माया प्रेमसँगै निराशा पनि आउँछ। प्रेमले सुरुमा जीवनलाई रंगिन बनाउँछ, तर कहिलेकाहीँ ती रंग बिस्तारै फिका पर्न थाल्छन्। जहाँ हामीले नसोचेका कयौँ पीडाहरू बिना गल्ती जीवनमा घोटिन्छन्। कहिलेकाहीँ त लाग्छ संसार भासियो, जीवन नै सकियो।
मायाप्रेम कहिले हुन्छ, कस्तो अवस्थामा हुन्छ यो हाम्रो हातमा हुँदैन। माया प्रेममा विश्वास नगर्नेहरू पनि होलान्, म जस्तै। तर मायाप्रेम कतिखेर मनभित्र बस्छ, थाहै नहुँदो रहेछ। म पनि त्यस्तै थिएँ प्रेममा धेरै विश्वास नगर्ने मान्छे। तर कतिखेर मेरो मन चोरी भइसकेछ, त्यो मैले आफैँ थाहा पाइनँ।
सुरुवाती दिनहरू माया प्रेममा रमाइला नै हुँदा रहेछन्। तर समय बढ्दै जाँदा, माया फिक्का हुँदै जान्छ, र बेवास्ता पनि।
सुरुमा सबै कुरा ठिकै जस्तो लाग्थ्यो। उसले सधैँ आफ्नो व्यस्तता बताउँथ्यो र मलाई त्यो स्वाभाविक लाग्थ्यो। काममा व्यस्त हुनु कुनै अपराध होइन भन्ने सोच्थेँ। तर समयसँगै मैले महसुस गर्न थालेँ, यो सम्बन्धमा पूर्ण रूपमा लगाव राख्ने व्यक्ति म मात्र रहेछु।
पहिलेका साना कुरा, माया देखाउने बानी, सँगै बिताएका पलहरू सबै बिस्तारै हराउँदै गए। अब ऊ मन लागेको बेला मात्र बोल्थ्यो, बाँकी समयमा मलाई बेवास्ता गर्थ्यो। यसरी मेरो भावना, मेरो चाहना र मेरो समय सबै बेवास्ता भएको अनुभूति हुन थाल्यो।
म मौन भएर बसेँ। 'सायद थाकेको होला' भनेर आफैँलाई सम्झाएँ। तर सत्य फरक रहेछ। तिमी मलाई होइन, अर्कैलाई भेट्न समय खोज्दै रहेछौ। बहाना मेरा लागि थियो, सत्य चाहिँ अरूको लागि बगिरहेको थियो।
मेरा म्यासेजहरू तिम्रो फोनमा आइरहे तर तिम्रो प्राथमिकतामा हराउँदै गए। म प्रेम जोगाउन शब्द खोज्दै थिएँ, तिमी चाहिँ अर्कैसँग हाँस्दै भेट्दै, अघिल्लो झूट लुकाउन तल्लीन रहेछौ।
माया टुट्न सक्छ तर आत्मसम्मान कहिल्यै मर्दैन। तिमीले गरेको इग्नोरले मन दुखायो तर त्यही पीडाले यो मनलाई तिमीलाई होइन, आफ्नै मूल्य सम्झन सिकायो।
अब मसँग नजिक हुन नआऊ। किनकि 'कसैलाई भेट्न गएको थियौ' भन्ने झूट सायद अर्कोलाई पनि पर्ला, मलाई चाहिँ होइन। किनकि आज म हारिनँ, तिमी चाहिँ मेरो जीवनको एउटा अध्यायबाट बाहिरियौ।
भन्छन्, मानिस छुटेपछि सबैभन्दा पहिले बदलिनुपर्ने कुरा मन हो। तर कहिलेकाहीँ मनभन्दा पहिले सहर बदलिनुपर्छ। किनकि केही सम्बन्ध मानिससँग होइन, ठाउँसँग गाँसिएका हुन्छन्।
तिम्रो नाटकीय माया अब मलाई चाहिएको छैन। तर म अझै यही सहरमा छु, उही सडक, उही चोक, उही भीड। बाहिरबाट हेर्दा सबै सामान्य देखिन्छ तर भित्रभित्रै यो सहर स्मृतिले भरिएको छ।
यहाँ हिँड्नु भनेको विगतसँग बारम्बार ठोक्किनुजस्तै भएको छ। यो सहरमा तिमी छौँ तर तिम्रो अभाव छ। बस स्टपमा उभिँदा, साँझको ट्राफिक हेर्दा, कतै न कतै यो मनले तिमीलाई सम्झिन्छ।
यसरी सम्झनु प्रेमको निरन्तरता होइन, यो थकानको अर्को रूप हो। हामी अक्सर भन्छौँ, समयले सबै ठिक गर्छ। तर समय पनि उही ठाउँमा अड्किएपछि गलत हुन्छ। उही परिवेशले दिनहुँ उही सम्झना दोहोर्याउँदा बिर्सनु सम्भव हुँदैन।
