(भाग -१)
पुस महिनाको काठमाडौंको चिसो साँझ, दिनभरी काम गरेको थकित ज्यान र थकित मन लिएर टिकटक स्क्रोल गरिरहेको थिएँ। लाइभहरू, ट्रेन्डिङ गीतहरू, नाच—कसैले मन नछुने। त्यसैबीच एउटा लाइभ खुलेर देखियो—सुनौलो कपाल, हल्का मेकअप, आँखामा अनौठो चमक। गहिरो ओज भएको अनुहार। उनको युजरनेम: @susmi23।
म केही सेकेण्डमै मोहित भएँ। उनको हाँसो, बोल्ने ढंग, दर्शकसँगको व्यवहार—सबै खास। सुत्नुअघि लाइभमा प्रश्न सोधेँ 'कसरी यस्तो मोहनी मान्छे टिकटकको पर्दाबाटै मनमा पस्न सक्छ?'
तर उताबाट केही रिप्लाइ आएन सायद अरूसँगै व्यस्त थिइन्। भोलिपल्ट पनि उनी लाइभमा थिइन्। मैले छोटो कमेन्ट गरेँ— तपाईंको हाँसो मन शान्त पार्दोरहेछ।'
सुस्मिताले पढिन्। हल्का मुस्कुराइन्।
'धन्यवाद, हामी जस्तै साधारण मान्छेले मन परेको मान्छेबाट यस्तो सुन्दा खुसी लाग्छ नि। मैले उनका सबै भिडिओमा लाइक गरेँ।
सिउँदोभरी सिन्दुर भरिएकी रातो तिलहरी लगाउन नछुटाउने।
मैले म्यासेज गरेँ- विग फ्यान प्लिज रिप्लाइ' तपाईं सारै सुन्दर हुनुहुन्छ नजर लाग्ला है धेरै राम्री भएर भिडियो नहाल्नु न' केही दिनपछि सुस्मिताले म्यासेज गरिन्।
'तपाईं राम्रो बोल्नुहुन्छ। केही मनको कुरा गर्न मन लाग्यो भने यहाँ भन्न सक्नुहुन्छ।' उनी विवाहित थिइन्। पति विदेशमा, सम्बन्ध ठिकै तर वर्षौंदेखि दूरी। मैले साथी बन्छु नि भने उनको जबाफ आयो- म विवाहित कसरी साथी बन्न सकिन्छ।
'विवाहित हुनु समस्या होइन। म तपाईंलाई सम्मान गर्छु। बस कुरा गर्न मन लाग्छ।' सायद पनि भावनात्मक रूपमा थकित थिइन्। कसैले सम्झने, सुन्ने, बुझ्ने—यस्तो मान्छे कैयौं वर्षपछि भेटिएकी थिइन्। हामी बिस्तारै टिकटक हुँदै स्न्याप च्याटमा जोडियौं।
अब त रातको अन्तिम १५ मिनेट उनीहरूको 'दैनिक समय' बन्थ्यो। सुस्मिताको हल्का थकित स्वर, बीचबीचमा नरम हाँसो…फोनमा घन्टौं गफिन थाल्यौं। बोल्दा बोल्दै रात बितेको पत्तै नहुने। बेला बेला उनले प्रश्न गर्थिन्- हामी कसरी एउटै तिमी अविवाहित, म विवाहित।
अब साधारण कुराकानी रहेन, यो विस्तारै प्रेम बन्दै थियो।
सुस्मिता जतिसुकै विवाहित भए पनि हृदयमा शून्यता थियो, कोही भावनात्मक सहारा खोजिरहेकी थिइन्। म त्यो खाली ठाउँमा बिस्तारै भरिँदै थिएँ। त्यसैकारण एउटा रात उनले कबुल गरिन्— प्रतीक … तिमीसँग कुरा गर्दा म आफू बिर्सिन्छु कि म विवाहित महिला हुँ।
मैले हल्का लामो सास फेरेँ।
'म पनि डेढ महिनादेखि टिकटक खोल्दा पहिलो खोज्ने तिमी नै हौ।'
हाम्रो नाता शब्दभन्दा बलियो तर समाजभन्दा कमजोर बन्दै गयो। एकदिन सुस्मिताले लेखिन्— हामी यसरी धेरै टाढा जानु हुँदैन होला। मलाई तिमी मन पर्छौ…तर म एउटा परिवारको जिम्मेवारी हुँ।
