'हुन्न हुन्न! काँ माइत लैजाने!' चन्द्रे घरको आँगनमा मास्टर काकासँग।
'अब त्यै भन्छन् त तेरो आमाले के गर्छस् त चन्द्रे !' मास्टर।
'काँ हुन्छ काका! अब गु, मुत सबै सोर्न पर्छ, कोले स्याहार गर्छ माइतमा? आमालाई लागेको मात्र हो। मामा पो आमाको दाइ हो, माया गर्लान्, माइजूहरूले सहन्नन् नि!' आँगनको डिलबाट गाउँतिर हेर्दै चन्द्रे।
'त्यै त! भाउजूले त अब अस्ति आमालाई सम्झेथे भन्दै थ्यो' पिँढीमा बसेर मूला काटिरहेकी बुहारीतिर हेर्दै मास्टर काका।
'अँ नि! अस्ति त म आँगनमा बिस्कुन सुकाउन लाथेँ, भित्रबाट त आमा! भनेर एक्कासि कराए आमा त! कोदोको रोटी बनाइद्याछौ र! पो भने, म त छक्क परेँ के भनेको होला? कसरी मरिसकेको आमालाई सम्झे होलान् भनेँ, केही बोलेन म त!'
'त्यै त काका, अब डिमेन्सिया कि के हो छ आमालाई, गण्डकी अस्पतालमा चेक गराउँदा त्यही भने डाक्टरहरूले , ७५ वर्ष पुगिसके, ३ महिना भै सको हेर न! सन्चो हुने छाँटकाँट छैन, झन् गल्दै गल्दै गाछन्, कुँजिएकी छिन्, कहिले काहीँ मलाई त चिन्दैनन्' पिँढीको कुनामा लगाएको बिस्तरामा पल्टिरहेकी आमातिर हेर्दै चन्द्रे।
'अस्ति फेरि म साँझ दुध दुएर आउँदा एक्कासि बा आए र? भनेर सोधे मलाई, आमालाई माइतीको सम्झना खुब आए जस्तो छ' चन्द्रेको श्रीमती।
'बरा! मेरी आमा! मरिसकेको बाउ आमालाई देख्न थालेछन्, सम्झिन थालेछन्, अस्ति एक दिन च्यादरले सबै आफ्नो लुगा पोका पारेर आमाले बोलाछन् भन्दै थिए' आँखाको आँसु लुकाउन परेली झिमिक झिमिक गर्यो चन्द्रे।
'नत्र यसो गर केटा, पारीको साइलाको बुहारी भोलि पर्सी कहिले जाँदैछ माइत, त्यो बुहारीको माइत र तेरो आमाको माइत एकै ठाउँमा त हो, मामालाई खबर पठा न त! तेरो मामा पनि फेरि तेरो आमाको नि दाइ भने पछि झनै बुढो छन्, आउन सौछन् कि सौदैनन्? खबर त गर्दे न त! आएर दाइ बैनीको भेट भओ भने तेरो आमालाई सुबिस्ता हुन्छ कि!' मास्टर।
'अँ त्यै अर्नुपर्छ क्या! आमालाई नि भन्न हुन्छ माइतमा खबर पठाछम् भनेर' चन्द्रे पारी साइलाको घरतिर हेर्दै।
***
'जा बाबु! तँ नै त हो, फुपैलाई बोकेर लिएर आइजा! थला परिछ गरे, बर्बराउँछ गरे, मरिसकेको बा-आमालाई मात्र सम्झिन्छ रे! त्यो र म बर्षौटे हो, एक वर्षको मात्र फरक छ, म ठिकै छु , तेलाई के भओ भओ के, हामी दाजु बैनीमा सबभन्दा राम्री भनेर आमाले फुरूक्क पार्थिन्, बरा!'
