उघार्नु छैन मलाई
मन्दिरको त्यो आदिम दैलो
बजाउनु छैन
अन्याय छोपेर बजिरहेको कर्कश घण्ट
चुँड्नु छैन
धर्तीको काखमा खेलिरहेका अनेकौँ फूल
र चढाउनु छैन उसलाई!
जलिरहेको धर्तीमा उभिएर
दिनु छैन
सूर्यलाई एक मुठी जल
झिक्नु छैन
कर्मको आरतीमा
रमाइरहेका हातहरू
बरु स्वीकार छ मलाई
ईश्वरको मृत्यु
तर
मानवताको मलामी बन्न सक्दिनँ!
जुरमुराउँछु
इतिहासको दैलो खोल्न
तयार छु सिक्न
मरेका दिनहरूको सत्यबाट
स्विकार्छु
इतिहास देखिएको गतिशील स्थिरता!
देशको मुटुमा टेकेर
बौलाइरहेको वर्तमान बर्बरतादेखि
बरु म, त्रसित त्रसित छु
किञ्चित हेर्न सकिरहेकी छैन -
यो डाँडाबाट
उ: तssssल
आँधी चलिरहेको अशान्त सहर
भाग्य खोसिएको कलिलो समृद्धि
समय साक्षी बस्न मान्दैन
सुन्न विवश छु म
सपना विपरीतको आर्तनाद
उन्यूघारी झैँ उन्माद सत्ता
प्रत्येक मान्छेभित्र सिंहासन बनाइरहेछ
कसरी हेरौँ,
अस्तित्व गुमाउँदै गएकी बाग्मती
अस्मिता लुटिएकी
आमाको वस्त्रविहीन शरीर ।
भो नजाऊँ गोरखा-
न्यायको आस लिएर
ऊ चन्द्रागिरि हिउँको मूर्ति भएको छ
कालु पाण्डेका आँखाले
पारिबाट भनिरहेछ मलाई-
‘लगाऊ जेठी तरबारमा धार!’
हे! मानवताका भक्षकहरू हो
शान्तिको यस पुण्य भूमिमा
कहिले बिसाउन पाउँछु मैले
यो जेठी तरबार?