गाउँमै +२ सम्म पढेर ब्याचलरको लागि काठमाडौँ आएको थिएँ।
काठमाडौँको अनुभव थोरै फरक भएता पनि यो मेरो सपनाको सहर थियो। मनमा अनेक सपनाको जालो बुनको थिएँ। कलेज भर्ना पनि भएँ। त्यसको केही दिनमा साथीहरू मिलेर पोखरा टुर जाने प्लान गरेका थिए। जाने मनसाय नहुँदा नहुँदै पनि साथीहरूको लहैलहैमा लागेर म पनि उनीहरूसँगै टुर जाने निर्णय गरेँ।
अचानक प्लान बने पनि धेरै साथीहरू जाने भएछन्। हामीले दुई वटा जिप रिजर्भ गर्यौँ। मलाई गाडीमा खासै सन्चो नहुने भएकाले यात्रा सोचेजस्तो भएन। साथीहरू भने गीत गाउँदै रमाइलो गरिरहेका थिए। हामी चढेको जिप बिग्रिएको हुनाले अर्को जिपमा रहेको साथीहरूले हामी जाँदा होटेलको व्यवस्था गरिसकेका रहेछन्। हामी फेवाताल नजिकै उत्रियौँ।
साथीले फोन गरेर अर्को ग्रुपको व्यक्तिलाई हामीलाई लिन आउन अनुरोध गरिन्। एकछिन कुरेपछि एउटा केटा साइडबाट आएर ‘ल हिँड्नुस् जाऔँ’ भन्यो। फर्केर हेरेँ। मेरो आँखालाई उसको तस्बिर कैद गर्न एक सेकेन्ड पनि लागेन। सायद त्यति राम्रो मान्छे मैले जीवनमा पहिलो पटक देखेको थिएँ।
अन्त्यतै सुन्दर थियो ऊ। देख्दै मन परेको मेरो जीवनको पहिलो व्यक्ति थियो। हाम्रो नजर एक अर्कामा थियो। मैले झैँ उसले पनि मलाई नियालिराखेको थियो। आफैलाई असहज महसुस भएर मैले नजर अन्तै मोडेँ। त्यसपछि हामी सबै जना कोठातिर लाग्यौँ। रात धेरै भइसकेकोले म फ्रेस भएर खाना खाई सुतिहालेँ। केही साथीहरू क्याम्प फाइर गर्दै नाचगान गर्नमा व्यस्त थिए।
भोलिपल्ट बिहान सबै साथीहरू ताल बाराही मन्दिर जाने भन्दै थिए। मलाई गाडीको लामो यात्राले चक्कर आएझैँ भएर उठ्न मन थिएन। शरीरमा हिँडडुल गर्ने जाँगर पनि थिएन। साथीले बाहिर जान एकदमै कर गरिरहेकी थिइन् तर मेरो जिद्दीपनको अगाडि उनको केही सीप चलेन। म नजाने भएपछि ऊ पनि नजाने भएछ, कारण के थियो बुझ्न सकिएन।
साथीहरू बाहिर निस्केको केही बेरपछि म कोठा बाहिर आएर बाहिरी वातावरण नियाल्दै थिएँ। पछाडिबाट उसले बोलायो। मैले फर्केर हेरेँ तर केही जवाफ दिइनँ, केवल मुस्कुराए मात्र। ऊ आफैले कुराकानी सुरु गर्यो। केही बेरपछि २ जना भएर बेगनास ताल जाने प्रस्ताव गर्यो। आफूलाई मन परेको मान्छेसँग समय व्यतीत हुने भएपछि मैले नाइँ भन्ने कुरा नै भएन।
हामी ट्याक्सी रिजर्भ गरेर बेगनास तिर लाग्यौँ। बाटोभरि नै उसले मलाई आफ्नो मिठो बोलीमा अल्झाइरह्यो। ऊ मेरो साथ यति धेरै कम्फर्टेबल थियो कि मानौँ हाम्रो चिनजान वर्षौँ पहिले भएको थियो। उसको प्रत्येक शब्दको स्पर्शले मेरो मनमा थप उत्सुकता जगाइरहेको थियो। उसको अनुहारभन्दा पनि व्यवहार तिर मेरो मन ढल्किँदै थियो। मेरो सोचभन्दा धेरै सुन्दर थिए उसका बोली व्यवहारहरू।