आँखाको डिलमा टिलपिल गरेको आँसु गलबन्दीले पुछ्दै चन्द्रवीरको मामा विरमान कार्की। भारतीय सेनाका सेवा निवृत्त हवल्दार, गाउँको हल्दार बाजे।
एकजना तन्नेरीसँगै बसेर मकै र चिया खाँदैछन्।
'अनि म एक्लै जाने त हल्दार बा!' तन्नेरी।
'तो बखतेलाई नि लग न त! जा भन् त! भोलि बिहानै जाओ तिमीहरू, बोक्ने डोको यतैबाट लिएर जाओ'
'हुन्छ' भन्दै तन्नेरी उठेर गयो।
वीरमान टोलाउन थाले। एउटा मात्र बैनी। सानोमा सकि नसकी बोकेर हिँडेको सम्झे, बारीमा आलु पोलेर खाँदा आगोले बैनीको हात पोलिदिएकोमा आमाको पिटाइ खाको, बैनीको पल्लो गाउँमा बिहे हुँदा खुट्टा दुख्ने गरी नाचेको, आमा जिउँदो हुन्जेल बारीमा फलेको एउटा काँक्रा पनि छोरीलाई सम्झी सम्झी पठाएको, बाले रक्सी खाएको बेलामा फूलमया कहिले आउँछु भनेछ? भनेर पटक पटक सोध्ने गरेको, फूलमयाको श्रीमान बित्दा बहिनीको अगाडि नरोइ घर फर्किंदा अब बहिनीको के होला? भन्दै बाटै भरि रूँदै रूँदै आएको सबै सबै सम्झे। आँखाको डिल हुँदै आँसु गालाबाट बगेर गलाको गलबन्दीमा खसिरहेको थियो।
'ओहो नि! क्यार्न होला नि यस्तो बुढो मान्छे भएर रोको?' वीरमानको श्रीमती चियाको गिलाससँग पिँढीमा आइन्।
वीरमान केहि बोलेनन्। फेरि गलबन्दीले गालाको, आँखाको आँसु पुछे।
'लौ लौ! बैनीको खुब मया लागो होला, क्यार्छौ त! राम्रो मान्छेलाई नै चाँडो रोग लाग्दो रैछ, भोलि जाला के रे केटाहरू! यही ल्याइ हाल्छ त! चिन्ता नलिऊ अब' पिँढीमा बस्दै हल्दार्नी बजै।
भोलिपल्ट साइला र बखते डोको बोकेर बिहानै लागे।
साँझ पख चन्द्रवीरको घरमा पुगे साइला र बखते। फूलमया पिँढीमै पल्टिरहेकी थिइन्।
'ढोग गरेँ है फुपू ! हामी लिन आको तिम्लाई, अब माइत जाने, मलाई चिनेनौ होला, म उकालोको लालेको छोरा!' भन्दै साइला र बखतेले फूलमयाको खुट्टामा ढोग गर्यो।
'ए ! 'डिङच्च हाँसिन् –'बाले लिन पठाको?' जुरूक्क उठ्न पो खोजिन् फूलमया, सकिनन्।
'हो हो! अहिले जाने हैने के फुपू, अहिले रात पर्न लाओ, भोलि ब्यानै जाने!' साइलालाई फूलमयाको मानसिक अवस्थाको बारेमा थाहा थियो।
'ओहो, हजुरहरू आउनुभएछ!' चन्द्रेको श्रीमान श्रीमती टुप्लुक्क आइपुगे।
'हजुर नमस्ते ! उता माइतीबाट फुपूलाई लिन पठाको, केही समय माइत लग्ने गरे!' साइला।
'ओए चन्द्रे! हेर त माइतबाट मलाई लिन आछन्, मेरो भदैहरू, मेरो माइती राजाहरू आछन्! कुखुरा काट है बरा! तेत्रो हिँडेर आछन्' आज त बोली छ्याङ्गै थियो फूलमयाको। अरू बेला चन्द्रे र उसको श्रीमती आउदा जाँदा ख्यालै नगर्ने फूलमया आज चनाखो भएकी थिइन्।
'हस्!' भन्दै चन्द्रवीरले साइलालाई आँगनको डिलतिर लग्यो।
'अनि आमा त साह्रै बिरामी हुनहुन्छ, क्यारी लग्नुहुन्छ? फेरि गु, मुत उस्तै परे स्वरै पाउनुहुन्न!' चन्द्रवीर।
'खै ! उता हल्दार बाले लिएर आउने भनेछन्, फेरि हल्दार बा पनि फुपूको कुरा अर्न बित्तिकै आँसु झार्छन्' बिस्तारै।
'हुन्छ! भोलि बिहानै लग्नुस् न त! २/३ दिनपछि फर्काइदेलान् नि त मामाले !' चन्द्रे आमातिर हेर्दै। आमाले पल्टिएरै चन्द्रे र साइलातिर हेर्दै थिइन्।
***
'लौ हामी आइयो!' साइलाले डोकोमा रहेकी फूलमयालाई पिँढीमा बिसायो।
'लौ लौ! हुन्छ केटा हो! भित्र बजैलाई भनेर चिया सिया खाओ' हल्दार बाजे- 'तँलाई हेर्न मन लागेर लिन पठाको।' फूलमयालाई हेर्दै हल्दार बाजे।
'दाइ खै त! पल्टनबाट आछैन कि के हो? आमा बा खै? कोइ देख्दैन त!' यता उता पर्ल्याक पुर्लुक हेर्दै फूलमया।
