किन हो,
त्यो परको गगनमा चम्केको तारा झैँ
टाढा लाग्थ्यो तिमी
हराउँछौ कि भन्ने डर लाग्थ्यो
बिलाउँछौ कि भन्ने त्रास थियो
तर आत्माको छिनो पर्दा च्यातेर हेर्दा
तिमी त भित्रै रहेछौ।
दूरीहरू त आँखाले देखेको
भ्रम पो रहेछन्
अनुभवको सामीप्य
हृदयले सुन्ने संगीत भएछन्
त्यही संगीत सुनिरहन्छु… सुनिरहन्छु…
सुन्नुको अनुभूति- कन्दराको आवाज होइन
यो त आत्माको अस्तित्व रहेछ
जसले अवचेतन जीवनमा
चेतनाको प्रकाश दिन्छ।
यसैले,
जसलाई म हराउँछ कि सोच्थे
जसलाई म बिलाउँछ कि ठान्थे
तर तिमी टाढा रहेनछौ
तिमी त अनुभूति भएर
ध्यानस्थ शून्यतामा
शान्त समुद्र जस्तै स्थिर रहेछौ।
यसैले,
म पो चेतन यात्राको
एक पथिक रहेछु
आफैभित्र तिमी हुँदा पनि
तिमीलाई नै खोज्दिरहेछु!