समस्या तिमी होइनौ। समस्या यो हाम्रो एउटै सहर हो। जहाँ तिमी भएका सबै पलहरू अझै जीवित छन्। त्यसैले यो सहर छोड्ने निर्णय गर्दै छु। यो निर्णय केवल भावनात्मक आवेग होइन। यो आत्मरक्षाको मेरो लागि उपाय हो। तिमीलाई मेट्न होइन, आफूलाई जोगाउन गरिएको प्रयास हो।
किनकि यही सहरमा बसेर म वर्तमानभन्दा विगत धेरै बाँचिरहेको छु। नयाँ सहरमा गएपछि सबै ठिक हुन्छ भन्ने भ्रम छैन। सम्झनाहरू सँगै जान्छन्। तर त्यहाँ तिमी हिँडेको बाटो हुँदैन, तिमी हाँसेको कुना हुँदैन, सँगै बसेको ठाउँ हुँदैन र यही अनुपस्थितिले बिस्तारै मनलाई सामान्य हुन सहयोग गर्छ।
कहिलेकाहीँ बिर्सनका लागि दूरी चाहिन्छ र कहिलेकाहीँ त्यो दूरी सहरको सीमाभन्दा बाहिर मात्र सम्भव हुन्छ। त्यसैले तिमीलाई भुल्न मैले तिम्रो सहर छोड्नै पर्छ।
अब म तिमीलाई दोष दिँदिनँ। दोष दिनु भनेको अझै केही बाँकी हुनु हो र आज म थाकिसकेकी छु आशा राख्नबाट पनि।
म तिमीलाई घृणा गर्दिनँ किनकि घृणाले पनि सम्बन्ध बाँधेर राख्छ। म तिमीलाई शान्त रूपमा छोड्दै छु, जसरी साँझले दिनलाई बिदा गर्छ, कुनै हल्ला बिना तर गहिरो चिसो अनुभूतिसहित।
सायद प्रेम यही रहेछ आफूलाई गुमाउन नदिन सक्नु। सायद परिपक्वता यही हो, जहाँ कसैलाई छोड्दा पनि आफ्नो आत्मसम्मान अडिग रहोस्।
अब म यो सहर छोड्दै छु। तिमीबाट भाग्न होइन, आफूलाई भेट्न। नयाँ सहरमा म नयाँ कथा लेख्नेछु। तिमी त्यहाँ हुनेछौ कि छैनौ, त्यो महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा यति हो कि त्यहाँ म फेरि आफैँ हुनेछु। र यदि कहिल्यै यो सहरले मेरो नाम लियो भने, म सम्झाइदिनेछु म प्रेमबाट भागेकी होइन, म जीवनतर्फ फर्किएकी हुँ।
अब म त्यो प्रेम खोज्दिनँ, जसका लागि म आफैँलाई सानो बनाउनुपरोस्। म त्यो सम्बन्ध चाहन्न, जहाँ मेरो मौनलाई सम्झिने कोही हुँदैन।
यो मनले धेरै सह्यो। नबोलिएको पीडा, पढिनसकेको मेसेज, पर्खाइमा बितेका रातहरू र 'सायद भोलि' भनेर आफैँलाई दिइएका झूटा आश्वासनहरू।
म हाँसेँ जब मन भित्रभित्रै रोइरहेको थियो। म ठिक छु भनेँ जब मन टुक्रा टुक्रा हुँदै थियो। सबैभन्दा धेरै दुखेको कुरा के हो भनेँ, तिमीले मलाई छोड्यौ भन्ने होइन, म तिमीलाई जोगाउन खोज्दै आफैँलाई बिस्तारै छोड्दै गएछु।
आज यो मन थाकेको छ। रोएर होइन, सहन गरेर।
अब म तिमीलाई सम्झँदा आँखा रसाउँछ तर आवाज निस्कँदैन। किनकि केही पीडाहरू आँसुभन्दा गहिरा हुन्छन्।
म जान्छु, यो सहर छोडेर। तर तिमीलाई बिर्सन सकुँला कि सक्दिनँ, त्यो मसँग उत्तर छैन। म यति मात्र जान्दछु यदि यहीँ बसेँ भने म बाँचिरहनेछु तर आफू हुनेछैन।
र म अब आफू बिना बाँच्न चाहन्नँ। त्यसैले आज म तिमीलाई होइन,आफूलाई रोज्दै छु। धेरै गाह्रो भएर, धेरै रोएर, धेरै सम्झेर तर अन्ततः आफैँलाई बचाएर।