विमानमा भैरहवादेखि काठमाडौँसम्मको यात्रामा सबितालाई खासै थकान महसुस भए जस्तो लागेको थिएन। आमाले ‘अलिकति आराम गर’ भन्नु भएपछि सबिता फ्रेश भएर उहाँको सुत्ने कोठामा आएर पल्टिन्। भाउजू अफिसमा जानु भएको थियो। आमाले भान्सामा घरेलु कामदार शिलालाई केही निर्देशन दिँदै हुनुहुन्थ्यो।
भोलिपल्ट बुवाको पुण्यतिथि। हरेक वर्ष सबिता आमाको इच्छाअनुसार यहाँ आउने गर्छिन्। सबिता पाँच वर्षको थिइन् जब उनको बुबाको सडक दुर्घटनामा मृत्यु भएको थियो। त्यति बेला उनको दाइ दश वर्षका थिए। आमा शिक्षक हुनुहुन्थ्यो। अहिले उनी रिटायर्ड भइसकिन्।
सबिताको पच्चिस वर्षको वैवाहिक जीवनमा सुस्मिता र सुमन जन्मँदाको समयमा मात्रै आमा आउन सकेकी थिइन्। बाँकी हरेक वर्ष सबिता आउने गरेकी छिन्। भोलि हुने श्राद्धको बारेमा सोच्दै चुपचाप पल्टिरहेकी थिइन्। दाइको छोरा राजन र आमाको आवाजले सबिताको निद्राको त्यान्द्रो चुँडियो, ‘लौ सब्बु, केही खाऊ।’ माइतीमा सबितालाई सब्बु भनेर बोलाउँछन्।
शिला मुस्कुराउँदै ट्रे लिएर आमाको पछाडि देखा परिन्। सबिताले भनिन, ‘आमा, यी सब?’
‘थाकेर आएकी होली, घरको काम सकेर आउँदै गर्दा केही खायौ कि खाएनौ?’
सबिता हाँसिन, ‘मलाई थाहा छ आमा! सबै आमाहरू यस्तै हुन्छन्। मैले घरमा राम्रोसँग खाएर आएको छु।’
आमाले थालमा परौठा र दही राख्नुभयो र सुजीको हलुवा राखेर सबितालाई दिनुभयो। माइतीघरमा आउने बित्तिकै परिपक्व महिला पनि एक चञ्चल युवतीमा परिणत हुन्छिन्। त्यसैले सबिताले पनि बालापन देखाउँदै भनिन्, ‘अहँ! म यति धेरै खान सक्दिनँ र हलुवा त खाँदै खान्न।’
आमाले मायालु स्वरमा भनिन, ‘यो डाइटिङ भैरहवामा मात्र गर्नू, मेरो अगाडी हुँदैन। खाऊ, मेरी छोरी।’
‘उसो भए तपाईंको खाजा पनि ल्याउनुस् अनि सँगै खाउँला।’
‘म ल्याइदिन्छु’ भन्दै शिला भान्सामा गइन्। आमाछोरी दुवैले सँगै खाजा खाए। दाजु-भाउजू अफिसबाट बेलुकी मात्रै आउँथे। सबिताले सोधिन, ‘भोलिको लागि केही ल्याउनु छ आमा?’
