दिनहुँजसो बिहान निद्राबाट जाग्ने बित्तिकै फेसबुक खोल्ने बानी मेरो। त्यो दिन पनि त्यस्तै थियो। बिहान करिब सात बजेको थियो होला, फेसबुकको नोटिफिकेसनमा थियो- फ्रिडा टोल एसेप्ट योर फ्रेन्ड रिक्वेस्ट। अचम्म लाग्यो कस्तो नाम! कहिले पठाएँ रिक्वेस्ट मैले? किन एसेप्ट भयो?
यो कौतुहलताले मलाई त्यो अपरिचित मान्छेसँग बोल्न कर गरिरहेको थियो। मेरो हात त्यो मान्छेसँग बोल्न लालायित भइरहेको थियो। म आफै नै त्यो अपरिचित व्यक्तिसँग बोल्न हतारमा जस्तो थिएँ। मैले नै सुरु गरेँ हेलो भनेर। तर मलाई हतार छ भनेर कोही मेरो पर्खाइमा त हुँदैन नि। त्यसको जवाफ पाउनलाई करिब दुई दिन नै लाग्यो, हजुर भन्दै!
लाग्थ्यो फेक आइडीबाट मलाई साथीहरूले मजाक गरिरहेछन्। सोधेँ, ‘यो फेक आइडी हो?’
उताबाट जवाफ आयो, ‘किन? कसरी?’
मैले भनेँ, ‘कस्तो अनौठो नाम त्यही भएर सोधेको।’
उताबाट प्रतिउत्तर आयो, ‘के अनौठो नाम राख्दैमा फेक हुन्छ र?’
एक मनले सोचेँ, आफ्नो व्यक्तिगत जीवनमा आफूलाई मन पर्ने नाम पनि राख्न नपाउनु!
कुरा हुँदै जाँदा प्रमाणितको लागि भए पनि एउटा भ्वाइस म्यासेज पठाउन भनेँ। निकै समयपछि रिप्लाई आयो, ‘अझै पनि विश्वास छैन।’ त्यसपछि त लगभग फेक होइन भन्नेमा ढुक्क भई कुरा गर्न थालेँ।
म लोक सेवाको तयारीमा लागेको भनेर एक दिन उनले अनौठो तरिकाले प्रश्न गरिन्। मैले पनि हार खाइरहेको अवस्थामा कसरी हो भनूँ वा कसरी होइन भन्न सकूँ अक्क न बक्क अवस्थामा आइपुगेँ। त्यसपछि स्नातक पढिरहेको र कहिलेकाहीँ समय मिलाएर यता पनि हेर्ने गरेको भनेर छिट्टै उम्किने बहाना बनाएँ।
दिनहुँजसो हाम्रो कुरा भई नै रहेको थियो। कहिले फोनमा, कहिले भिडियो च्याटमा त कहिले म्यासेजमै भए पनि बिहान दिउसो साँझ हामी आफ्नो पढाइमै रहेर कुनै शीर्षकको बारेमा छलफल गरिरहन्थ्यौँ।
काठमाडौँको त्यो चिसो कोठा, विभिन्न रहर र बाध्यताको साथ समयको चक्रसँगै मलाई पनि घुमाइरहेको थियो; कहिले कता त कहिले कता। एक दिन मैले उनलाई सोधेँ, ‘किन यो अनौठो नाम राखेको?’