बेगनास पुगेर चिया पिउँदै गफ गर्यौँ। मन परेको मान्छेको साथमा चिया पिउँदा पनि चियामा थप छुट्टै मिठास हुने रहेछ। म पहिलो पटक कसैको साथ पाएर यति धेरै खुसी थिएँ जुन मापन गर्न पनि सम्भव थिएन। कहिलेकाहीँ अचानक भएका कुराहरूले वास्तविक खुसीको अर्थ दिने रहेछन्। मेरो जीवनको अमूल्य क्षणमा उसको उपस्थिति रह्यो जुन कहिल्यै नमेटिने छाप बनेर मेरो मानसपटलमा बस्यो। ऊसँगको गफगाफसँगै फोटो भिडियो बनाएर फर्कियौँ।
रुममा आइपुग्दा सबै साथीको नजर हामी तिरै थियो। साथीहरूले हामीलाई जोडीको रूपमा हेरिसकेका थिए। मलाई उसको नामले जिस्काउँदा पनि साँचो खुसी मिल्थ्यो।
भेट भएको एक दिनमै हामी निकै नजिकिएका थियौँ। छोटो समयमै हामीले एकअर्कालाई आफ्नो वास्तविक परिचय गराइसकेका थियौँ। ग्रुपमा हुँदा पनि उसको नजर मतिर मात्र हुन्थ्यो मानौँ उसले मलाई मैलेभन्दा बढी चाहन्छ। केही दिनको बसाइपछि हामी काठमाडौँ फर्किने बेला भयो। ऊसँग व्यतीत गर्ने समय सकिएको हुँदा मन भारी भएको थियो।
फर्किँदा हामी एउटै गाडी र एउटै सिटमा बस्यौँ। मसँगै बस्न उसले साथीसँग सिट साटेको रहेछ। ऊ भने मसँग बोल्ने बहाना खोजिरहेको थियो। असहज महसुस भएर मैले उसको कुरालाई बेवास्ता गरेँ।
साथीहरूसँग रमाइलो गर्दै काठमाडौँ आइपुगियो। कोठा पुगेर फेसबुक खोल्नासाथ उसको फ्रेण्डरिक्वेस्ट र म्यासेज आएको रहेछ। तुरुन्तै उसको म्यासेज रिप्लाई गरिहालेँ। उसले प्रत्येक म्यासेजमा मेरो तारिफ गरिरहन्थ्यो। उसका म्यासेजहरूमा मलाई मन पराउने भाव झल्किन्थ्यो। म ऊसँगको प्रत्येक कुराकानीमा थप डुब्दै गएकी थिएँ। उसले फेसबुकमा अपलोड गरेका हरेक फोटोहरू मेरो ग्यालरीमा सेभ हुन्थ्यो। मोबाइलमा आफ्नोभन्दा बढी उसको तस्बिरहरू थिए।
उसले पनि मप्रति यति धेरै इन्ट्रेस्ट देखाएपछि प्रेम प्रस्ताव राख्ने सोचेको थिएँ तर समय सही भएझैँ लागेन। आफू सफल नभई गरेको प्रेमले न वैधता पाउँछ न त गन्तव्य नै। उसलाई बिच बाटोमै गुमाउने सामथ्र्य मसँग थिएन। आत्मनिर्भर भएपछि प्रेम प्रस्ताव राखौँला भनेर आफ्नो योजना यथावत् राखेँ। म उसलाई हर हालतमा आफ्नो बनाउन चाहन्थेँ। मेरो जीवनको एक मात्र लक्ष्य भनेको नै उसको जीवनसाथी बन्नु थियो। उसको लागि आफ्नो अस्तित्व मेटाउन पनि तयार थिएँ म। कसैले मेरो जीवनमा प्रेमको यति उच्च स्थान पाउला भनेर कहिल्यै सोचेकी थिइनँ तर आफ्नो सोचले कहाँ प्रेम हुँदो रहेछ र?
