रूद्रकली-खगेन्द्र प्रसादको मनोभाव
नेपालकै उर्बर अन्न भूमि, अमूल्य वनस्पतिले धनी, हरियाली घना जंगल, नदीनाला, चारकोशे झाडी, रंगीविरंगी फैलिएका सुन्दर फाँट, चकलेटी साना पहाड, दुर्लभ वन्यजन्तु ,चराचुरंगी, एसियाकै दुर्लभ कृष्णसारको बासस्थान, डल्फिन, बाघ, भालु लगाएत भीमकाय हात्तीहरूको मनपर्ने बासस्थान भएको रमणीय क्षेत्र प्यारो बर्दिया म कसरी भुल्न सक्छु र?
हरेक नाला, रूखका हाँगा, फराकिला फाँट सबैसँग अंकमाल गरिसकेको छौं हामीले, जहाँ मैले मेरी रूद्रकलीलाई घुमाउन पहिलो पटक लिएको थिएँ बर्दिया। हामी एक झलकमै मन्त्रमुग्ध भएका थियौं।
हुन त आफू जन्मेको हुर्केको खेलेको ठाउँ कसलाई पो प्यारो नलाग्ला र? तर म अरू जस्तो देशकै एक ठाँउबाट अर्को ठाउँ बसाइँ सरेको भए केही गुनासो थिएन आफ्नै जन्मभूमिको हावापात, वनजंगल अनि नदीनालाको स्पर्श गरिरहेको हुन्थेँ होला। मसँगै खेलेका हुर्केका साथीसंगीको खबर चराचुरंगी अविरल चल्ने बतासका माध्यमबाट मेरा यी ठूला कानमा परिरहेका हुन्थे होला र म दंग हुन्थेँ र भुल्थेँ होला।
म त छु धेरै टाढा-टाढा कहाँ हो कहाँ मैले अनुमानै गर्न सकेको छैन। मेरो होस आउँदा तपतप आँसु झारिरहेकी बिलौना गरिरहेकी मेरी रूद्रकलीलाई देख्छु अनि सम्झाउँछु।
मन खोलेर रून पनि त म सक्दिनँ किनकि मैले मेरी रुद्रकलीलाई सम्हाल्नु छ र एक मुठी सासका लागि संघर्ष पनि त हामीले गर्नुछ। के गर्नु एक अर्कालाई हेरी मन थामिरहेका छौं। यो बिरानो भूमिमा आफूलाई सम्हाल्दै रूद्रकलीलाई सम्झाउँदै बलिन आँसुका धारा बगाउँदै प्यारो देश नेपाल अनि मेरो र रूद्रकलीको जन्मस्थान चितवन र हाम्रो प्रेम स्थल बर्दियालाई सम्झँदै।
लाग्छ हामीले कुनै जुनीमा गरेको पाप त भोग्नु परेको हैन? न हावा हाम्रो अनुकूल भएको छ न आहारा न पानी। आँखाले चियाउँदासम्म पनि कतै हरियाली, हरिया घाँसे मैदान, नदीनाला भएको आभास हुँदैन। चरा चुरंगी, कृष्णसार, पाटे बाघ, स्याल, बाँदर, भालु, मृग साथै रूद्रकली र मसँगै खेलेका मेरा हात्ती अन्य मित्रहरूको कतै आवाज गुन्जिँदैन। कतै केही नेपालको आभास हुँदैन। हामीलाई हेर्न आउने नेपाली दाजुभाइहरूको अनुहार देखिँदैन सबै बिरानो देख्छु, उराठ देख्छु। कहिल्यै अनुभव नगरेको वातावरण भेट्छु।
हामी कहाँ भुल्न सक्छौं त्यो विशाल चारकोसे जंगल जहाँ हामी हुर्केका थियौं, खेलेका थियौं। कहाँ भुल्न सक्छौं त्यो कञ्चन बग्ने नदी जहाँ हामी गर्मीयाममा घन्टौं पौडी खेलेर बिताउँथ्यौं।
