गोलो अनुहार, पुक्क परेका गाला, छोटो कालो कपाल अनि देब्रे आँखामुनि सानो कालो कोठी; झलक्क हेर्दा यसरी नै वर्णन गर्न सकिन्थ्यो जुनालाई। उज्यालो अनुहार, त्यसैले नि होला ऊ बेला हजुरबाले मेरी नातिनी त जून जस्तै उज्याली छे भन्दाभन्दै कसैले जून, कसैले जूने भन्दा भन्दै ऊ जुनामा गएर अडिई।
पहिलो सन्तानको रूपमा घरमा लक्ष्मीको रूप भएर जन्मिएकी थिई जुना तर ऊ बेला कति नै पो एउटी छोरी लिएर बस्न दिन्थे र! त्यसको केही समयमा फेरि जुनाकी आमा भरे भोलि भइहालिन्। दोस्रो पटक पनि घरमा छोरी नै जन्मिई। त्यसपछि के जुनाकी आमाले पेटभरि खान पाइन् होला?
अहिले एक्काइसौँ शताब्दी भने पनि कतिको चेतनाको स्तर अझै वृद्धि भएको छैन। मान्छे बोलीमा के-के नै हाँक्छु झैँ कुरा गर्छन् तर भित्र सोच भने उहीको उही नै छ। पहिलो सन्तान भएर जन्मिनुमा खुसी हुनु कि दुःखी? जुना पनि त बच्चै थिई, उसले नि के बुझोस् र! तर पनि अलि ठुला हुने बित्तिकै घरका काम सबै हेर्नु पर्थ्यो। आमालाई मेलोको पैँचो जाँदै भ्याई नभ्याई हुन्थ्यो तर पनि सुख कहीँ थिएन।
एक दिन जुनाकी हजुरआमालाई एकदम च्याप्यो तर कसो-कसो केही दिनमा अलि बिसेक भयो। त्यसपछि दिनरात सासूको मुखमा नाति मात्रै झुन्डिइरह्यो। जुनाकी आमा पनि के गरून्, उनले चाहेको भए दुई वटै नाति दिन्थिन् तर हुने त आखिर उही हो जे लेखिएको छ। जुनाका बा भारतमा नोकरी गर्थे तर बेला मौकामा छुट्टी मिलाएर घर आउने जाने गरिरहन्थे। यो पालीको छुट्टीमा त बुढाबुढी भएर कतै टाढै पूजा पनि गर्न गएका थिए र माग थियो उही छोरा।
स्वस्थानीको व्रत बसेर रातभरि नसुती बत्ती बालेर, अनेक पूजाआजा गरेर जुनाकी आमा फेरि गर्भवती भइन्। दिनरात भगवानसँग छोरा भइदिए हुन्थ्यो यो पालि अरू केही माग्दिनँ भगवान् मात्रै भन्थिन्।
सायद यो पालि भगवानले पनि सुनेछन् जस्तो छ, घरमा छोरो नै जन्मियो। छोरा जन्मँदा सबैभन्दा बढी जुनाकी आमा नै खुसी भइन् किनकि उनलाई अब दिनरात एउटै कुरा सुन्नु पर्थेन, पेटभरि खान पाइएला भन्ने आस अनि दुई छोरीले पनि धेरै पीडा सहनु पर्दैन भनेर। उता जुनाकी हजुरआमालाई मर्नु अघि नातिको अनुहार देखियो, वंश धान्ने जन्मिहाल्यो भनेर आधा रोग त त्यसै पनि सन्चो भइसकेको थियो।
अहिले बल्ल कतिले छोराछोरी एकै हुन्, किन चाहिन्छ छोरा भनेको पनि सुनिन्छ। तर त्यो बेला थियो जुन सिङ्गो संसार एउटा छोरामा अडिएको जस्तै थियो। यो सायद ऊ बेला भोग्नेलाई नै थाहा होला। दुःख, संघर्ष यी सबका पछि छोरीको बिहे पनि छिट्टै गरिदिन्थे।
