बिहानको २ बजेको थियो होला। बाहिर बरन्डामा, कैलाशको बुवा सधैं जस्तै ठूलो स्वरले खोक्दै हुनुहुन्थ्यो।
बुवाको रात यसरी खोक्दै बित्थ्यो। कैलाशको बुवा भएकोले उसलाई खोकीले केही फरक पर्दैन, तर छिमेकीहरू र उसको श्रीमतीलाई खोकीको आवाजले सताउने गर्थ्यो। बुवाको खोकी धेरै बेरसम्म नरोकिएपछि, कैलाश उठेर पानी दिन गयो, किनभने अब खोकीले गर्दा बुवाको घाँटी पनि सुकेको जस्तो थियो।
कैलाश उठेको मात्र थियो, उसको श्रीमतीले गनगन गर्न थालिन्।
'दिनभरि घरको काम गर्नुपर्छ र रातमा शान्तिसँग सुत्न पनि पाइँदैन।'
कैलाशले एकपटक श्रीमतीलाई हेरेर चुपचाप बाहिर निस्कियो। उसलाई श्रीमतीको बानी थाहा थियो। ऊ केही समय यसरी नै गनगन गरिरहन्छ। कैलाश पानीको लोटा उठाएर बुवाकहाँ गयो।
'बुवा, अलिकति पानी पिउनुहोस्। आज फेरि तपाईंले औषधि खानुभएको छैन जस्तो लाग्छ।'
बुवाले पानीको लोटा लिनुभयो र अलिकति पानी पिउनुभयो।
'छोरा, तिमी किन निन्द्रा बिगार्छौ? खाटमुनि पानीको लोटा राखिदिने गर्नु नि।'
'होइन बुवा, मलाई कुनै समस्या छैन। मैले तपाईंको सेवा गर्न पाउँदा खुसी छु।'
'मलाई थाहा छ छोरा, मेरो कारणले सबैलाई समस्या भएको छ। न म आफै सुत्न सक्छु न अरूलाई सुत्न दिन्छु।'
'बुवा, भोलि बिहान मसँग अस्पताल हिँड्नुहोस्, तपाईंलाई त्यहाँ राम्रो डाक्टरकहाँ लैजान्छु।'
'ए छोरा, यो उमेरमा अस्पताल जाने झन्झट किन? अब जाने बेला पनि भयो, थाहा छैन भगवानको फोन कहिले आउँछ।'
'के भन्दै हुनुहुन्छ बुवा, बिमलाको विवाहमा तपाईंले आशीर्वाद दिनु हुनेछ।'
'जा छोरा, सुत्, बुहारीले पनि चिन्ता लिइराखेको होला। थाहा छैन मलाई कतिबेला निन्द्रा लाग्छ।'
'हुन्छ बुवा म सुत्न जान्छु, तपाईं पनि सुत्ने कोसिस गर्नुस्।'
यसो भन्दै कैलाश गह्रौं पाइला चाल्दै आफ्नो कोठाभित्र पस्यो। उसको श्रीमती ओछ्यानमा कोल्टे फेर्दै थिइन्। कैलाश चुपचाप गएर उसको छेउमा पल्टियो। तुरून्तै निन्द्रा आउन गाह्रो भयो। बाहिर बुवाको खोकी फेरि सुरू भएको थियो। आमा बित्नुभएको पनि तीन वर्ष भइसकेको थियो। त्यसपछि बुवा एक्लै हुनुहुन्थ्यो। कामको बोझले गर्दा कैलाशको श्रीमतीको स्वभाव अलि झर्कोलाग्दो भएको थियो। अनि कलेज पढ्ने उसको छोरी बिमलासँग समय हुँदैनथ्यो। कैलाश पनि बिहान ८ बजे घरबाट निस्केर राति ९ बजे फर्कन्थ्यो।
कसैलाई पनि बुवासँग दुई घण्टा पनि बस्न फुर्सद थिएन। त्यसैले आमाको मृत्युपछि, बुवाले आफूलाई एक्लो महसुस गर्नुभएको कुरा कैलाशलाई थाहा थियो। बुवाले दिनमा दस पटक भगवानलाई लैजाऊ भनेर प्रार्थना गर्नुहुन्थ्यो। सोच्दा सोच्दै जसोतसो कैलाश निदायो। सायद बुवा पनि निदाउनुभएको थियो। यता बिमलाको आमाले घुर्न सुरू गरेको थियो, जुन बुवाको खोकीभन्दा खतरनाक थियो।
भोलिपल्ट उठेपछि उस्तै दिनचर्या। भान्साबाट श्रीमतीले बिमलालाई कराएको आवाज आइरहेको थियो। काममा जाने हतारमा, कैलाशले बुवालाई राति अस्पताल लैजान भनेको कुरा बिर्सिसकेको थियो। कैलाश काममा निस्कियो। बुवाले कैलाशलाई गएको हेरिरहनुभएको थियो। बुवाले कैलाशलाई एक पटक पनि अस्पताल लैजाने बारेमा सोध्नु भएन।