मेरा बुवाआमा, काका काकी अन्य साथीहरू संगै। अनि आरक्षभित्रका हाम्रो प्यास मेटाउने ती साना साना नालाहरू कहाँ भुल्न सक्छौं र? अझ त्यो दिन याद छ मलाई र रूद्रकलीलाई हाम्रा आमा बुवाले नदीमा नुहाउन लिँदा पौडिन नजानी डुबेको अनि आमाले मलाई च्याप्प समाएर बचाएको अझै ताजै छ।
मलाई याद छ त्यो ठूलो सिमलको रूखको फेदमा हामी ओत लागेको, नालापारिको साजको रूखमा ढाड कनाएको अनि अलि तल भएको खयरको रूखमा सिंगौरी खेलेको मलाई र मेरी रूद्रकलीलाई अझै याद छ।
मेरो र रूद्रकलीको पहिलो आँखा जुधेको त्यो पवित्र हाम्रो लभर पोइण्ट अझै याद।
नुहाएर पारि पट्टिको बगरमा बालुवा खेल्दाखेल्दै जिस्किएको अनि सँगै मालुका हाँगा भाँचेर खाएको, हरिया पलाएका स्वादिला पालुवा घाँसहरू खाएको अनि घर फर्किँदा ढिला भएको मलाई अझै याद छ।
मेरो र रूद्रकलीको बुवाआमा, नातागोता सहित हाम्रा साथीहरूसँग घना बर्दियाको जंगल घुम्दै, खेल्दै चर्दै गर्दा जंगलमा रहेका हाम्रा भीमकाय आफन्तहरूलाई भेटाएको अनि घन्टौं कर्णालीको कञ्चन नदीमा पौड्दै लुकामारी खेल्दै आनन्द लिएको म कहाँ बिर्सन सक्छु र?
मैले चरण चर्ने त्यो घना जंगल, त्यहटी रहेको बडेमानको सिमलको रूख जुन ५०० वर्षभन्दा नि पुरानो भनेर सुनाउनुहुन्थ्यो मेरा बाजेले। त्यो सिमलको रूख जहाँ म छहारी लिन्थें, ढाड कन्याउँथें। त्यही रूखबाट खसेका सिमलका भुवासँगै खेलेका ती पलहरू अब म कहाँ पाउँला र?
मसँगै खेल्ने त्यहाँका अनगन्ती साथीहरू; चराचुरूंगी, कृष्णसार, मजूर, खरायो, जरायो, दुम्सी, बदेल, निलगाईं, बथानका बथान बाह्रसिंगे, स्याल बाँदरहरू लगायतसँग फेरि अब खेल्न, चर्न लुकामारी गर्न अब म कहाँ पाउँला र?
त्यो फराकिलो हरियो फाँट जुन हाम्रो खेल मैदान अनि साथीहरूसँग हाम्रो भेटघाट गर्ने स्थल नै थियो। त्यही बीचमा रहेको बुढो खयरको रूखलाई अब म कहाँ पाउँला र? त्यही रूखमा घर्सन, टाउको कन्याउन अनि सुँडले तानेर डाला खान अब म कहाँ पाउँला र? त्यो ठूलो हरियो फाँट भएको चौर अनि मेरा साथीहरू अब म कहाँ भेटौंला र?
रूद्रकली र मेरा यादहरूले भरिएका अनि बिताएका ती मनमोहक स्थानहरू, मेरा बाआमाहरू, मेरा साथीभाइहरू, आफन्तहरू अनि जन्म भूमिको त्यो सुगन्ध अब कहाँ भेटिएला र यो जुनीमा कहाँ पो पाइएला र?