मेरो मन चिरियो तर मैले बुझेँ।
'म तिमीलाई खोस्न खोजिरहेको छैन। म तिमीलाई पीडा दिन पनि चाहन्नँ।'
'तिमी खुसी रहनू—म यही चाहन्छु।'
सुस्मिताको आँखाबाट आँसु चुहियो। कसैले छोएकै बेला झैँ उसको मन हल्लिएर आयो। किनकि केही प्रेम मनले मानेको तर भविष्यले नदिएको नाता हुन्छ। उनको नाता पनि त्यही थियो—सुन्दर, सत्य, तर सीमित।
अघिल्ला महिनाहरू टिकटक, डिएम र भ्वाइस च्याटमै बिते।
दुवैले धेरैपटक भेट्न हिम्मत गर्यौं, तर मनले भने हरेक दिन भेट्न माग्दैथ्यो। अन्त्यमा सुस्मिताले एकदिन हिम्मत जुटाइन्—
'प्रतीक आज बेलुका चोभारतिर हिँड्न जाऊँ न। मलाई केही समय… आफूलाई सम्झन… तिमीसँग बस्न मन लागेको छ।'
मेरो मुटु धड्कियो।
'म आउँछु। तर डर लाग्दैन? जाडो पनि छ।'
सुस्मिता हाँसिन्, 'जाडो त लुगाले छोपिन्छ…तर मनमा परेको जाडो? त्यो त कोही खास मान्छेले मात्र हटाइदिन सक्छ।' ती शब्दहरू सिधै मेरो मनमा घुसिरहे।
पहिलो भेट– चोभारको डाँडामा। चिसो सुस्केरासँग घाम विस्तारै डुब्दै थियो। म चोभारको डाँडा नजिक पुग्दा उनी उभिएको देखे —कर्ताचक्री प्यान्ट, हल्का शाल, र भिडिओ भन्दा सुन्दर देखिएकी। हावाका कारण उसको कपाल हल्का उडिरहेको थियो। म रोकिएर केही सेकेन्ड उनको मुस्कानलाई हेर्दै बसेँ।
'कति ढिलो आयौ!' उनले हल्का गुनासो गरिन्। 'तिमीलाई देखेर समय नै रोकिएछ।' मैले हाँस्दै भनेँ।
उनी लजाइन्, 'खुब नै रोमान्टिक भयो त!' चोभारको चिसो र न्यानो नाता। दुवै बिस्तारै पैदल तलतिर हिँड्न थाल्यौं। चिसोले हात जम्थ्यो, तर मन भने अनौठो तातिन थाल्यो। उनले हल्का हात मल्दै भनिन्— घरमा कसैले बुझेनन्, कोसँग मनको कुरा गर्ने त्यागेर बस्नुपर्छ। आज मेरो मन एकदम हल्का भएको छ।'
मैले उनलाई एकोहोरो हेरिरहेँ।
'तिमीलाई मन दुखेको बेला बोल्ने मान्छे बन्न पाउनु…मेरा लागि सम्मान हो।'
त्यो वाक्यले उनको आँखामा चमक ल्यायो। उनी केही क्षण चुप रहिन्।
'तिमीले जीवनमा के चाहन्छौ, प्रतीक ?' उनले सोधिन्।
मैले मुस्कुराउँदै भनेँ— मेरो त जीवन धेरै बाँकी छ। हेरौं कता पुगाउन्छ जिन्दगीले। उमेरले म भन्दा ३/४ वर्षले बढी थिइन् उनी।
'म? थोरै प्रेम, थोरै शान्ति, थोरै तिमी जस्तो मान्छे। तर धेरै नजिक चाहन्नँ, किनकि नजिक आएर तिमीलाई दु:ख दिन चाहन्नँ।'
उनी चुप लागिन्। उनका आँखाका कुनामा एक हल्का चमक—दुख र खुसी मिसिएको।
'कसैले यति बुझेर बोलेको धेरै वर्षपछि सुनेँ, उनले बिस्तारै भनिन्। त्यसैबेला एउटा चिसो हावा चल्यो। सुस्मिता काँपिन्। मैले आफ्नो ज्याकेटको कलर उचालेर उनको तिर झुकाए मात्र।
