खै के जाति फूल फुलेका हुन् त्यहाँ!
बा'हरूको बहिर्गमन
र आमाहरूको अधिकारवादी आन्दोलनपछि
जरुर फेरिएको हो पहाडको मुहार
तर कतै छैन बाटाको पदचाप
उनीहरूले भेल-बाढीझैँ ल्याएको
स्वतन्त्रताको नवीन सुख
कुनै सहरतिर बेवारिसे मानिसझैँ
हल्लिरहेछ आफ्नै गतिमा
यो बेलामा गाउँभरि उम्रिएको छ
तीतेपाती र भूगो
घर-घरका जगहरूमा
लालित्यपूर्ण तवरले हुर्किएका छन्
भाङका कलिला बोटहरू
गाउँभरि हल्ला चलिरहन्छ
गाउँ छाड्नेहरूको
यस बखत केही थान कोप्रा शरीरहरू
जवान हुने आशामा पर्खिएका छन्
यो संयोग समायोग हो
हुनसक्छ अधियोग पनि
आशा छ सन्ध्यातर्फको
उदाउँला कुनै तारा
फेरि फर्किएला गाउँतिर
अवश्य बन्लान् पहाडहरू झकिझकाउ
अपशोच! त्यति बेलासम्म गन्हाउने छन्
कुहिएर केही थान सालिकहरू
अब एउटा अन्तिम हल्ला चल्न बाँकी छ
फेरि फेरिनेछ युगीन चेतना
र उदय हुनेछ नवीनताको
सल्किन सक्छ फेरि हावामा आगो
फैलिन सक्छ सर्वत्र
कसको काँटीले कोर्छ एक झुल्को
त्यसैले जलाइदिनेछ व्यर्थको चिच्याहट
बन्द गरिएका छन् बाटाहरूका कान
पर्वतहरू हेरिरहेछन् अवसरका छालहरू
सायद, केही क्षणपछि
सकिँदैछ अहमतावादी पूर्ण स्वामित्व
एक अन्धविश्वासयुक्त युग।