पहाडको दुर्गम गाउँमा जन्मिएर तराईको फाँटमा हुर्किएको एउटा केटो, एसएलसीपछिको पढाइका लागि सहर छिर्छ। आफूले पढेको विद्यालयबाट राम्रो अङ्कसहित प्रथम भएको हुनाले राम्रो अङ्क ल्याउनेले विज्ञान पढ्ने समाजको स्थापित चलनअनुसार उसले विज्ञान नै पढ्नु थियो।
कहिल्यै घर नछोडेको ऊ, सपना र बाध्यताको भारी बोकेर सहर पस्यो। दुई वर्षमा दश जोड दुईको पढाइ पूरा भयो। यो तहमा विज्ञान पढेपछि एउटा अन्योलको चौराहामा सबै पुग्ने रहेछन्। स्वाभाविक रूपमै इन्जिनियरिङ लगायतका अनेक विकल्पहरू उसका सामु आए।
इन्जिनियरिङ भनेको के हो भन्ने गहिराइ नै नबुझेको ऊ सबैले भनेको सुनेअनुसार इन्जिनियरिङको तयारी गर्ने भनेर बुझ्न थाल्यो र घरमा प्रस्ताव पनि गर्यो। तर जब सोच बनाएर प्रयत्न गर्यो/बुझ्यो, तब उसले पढ्नका लागि केवल सोच र आफ्नो लगनले मात्र पुग्दो रहेनछ, यसका लागि अन्य पाटाहरूको भूमिका झन् धेरै हुने रहेछ भन्ने यथार्थ थाहा पायो।
अब उसले विकल्प खोज्नु थियो। आफ्नो अवस्थाअनुसार तत्काल आफ्नै खुट्टामा उभिनु पनि थियो अनि जीवनमा सबथोकभन्दा धेरै प्रेम गरेको 'पढाइ' लाई पनि अगाडि बढाउनु थियो। धेरै सोचेपछि उसले निर्णय गर्यो लोक सेवा तयारी गर्ने र स्नातकमा विज्ञानभन्दा फरक कुनै विषय पढ्ने। सोचअनुसारै तयारी सुरु भयो। शिक्षाशास्त्रतर्फ स्नातक पनि भर्ना भयो। लोक सेवाले फागुनको अन्तिम बुधबार विज्ञापन गर्यो। त्यो विज्ञापनमा आवेदन दिएर उसले परीक्षा दियो र नाम पनि निकाल्यो।
अब ऊ 'खरिदार साब' भयो।
हिजो तयारी गर्ने बेला निजामती पोसाकमा सजिएकाहरूलाई ‘कुन ग्रहबाट आएका होलान्, यिनीहरूसँग एक मिनेट बोल्न पाएको भए!’ भन्ने सोच्ने उसलाई, अब आफू त्यही पोसाकमा हुने परिस्थिति आउँदा आफूप्रतिको विश्वास ह्वात्तै बढेर आयो। संसार जितेको अनुभूति र आफूले संसारका हरेक चुनौती पार गर्न सक्छु भन्ने अति आत्मविश्वास मनमा पलायो।
उसलाई आफ्नो कक्षागत पाठ्यसामग्रीका साथै अन्य पुस्तकहरू अध्ययन गर्न खुब रमाइलो लाग्थ्यो। १० कक्षासम्म पढेको विद्यालयमा 'रुम टु रिड' भन्ने संस्थाले पुस्तकालय स्थापना गरिदिएपछि उसको खाली समय त्यहीँ बित्थ्यो। त्यहाँका अधिकांश पुस्तकका सम्पूर्ण पानाहरूले उसको हातको स्पर्श पाएका थिए। उसको कलिलो मस्तिष्कमा ती पुस्तकहरू र हेर्ने गरेका चलचित्रहरूको गहिरो प्रभाव परेको थियो। दिमागमा महात्मा गान्धीजस्ता पात्र र ‘सादा जीवन उच्च विचार’ जस्ता उक्तिहरू छापिएका थिए। यिनै प्रभाव र आफ्नो अवस्थाको अनुभूतिले होला सानैदेखि तडकभडकबाट टाढा रहने र आफ्नो वास्तविकतामा रमाउने उसको बानी नै थियो।
खरिदारमा सिफारिस भएर सम्बन्धित कार्यालयमा गई उसले नियुक्ति लियो। नियुक्ति लिँदा उसको मनमा एउटै कुरा थियो— ‘यो कार्यालयमा धेरै बसे एक वर्ष त होला, अर्को वर्ष त नासु भइहाल्छु।’
उसलाई थाहा थिएन केही नगरी बसेर पढेजस्तो बिदा भएको २/३ घण्टासम्म पनि काममा जोतिँदै पढ्न गाह्रो हुनेछ भन्ने। दुई दिनपछि जब जिम्मेवारी तोकियो, ऊ अत्तालियो। उसलाई कार्यालयको सबैभन्दा धेरै खटिनुपर्ने र सबैभन्दा अबेरसम्म बस्नुपर्ने ठाउँको जिम्मेवारी मिल्यो। कहिल्यै कतै काम नगरेको र जागिरको अनुभव नभएको उसलाई नयाँ ठाउँमा बसाइ व्यवस्थापन गर्न निकै गाह्रो भयो। त्यहाँ भएका आफन्तहरूको घरमा पालैपालो बस्दै कोठा खोज्दै गरेको उसलाई अर्को चुनौती थपियो।
उक्त फाँटमा ऊसहित दुई जना कर्मचारी थिए। जिम्मेवारी तोकिएको पहिलो दिन अर्को कर्मचारीले ‘सर, तपाईँ जाँदा हुन्छ, म बसिहाल्छु, हाकिम साबलाई सोधेर जानुस्’ भनेपछि साढे ४ बजेतिर ऊ हाकिम साबको कोठामा छिर्यो र भन्यो ‘मलाई कोठा खोज्नु छ सर, एक जना बस्नुभएको छ, म जाँदा हुन्छ?’
