आज माउतेलाई सन्चो भएन कि?
मैले पत्तो पाउन सकिनँ
मलिन अनुहार लिएर
एकाबिहानै जब ऊ मेरो छेउ आयो
मेरो शिरमा हात राख्यो, अनुहार मुसार्यो
जहिले मसित बोल्दै स्याहार्ने उसले
खै आज एक शब्द पनि निकालेन
मेरो स्याहारसुसारमा व्यस्त रह्यो।
पछि बुझ्दा चाल पाएँ कि
नेपाल सरकारको निर्णयले
चितवनको जंगलमा रमाएको
म र रुद्रकलीले
कतार जानुपर्ने खबर आएको रहेछ
माउतेले मलाई भन्न सकेन-
खगेन्द्र तिमी अब कतार जाने भयौ
कुरो रुद्रकलीले चाल पाई
मेरो छेउ आई र सुनाई कि
तिमी र म अब परदेश जानुपर्ने भयो।
यो हल्ला एक कान दुई कान हुँदै
चितवनको जंगलभरि पुग्यो
सबै हात्तीका बथान भेला भए
जंगलमा सन्नाटा छायो
त्यस दिन म र मेरा साथीहरू
कोही पनि जंगल चहार्न गएनौँ
सबैको अनुहार मलिन भयो
सबैजना मुखामुख गर्न थाले।
अर्को दिन जब
एक हुल मानिस भेला भए
फूलमाला अबिरले म र रुद्रकलीलाई सजाए
हाम्रा शरीरमा नेपाल लेखियो
गुराँसको चित्र कोरियो
हामीलाई मन पर्ने खानेकुरा खुवाइयो
मन नपर्ने औषधिले लट्ठ्याइयो
मैले भन्न सकिनँ-
म जान्नँ रुपैयाँको परदेश
रुद्रकलीले सुनाउन सकिन-
म जान्नँ अर्काको घर
मेरो बोली बन्द भयो, डाको सुक्यो
हामीले सुनाउन सकेनौँ, हाम्रा इच्छा र रहरहरू।
हामीलाई ट्रकमा हुलियो
भैरहवा विमानस्थल पुर्याइयो
ठुलो विमान चढाइयो
र नभन्दै हामीलाई
कतारको अलखोर चिडियाघर पुर्याइयो।
मलाई थाहा थियो
एक पटक परदेशिएपछि
म सदाको लागि परदेशी भएँ
मेरा लागि मेरो जन्मभूमि बिरानो हुन्छ
मेरो वासस्थान, साथीभाइ, आफन्त सबै बिराना हुन्छन्।
नेपालमा म एक हात्ती मात्र थिइनँ
मातृभूमि, मातृ माटोको साथी थिएँ
चराचुरुङ्गी, स्याहार गर्ने माउते
खेतबारीमा फलेका बालीनाली
सबैको साथी थिएँ
तर,
अब म परदेश पुगेँ
परदेशी भएँ
अब मेरो परिचय
नेपाली मूलको कतारी हात्ती भयो।
मलाई असाध्यै मन पर्थ्यो
म जन्मेको चितवनको घनघोर जङ्गल
नथाकुन्जेल चहार्न
साथीहरूको बथानसँग मिसिन
जन्मदिने, जन्मथलो
साथीहरूसँगै रमाइलो गर्न
तर अब त म परदेश पुगेँ
मेरो भागको जङ्गल अब कसले चहार्छ?
मैले भाग लिन पाउने
हात्ती महोत्सव, हात्ती फुटबल, हात्ती पोलो
अब कसले खेल्छ?
भनिदेऊ न ए कसैले
यी सबै कुरा मबाट कसरी अलग गरूँ?
परदेशमा मैले नदेखेको देखेँ
नेपाली दाजुभाइको परिश्रम देखेँ
मातृभूमिप्रतिको माया देखेँ
घामपानी नभनी आफ्नो देशको लागि
केही गर्नु छ भन्ने अठोट देखेँ।
म र रुद्रकली यहाँ आएको थाहा पाएर होला
दिनहुँ नेपाली दाजुभाइ दिदी-बहिनीहरू आएर
ए खगेन्द्रप्रसाद, ए रुद्रकली भनेर बोलाउँछन्
त्यति बेला म परदेशमा छु भन्ने बिर्सन्छु
म चितवन हुँदा मलाई हेर्न नेपालीभन्दा विदेशी बढी आउँथे
तर, यहाँ मेरै नेपाली दाजुभाइहरू बढी आउँछन्
उनीहरूलाई पनि लाग्दो हो
यो मेरो देशको हात्ती हो
यो मेरो आफ्नो हो।
जन्मभूमि छोडेर परदेशिएपछि
सबैभन्दा नजिकको लाग्ने भनेकै
आफ्नो भूगोल नजिकको त रहेछ
आफ्नो घरको छानामाथि लाग्ने घाम
अनि राति देखिने जूनभन्दा
आफ्नो देशमाथि लाग्ने घाम अनि
जूनको दूरी नजिक हुने रहेछ।
त्यसैले म घरभन्दा पहिला
मेरो देश बनाउन परदेश आएँ।
अब म नेपाली हजारको नोटमा मात्र देखिने छैन
कतारमा रहेका नेपालीलाई,
आफ्नो देशको तिर्सना मेटाउन
कतारको अलखोर पार्कमा देखिनेछु
जहाँ देखिए पनि मेरो देशसँगै देखिनेछु
जहाँ रहे पनि मेरो देशको मान राख्नेछु।
भन्छन् नि
माइती गाउँको कुकुर आउँदा पनि माइती आए जस्तो लाग्छ