नेपाल मेरो भूमि, मेरा लागि मेरो गाउँ, मेरो ठाउँ थियो र हाम्रो मानशान थियो। जहाँ म निस्फिक्री घुम्थे, रमाउँथें, हाँस्थें, खेल्थे मलाई लाग्थ्यो स्वर्गको एक टुक्रामा म बयाली खेल्दै छु, रम्दै छु, हुर्किँदै छु।
हात्ती महोत्सवमा रूद्रकली नाचेको अझै याद छ, ऊ सजिएर लमक लमक कम्मर मर्काउँदै तालमा ताल मिलाउँदै नाँचेको अझै याद छ। घुम्न जाँदा देखिएका चारैतिर फैलिएका गहुँ बारी, पहेलै लहलह फुलेका तोरीबारी अनि वर्षायामका हरिया मकैबारी र पहेंला धान बारीका लोभलाग्दा फाँटहरू देख्दा मन आनन्दित हुन्थ्यो। मेला महोत्सव अनि माघीको रौनकमा थारू संस्कृति नाचगान र कलाले हामी पनि मोहित हुन्थ्यौं र रमाउँथ्यौं। अब केवल याद मात्र हुने भयो केवल याद यो बिरानो मुलुकमा म खगेन्द्र अनि मेरी रूद्रकलीका साथ।
हुन त हामी त जाबो हात्ती त्यस्मा पनि लोप हुँदै गइरहेको एक प्राणी। अझ गरिब देश कहिल्यै अघि बढ्न नसकेको भ्रष्टाचार अन्याय अत्याचार र आपसी कलहमा थिचिएको सानो देश नेपालबाट कसैलाई उपहार स्वरूप दिइएको एक भेट।
हाम्रो के नै अर्थ छ र होला? कसले पो हाम्लाई सम्झिएला र? हालसम्म हेर्ने हो भने मेरो देश नेपालबाट मानव जाति करिब ५० लाख जति आफ्नो जन्म भूमि, मातृभूमि र आफ्ना प्रियजन र साथीभाइ छोडेर पराई भूमिमा जिउन विदेशिएका छन् रे।
करिब ३० लाख जति त हामीलाई पठाइएको मध्यपूर्वी क्षेत्रका देशहरूमा आफ्नो खुन, पसिना बगाउँदै छन् रे। परिवारको खाना, औषधि-मुलो अनि छोराछोरी पढाउन खर्चको जोहोका लागि।
करिब ६ लाखको हाराहारीमा त हामीलाई राखिएको यही देश कतारमा मेरो मातृभूमि मेरो र रूद्रकलीको पवित्र जन्म भूमिबाट आएका मेरा आफन्तीहरू नेपालीहरू छन् रे। आफ्ना सन्ततिको उज्ज्वल भविष्य कोर्ने चाहना बोकेर खुन पसिना बगाई धनको जोहो गर्न आएकाहरू, मेरो र रूद्रकलीको के कुरा गर्नू , किन बिलौना गर्नु हैन र?
म नेपाल आमासँग प्रार्थना गर्दछु, हे आमा, हे श्रीपशुपतिनाथ म बिन्ती गर्छु, अर्को जुनीमा मेरो र रूद्रकलीको जन्म प्यारो भूमि नेपालमै गरिदिनुहोला। जहाँ म मेरा सन्ततिलाई भेट्ने छु, उनीहरूसँगै खेल्नेछु, निष्फिक्री, निसंकोच, निडर, खुला हावा लिएर जलक्रिडा गर्दै माटोसँग अंगालो मार्दै उही रूद्रकली, उही खगेन्द्र अनि मेरो नेपाल आमालाई चरण स्पर्श गर्दै।
हे कालभैरव शक्ति छ भने अर्को जुनीमा मलाई मेरो देश नेपाल बर्दियामा पुनर्जन्म लिन सक्ने बरदान दिनुहोस्। आशीर्वाद दिनुहोस्, यो जुनीमा त उपहार बनाएर पठायौ अर्को जुनीमा त्यो नहोस् म र रूद्रकलीले बितेका सुनौला पलहरू फेरि सजाउन, फेरl उही मायाजाल लगाउन मनमोहक बर्दियामा जीवन बिताउन पाउने वरदान देऊ हे भैरव, हे नेपाल आमा।
हे नेपाल आमा यो जुनीमा नभएनि अर्को जुनीमा मेरो देश स्वर्गझैँ सजियोस्, विश्वसामु मेरो देशको शिर ठाडो होस् नेपाल र नेपालीको मान, शान र पहिचान संसारभरि फैलियोस् मेरा प्यारा नेपाली दाजुभाइ दिदी बहिनीहरू आफ्नो खुन पसिना बगाउन कहिल्यै पराई देश बस्न नपरोस्।
मेरो देश नेपाल भूमिमा रमाउन पाइयोस्, सगरमाथाको छहारी लिन पाइयोस्, बुद्धभूमिको दिव्य ज्ञानको ज्योति छर्न पाइयोस्, सयौं थुंगा फूलका हामी एउटै माला बन्न पाइयोस् अनि विश्वसामु गौरवका साथ ठाँटसँग शिर उठाएर हामी हिँड्न लायक हुन पाइयोस्।
अर्को जुनीमा पनि, म र रूद्रकाली प्यारो बर्दियामै जन्मन सकौं। बर्दियामै जन्मन सकौं।