मैले सङ्गत गरेका पुरुषहरूभन्दा उसको सोच फरक थियो। हरेक समय मलाई सफल हुन प्रेरित गथ्र्यो। उसले लैङ्गिक विभेद झल्किने अभिव्यक्ति कहिल्यै दिएन। अरूको लागि यो सामान्य कुरा होला तर मेरो लागि पुरुषमा सबैभन्दा आकर्षण गर्ने गुण यही थियो र छ पनि। उसको आफूप्रतिको सकारात्मक सोच देखेर नै गर्व लाग्थ्यो। बाहिरीभन्दा भित्री रूप झन् प्रशंसा योग्य थियो उसको। हामी आधिकारिक रूपमा सम्बन्धमा नभए पनि हाम्रो कुराकानी प्रेमी(प्रेमिका भन्दा कम थिएन।
कुरा हुन थालेको करिब १ वर्ष भइसकेको थियो। बिस्तारै बिस्तारै हामी बिचको दुरी बढ्न थाल्यो। दिनकै कुरा त हुन्थ्यो तर पहिले जस्तो मिठास थिएन बस औपचारिकतामा मात्र सीमित थियो। कहिले मरिहत्ते गर्ने त कहिले नचिने झैँ गर्ने उसको बानीले मैले आफू हुनुको अस्तित्व गुमाइसकेको थिएँ। मलाई उसको लत यसरी लागेको थियो जसलाई छुटाउने न औषधी थियो, न सुधार केन्द्र, न त बाहिर आउने बाटो थियो। सँग गुनासो गर्ने ठाउँ पनि थिएन किनकि हामी आधिकारिक रूपमा सम्बन्धमा थिएनौ।
एक दिन आँखा मिच्दै फेसबुक खोले। झट्टै मेरो आँखा एउटा तस्बिरमा गयो जहाँ ऊ सँगैको तस्बिर राखेर एक जना अपरिचित महिलाले क्याप्सनमा ‘ह्याप्पी सेकेन्ड एनिभर्सरी माई लभ’ लेखेकी थिइन्। म झसङ्ग भएँ। झट्टै उनको प्रोफाइल खोलेर हेरेँ। कपल फोटो धेरै नभए पनि ऊ विवाहित हो भन्ने पुष्टि गर्न पर्याप्त फोटो थिए।
मलाई आफू सपनामा भए झैँ लागिरहेको थियो तर मलाई लाग्नु र नलाग्नुले वास्तविकता बदलिने वाला थिएन। मनमा एउटै प्रश्न थियो- उसले मलाई यो सबै लुकाएर प्रेम किन देखायो? अब ऊ मेरो हुने कुनै आशा बाँकी रहेन। जसलाई सपनामा सजाएको थिएँ ऊ सपनामै सीमित रह्यो। पछुतो पनि के को मान्ने? अर्काको श्रीमानसँग प्रेम गरेको? या अरू कसैको श्रीमानलाई आफ्नो बनाउने सपना देखेको?
आफूलाई आफैदेखि लाज पनि लाग्यो, घृणा पनि जाग्यो। हुन त मैले जानेर अरूको श्रीमानसँग प्रेम गरेको थिइनँ, वास्तविकता थाहा भएको भए गर्ने पनि थिइनँ। सत्य थाहा भएको मान्छे नै अनजान बनेपछि मेरो के लाग्छ र? उसलाई भेटेदेखि हरेक मन्दिरको मेरो प्रार्थनामा ऊ भेटिन्थ्यो। पहिले नै अरू कसैको भइसकेको मान्छेलाई भगवानसँग मागेर नपाइँदो रहेछ।म उसको नभएर पनि सधैँ उसकै रहिरहेँ तर ऊ मेरो भएर पनि कहिल्यै मेरो हुन सकेन।
आफूलाई अभागी भनौँ या उसलाई? मैले त कहिल्यै आफ्नो नभएको मान्छे गुमाएँ तर उसले यस्तो मान्छे गुमायो जो सधैँ उसकै मात्र थियो। मैले जति प्रेम उसलाई यो संसारमै कसैले गर्दैनन् होला। प्रेमिका पनि नबनेको मान्छेले उसको श्रीमतीसँग योग्यता क्रम जाँच्न त सुहाउँदैन तर यदि प्रतिस्पर्धा नै हुन्थ्यो भने म नै विजयी हुने थिएँ।
अब ऊप्रति न माया रह्यो, न त घृणा नै छ। आफूले चाहेको मान्छे पाउनु मात्र माया हैन। उसको खुसीको लागि उसको बाटोमा बोझ नबन्नु, उसको निर्णयलाई स्वीकार गर्नु पनि माया हो। मैले जिद्दीपन देखाएको भए सायद उसलाई पाउँथेँ पनि होला तर कसैलाई आँसु उपहार दिएर पाएको खुसीले कहिल्यै सन्तुष्टि दिँदैन। ऊ मबाट छुटिए पनि ऊप्रतिको प्रेम अझ मसँग नै छ, यसलाई मैले चाहेर पनि आफूबाट अलग गराउन सक्दिनँ। अब जिन्दगीको यात्रा उसको भौतिक उपस्थिति बिना नै तय हुनेछ।