एउटै रङले
जिन्दगीका सबै रङ फेरिदिन्छ—
हिजोसम्म बाबाको काँधमा
निश्चिन्त निदाउने छोरी
आज अचानक
झुटो नलाग्ने बनाइदिन्छ।
कति बलियो छ त्यो सिन्दूरको रंग, हेर न—
क्षणभरमै
आफ्नै घर पराई बनाइदिन्छ
छोरीलाई बुहारी
माइतीलाई परदेश बनाइदिन्छ।
कसरी अपमान गरूँ म त्यो रङलाई
जसले सबै थोक सुम्पेर
नारीलाई अर्काको बनाइदिन्छ?
त्यो सिन्दूरको मूल्य
उसलाई सोध—
जसले यौवनमै
आफ्नो जीवनसाथी गुमाएकी छिन्,
रहर हुँदाहुँदै पनि
समाजका पर्खाल नाघ्न नसकेकी,
नचाहेर पनि
सबै चाहनाहरू बेरङ बनाएकी।
सिन्दूर खोसिएपछि
समाजले कहिले अलच्छिनी,
कहिले अनेक आरोप लगाइदिन्छ।
त्यसैले त
दसैँमा आमाले टीका लगाइदिँदा
'सौभाग्यवती बनेस्' भनेर
आशीर्वाद दिनुहुन्थ्यो।
आज मात्र
ती शब्दहरूको अर्थ बुझ्दै छु
किनकि आमाले पनि
यौवनमै सिन्दूर गुमाएकी थिइन्।
उनको जीवन बेरङ भएको थियो
उनले यौवनका रहरहरू
अँठ्याएर राख्नुपरेको थियो
नचाहँदा नचाहँदै
राता चुरा फोड्नुपरेको थियो
फूलबुट्टे सारी र
सप्तरंगी चोली फाल्नुपरेको थियो।
त्यसैले त
म मेरो जीवनमा
यस्तो रंग चाहन्नँ
तिमीसँग जोडिएर आउने
रङिन कुनै संसार चाहन्नँ।
किनकि मैले चाहेको
रङिन दुनियाँ
तिमीसँग मात्र सीमित होस्
म त्यस्तो चाहन्नँ।
यति भन्दै–भन्दै पनि
यदि तिमी
मेरो जिन्दगीमा आउँछौ भने—
बिन्ती छ,
मेरोभन्दा बढी आयु लिएर आऊ
म बाँचुन्जेल
मेरो संसार नउजाड्ने
वाचा गरेर आऊ
वाचा गरेर आऊ।