'हाम्रो हात कुरा गर्दा–गर्दै हल्का टकराए। न त हात समात्यौं, न हटायौं। बस त्यही स्पर्शमै अनौठो न्यानोपन मिल्यो। चोभारको अँध्यारो बढ्दै गयो। दुवै चोभारको डाँडामा बस्दा तारामण्डल चम्किन थाले।
सुस्मिता बिस्तारै भनिन्—'आजको भेट…म भुल्दिनँ।'
केही समयको मिलनपछि हामी दुवै विपरीत दिशातिर हिँड्यौं।
तर चोभारको चिसोमा, दुवैको मन एकअर्काको न्यानोले भरिसकेका थिए। चोभारको त्यो पहिलो भेटले समयलाई पनि केही क्षण रोकिदिएको जस्तो लाग्यो। संसारको सबै भीड–भाड टाढा, हनुमानढोकादेखि चोभारसम्म फैलिएको सहरको बत्तीहरू कुनै टाढाको सपनाझैँ झिलिमिल चम्किरहेका थिए।
म सुस्मिताबाट टाढा हुँदै गर्दा। मनले भने सतत् उसका पाइला सुनाइरहेको जस्तो। कुनै चुम्बकत्व थियो—उनी जति टाढिँदै गइन्, मन उति नजिकिँदै गयो। पहिलो भेटपछि हाम्रा च्याटहरू झनै लामो, भ्वाइस नर्म, शब्दहरू झनै नजिक। त्यो रात नै उनले म्यासेज पठाइन्—'आजको भेट… अझै मनमा चलिरहेछ।
'घर पुगेँ। तिमी पनि सुरक्षित पुग्यौ?' मैले टाइप गरेँ।
'तिमीलाई छोडेर फर्किंदा आज चोभारको बाटो पनि खास लाग्यो।' उनको रिप्लाइ तुरून्तै आयो— 'आजको भावना खास नै थियो प्रतीक…तर डर पनि लाग्छ।'
म चुप बसिरहेँ।
उनको डर मैले बुझ्थेँ—पारिवारिक बन्धनको डर, समाजको डर, र… आफूलाई आफै हराउने डर। तर मन भने एकै स्वरमा भन्दै थियो—
'हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड?'
त्यही क्षणदेखि हाम्रो दूरी बिस्तारै घट्दै गयो। मर्निङ म्यासेज, नाइट भ्वाइस, साना–साना कुरा…सबै भावनाका धागाहरू।
सानो तातो हिटर पर्खालमा टेकाएर उनी फोनमा बोलिरहेकी थिइन्।
'प्रतीक… मेरो जीवन धेरै नकटेको जस्तो लाग्छ। म विवाहित हुँ, सम्बन्ध चलिरहेको छ, तर म… कहिलेकाहीँ आफै हराएझैँ महसुस हुन्छ।'
मैले बिस्तारै भनें—'तिमीले बन्द कोठाको झ्याल खोलेर बाहिर हावा छिरेजस्तो बनाइदियौ। म तिम्रो जीवन बदल्न होइन, मनमा न्यानो दिन आएको मान्छे हुँ।'
उनले हल्का हाँसिन्।
'मनै तिम्रो कुरा मानिरहेछ, तर बाध्यता अर्को बाटो देखाइरहेछ। उनको हरेक शब्द। जाडोमा सास बनेर निस्किएजस्तो लाग्थ्यो। हामी भेट्न नचाहेर पनि मनले भेट्न जबरजस्ती गरायो। एक हप्तापछि शनिवार छुट्टीको दिन सुस्मिताले फेरि भनिन्—'प्रतीक…आज फुल्चोकी जाऊँ न? मलाई शान्ति चाहिएको छ।'
मैले उनलाई मनाउन आवश्यक परेन।
'कति बजे निस्कने?' उनी ठीक १२ बजे कालो कोट र पहेंलो स्कार्फमा झन् नै सुन्दर देखिएकी थिइन्। हामी बाइकमा उक्लियौँ। उनी पछाडि बस्नासाथ चिसो हावामा पनि उनको हातले कोट समातेको स्पर्श सिधै मुटुमा झरेको महसुस भयो।
