म कहिलेकाहीँ सोच्छु
चन्द्रमामा दाग नभइदिएको भए
के चन्द्रमा त्यतिकै सुन्दर देखिन्थ्यो होला
जति अहिले उसको बयान गरिन्छ!
म सोच्छु, कहिलेकाहीँ
सूर्य पश्चिमबाट उदाएको भए
के हाम्रो समय त्यसरी नै चल्थ्यो होला
जसरी चलिरहेको छ आजभोलि!
म सोच्छु,
कुनै दिन हावाले आराम गर्न खोज्यो र
रोकिदियो वहन पनि
त्यसपछि साँच्चै ढुंगा माटो पनि
के हामी सजीव मानिन्थे होला!
म कहिलेकाहीँ सोच्छु
वर्षौँदेखि ढोग्दै आएका हाम्रा ती मूर्तिहरू
मानौँ एकाएक बोल्न थाले भने
जसरी पहिला एक ढुंगा हुँदा पुज्थ्यौँ
के हामी त्यसरी नै पुज्थ्यौँ होला!
म सोच्छु,
कुनै दिन नदीनाला, झरनाहरूले
रोकिने निर्णय गरे भने
हेर्दा देखिने विशाल सागर
के साँच्चै यस्तै देखिन्थे होला!
त्यस्तै म, कहिलेकाहीँ सोच्छु
हुन त मान्छे जिउँदो हुनुको प्रमाण
सासले दिन्छ, तर कुनै दिन तिमीले
मेरो चलिरहेको सासमा पनि
मलाई जिउँदो भेटाएनछौ भने
साँच्चै तिमीले के गर्छौ होला!
म सोच्छु कहिलेकाहीँ,
कुनै दिन अचानक हाम्रा
अधुरा सारा इच्छा-चाहना पूरा भए भने
त्यसपछि के हुन्छ होला?
के हामी कसैलाई त्यसरी नै पर्खिन्छौ होला
के हामी के त्यसरी नै जीवन बिताउन सक्छौँ
जसरी पहिला जीवन बिताएका थियौँ
जुन मज्जा थोरै उमिद, केही पश्चात्ताप
केही गुनासा र केही प्रसन्नतामा छ के
के त्यो मज्जा कहाँ जीवनको पूर्णतामा होला!