हाकिमले ‘म बसिरहेको छु, तपाईँ बस्न नसक्ने?’ भनेर झपारेपछि फाँटमा गएर आँसु चुहाउँदै बस्नुको विकल्प रहेन। भर्खर जागिर सुरु गरेको, पढेर अर्को वर्ष नासु भएर जाने सपना देखेको मान्छे कार्यालय समयभन्दा पछिसम्म कार्यालयमै बस्नुपर्ने र आफ्ना बाध्यता बताउँदा हाकिमले थर्काउने अवस्था भोगेपछि बुवाआमालाई सम्झेर फाँटको अर्को साथीले नदेख्ने गरी रोयो।
पुसको महिना, कार्यालय ४ बजे बिदा हुने भए पनि छिट्टै रात पर्ने हुँदा ऊ त्यहीँ बसेर मनमा अनेक तर्कना गरिरह्यो। ६ बजेतिर हाकिम साब आएर ‘तपाईँ कोठा खोज्न जाने भनेको हैन, जानुस्’ भन्ने मर्जी भयो।
उसले मनमा दबिएको पीडा र रिस मिश्रित आवाजमा उत्तर दियो— ‘जाने त भनेको नि, अहिले रात परिसकेपछि कहाँ जाऊँ?’
हाकिम साबको ‘कहाँ बस्नुहुन्छ त?’ भन्ने प्रतिप्रश्नमा उसले ‘होटेलतिर बस्छु, अब कहाँ बस्नु’ भन्यो। यो भन्दै गर्दा उसलाई सापटी मागेर ल्याएको पैसाको माया पनि लाग्यो।
हाकिमले ‘खाना बाहिर खानुस्, बस्न त यहीँ अफिसको गेस्ट रुममा बसे पनि हुन्छ’ भनेपछि उसको रिस अलिकति शान्त भयो र त्यो रात अफिसमै बितायो। राति पनि जागिरप्रतिका अनेक तर्कहरू मनमा खेलिरहे।
जागिर चल्दै थियो। गर्मी याम सुरु भयो। गर्मी ठाउँ भएको हुँदा सबै कर्मचारीको पोसाकबाट जुत्ता हटेर चप्पल थपिएको थियो। अपवादबाहेक सबैका खुट्टामा चप्पल थिए। यो देखेपछि खरिदार साबलाई पनि चप्पल सामान्य रहेछ भन्ने लाग्यो। ऊ पनि चप्पल लगाएर कार्यालय जान थाल्यो। १५-२० दिनसम्म तिनै चप्पल लगाएर कार्यालय गयो। यो अवधिमा ऊ हाकिम साबकहाँ जाने काम परेको थिएन। एक दिन काम परेर हाकिम साबकहाँ जानै पर्ने भयो। फाइल बोकेर हाकिम साबको कोठामा छिर्यो। त्यहाँ अन्य ३-४ जना 'साब' हरू पनि हुनुहुन्थ्यो।
हाकिम साबको अगाडि गई ‘सर नमस्कार! यो काम थियो’ भन्दै फाइल दिएर फाइलको सन्दर्भमा प्रश्न आउने अपेक्षासहित उभिएको खरिदार साबको कानमा एक्कासि हाकिम साबको बोली पर्यो- ‘के हो खरिदारजी, अफिस चप्पलमा आउने, त्यो पनि हात्तीछाप?’
यो सुनेपछि ऊ खङ्ग्रङ्ग भयो र अरू साबहरूका खुट्टामा हेर्यो। हाकिम साबका खुट्टा टेबुलले छेकेका थिए। अरू साबहरूका खुट्टामा पनि चप्पल नै थिए तर फरक यत्ति थियो ती हात्तीछाप थिएनन् र खरिदार साबका चप्पलभन्दा ३-४ सय बढी मूल्यका थिए। सबै साबहरूका अगाडि यसरी आफ्नो उपहास हुँदा उसले गहिरो अपमान र लज्जा महसुस गर्यो। उसको ‘सादा जीवन उच्च विचार’ को सोच धरमरायो। अनि उसले बुझ्यो— यहाँ मान्छेको मात्र होइन, चप्पलको पनि दर्जा हुँदो रहेछ।
त्यसपछि उसको हात्तीछाप चप्पलले कहिल्यै कार्यालयमा पाइला टेक्न पाएनन्। ती शौचालय, स्नान गृह र तरकारी पसलसम्म मात्र सीमित रहे। कार्यालय जाने बानी परेका ती चप्पलहरू आफ्नो मालिकको उपेक्षाबाट निराश भए र खरिदार साबलाई मनमनै भने— ‘मालिक, आखिर तपाईँले पनि त दर्जा छुट्टाएर व्यवहार गर्नुहुँदो रहेछ।’ तर ती चप्पलका पीडाहरूको बोध खरिदार साबलाई कहिल्यै भएन, जसरी हाकिम साबलाई उसको पीडाको भान भएको थिएन।
(लेखक शाखा अधिकृत हुन्।)