फुल्चोकी पुग्दा चिसो झन् कडा थियो। दुवै एकै ठाउँ बसेर सहरलाई हेर्दै थियौँ। सुस्मिताले हेरिरहिन्…'तिमीलाई थाहा छ प्रतीक…यहाँ आएर म केहीबेर विवाहित महिला भएँ भनेर बिर्सिन्छु।'
मैले उनलाई हेरेँ।
'म तिमीलाई सम्झाउन पनि चाहन्नँ। किनकि मनले बुझिसकेको छ—हामीले भाग्यमा नपाएको भए पनि हाम्रो सम्बन्ध शुद्ध छ, पाप होइन।'
उनको आँखाबाट फेरि आँसु चुहियो। तर त्यो दुःख र राहत दुबैको आँसु थियो। बाइकमा फर्कंदा उनले ढुक्क भएर मेरो ढाड समाइन्। पहिलो रात पनि नसोचेको न्यानो आज उनी आफै दिइरहेकी थिइन्। तल झर्दा फुल्चोकीको हावा झनै चल्यो।
उनी हल्का मुस्कुराइन्—'तिमी आएपछि मेरो हृदय धेरै शान्त छ…तर डर भने अझै उस्तै।'
मैले बिस्तारै भनें—'म तिमीलाई कहिल्यै खोस्न खोज्दिनँ, यो वाचा तर जति टाढै बस्दा पनि तिमीलाई सम्झेर मुस्कुराउने हक मबाट नखोस है।'
उनले हल्का आफ्नो कपाल कान पछाडि सारिन्।
वर्षौंपछि कोही मान्छेले उनलाई फेरि जीवित महसुस गराएको थियो। रातको ३ बजेसम्म फोन–कुराकानी, गहिरा आवाज, मनका बाटाहरू,अधुरा सपना…कहिलेकाहीँ यस्तो हुन्थ्यो—
सुस्मिता- 'कसरी तिमी मेरो जीवनमा यसरी पस्यौ?
म खोज्दै थिइनँ…'शायद तिमीलाई कसैले देख्नुपर्ने थियो।
त्यसकारण म भेटिएँ।
'तर हामी कहिल्यै सँगै हुन त छैनौं…'
'तर कहिल्यै छुटिने पनि छैनौँ, कारण वास्तविक प्रेम मनमा बस्छ, संगतमा होइन।'
सुस्मिता लामो चुप बसिन्।
यसपछि मात्र फुसफुसाएर बोली—'प्रतीक… तिमीले भनेको कुराले मेरो मनमा घर बसालिसक्यो।'
एक साँझ हामी दुबैको अफिस सकिएपछि चोभार जाने योजना बनायौं। सूर्य अस्ताउँदै थियो। हावा कडा थियो। तर उनी—आज झन् सुन्दर, झन् शान्त, झन् नजिक। हामी दुवै उही ठाउँमा बसेँ जसले पहिलो भेट सम्झाइरहेको थियो।
सुस्मिताले बिस्तारै भनिन्— प्रतीक…तिमीलाई थाहा छ? मसँग बिताएका यी क्षणहरू सम्पूर्ण जीवनभर सम्झिरहने छु।
मैले मुस्कुराउँदै हेरें— म पनि। किनकि यो प्रेम हकभन्दा बढी विशुद्ध छ।
उनले मेरो हातलाई छुन खोजिन्, तर फेरि रोकिइन्। पुस माघको महिना दिनहरू पनि कति छोटो। झन् माया गर्ने मान्छेसँग बस्न पाउँदा त झनै समय बितेको पत्तै नहुने। कति चाँडै झमक्क भएको हावा, मौनता र धड्कन—तिनैले त्यस क्षण हाम्रो प्रेमको भाषा बोले। घर पुगेपछि उनले फोनमा लेखिन्— प्रतीक…आज चोभारमा मनको कुनै कोठामा तिमीले बत्ती बालिदियौ।
र मैले उत्तर दिएँ—'जतिसुकै अँधेरो परे पनि त्यो बत्ती निभाउन दिँदिनँ।'
त्यसपछि पटक्कै नबुझेको एक कुरा बुझियो—कसैलाई पाएर मात्र प्रेम हुँदैन,कसैलाई मनले अँगालेर धेरै टाढाबाट हेरिरहनु पनि एक किसिमको पवित्र प्रेम हो।
सुस्मिता र म—बन्धनभन्दा पर, तर नाता भने जीवनभरको।