त्यस दिन
फनक्क फर्केर गौँडाबाट
कता मोड्नु भएको थियो गोडा
र हराउनु भएको थियो डाइनोसर झैँ
बिर्सेर वचनको गोरेटो
अठोटको दुई हात नमस्कार।
आउनुस्!
फर्केर आउनुस्!
घुम्नुपर्छ पटक-पटक
तपाईंले घोषणापत्रमा कोर्नु भएको त्यो सुन्दर गाउँ
जीर्ण भएर पर्खिबसेका कोर्नु भएको त्यो सुन्दर संरचना
बिर्सनु त भएको छैन कतै?
के लेख्नु भएको थियो अक्षरमा?
कसरी हल्लाउनु भएको थियो हात किट्दै दाँत
बेस्सरी फुलाउनु भएको थियो गलाको नशा
बुझेर के मुसुक्क हाँसेका थिए
आँखामा आँखा जुधाएर ती सोझा गाउँले
जुरुक्क उठे र के सम्झेँ खै!
बजाएका थिए पररर निकै बेर थपडी
तर दुखिरह्यो वर्षौँ वर्ष बोकेर पीडाका हत्केला
हराए कहाँ ती बचेरा मन
बसाए कहाँ तीनले खुसीको गुँड
तपाईंले तनक्क तन्केर
उठाउनु भएको झन्डा झैँ विचारको शिर
घोप्टियो बनेर दुखको सगरमाथा
आश्वासनले कस्नु भएको मुठ्ठी
कर्याप्प अङ्गालोमा बेर्नु भएको सपनाका चौडा छाती
झुक्न नदिने वाचा
थाक्न नदिने पैताला
खस्न नदिने पाखा पखेराका अर्गानिक पसिना
च्यातिन नदिने इमानको इस्टकोट
मैलिन नदिने टाउकोमै छड्केको टोपी
बिरानो हुन नदिने सम्बन्धका चौतारी
खोस्रँदा खोस्रँदै बनेका राटामा
खस्न नदिने आँखाका डिल
र आँगनमा उम्रन नदिने वनमाराको झाडी
त्यस दिन
फनक्क फर्केर गौँडाबाट
कता मोड्नु भएको थियो गोडा
र हराउनु भएको थियो डाइनोसर झैँ— वर्षौँ वर्ष!
ओहो!
मान्छे हुनलाई
मान्छे भएकोमा गुनासो गर्नुपर्ने
देश जस्तो ठाउँ बनाइदिनु भयो तपाईंले
ओहो!
जनता हुनलाई
जनता भएकोमा मतदान गर्नुपर्ने
चुनाव जस्तो मतपत्र बनाइदिनु भयो तपाईंले
र बूढी औलोमा टाँस्दिनु भो, आशाका नीलो रङ्ग
केही त पक्कै बनाउनु भो तपाईंले
र त तपाईं महान् हुने अभियानमा हुनुहुन्छ
र तपाईंको अभियानमा सरिक हुन
भर्खर, एउटा गाउँ आइपुगेको छ बिच सडकमा
अब भेट्टाएपछि तपाईंलाई
कसैगरी आफू हराइ गएकोमा
गुनासो भने तपाईंले गर्न पाउनु हुने छैन!