मध्य पुसमा ठण्डी बढेको छ। गौरिका छतमा बसेर पहार ताप्दै छिन्। वरिपरि विभिन्न जातका फूलका गमलाहरू छन्। अलि अघिसम्म ती ढकमक्क फुलेका थिए, अहिले तुसारोको चपेटामा परेका छन्। कुनै पात झरेर नाङ्गा भएका छन्, कुनैको डाँठमात्रै बाँकी छ, कुनै गमलामै कुहिएका छन्, ठीक उसैगरी जसरी उनका निर्दोष सपनाहरू बिचल्लीमा परेका छन्। आज यी उजाड गमलाहरूले उनलाई एउटा कटु सत्य पनि अनुभूति गराएका छन्, ‘झर्न नपर्ने त के रहेछ र यहाँ! चाहे फूलहरू हुन् या मान्छेका सपना!’
तल बगैँचामा एभोकाडोको नाङ्गो रूख छ। यस्तो लाग्छ, त्यो चुपचाप आफ्नो वेदना पोखिरहेछ। अगाडि चम्पादेवीको डाँडो छ– उनी जस्तै मौन, उदास र किंकर्तव्यविमूढ। केहीबेर बसेपछि उनी जुरूक्क उठ्छिन्। गाडी लिएर चम्पादेवीतिर लाग्छिन्। अचानक उनलाई चम्पादेवीसँग गजबको आत्मीयता महसुस भएको छ।
करिब एक घण्टामा उनी बोसन पुग्छिन्। अगाडि मोटर बाटो छैन। गाडी त्यहीँ पार्क गर्छिन्। पैदल हिँडेर चम्पादेवी मन्दिर पुग्छिन्। वरिपरि हेर्छिन्– तल कीर्तिपुर, खोकना, बुङ्मतीका मनोरम बस्तीहरू छन्। उत्तरतिर टाढासम्म फैलिएको हिमाली क्षितिज। प्रकृति र मानव जीवनको अद्भुत सुन्दरता देखिने त्यस ठाउँमा उनी भने आफ्नै जीवनको कुरूपता बोकेर उभिएकी छन्।
मन्दिरबाट अलि पर जान्छिन्। अगाडि एउटा काफलको बोट छ। हाँगामा एक जोडी जुरेली चरा छन्। उफ्रिँदै उफ्रिँदै ती हाँगाहरू चहार्दै छन्, कहिले पखेँटा फरफराउँदै छन्, कहिले मधुर लयमा चिरबिर चिरबिर गर्दैछन्। लाग्छ, ती आफ्ना निश्चल प्रेममा मुग्ध छन्। निकै बेरसम्म त्यो दृश्य हेरिबस्छिन्। गह बिस्तारै भरिँदै आउँछ। थाहा छैन, उनलाई त्यतिबेला ती उन्मुक्त पक्षीहरूका अन्तरङ्ग पलहरू दुखेका थिए कि आफ्नै मनको घाउ कोतरियो! आँसु पुछ्दै पार्किङस्थलमा आउँछिन्। घर फर्किन्छिन्। अँध्यारो भइसकेको छ। विपरीत दिशातिरबाट आउने गाडीका लाइट आँखामा पर्छन्। दृष्टि धमिलो बनाउँछन्। घरिघरि अगाडि बढ्न हम्मेहम्मे पार्छन्।
गाडी दक्षिणकाली, टौदह, चोभार हुँदै अगाडि बढ्दै जान्छ। उनी आफ्ना सम्झनाहरूलाई पछ्याउँदै आफ्नो अतीततिर फर्किन्छिन्। आफूले पढेको काठमाडौँको क्रयानफोर्ड कलेज, पहिलो दिन परिचयात्मक कार्यक्रम र त्यसमा आफूले बोलेका कुराहरू सम्झिन्छिन्–
‘मेरो जन्म कीर्तिपुरमा भएको हो। आमा हुनुहुन्न। बाबा परराष्ट्र सेवाका निवृत्त कर्मचारी। परिवारका केही सदस्यहरू विदेशतिर छन्। म महिला सशक्तीकरणमा विश्वास गर्छु। आफ्नो जीवन आफ्नो खुसी भन्ने मान्यता राख्छु।’