हो मेरा लागि पनि अलखोर पार्क वरपर आएर
ए खगेन्द्रप्रसाद, ए रुद्रकली भनेर कसैले बोलाएको सुन्दा
नेपालमै छु जस्तो लाग्छ
आफ्नै घरमा छु जस्तो लाग्छ
म परदेशिएको भुल्छु।
कतारको हावापानीमा नेपालको हात्ती कसरी बाँच्छ भन्दै
मेरो माया लागेर, भावनामा आएर
नेपाल सरकारलाई गाली गरेको देखेँ
तर मलाई लाग्छ
उपहार भन्ने कुरा जोसँग जे छ, त्यही दिने हो
जस्तो छ, जति छ, त्यति दिने हो
मेरो देशसँग सम्मान र प्रतीकको रूपमा
जन्मेको हात्ती थियो र दियो
त्यसैले भावनामा बहकिएर नेपाल सरकारलाई गाली नगरौँ।
लाखौँ नेपालीलाई रोजगारी दिन सक्ने देश
फिफा विश्वकप खेलाउन सक्ने देश
वातानुकूलित सहर बनाउन सक्ने देशले
मलाई पक्कै घामपानीबाट जोगाउनेछ
पशु अधिकारको लागि निकै संवेदनशील देशले
पक्कै मलाई मेरो अधिकारबाट टाढा राख्ने छैन
कतारमा रहेका नेपालीलाई दुःख पर्दा
म सम्झेर सहयोग गर्नेछ
मेरो देशलाई संकट परेको बेला सहयोग गर्नेछ
त्यसैले मेरो देशले उपहार दिएको हात्ती
कतारमा पनि नेपालको सान, मान भई रहनेछ
मलाई उपहार दिएको कुरामा गाली हैन, सम्मान गरौँ।
सम्झिनुस् हामी उपहार मात्र बनेर आएका होइनौँ
नेपाली दाजुभाइले विदेशी भूमिमा पाएको
सुखदुःख साझा गर्न आएका हौँ
उहाँहरूलाई मातृप्रेम जाग्दा, मातृभूमिको माया लाग्दा
उहाँहरूसँगै अलखोर पार्कमा भलाकुसारी गर्न आएका हौँ
थोरै भए पनि नेपालीपन झल्काउन
अनि भूगोल पार गरेको
स्मृतिको कथालाई जोड्न आएका हौँ।
हामी एक्लै पनि आएका छैनौँ
विश्वकै नमुना संस्कृति, सभ्यता र संस्कारले भरिपूर्ण मेरो देशले
एक्लै किन पठाउँथ्यो र?
जन्मघरबाट अन्माएर छोरी पठाउँदा दाजुभाइ साथै पठाउँछ
हामीसित पनि दुई दाजुभाइ सँगै पठाएको छ
बिरामी हुँदा नेपाली डाक्टर पठाएको छ
त्यसैले हामी यहाँ सुरक्षित छौँ।
तर मन नै त हो, डुलिरहन्छ
कहिले चितवनका गुराँस त कहिले जन्मेको माटो सम्झिरहन्छ
अलखोर पार्कमा कैयौँ रुखहरू त छन्
तर चितवनको जंगलको जस्तो शीतलता छैन
चराचुरुङ्गी छन् तर चितवनको जस्तो चिरबिर छैन
बेलाबेला माउते बाहेक छेउमा कोही नेपाली आउला र
ए खगेन्द्रप्रसाद, ए रुद्रकली भनेर बोलाउला
सन्चै छौ? भनेर सोध्ला झैँ लाग्छ
अलखोर अगाडिको बाटो भई हिँड्ने
सबै नेपालीहरूसित बोलौँ-बोलौँ लाग्छ
नबोल्दा मन कुँडिइरहन्छ, दिल टुटिरहन्छ
म आफै बोलाउन खोज्छु तर डाको सुकेको छ
परदेश जान्नँ भन्दा नेपालमा त सुनेनन्
स्वर बिना यहाँ कसले पो सुन्छ र?
सोच्छु,
अब हामीलाई चितवनका गुराँसले बिर्से कि?
मेरा साथीभाइले बिर्से कि?
मेरो नेपाल मबाट टाढा भयो कि?
त्यसैले म चाहन्छु कि
अलखोर आसपास भएका नेपाली दाजुभाइ दिदीबहिनीहरू
नेपाल सम्झँदा, मातृभूमि सम्झँदा, मातृमाटो सम्झँदा मेरो छेउ आउनू
म अनि रुद्रकलीसित भलाकुसारी गर्नू
अनि कुँडिएको आफ्नो र हाम्रो मन
अलिकति भए पनि शान्त बनाउनू।
जसरी राष्ट्रप्रेम जोगाउन
जैविक विविधताको महत्त्व चिनाउन
मैले र रुद्रकलीले जन्मभूमि छोडे, देश छोडे
त्यसै गरी अब उप्रान्त,
आफ्नो अस्तित्व बिर्सने गरी
कसैले पनि विदेशी भूमि टेक्न नपरोस्
अबोध हामी परदेशी भूमिमा आइपुग्दा
जोगिएको हाम्रो सास र शरीरसँग
देशप्रेम र पसिनाको मोती अझै बाँकी छ।
मित्रता र सम्मानको प्रतीक यदि हात्ती हो भने
म हामीमार्फत कतारले पाएको मित्रता मेरो देशले पाओस्
म हामीले पाएको सम्मान मेरो नेपालले पाओस्
म हामी जहाँ रहे पनि
मेरो देश बाँचिरहोस्
मेरो हिमाल हाँसिरहोस्।