उनले भनिन्, ‘यो एकजना विश्व प्रसिद्ध महिला हुन्। उनको नाम मन परेर मैले पनि त्यही नाम राखेकी।’
उत्तर पाएँ मैले। सायद उनले साँचो बोलेकी हुन् कि साँचो भन्न नखोजेर हो, जे उत्तर पाएँ त्यसलाई नै मैले चाहेको उत्तर मानी उनीसँगै दिनदिनै कुरा गर्दै गएँ। हाम्रो कुरा हुन लागेको पनि करिब तीन महिना हुन लागेको उनलाई बताएँ। उनले पनि साउती दिँदै हो भन्दै अनेक भन्न थालिन्।
एक दिन उनले मलाई भेट्न चाहेको कुरा भनिन्। मैले त हुँदैन भन्दै इन्कार गरिदिएँ। उनले रिसको झोकमा सिधै भनिन्, ‘नभेट्ने भए हामी कुरा किन गर्ने? किन बोल्ने? यसको कुनै अर्थ छैन, हामी आजबाट बोल्न छाडिदिऊ।’
यसो भन्दा म कुनै चौरमा राखिएको कुनै तस्बिरको प्रतिबिम्ब जस्तो भएँ; देख्न सक्ने, अनुभव गर्न सक्ने तर बोल्न नसक्ने। विभिन्न बहाना बाजी गरे पनि त्यसबाट म उम्कन सकिनँ र हुन्छ भनिदिएँ।
मसँग पैसाको अभाव भएको र आउन नसक्ने पहिला नै भनेको हुनाले ‘तपाईं आउनुस् मात्र, अरू व्यवस्था म नै गर्छु’ भनेकी थिइन्। हामीबिच न प्रेम थियो न केही सम्बन्ध, फेसबुकमा अपरिचित तरिकाले भेट भयौँ र कुरा हुँदै जाँदा यति सामीप्य बढ्दै गयो कि भेटसम्म हुने अवस्था आयो।
काठमाडौँको कलंकीमा आफ्नो निश्चित स्थानमा जाने गन्तव्यमा रहेका व्यक्तिहरूको हुलमा म पनि मिसिएर उनले भनेको ठाउँमा जाने गाडीको झ्याल पट्टिको सिटमा बसेँ। माहौल निकै रमाइलोसँगै डर पनि थियो। उनले किन बोलाइन् मलाई? मैले किन त्यहाँ जानको लागि हुन्छ भनिदिएँ? यस्तै यस्तै सोच्दै म उनले भनेको ठाउँमा पुगेँ। बिच-बिचमा उनले फोन गरी सोध्दा म यस्तो ठाउँमा छु गाडी त्यही रोक्नु भनी आदेश दिन्थिन्। म हुन्छ भन्दै फोन राख्थेँ।
मेरो गन्तव्यमा पुगेपछि गाडी रोकियो। मभन्दा पहिला नै उनी त्यहाँ आएर बसेकी रहिछन्। मलाई देख्ने बित्तिकै मन्द मुस्कानसहित स्वागत गरिन्। निलो पाइन्ट, सेतो हाइनेक, कालो ज्याकेट, घुँडासम्म आएका जुत्ता, मुखमा हल्का मेकअप गरेकी उनी फोनमा देख्दाभन्दा निकै राम्री देखिएकी थिइन्।
मैले नै कहाँ जाने भनेँ किनकि म त उनको पाहुना। उनले कफी खान जाऊँ भनिन्। म भने निरीह जस्तै उनलाई नै एकटकले हेरेर बसेको थिएँ। उनले फेरि भनिन्, ‘हेलो सर! जाने हैन?’
म झसङ्ग भएँ। उनको लहलहैमा लागेर कफी खान जान हुन्छ भनेँ। उनले ल्याएको रातो स्कुटरको पछाडि सिटमा बसेर थोरै धेरै कुरा गर्दै कफी स्टेसन पुग्यौँ। उनले कफी अर्डर गरिन् र खाजाको रूपमा मम ल्याउनुस् भन्दै वेटरलाई भनिन्। विभिन्न कुरा गर्दै गर्दा उनलाई कोसेलीको रूपमा काठमाडौँबाट किनेको सुन्तला दिँदै भनेँ, ‘तिमीलाई ल्याइदिएको।’
उनले मुसुक्क हाँसेर धन्यवाद भन्दै आफ्नो झोलामा राखिन्। त्यो क्याफेमा करिब तीन घण्टाको बसाइँमा हामीले पढाइदेखि घर-परिवारसम्मको सबै कुरा बुझ्न भ्यायौँ। उनको घर तनहुँ रहेछ, पढाइको सिलसिलामा हजुरआमा-हजुरबुबासँग यतै बसेको भन्दै सबै कुरा भन्दै गइन्।
करिब तीन घण्टाको बसाइँपछि हामी छुट्टिने समय आएको थियो। उनलाई बसपार्कसम्म पुर्याइदिन आग्रह गर्दै भनेँ, ‘मेलै सोचेभन्दा तिमी निकै फरक र आत्मीयताको उदाहरण हौ।’ यस्तै कुरा गर्दै बसपार्क पुग्यौँ। काठमाडौँ जाने गाडी ठिक बाटोमा उभिएको सायद मेरै लागि होला। त्यो गाडीको पछाडिको सिट खालि थियो म गाडीको ड्राइभरसँग कुरा गर्न नपाउँदै उनले गाडीको टिकट पनि काट्न भ्याइसकेकी।
उनी पनि घर जान हतारमै थिइन् जस्तो थियो। घरमा साथीलाई भेट्न जान्छु भन्दै आएको उनले पहिले नै भनेकी थिइन्। म गाडीको पछाडि सिटमा बसी उनलाई बाई गरेँ उनी पनि स्कुटरको हेलमेट टाउकोमा लगाई मलाई बाई गरिन्।
गाडी अगाडि बढ्दै गयो र उनको र मेरो दूरी पनि। सोचेँ, त्यो फेसबुकको अनौठो नाम अनि उनलाई भेट्नको लागि जाने मेरो इच्छा, उनले मलाई देखाएको साथीत्वको भाव, यही हो त प्रेम।