‘पर्दैन, पुष्करले आइतबार नै सबै तयारी गरिसकेको छ। तिमी अलिकति आराम गर। म शिलालाई केही काम अह्राएर आउँछु।’
दिउँसो राजन पनि आएर सबितासँग केही बेर बस्यो। सबिताको एक मात्र भदा राजनलाई एकदमै माया गर्छिन्। सबिताको माइती परिवारमा थोरै सदस्य छन्। सबैको शान्त स्वभावका कारण घरमा मायालु वातावरण छ। सबिता माइती आउँदा राम्रो अनुभव गर्छिन्। तीन घण्टाको समय कसरी बित्यो पत्तै भएन। राजन कोचिङ क्लासमा गएपछि सबिता पनि आमाको छेउमा गएर पल्टिन्। आमा पनि दिउँसो केही बेर पल्टने बानी छ।
सबितालाई खासै निद्रा लागेन, उठेर, बैठक कोठामा आइन्, सोफामा बसेर पत्रिकाका पाना पल्टाउन थालिन्। यसैबिच ढोकाको घण्टी बज्यो। उनले ढोका खोलिन्। एक्सप्रेस डेलिभरी आएको थियो। उसको हातमा एउटा खाम थियो, त्यसमा सबिताको नाम थियो। प्रेषकको नाम विवेक देख्ने बित्तिकै सबितालाई अचम्मको झट्का लाग्यो। उसको हत्केला पसिनाले भिजेको थियो। सबिता खाम हातमा लिएर सोफामा थचक्क बसिन्।
सधैँ झैँ विवेकले थोरै शब्दमा धेरै कुरा भनेको थियो, ‘मलाई थाहा छ तिमी यस बेला यही हुनेछौ। ठिक लाग्छ भने सम्पर्क गर्नू।’
सबितालाई थाहा छैन कसरी उनको आँखा चिसो हुन थाल्यो। तिनले मनमनै सोचिन्, विवेकलाई उसको बुवाको पुण्यतिथि पच्चिस वर्षपछि पनि याद रहेछ। विवेकको सन्देश सबितासम्म पुग्न यही एक मात्र बाटो थियो। ऊसँग सबिताको मोबाइल नम्बर पनि छैन, न त सबिताको भैरहवाको ठेगाना थाहा छ। त्यति बेला घर घरमा फोन पनि थिएन। उसले सोच्न सक्ने एउटै बाटो थियो। सबिता जहाँ भए पनि बुबाको पुण्यतिथिमा माइती पक्कै आउनेछिन् भन्ने कुरामा विवेक विश्वस्त थियो र उसको यो प्रयासले सबिताको हृदयको हरेक कुना उसको मीठो सम्झनाले भरिरहेको थियो।
विवेक! सबिताको पहिलो प्रेम सम्बन्ध सुगन्धित पुष्पको जस्तै थियो। एउटा कालखण्ड नै बितिसकेको रहेछ ऊसँग भेट नभएको। कलेजमा पढ्दाका ती दिनहरूमा दुवैलाई भेट हुने अवसर बिरलै मिल्दथ्यो। अवसर पाए पनि एक प्रकारको संकोच र सामाजिक संस्कारको डर मान्नु पर्दथ्यो। विवेकले कलेजको अध्ययन सकेपछि काम पनि पायो। उसको विवाहको कुरा चल्न थालेपछि परिवारमा सबिताको बारेमा जानकारी गरायो। त्यसपछि जे कुराको डर थियो त्यही भयो। उनको परिवारमा अति-रूढीवादी सोचका कारण उनीहरूको प्रेम सम्बन्ध पराजित भयो।
परम्परा, सामाजिक नियम र अग्रजहरूको आदेशको अगाडि मौन बस्नु पर्ने भयो, केही लागेन। के प्रेम जात र धर्म हेरेर गरिन्छ? अनि उनीहरू दुवैले एकअर्कालाई भविष्यको लागि शुभकामना दिएर गह्रौँ मनले अलग भएका थिए। सबिताले आफ्नो मनलाई यो कुरामा विश्वस्त गराएकी थिइन् कि प्रेममा सबै कुरा पाउन सकिँदैन, धर्ती र आकाश कहाँ मिलन भएको छ र? साँचो प्रेममा शरीरभन्दा बाहिरको मनसँग जोडिन्छ। त्यस्तै नै भयो, उनीहरू छुट्टिएका मात्र थिए।
विवेकसँगको बिछोडमा सबिताको आँखाबाट बगेका अनगिन्ती आँसुहरू विवाहपश्चात् माइतीबाट बिदाइ हुँदाको आँसुमा मिसिएका थिए। उनले यो अध्याय त्यहीँ समाप्त भयो भन्ने ठानेर आफ्नो लोग्नेको घरमा आएकी थिइन्। तर आज त्यही बन्द अध्यायका पानाहरू फेरि खुल्नको लागि सबिताको अगाडि हल्लिरहेका थिए।
खाममा पठाउने ठेगाना यहीँ काठमाडौँ नै लेखिएको थियो। सबिताले मनमनै प्रश्न गरिन्- ‘के म उसलाई भेटूँ? कस्तो छ हेरूँ? उसको परिवारलाई पनि भेटूँ? तर यो भेटघाटले शान्त र सुखी वैवाहिक जीवनमा अशान्ति निम्त्याउने हैन?’
