बुझेको छु
फूलहरू भूलसँगै
भुल्न खोज्छन्
अनियन्त्रित मन हेर
ब्रह्मसँगै डुल्न खोज्छन्।
देख्छु म सुखीहरू
दुःखसँगै डुकिराछन्
देख्छु म भोकाहरू
खाली पेटमै हाँसिराछन्
नियमभित्र संसारको
आफ्नो जीवन बाँचिराछन्।
ऊ त्यो हेर-
भोको, नाङ्गो
के देखेर हाँसिराछ?
जो छ धेरै सुख–सयल
उसकै मुटु काँपिराछ।
जो छ धेरै बुद्धिमानी
अन्धकारमै लुकिराछ
जो छ धेरै बाठो चण्डाल
आफ्नो पालो ढुकिराछ।
देखेको छु गुनीहरू
सुनसानमै भुलिराछन्
जताततै रिस–राग
मत्त हात्ती फुकिराछन्।
स्वर थियो जो शान्त, शुद्ध
दिनदिनै सुकिराछ
जो छ असल ज्ञानी बुद्ध
सबैसँग झुकिराछ।
जो छ अहँ, अहंकारी
ठुलो स्वरमा कुर्लिराछ
जो छ असल ज्ञानी बुद्ध
सबैसँग झुकिराछ।