म
ऊ पर तिम्रो मानव बस्तीभन्दा टाढा
नदीको तटमा घाम र जूनको स्पर्श गर्दै
प्रकृतिको सामीप्यबाट
आफ्नै अस्तित्वमा रहेको थिएँ!
तिमी अचानक मेरो छेउ किनाराबाट
हिँड्ने क्रममा एक्कासि ममाथि
आँखा जुधायौ र बुरुक्क उफ्रिँदै
खुसी भएर मलाई टपक्क टिपेर लेरायौ
आफ्नो सांसारिक दैलो भित्र!
म अचम्मित थिएँ र दोधारमा पनि
पराईको न्यानोपनभन्दा आफ्नो
कोशी बगरको किनारमै मैले शून्यतामै
समर्पण गर्दै खुसी थिएँ
आखिर तिम्रो मानव अस्तित्वले
अन्तिम समयमा आफ्नैले
अन्तिम ज्वाला दिई बिदाइ गर्दा
जीवित हुँदा दिएको घाउ सम्झेर
तिम्रो मृत आत्मा पनि शान्त
भएर धर्तीबाट बिदा लिएको
देखिइरहेको थिएँ!
यो सबैबाट मलाई थाहा थियो कि
तिम्रो सुन्दर दरबार,
सहर हुँदै संसारसम्म छोड्नेहरू
मेरो नदीको दोभान हुँदै
अन्तिम बिदाइ लिँदै गर्दा
मलाई ढुंगा भएर बगरमा रहनुमा
अलिकति पनि संकोच थिएन।
तर तिमीले घर ल्याउने बित्तिकै
यसो नियाल्यौ अनि शालिग्राम भनेर
पूजा गर्न थाल्यौ
म मूकदर्शक भएँ
एक दिन तिम्रो घरमा
एउटा दुष्ट मानिस आफन्त बनेर आयो
मलाई पुनः नियाल्यो र भन्न थाल्यो-
यो पूज्य पात्र होइन यो
साधारण ढुङ्गा हो भनी
सबैको अगाडि निन्दा गर्न थाल्यो
हिजोसम्म पूजा गर्ने तिमी पनि बहकियौ
र मलाई नीच व्यवहार गर्न थाल्यौ!
अब मलाई सह्य भएन
न म तिम्रो सुन्दर दरबारमा पुजिएको छु
न पखेटा हाली भाग्न सक्छु
न स्वर निकाली कराउन सक्छु
न सत्ययुगको जस्तो ज्योति निकाली
अन्तर्ध्यान हुन सक्छु
अब तिमी नै भन प्रिय मानव
मलाई छिनमै ढुङ्गा अनि छिनमै
भगवान् बनाउने तिमी उस्तो कि
तिम्रो मगज भुट्ने आफन्त उस्तो कि
म नै उस्तो हुँ?
आफ्नो नजरबाट ल्याएर कैद बनाएपछि
मेरो शून्यताको सतह मेटाई घरको मन्दिरमा ल्याइसकेपछि
मेरो अस्तित्वको रक्षा गर्नु तिम्रो कर्तव्य थिएन र?
सक्छौ भने मलाई बगरमै लगेर फालिदेऊ
सक्दैनौ त तिमीले सुरुमै राखेको यथा स्थानमा राखिदेऊ
यो दृष्टिविहीन मानव, मानवता नभएको नारकीय
समाजको नाममा मलाई जुठेल्नुमा मिल्काई
हरदम पीडा दिने अधिकार तिमीलाई कसले दियो?
सक्छौ त मेरो अस्तित्व फिर्ता गरिदेऊ!
त्यसैले आज पनि लाग्दैछ
म तिम्रो ढोँगी, विभेदी र परिवर्तनशील
आत्माको देवताभन्दा बगरको ढुङ्गा हुनुमा नै ठिक थिएँ।