सबिताको मनले विवेकलाई भेट्न आग्रह गरिरहेको थियो तर तिनको अर्को मनले भनिरहेको थियो कि पछाडि फर्केर हेर्नु ठिक हुँदैन। तर सबितालाई एक पटक विवेकलाई भेट्न मन लागिरहेको थियो। यो पच्चिस वर्ष कस्तो रह्यो, के गर्यो भनेर सोध्न अनि आफ्नो बारेमा पनि बताउन चाहन्थिन्। अनि अचानक सबिताको दिमागमा के आयो कुन्नि, चुपचाप स्टोर रुमतिर लागिन्।
तिनले तल सामानहरूले छोपिएको एउटा बाकस उठाइन्। तिनको यो बाकस वर्षौँदेखि यहीँ छ। कसैले पनि यसलाई छोएको थिएन। सबिताले बाकस खोलिन्, त्यसभित्र अर्को बाकस पनि थियो। तिनको अगाडि विवेकले लेखेको केही पुराना पहेँला भइसकेका मसीले लेखिएका पत्रहरूको प्रत्येक पृष्ठमा आँखा अगाडि पुराना सम्झनाहरू सुन्दर तस्बिर जस्तै आइरहेको थियो। लाग्थ्यो यी पत्रहरूमा कति भावनाहरू रेकर्ड गरिएका छन्। सबिताले महसुस गरिन्, आजकल मोबाइल फोनले प्रेमिल जोडीहरूका लागि धेरै विकल्पहरू खोलिदिएको छ। फेसबुकले अज्ञात सम्बन्धहरूलाई पनि नजिक बनाइदिएको छ।
सबै सामानहरू काखमा फैलाएर सबिता अनगिन्ती पुराना सम्झनाहरूको घेरामा बसिरहेकी थिइन् जहाँ केही पनि बनावटी थिएन। यी अक्षरका शब्दहरूको जादु र भावनाहरूको सम्मोहनले हृदयमा प्रवेश गरेको थियो। प्रत्येक शब्दले लेख्ने व्यक्तिको उपस्थिति महसुस हुन्थ्यो। विवेकले एउटा कागजमा लेखेको थियो, ‘प्रेमको यो नदी, यसको प्रवाह विपरीत दिशामा छ। जसले पौडेर जान सक्यो, उसले नै तर्न सक्छ।’
सबिताको ओठमा मुस्कान आयो। आजका केटाकेटीहरूले यी शब्दहरूको गहिराइ बुझ्न सक्दैनन्। आफ्ना प्रेमीहरूलाई केवल ‘आई लभ यु’ स्माइली प्रयोग गरेर कुरा गर्छन्। विवेकले कहिल्यै पनि पत्रहरूमा आफ्नो वा सबिताको नाम लेखेन, त्यसैले यसलाई सुरक्षित राख्न सक्षम भइन्।
विवेकले दिएका धेरै कुराहरू सबिताको अगाडि थियो। उसले दिएको कलम, उसले दिएको पहेँलो भइसकेको सेतो रुमाल जुन उसले पानीमा भिजेको बेला अनुहार पुछ्न दिएको थियो अनि सबितालाई दिएको उसले लेखेका कलेजका केही नोटहरू। कहिलेकाहीँ उसले सबितालाई एउटा कागजको टुक्रा दिन्थ्यो जसमा सुन्दर गजलका लाइनहरू लेखिएको हुन्थ्यो।
स्टोर रुमको चिसो भुइँमा बसेर सबिताले विवेकको चिठीहरू पल्टाउँदै थिइन्। यी सम्बन्धको मिठासले भरिएको सम्झनाहरूलाई सधैँ सुरक्षित राख्न चाहन्थिन् तर यसलाई कहाँ राख्ने? यदि कसैले यसलाई देखिहाल्यो भने के भनेर सम्झाउने? त्यसै पनि, अब वर्तमानमा यो विगतको अध्यायको न त आवश्यकता थियो न त स्थान नै। त्यसपछि सबिताको मनमा के आयो कुन्नि अन्तिम पटक आँसुले भरिएका आँखाले लामो समयको अन्तरालमा विवेकले लेखेको आजको पत्रलाई हेरिन् र त्यसलाई टुक्रा-टुक्रा पारिन्। यसलाई कतै राख्नु आवश्यक देखिनन्।
यसमा भएका भावनाहरूको सुगन्ध सबिताको मनमा बसेको थियो। अब ऊ जीवनभर यही सुगन्धमा भिजिरहने छ। विवेकले सबितालाई बिर्सेको रहेनछ। उसले सबितालाई भेट्न चाहन्थ्यो, सबिता पनि भेट्न चाहन्थिन्। सबिताको लागि यो अनुभूति कुनै अपराध थिएन, यो प्रेम थियो, यो खुसी थियो।