तिनै शब्दहरूले कलेजमा उनको नै कित्ताकाट गरिदियो। उनी उत्तर आधुनिक सर्कलमा पुगिन्। बिस्तारै दिनहरू बरालिँदै गए। कलेज बन्क हुन थाले– कहिले साथीहरू दबाबमा त कहिले आफ्नै खुसीमा। पढाइ ओझेल पर्दै गयो। बिस्तारै बिस्तारै मदिरा र लागुपदार्थका कुलतहरू सुरू भए। सँगसँगै अरू विकृतिहरू पनि बढ्दै गए। अनेकौं अपरिभाषित सम्बन्धहरू पनि बने, टुटे– कहिले रहरमा, कहिले उन्मादमा, कहिले मदहोसीमा।
केही वर्ष उन्मुक्त भएर बित्यो। पछिपछि उनलाई आफ्नै जीवन देखेर दिक्क लाग्न थाल्यो। दोस्रो वर्षको परीक्षा पनि बिग्रियो। पश्चाताप अझ गहिरिँदै गयो। आफैलाई सोध्न थालिन्, ‘के फेमिनिजमको अर्थ यही हो त? अन्तरात्माले भन्न थाल्यो, ‘होइन, फेमिनिजम त एउटा सकारात्मक जागरूकता हो। समभाव हो। समान मर्यादाको उज्यालो हो, तर मैले बाँचेको जीवन फगत भड्काउ हो, विकृति हो।’ त्यही आत्मबोधले उनलाई कुलतहरू त्याग्ने मनस्थितिमा पुर्यायो।
लगत्तै उनले दुर्व्यसनहरूबाट मुक्त हुने निर्णय गरिन्। सुरजलाई पनि भनिन्। सुरज उनको केटाकेटीदेखिको साथी, एउटै टोलका, सँगैसँगै हुर्किएको र मिलनसार पनि। उसले धेरैपटक उनको भड्किलो जीवनशैलीको बारेमा सचेत गराउँदै आएको पनि थियो। उनको अठोट सुनेर निकै खुसी हुँदै उसले भनेको थियो–
‘आखिरमा तैँले सही बाटो पहिल्याइस् गौरिका! म धेरै खुसी छु, मेरो शुभकामना पनि छ!’
भोलिपल्टदेखि गौरिकाले मोबाइल बन्द गरिन्। सामाजिक सञ्जालबाट पनि टाढा भइन्। नशामुक्त जीवन सुरू गरिन्। केही घण्टामै असरहरू देखिन थाले। दुई दिनसम्म पनि ती घटेनन्, बढ्दै गए। त्यसपछि महसुस गरिन्, कुलतमा फस्न जति सजिलो हुँदो रहेछ, मुक्त हुन हजार गुणा कठिन! बाबालाई नभन्ने विचार थियो। केही सीप लागेन। तेस्रो दिन बिहानै बाबाको ओछ्यानमै पुगेर याचना गरिन्–
‘सरी बाबा! म नराम्रोसँग बिग्रिएँ, ख्यालख्यालमै कुलतको दलदलमा भासिएँ। अहिले आफै छोड्ने प्रयास गर्दै थिएँ, हार खाएँ। पलपल डाहा, छटपटी हुन्छ। निद्रा पर्दैन। श्वासै अडिएला जस्तो हुन्छ। यसरी कति दिन बाँच्नै सकिन्छ र बाबा, प्लिज मलाई बचाउनुस्!’
आफ्नै सन्तान आफैसँग जीवनको भिख माग्दै थियो! बाबा स्तब्ध भए। बोल्न सकेनन्। उनका चाउरी परेका गालाबाट आँसु सलसल बग्दै गए। शायद उनका आँखाबाट बगेका आँसु थिएनन्, उनले छोरीका लागि सजाएका सपनाहरू थिए। छोरीको मातृत्वविहीन बालापन, विपुल आर्थिक स्वतन्त्रता र आफ्नो असावधान अभिभावकत्वका बिस्मातहरू पनि थिए। उनी हातगोडा थरथर कमाउँदै उठे। छोरीलाई खोकिलामा च्यापे। उनको कपाल सुमसुम्याउँदै अवरूद्ध कण्ठले भने–