बेलुकी घर आउँदा बुवा बरन्डामा आफ्नो ओछ्यानमा पल्टिरहनु रहनुभएको थियो। कैलाशलाई देख्ने बित्तिकै बोलाउनुभयो।
'छोरा कैलाश।'
'हजुर बुवा।'
'छोरा, कुनै वृद्धाश्रम थाहा छ भने, मलाई त्यहाँ लगेर छोडी दे।' यो कुरा सुनेर कैलाशले बुवालाई निःशब्द भएर हेरिरह्यो।
'किन बुवा, तपाईंलाई यहाँ कुनै समस्या छ? किन यस्तो कुरा भनिरहनुभएको छ?'
'होइन छोरा, कुनै समस्यामा छैन तर मेरो कारणले यहाँ सबैलाई दु:ख भएको छ। म बूढो बिरामी ... रातभरि खोकिरहन्छु र तिमीहरू सुत्न पाउँदैनौं।'
'बुवा, यो रोग भन्ने कुरा कसैको नियन्त्रणमा हुँदैन। यो सबैलाई हुन्छ। आज तपाईंलाई भएको छ, भोलि जो कोहीलाई पनि हुन सक्छ।'
कैलाशको कुरा सुनेर बुवा निरूत्तरित हुनुभयो।
'बुवा, यो मेरो गल्ती हो कि मैले तपाईंको राम्रोसँग उपचार गराउन सकिनँ, आज बिहान मैले तपाईंलाई अस्पताल लैजान बिर्सिएँ। भोलि बिहान तपाईंलाई अवश्य अस्पताल लैजान्छु। म भोलि कामबाट बिदा लिन्छु।'
'हुन्छ छोरा, तिम्रो इच्छा... जाऊ खाना खाऊ, बिहानदेखि थाकेको छौ।'
'हुन्छ बुवा।'
कैलाश उठेर भान्सा कोठाभित्र गयो। उसको श्रीमतीले थालमा खाना पस्केर बिमलाको कोठामा गइन्। खाना खाएपछि कैलाश सुत्न गयो। त्यो रात पनि त्यसरी नै बित्यो। बुवाले रातभरि नै खोकी रहनु भयो। भोलिपल्ट बिहान कैलाशले बुवालाई अस्पताल लिएर गयो।
केही परीक्षण गरेपछि, बुवालाई क्षयरोग भएको शंका गरेर अस्पतालमा भर्ना गर्न भनियो। बुवालाई अस्पतालमा भर्ना गरियो। अब समस्या यो थियो कि रातमा कैलाश अस्पतालमा बस्न सक्थ्यो तर दिनमा कुरूवा को बस्ने? उसले घरमा फोन गरेर बुवाको भर्नाको बारेमा जानकारी गरायो। यो सुनेर उसको श्रीमतीले राहतको सास फेरिन्।
बुवालाई वार्डमा सारियो। बुढेसकालका सबै रोगहरू दम, क्षयरोग, मधुमेह, रक्तचाप, सबै कुरा परीक्षणमा देखिएको थियो।
बुवालाई भनेर, कैलाश खाना र केही आवश्यक सामान लिन घर गयो। उसलाई लाग्यो कि बुवालाई लामो समयसम्म अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ। घर, अस्पताल र कार्यालय तीन ठाउँमा आफूलाई कसरी समायोजन गर्ने भनेर सोच्दा सोच्दा कैलाशलाई चक्कर लाग्ला जस्तो भइरहेको थियो।
कैलाशको बुवा अस्पताल भर्ना भएको एक हप्ता बितिसकेको थियो। तर उहाँलाई अझै पनि स्वास्थ्यमा सुधार भइरहेको थिएन। दमको कारण उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो। उहाँको खोकी अझै बाँकी नै थियो। कैलाश रातमा अस्पतालमा बस्थ्यो। बिमला र उसको श्रीमती घरको काम सकेर बुवाको लागि खाना लिएर दिउँसो आउने गर्दथे। हरेक दिन अफिस ढिलो पुग्दा हाकिम पनि सधैं रिसाउँथ्यो।
त्यस दिन कैलाश अफिसमा केही फाइलहरूमा व्यस्त थियो। त्यतिकैमा अफिसको नम्बरमा फोन आयो। अर्को तर्फबाट छोरी बिमला आत्तिएर बोलिरहेको थियो। केही अप्रिय सुन्नु पर्ने डरले उसको मुटु काँपिरहेको थियो। उसले काँपिरहेको स्वरमा बिमलालाई सोध्यो 'के भयो?'
