छोरीको कन्यादान
आँगनको धुलोमा होइन,
होटलको झिलिमिली मण्डपमा हुन्छ।
छोराको व्रतबन्ध, विवाह
घरको भित्ताले होइन,
ए.सी. हल र पार्टी प्यालेसले थामेका छन्।
बा–आमाको तेह्रौँ कार्य
काठको चुलोमा होइन,
किरिया घरको औपचारिकतामा सीमित भयो।
तीजका गीत
घरको ढोकामा होइन,
होटलको हलमा गुञ्जिए।
खानपिनको जिम्मा होटलको मेनुले लिएको छ।
घर त केबल नाम बन्यो।
अनि—
किन चाहियो घर?
पाहुना आउँदा,
पठाओले खाना बोकेर ल्याउँछ।
घर त भोकै बस्छ।
श्राद्ध गर्न छोरो
चारधाम धाउँछ,
दर्शनको फोटो भाइरल हुन्छ,
तर श्रद्धा स्क्रिनमै सीमित रहन्छ।
हेर्ने भन्छन्—
'ओहो! बाआमालाई तार्न गयो,'
तर आत्मा भन्दा
लाइक बटुलेको छोरो खुसी देखिन्छ।
अनि—
किन चाहियो घर?
बिहान–साँझ
मठमा दियो बाल्ने समय छैन,
आफ्नोपन, लोकप्रियता सामाजिक
सञ्जालबाट पर्याप्त आइरहन्छ।
नाता, कुटुम्ब जरूरी लाग्दैन।
संस्कार, नैतिकता, धर्म
गुरूबाट होइन,
गुगल, च्याट जिपिटीबाट सिकिन्छ।
अर्थ अपूर्ण भए पनि उत्तर तुरून्त आउँछ।
अनि—
किन चाहियो घर?
पाहुना आए
घर फोहोर हुन्छ भन्ने डर।
माया साट्नुभन्दा
सरसफाइ भारी लाग्छ।
आफ्नालाई समय दिनु
लक्जरी भयो।
किनकि
टिकटक, फेसबुक, इन्स्टाग्राम,
ह्वाट्सएप, ट्विटर,
र मोनिटाइज हुन आतुर युट्युब
सबैलाई समय चाहिन्छ।
बैंकमा एक करोड छ भने
घरको छाया किन चाहियो?
भोक, माया, संस्कार
सबैको सामर्थ्य पैसामा छ।
अनि फेरि—
किन चाहियो घर?