‘थाहा छैन छोरी, यो मुटुमा अझै कति किला ठोकिन बाँकी छन्! आज यो छाती सहनै नसक्ने गरी दुखेको छ। तै पनि तिमी आफैमा आएको चेतना देखेर म खुसी पनि लागेको छ। अब खुट्टा कमाउनु हुँदैन, हिँड्दै जाऊ। म तिमीलाई सुबिस्ता हुने हरसम्भव उपाय गर्छु।’
बाबाका स्नेहले ओतप्रोत शब्दहरू सुनेर आधा सकस त त्यत्तिकै कम भयो। उनले त्यही दिन मनोचिकित्सक र परामर्शदाताको व्यवस्था मिलाइदिए। सुरजले पनि कहिले किताबहरू ल्याइदियो, कहिले प्रवचनका लिङ्कहरू पठाएर सहयोग गर्यो। असरहरू कम हुँदै गए। उनी उत्साहित हुँदै गइन्।
केही महिना कष्टले बिते। त्यसपछि उनी निकै तन्दुरूस्त भइन्। घरमै घोरिएर बसिरहन मन लागेन। जागिर खाने सोच बनाइन्। बाबाले चिनजानको एउटा कर्पोरेट हाउसमा काम मिलाइदिए। उनले हस्पिटालिटी अफिसरका रूपमा काम गर्न थालिन्।
सहपाठी मिलन पनि त्यही अफिसमा चार्टर्ड एकाउन्टेन्ट रहेछ। कलेजमा सामान्य परिचय मात्रै थियो। त्यहाँ भने राम्रो मित्रता भयो। उसले काममा पनि सहयोग गर्यो। उनी बिस्तारै बिस्तारै जम्दै गइन्। करिब एक वर्ष त्यसरी बित्यो। कुलतका ‘सिकनेस’हरू पूरै हराए। उनले पुनर्जन्म प्राप्त गरेको महसुस गरिन्। बाबा पनि निकै प्रसन्न भए।
जागिरमा व्यस्त भएपछि सुरजसँग भने दूरी बढ्दै गयो। अफिस आउँदा जाँदा देख भेट र सामाजिक सञ्जालका कुराकानीहरूमा मात्रै सीमित भयो। मिलनप्रति उनी निकै कृतज्ञ थिइन्। सुरजसँग बोल्दा पनि उसैको धेरै कुरा गर्न थालिन्। दिक्क मान्दै एक दिन सुरजले भन्यो पनि–
‘हामीसँग मिलनबाहेक अरू कुरा गर्ने विषयहरू छैनन् गौरिका?’
त्यसपछि अलि सजग त भइन्। तैपनि त्यो प्रसङ्ग आउन छोडेन। सुरज विषय बदल्थ्यो, गहन एवम् अमूर्त कुराहरू गर्थ्यो। तर उनलाई त्यसको न अर्थ केलाउने समय हुन्थ्यो, न धैर्य नै! विस्तारै एउटा सदाशयतापूर्ण मित्रता मिलनको आसक्तिमा हरायो ! सुरजसँग सम्पर्कै हुन छोड्यो।
दिन, महिना, वर्ष बिते। बिस्तारै दाम्पत्यका कल्पनाहरू गर्न थालिन्। मिलनकै सपना देख्न थालिन्। तर उसले आफूलाई साँच्चिकै माया गर्छ कि गर्दैन भन्ने पूरा यकिन थिएन। दोधारमै दिनहरू बितिरहेका थिए, एक दिन उसले हाइकिङ जाने प्रस्ताव राख्यो। उनले सहर्ष स्वीकार गरिन्। यस्तै कार्यक्रमहरू दोहोरिँदै गए। एक दिन उनीहरू कुलेखानीको इन्द्रसरोवर घुम्न गए। निकै मनमोहक समय बिताए। फर्किने क्रममा काठमाडौं नजिकै आइपुगेपछि उनले भनेकी थिइन्–
‘मिलन! अब हाम्रो यो सम्बन्धलाई दाम्पत्यको रङमा सजाउने बेला भएन र?’