'बाबा, हजुर बा अस्पतालमा हुनुहुन्न। हामीले सम्पूर्ण अस्पतालमा खोज्यौं तर हजुर बा कतै भेटिएनन्।' बिमला धेरै चिन्तित थियो।
'यस्तो कसरी हुन सक्छ? बुवा हिँड्न पनि सक्दैनन्। उनी यति कमजोर भइसकेका छन्, उनी कहाँ जान सक्छन्?'
'बाबा, म तपाईंलाई साँच्चै भन्दैछु। हजुरबुवा अस्पतालमा हुनुहुन्न। तपाईं चाँडै यहाँ आउनुस्। आमा पनि धेरै चिन्तित हुनुहुन्छ।'
'ठीक छ, म अस्पताल आउँदैछु। चिन्ता नगर्नु।' कैलाशले बिमलालाई सान्त्वना दियो।
कैलाशले हाकिमलाई सबै कुरा भन्यो, हाकिमले पनि उप्रति सहानुभूति देखायो र उसलाई केही पैसा दिँदै भने 'यो राख्नुहोस्, काम लाग्नेछ।' त्यही क्षणमा उसको हाकिमसँगको सबै गुनासो समाप्त भयो।
ऊ अस्पताल जानको लागि अफिसबाट निस्कियो। ऊ अस्पताल पुग्दा, उसको श्रीमती टाउकोमा हात राखेर बसिरहेकी थिइन्। बिमला पनि दुःखी हुँदै उसँगै बसिरहेकी थिइन्।
'के भयो, कहाँ जानुभयो, बुवा?' ऊ अलमल्लमा परेर बिमलालाई सोधिरहेको थियो।
'मलाई थाहा छैन बाबा। जब आमा र म केही समय अघि खाना लिएर आउँदा, हजुरबुवा ओछ्यानमा थिएनन्। हामीले त्यहाँ केही समय पर्ख्यौं, तर जब हजुरबुवा आउनुभएन, त्यसपछि हामीले उहाँलाई खोज्न थाल्यौं, तर उहाँ कतै भेटिनु भएन।'
बिमलाको कुरा सुनेर कैलाश झन् चिन्तित भयो। उसले नर्स, डाक्टरलाई सोधे, तर कुनै जानकारी भेटिएन। कैलाशलाई अनौठो लाग्यो कि कसैलाई नभनी बुवा अचानक अस्पतालबाट निस्किए, जबकि उहाँ यति बिरामी थिए, यस्तो अवस्थामा कसरी जान सक्छन्। कैलाश चिन्तामा हराएका थिए।
उसको श्रीमतीले गनगन गर्न थालिन् 'अब हामीले आफन्हरूलाई के जबाफ दिने, सबै आफन्तहरूले भन्नेछन् कि हामीले बुवालाई राम्ररी हेरचाह गर्ने सकेनौ, उहाँ कसैलाई नभनी बेपत्ता हुनुभयो। हामीलाई बिना कारण दोष लाग्ने भयो।'
कुरा ठिक थियो तर अहिले यो सबै सोच्ने समय थिएन।
पहिला बुवालाई खोज्नु थियो। बुवालाई खोज्नु पर्ने थियो तर कैलाश दोधारमा थियो, के गर्ने भनेर सोच्न सकिरहेको थिएन। कैलाशले आफन्तहरूलाई फोन गर्न थाल्यो तर बुवा कतै पनि पुगेका थिएनन्। कैलाशलाई थाहा भएसम्म, बुवाको अवस्था यस्तो थिएन कि उहाँ कसैको घरमा हिँडेर जान सकून्। सायद उहाँ अस्पतालबाट निस्कनु भयो र बाटोमा उहाँलाई केही भयो कि?