जुना भर्खर त १७ लागेकी थिई तर उसको बिहे भयो। त्यही पनि जसोतसो पढेर ऊ आफ्नो खुट्टामा उभिएकी छ अनि बहिनी पनि पढ्दै छे। बहिनी जुना जस्ती भने कत्ति छैन। जे हो त्यही भन्ने, कसैसँग नडराउने र जहाँ पनि पुग्ने हक्की स्वभावकी भएर पनि होला ऊसँग जो कोही झ्याप्प केही भनिहाल्न सक्दैन थिए। अनेक प्रार्थना गरेर जन्माएको छोराभन्दा त्यही छोरी सयौँ गुणा बढी क्षमतावान् थिई। उसले घर पनि धानेकी थिई।
उसलाई फरेस्ट्री पढ्ने सानैदेखि ठुलो सपना थियो। ऊ भन्थी- ‘म त फरेस्ट रेन्जर हुनी हो।’ उसले पढ्नका लागि कलेज बुझी, नाम पनि निकाली र कक्षा पनि सुरु गरी। यसै गरी एकदम मेहनतले पढ्न थाली। बिस्तारै भाइ पनि ठुलो भयो तर उसले एउटा छोराले लिनु पर्ने जिम्मेवारी केही लिएन।
बाले भारतबाट कमाएर ल्याएको पैसाले छोरो राम्रो पढ्ला, केही गर्ला, केही बन्ला भनेर विज्ञान विषयमा भर्ना गरिदिए। किनकि बालाई छोरो डाक्टर बनाउने सपना उहिलेबाट थियो जहिले छोरो छोराको रूपमा जन्मियो। तर उही त हो, छोरा-छोरा भनेर सानोमा धेरै मत्ताएपछि ठुलो भएपछि कसले मान्छे गन्नु? कसले भनेको मान्नु? कसले बा-आमाले देखेका सपना पनि मेरै सपना हुन् भन्नु?
धेरै सम्झाइ बुझाइ गरेपछि छोराले बाह्रसम्म जेनतेन कटायो तर त्यसपछि संगत गुणाको फल भने झैँ यस्तो खराब संगतले उसलाई छोयो कि आज न उसले बा-आमाले भनेको टेर्छ न कसैलाई मान्छे झैँ व्यवहार गर्छ। दुई छोरी दुःख देखे, भोगे, बुझे, आज परिपक्व बने। केही नभनी बा-आमाको मर्म बुझे। तर छोरा लागूपदार्थको लतमा यसरी फस्यो कि उसलाई त्यहाँबाट कसरी छुटाउने भन्दा भन्दै २ वर्ष जति त सुधार केन्द्रमा राखियो।
जुन दुखमा पनि पुलपुलिएर दुख के हो भन्ने नबुझी सुखको अनुभव गराउँदै हुर्काएको छोरा र दुखै दुखमा राम्रो लगाउन र मिठो खान नपाएका छोरीहरूमा कति धेरै अन्तर। के अब पनि जुनाका बा आमाले अरूलाई हैन छोरा त जसै चाहिने रहेछ भनेर भन्लान्? छोरा बिना त घर नै अँध्यारो हुन्छ भनेर सुनाउलान्? वंश अब कसले धान्छ भनी प्रतिप्रश्न गर्लान्? खै मलाई त लाग्दैन अब पनि छोरा नभई हुँदैन भनेर जुनाका बाले बुढीलाई लिएर मन्दिर धाउलान् भनेर।
जुनाकी हजुरआमा बाँचिरहेकी भए के उनले मैले ठिक गरेछु नाति भनेर भन्थिन् होला?
हुन त सबै एकै पनि हुँदैनन्। दुःख बुझ्नेले एउटै छोरा भए पनि राम्रो गरिरहेकै छन्। उही त हो, वरिपरिका दृश्य नहेरीकन एउटै कुरामा रट लागेपछि कि त्यो भयंकर माथि पुग्छ कि एकदम तल। यी सबै सानैबाट कसरी हुर्काउने र के कस्तो वातावरणमा शिक्षा दिने भन्नेमा नि भर पर्ला।
आज एउटी छोरी शिक्षिका अनि अर्की फरेस्ट रेन्जर भएर गौरवका साथ अघि बढिरहँदा उता मायाको सागरमा हुर्किएको छोरा लतको पोखरीबाट अझै पूर्ण रूपमा बाहिर निस्किन सकेको छैन। समय सधैँ एकैनास पनि हुँदैन। त्यसैले छोरा हुन् या छोरी, सानैबाट सही शिक्षा एकदम आवश्यक हुन्छ।