ए धारिलो बन्चरो,
मेरा हाँगाहरूमा प्रहार गर्नु पूर्व
एकैछिन पर्ख
म कोमल भएर पनि
तिम्रो बिँडमा मेरो नै रुखको
हाँगा प्रयोग भएको छ!
तिम्रा अहंकारका काँटी जस्ता
दाँतहरू गाड्नु पहिले एकपल्ट
मेरो चौतारोमा बसेका
ती थाकेका बटुवाहरूलाई मेरो पातहरूबाट
सास लिन देऊ!
तिम्रा धारिला हतियारले प्रहार गर्नु पहिले
पर्ख म एकैछिन मेरो फल टिपेर खान
आँटेका ती भोकाएका
कलिला बच्चालाई अघाउन चाहन्छु!
मलाई बचाएर पूर्ण फल्न, फुल्न
अनि हुर्कन दियौ भने
म भोलि तिमी जस्तो कयौँ औजार
बनाउन सहयोग गरेर जीवन धान्न सघाउँछु।
प्यारो धारिलो दुस्मन,
तिम्रो उमेर छ, बल छ सारा दाउरेका
बथान आज तिमीसँग छन् भनेर
मलाई घाइते बनाउने तिमी
भोलि तिम्रा धारिला दाँत झरेपछि
मेरो चौतारीमा सुस्ताउन आउँदा
जीवनदेखि हारेर
आफ्नादेखि थाकेर तिमीले
लामो सास तानेर बस्ने ठाउँ
मेरो चौतारीमा नै हुनेछ।
त्यसैले आजको बलको आधारमा
नछिमल्नु मेरो हाँगाहरू जथाभावी
नउखेल्नु मेरो जराहरू
नबाल्नु मलाई अगेनामा लगेर
कठ्याङ्ग्रिएको मन शान्त पार्न
आरोप नलगाउनु एका दुई बिग्रेको
फलतिर आँखा दौडाएर
मातृत्वको उपहास नगर्नु
गुलिया फल पनि उही हाँगोमा
झुन्डिरहेको छन्
बस दयाको नजरले मात्र हेर्दिनु मेरो अस्तित्वलाई
म आफ्नो भागमा परेको
आँधी, हुरी, असिनाको चुटाई
निस्पट्ट अँध्यारा रातहरू,
वियोग र असफलताका व्यथाहरू,
खडेरीमा तिर्खाएको प्राण,
डढेलोमा पोलिनु पर्दाको जलनदेखि
प्रकृतिले दिएको हरेक परीक्षा
एक्लै सहन गर्न तयार छु
तर
शीतलताको बखत मलाई
खोज्दै आउने तिमी आगन्तुकले
एक पल भेटेको भरमा
उपेक्षाको ज्वाला,
लाभ नपाएर वा लाभ लिई सकेर
मेरो हाँगातर्फ गुलेली हान्ने सिकारीको
भेष मलाई स्वीकार्य छैन
पर्ख,
त्यहाँ मेरा बिग्रेका सप्रेका फल मात्र छैनन्,
त्यहाँ भोकले व्याकुल भएका
बचेराहरू पनि
जो आमा पंक्षीको प्रतीक्षामा
सास लिइरहेछन्।
हे बन्चरो,
धेरै वर्षदेखि मजस्तै रुखका
हाँगा काटेर तिमी परिपक्व भयौ होला
तिमी आफ्नो परिपक्वताको प्रदर्शन
मेरो अस्तित्व माथि नगर
समयले पुरानो बनायो भनेर
हरेक कुरामा सही नै छु पनि नसोच!
आगोका राप जस्ता तिखा दाँत र
शब्दले प्रहार गर्नु पूर्व
आफू आरनमा पोलिएको
बेलाको व्यथा सम्झेर भए पनि
आफूलाई एक क्षण शान्त राख!