यस्तो सोच्दै गर्दा उसको मन डरले काँप्यो। घर पुग्दा, कैलाशको बुवा अस्पतालबाट हराएको कुरा टोल छिमेकमा जंगलमा आगो लागे जस्तै खबर फैलिएको रहेछ। मानिसहरूले अनेक कथाहरू बनाउन थाले। जति धेरै मानिसहरू, उति धेरै कथाहरू। भनिन्छ नि हिर्काउने व्यक्तिको हात समात्न सकिन्छ तर कसैको जिब्रो समात्न सकिँदैन। कैलाश राति फेरि एकपटक बुवालाई खोज्न अस्पताल पुगे तर कुनै पत्ता लागेन। ऊ थकित भएर घर फर्कियो।
भोलिपल्टदेखि आफन्तहरू आउन थाले। कैलाश केही आफन्तहरूसँग फेरि बुवालाई खोज्न निस्कियो। त्यस दिन उनीहरूले नजिकैका लगभग सबै अस्पतालहरूमा खोजे तर बुवा कतै भेटिएनन्। कैलाशले अस्पताल नजिकैको प्रहरी चौकीमा बुवा हराएको रिपोर्ट पनि दर्ता गराएको थियो तर अहिलेसम्म यी सबै प्रयासहरूले कुनै नतिजा निकाल्न सकेन। यसरी एक हप्ता बित्यो र अब आफन्तहरू पनि आउन छोडेका थिए। कैलाश पनि केही समयको लागि अफिस जान छोडेको थियो।
एकदिन कैलाश काकाको छोरा सँगै वीर अस्पतालमा बुवालाई खोजिरहेका थिए। उनीहरूले एक प्रहरीलाई भेटे जसले बेवारिसे शवहरूको अन्तिम संस्कारको हेरचाह गर्दथे। गह्रौं मनले कैलाशले उसलाई बुवाको फोटो देखायो। फोटो हेरेपछि उसले भनेको कुराले कैलाशलाई जमिन भासिए जस्तो बनायो।
बुवाको मृत शरीर एक हप्ताअघि नै यस अस्पतालको पार्कको रेलिङ नजिकै फेला पारेको थियो। एक हप्तासम्म कोही पनि उनको बारेमा सोधपुछ गर्न नआएपछि, आज उनको शव एक घण्टाअघि मात्र दाहसंस्कारको लागि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा पठाइएको कुरा प्रहरीले जानकारी दिएको थियो।
बुवा बित्नुभएको एक हप्ता भइसकेको थियो। उनीहरू दुवै दाजुभाइ आर्यघाट हतार हतार पुगे। सायद बुवाको अन्तिम संस्कार उसको हातबाट हुने लेखिएको थियो, त्यसैले अन्तिम क्षणमा उहाँको मृत्युको खबर कैलाशले पायो। उनीहरू आर्यघाट विद्युतीय शवदाह गृह पुगेर त्यहाँका इन्चार्जलाई भेटे। सम्पूर्ण कुराको बारेमा जानकारी गराए। दाहगृहका इन्चार्ज असल मन भएका व्यक्ति रहेछन।
कैलाशले घर परिवार बच्चाहरूले आफ्नो हजुरबुवालाई अन्तिम पटक हेर्न पाउन अनुरोध गर्दा शव लैजान अनुमति दिए। उसले घरमा फोन गरेर सबै कुरा भन्यो। यो सुनेर घरमा कोलाहल मच्चियो। कैलाशले बुवाको मृत शरीरलाई शव वाहनमा राखेर घर लग्यो। अब सबै शान्त भएको थियो, अब बुवाको खोकीले कसैलाई सताएको थिएन। कैलाश एकटक मौन भएर बुवालाई हेरिरहेको थियो। बुवाको एक मृत्युले धेरै मानिसहरूलाई शान्ति दिएको थियो।