एकाएक ऊ गम्भीर भयो र निकै कुटिलतापूर्वक इन्कार गरिदियो–
‘त्यही त मलाई चिन्ता लाग्छ! के यो समाजले हाम्रो सम्बन्धलाई अनुमोदन गर्छ? हाम्रा विगतहरूलाई स्वीकार्छ? मसँग विद्रोह गर्ने सामर्थ्य छैन गौरिका।’
उनको कुरा सुनेर स्तब्ध भइन्। उसको भावना र नियत दुवै स्पष्ट थियो। एउटा मीठो सपना नमीठो विपना बनेर टुङ्गियो। तिरस्कृत अनुहार लिएर अब फेरि त्यही अफिसमा जान मन लागेन। भोलिपल्टदेखि नै जागिर छोडिन्। फेरि उस्तै अन्यौलको भूमरीमा परिन्।
भोलिपल्ट घरैमा बसिन्। मनमा कुराहरू खेलिरहे। सोचिन्, के ऊ साँच्चै यो समाजसँग डराएको थियो या मलाई पन्छाउन हौवा मात्रै देखाएको थियो? म केको सिकार भएँ? आफ्नै अन्धो विश्वासको कि उसको संवेदनाहीन भावनाको? खोट ममा थियो कि उसको चेतनामा ?’ यिनै अनुत्तरित प्रश्नहरूकै बीचबाट उसले देखाएको समाज र त्यसको चरित्रको बारेमा पनि सोच्दै गइन्–
‘यो कस्तो समाज! एउटा अल्लारे केटीले जानीनजानी गल्ती गर्छे, कठोर प्रायश्चित्त गर्छे र पनि बाँच्ने सहारा पाउँदिन। मेरो ठाउँमा यदि कुनै पुरूष भइदिएको ऊ पनि यसरी नै दपेटिनुपर्थ्यो?’ मनमा यस्तै यस्तै कुराहरू आइरहे। कहिले आक्रोशसित बनाए, कहिले पीडा दिए।
उनले त भोग्न बाँकी त केही पनि थिएन। अब बाबाकै चिन्ता थियो। उनले जागिर छोडेको र फेरि जिन्दगीको कठिन दोबाटोमा पुगेको कुरा थाहा पाए भने... छोरी नयाँ जीवन पाई भनेर पुलकित मनमा के गुज्रेला? के उनले त्यो आघात सहन सक्लान्? उनी त्यस्तै कुरा सोच्थिन्। व्याकुल हुन्थिन्। जागिर नछोडेको जसरी नै आउजाउ गर्थिन्। एक दिन बाबाले आफ्नो रहर व्यक्त गरे–
‘अब तिम्रो बिहे गरिदिन पाए म ढुक्कसँग मर्न पाउँथेँ छोरी।’
बाबाको कुरा सुनेर मनको घाउ चरक्क दुख्यो, ‘बिहे गर्ने भाग्य त मेरो कहाँ रहेछ र बाबा!’ मनमा त्यस्तै कुरा आएको थियो। तर भनिनन्। संयमित भएर कुरा गरिन्। केही समयपछि आफ्नै कोठामा आइन्। बिछ्यौनामा डङ्ग्रङ्ग पल्टिइन्। लामो सुस्केरा लिइन्। निद्रा लागेन। उठेर झ्यालमा गइन्। आकाशमा ताराहरू चमचमाइरहेका थिए। तर उनको मनमा भने गाढा अँध्यारो थियो।
बैठक कोठामा गइन्। बाबाले घरमै मिनी बार बनाएका थिए। थरीथरीका मदिराहरू सजाएका थिए। एउटा बोतल झिकिन्। गिलासमा रक्सी खन्याइन्। मुखमा लगाउन खोज्दा ‘थाहा छैन छोरी, अझै यो मुटुमा कति किला ठोकिन बाँकी छन्!’ भनेर बाबाले उहिल्यै भनेका शब्दहरू सम्झिइन्। उनका आँखाका अश्रुमय भेलहरू पनि सम्झिइन्। आहत भएर मनमनै भनिन्, ‘अब फेरि मुटुमा किला ठोकिने दिन आउने छैनन् बाबा।’
दृढ भएर उठिन्। रक्सीको बोतल जहाँको तहीँ राखिदिइन्। फरक्क फर्केर आफ्नो कोठातिर गइन्।
***
केही समयदेखि बाबा निकै उदास देखिन थालेका थिए। परदेश गएका छोराछोरीको गुनासो पनि गर्थे। तर, साँझ सधैँ उनको बाटो कुरेर बस्थे। एकछिन आफ्ना पुराना गफ लगाउँथे। सँगै बसेर खाना खान्थे। सुत्न जान्थे। त्यस दिन पनि उनी साबिक झैँ बाबाको नजिकै गएर बसिन्। तर, बाबाको अनुहारमा कुनै परिवर्तन आएन। उनले अचम्म मान्दै भनिन्–
‘बाबा सरी ! आज चम्पादेवी गएकी थिएँ, अबेर भयो।’
त्यसपछि पनि उनी केही पनि बोलेनन्, उनले फेरि चासो राखिन्–
‘तपाईंलाई सन्चो छैन जस्तो छ नि बाबा!’
उनले निकै सकसले भने–
‘खोइ छोरी! आज दिउँसोदेखि नै छातीमा ढुङ्गाले थिचेजस्तो गह्रुङ्गो भ’को छ!’
