी बनाउनभन्दा पनि
आफूमै केन्द्रित छु यो समय
किनकि समयका अनगिन्ती ओराली र
उकालीहरूमा मैले आफ्नो वरपरकालाई
खुसी बनाउन धेरै श्रम, समय र दिमाग खर्च गरेँ
मानिसबाट नभए पनि भित्ताको कानबाट नै
सही सुनेँ, देख्न विवश भएँ
अतृप्त देहहरू जहिले उदासीन नै देखिए
मेरो समर्पण मात्र होइन, मेरो अस्तित्व पनि
उनीहरूको नजरमा शून्य पाएँ
जब मैले आफ्नाहरूकै निमित्त
अर्पिएर रित्तिएको आफ्नो मनलाई सोधेँ!
स्त्री चेत हुनाको खातिर
क्रूरहरूप्रति पनि नम्र भएँ
पलपल भित्र रोएर बाहिर हाँसेँ
सबै कर्ममा एक्लै विवश भएर पनि
आफ्नाहरूका दुख बढार्न खोजेर म
कुचो बनेँ र अन्तिममा तिनीहरूकै नजरमा
कसिङ्गरमा परिणत भएँ
उनीहरूलाई न्यानोपन दिन म
अगेनामा हर बिहानी र साँझ बलिरहेँ
खरानी बनेपछि थाहा पाएँ
अगाडि ढोगेर पछाडि लात हान्नेहरूको पहिचान
र म विवश भएँ हुरीसँग मिसिएर टाढा जान!
कहिले नकाबधारी खलनायकहरू उभिए
रावण बनेर
कहिले दुर्योधन
कहिले कंश
कहिले हिरण्यकश्यपु त कहिले
सुपर्णखादेखि पूतनासम्म आए
जुन जन्मघरदेखि सुरु भएर
कर्मघरसम्म आइपुग्यो
अन्यायको वृक्ष फस्टाउँदै गयो
कलियुग हो भनेर सहँदै गएँ!
तर राम, कृष्ण अनि शिवका
साथै देवीका आकारहरू
केबल मूर्तिमै कैद भएपछि मलाई
डर लागिरहेछ
राक्षसको चंगुलबाट देवताहरू कैद भएको
युग त होइन यो?
नत्र घोर अन्याय, अत्याचार अनि
हिंस्रक गतिविधिहरू चुपचाप हेरिरहेछन्
यी तेत्तीस कोटि देवताहरू?
सूर्योदय र सूर्यास्तसम्म थाहा नहुने गरी
किन दर्दनाक चौघेरा भित्र कैद
कर्मशील सज्जन स्त्री आकृतिहरू
पुरुषवादको जन्जिरभित्र तड्पिरहेछन्
उनीहरूकै आफ्नो सन्तान नहुनुको
श्राप भोगिरहेछन् चेलीहरू
विभेदको रापमा सन्तानका खातिर
जीवित छन्
भोलि त्यही सन्तान पासो थापेर अर्को
पराई स्त्रीलाई जघन्य पीडा दिन तयार
नहुन अबका नवयुगका सत्यवतीहरू
जो आज आफ्नो हर प्रहर आँसु पिएर
बाँचिरहेछन्
ममताको तरंग नभेटिने अनकन्टार
सुक्खा मरुभूमिलाई पनि
सुखको छहारी बनाउन सक्छु कि
भनेर आँसु पसिनाको खोला
बगाई एक्लै पलपल मरेर
अस्तित्व जोगाइ रहेछन्!
कहाँ छ, न्याय चार दिवार भित्र कैद
स्त्री आकृतिप्रति
आवाज बन्द गराइन्छ एका दुई
अपवादमा रहेका दुर्गुणका स्वभाव देखाएर!
बाहिरबाट सुन्दर देखिने दिवारमा
कतै उनकै सिन्दूर जस्तो लाग्ने धर्काहरू
उनको रगतबाट कोरिएका त होइनन्?
पराई हुनुको खातिर कतै पुरुष साम्राज्यका
ममतामयीको प्रहारका चोट छोप्न
संस्कार, धर्म र कर्तव्यको
घुम्टो ओढाइएको त होइन?
कतै सत्तामा बसेको बूढो सिंहले
आफ्नो सत्ता सुम्पिन नचाहेर
यो दर्दनाक खेलमा अर्काको
सन्तान बली चढाएको त छैन?
त्यसैले माफ गर मेरो प्यारो प्रिय मान्छे,
म तिम्रा दिवार भित्रका समग्र खेल
खपेर तिमीलाई आफ्नो सुनौलो उमेर
अर्पण गरिसकेर
तिमीलाई आफू टुक्रिएर
मभन्दा प्यारो वंश उपहार दिएर
आज शून्यताको मार्गतर्फ केन्द्रित गर्दैछु
तिमी पनि जीवनदेखि हारेछौ भने
यो झुटो मोहबाट जागृत भएछौ भने
निस्फिक्री आउनु मेरो
आश्रमतर्फका गोरेटो तिर
तिमीलाई स्वागत गर्नेछु।