कतै नखोज्नु
उघारेर पुरानो दराजको सिसा
र नपल्टाउनु
पुस्तकका एक-एक पाना।
नपुग्नु
सोध्दै खोज्दै उही गाउँ!
स्क्रोल गर्दै-गर्दै
फेसबुकको प्रोफाइल
नकोट्याउनु संकटकाल
अनि कोभिड कालको घाउ!
स्मृतिदंशले विक्षिप्त
भएर
ओठहरू नटोक्नु
बिर्सेर समय
जमाएर आसन
नलेख्नु कविताहरू
बरु,
एक पल चिम्लेर आँखा
छोएर बिस्तारै
छातीको धड्कन,
हातका औँलाका रौँहरूमा
लागिरहेको चिसो हावा
र शिरै माथिको अप्रतिम
आकाश निहार्नु।
टोलाउनु त्यतै
ढाका टोपी जस्तै
अटल अमर
सगरमाथाको शिरमा।
रमाउनु देखेर
ब्रह्माण्ड जस्तै
एक नवजात नानी
र
कोशीटप्पुमा दगुर्ने हरिणका आँखा!