पहिला पनि बाबालाई सामान्य हृदयघात भइसकेको थियो। उनको सातोपुत्लो उड्यो। नजिकै स्वास्थ्य चौकी थियो। फोन गरेर एम्बुलेन्स बोलाइन्। सरासर मुटु रोग अस्पताल लिएर गइन्।
करिब पौने घण्टामा एम्बुलेन्स अस्पताल पुग्यो। सिधै आकस्मिक कक्षमा लगिन्। उपचार गरेका पुराना कागजातहरू देखाइन्। पुनः विस्तृत चेकजाँच भयो। डाक्टरले तुरून्तै ‘सर्जरी’ गर्नुपर्ने सल्लाह दिए। त्यसपछि उनका आफ्ना पीर-तापहरू बाबाको जीवनको प्रश्नमा ओझेल परे। उनले एउटा कागजमा सहीछाप गरिन्। बुबालाई तत्काल अपरेसन कक्षभित्र लगियो। उनी व्याकुल मनले प्रतीक्षालयमा बसिन्।
मौसम चिसो थियो, बाक्लो कुहिरो पनि लागेको थियो। बगैँचाका लाचार बत्तीहरू अँध्यारोलाई चिर्ने अनवरत प्रयासमा थिए। उनी निःसहाय थिइन्। एक्लै थिइन्। बाबाकै बारेमा सोच्दै गइन्। के कारणले बाबालाई यस्तो भयो? नेटो काट्दै गरेको उमेरले कि अत्यधिक चिन्ताले? बाबा दुःख, वेदनालाई अनुभूत गर्ने प्रयास गर्दै गइन्–
‘बाबा शायद वर्षौंअघि चोला बिसाएकी आफ्नी श्रीमतीको यादमा एक्लै बसेर रूँदा हुन्, युरोपको भागदौडमा हराएका छोराछोरी वर्षौंसम्म भेट्न नआएको देखेर पनि कुँडिदा हुन्, बिहे गर्ने उमेरमा बाटो बिराएकी अविवाहित छोरीको खस्किँदै गएको उमेर देखेर पिरोलिँदा हुन्, आफ्नो लाचार बुढेसकालको एक्लोपन र रिक्तता देखेर अत्यासिँदा हुन्... उमेरका धमिराले खोक्रो बनाइसकेको शरीरलाई ढाल्न अरू के पो चाहिन्छ र !...’
बाबाका लाचार अनुहार आँखाभरि आयो। आँसुले गह भरियो। यसैबीच कोही आफैतिर आएजस्तो लाग्यो। आँसु पुछ्दै हेरिन्। ऊ अरू कोही थिएन, सुरज थियो। उसलाई देखेर मनमा गाँठो परेको संवेदनाको बाँध टुट्यो। दौडिएर उसलाई समाइन्। हिक्का काड्दै रून थालिन्। सुरजले उनलाई सम्झाउँदै भन्यो–
‘चिया पसलमा बाबालाई अस्पताल लगेको कुरा हुँदै थियो, मन मानेन र आएँ। आफूलाई सम्हाल, गौरिका। यो हिम्मतले काम गर्ने बेला हो।’
केही भावुक पलहरू बितेर गए। एकछिनपछि पोस्ट अपरेटिभ वार्डबाट बोलावट भयो। बाबालाई होस आइसकेको रहेछ। गौरिकाले बोलाइन्। उनले हल्का आँखा खोले। सुरजले तल सरेको कम्बल तानेर ओढाइदियो। बाबाले शिथिल नजरले दुवै जनालाई हेरे। मुहारमा हल्का सुखद भाव देखियो। ओठहरू मुस्कुराए जस्ता भए। फेरि उनले आँखा चिम्ले। अगाडि उभिएका डाक्टरले उनीहरूलाई भने–
‘उहाँ अब खतरामुक्त हुनुहुन्छ। तपाईंहरू बाहिर बस्नुहोला। केही पर्यो भने हामी बोलाउँछौँ।’
गौरिकाले सुखद निश्वास लिइन्। सुरजलाई हेरिन्। उसको अनुहार सदा झैँ ऊ सम्यक थियो– आत्मसंयम, चेतना र विवेकले उज्यालिएको। अवसरवाद, स्वार्थ र आत्मकेन्द्रित मनोवृत्तिभन्दा कैयौँ गुणा शालीन र ओजस्वी।
दुवै जना बाहिर आए। बाहिर उज्यालो भइसकेको थियो। एउटा लामो कालो रात बितेर गइसकेको थियो। घामका सुनौला किरणहरू धरती चुम्दै थिए। आकाश सफा थियो। क्षितिज खुला थियो। अनकौँ आशा, विश्वास र सम्भावनाहरू निर्बन्ध थिए।
***