एकछिन त हल्दार बाजे अकमक्क परे। बरर आँसु झरे।
'किन रोको ? आमा खै' फूलमया ।
हल्दार बाजे केही बोल्नै सकेनन्।
'घाँस काट्न गाछन्, अहिले आउँछन्।' हल्दार्नी बजै भित्रबाट निस्किइन्।
'ओहो नि ! भाउजू, नमस्ते गरेँ है!' ङिच्च हाँस्दै फूलमया।
'बा आमा दाइ सबै आउँछन् नानी अहिले, कस्ती राम्री भाको हो तिमी त !' हल्दार्नी बजै।
ङिच्च हाँसिन् मात्र,फूलमया।
साइला र बखतेले पिँढीको गुन्द्रीमा राखिदियो, फूलमयालाई।
साँझ पर्न लागिसकेको थियो। भित्र ओछ्यान लगाइयो फूलमयालाई। हल्दार बाजेको छोरा पनि भारतीय सेनामा थियो, पल्टनमै। बुहारी, नाति, नातिनी अगेनाको वरिपरि झुम्मिएका थिए। हल्दार बाजे साँझ घरबाट निस्केको बल्ल घर आए।
'दाइ आइस्! आमा बा खै त?' यसपटक फूलमयाले हल्दार बाजेलाई चिनेछन्।
भित्र आएर ओछ्यानमा बसेर फेरि बरर आँसु झारे, हल्दार बाजेले। साँझ बहिनीले नचिनेर रोए, अहिले चिनेर रोए।
'आमा बा! माथि लेकको गोठमा गाछन्, तिमी आछौ, भोलि आउलान्?' अड्किइ अड्किइ बल्ल बल्ल जबाफ दिए हल्दार बाजेले।
फूलमयाले यता उता आँखा डुलाइन्। केही बोलिनन्।
'दाइ ! तो धारामा जाने बाटोमा तँ एक पल्ट चिप्लेर लडेर हात भाँचेथिस् नि ! तो बाटो बनाए कि आजकल नि तेस्तै अप्थ्यारो छ?'
टोलाउँदै फूलमया।
'बनाए! 'तेति मात्रै बोले हल्दार।
'रौसी खाएर आ जस्तो छ त ! किन हो झन् बैनी आको बेलाँ !' हल्दार्नी बजै।
हल्दार बाजे केही बोलेनन्। खाना लाग्यो। फूलमयाले पनि खाइन्।
त्यसरी नै दुई दिन बित्यो।
फूलमयाका आँखाले खोजिरहेका बा- आमा उनले दुई दिनसम्म पनि देख्न पाएकी थिइनन्।
'तिमी अब घर जानु पर्छ! धेरै माइत बसे उता कुरा काट्लान्' हल्दार बाजे।
'ओहो नि! चन्द्रेले के गरे होला? घाँस दाउरा गर्यो कि गरेन होला' घरको सम्झना आएछ। राम्रै कुरा गरिन्।
'भोलि तिम्लाई साइला र बखतेले बोकेर पुराइदिन्छ' हल्दार बाजे अँगेनामा दाउरा मिलाए झैँ गर्दै।
'बा-आमा !'
'मरिसके, अब आउँदैनन्' जुरूक्क उठेर बाहिर गए हल्दार बाजे। पिँढीमा बसेर रूँदा अरूले थाहा पाउलान् कि भनेर गोठतिर घ्वाँ-घ्वाँ रूँदै गए। गोठ सुनसान थियो। भैँसीहरूले केही प्रतिक्रिया दिएनन्।
एकछिनपछि गलबन्दीले आँसु पुछे। गलबन्दीको एक पाखा भिज्यो।
घरभित्र के के गरे कुनी ? हल्दार बाजेलाई थाहै भएन।
***
भोलिपल्ट!
हल्दार्नी बजै फूलमयाको भाउजू नाता पर्ने भएता पनि उमेरमा ३/४ वर्ष सानी थिइन्। हल्दार्नी बजैले नयाँ सारी, पछ्यौरा फूलमयालाई लगाइदिएर चिटिक्क पारिदिएकी थिइन्।
'लौ जा नानी! राम्रो सित बसेस् है, केही गाह्रो पिरो परो भने खबर गरेस्' हल्दार बाजे।
साइला र बखतेले फूलमयालाई डोकोमा राखे ।
फूलमया केही बोलिनन्। कहिले हल्दार बाजेलाई, कहिले घरतिर हेर्ने गर्दै आँखा डुलाई रहिन्। उनको मुहार शान्त थियो। माइती छोडेर जान लागेको दुख पनि थिएन, घर जान लागेको उत्साह पनि थिएन।
मुसुक्क मुस्कुराएर हातले हल्दार बाजेको टाउको स्पर्श गरिन्। अन्य केही बोलिनन्।
साइलाले डोको बोक्यो। बखते अगाडि अगाडि कोसेलीको झोला बोकेर र साइला फूलमयालाई बोकेर पछि पछि।
बिस्तारै फूलमया टाढा टाढा हुँदै गोठ अगाडिको घुम्ती कटेर ओझेल भइन्। ७५ वर्षीय फूलमया माइतीबाट आफ्नो घर फर्किइन्।
***
तीन दिन पछि।
'हल्दार बा! फुपू त स्वर्गे भइछिन्, जानु पर्ने होला' टुप्लुक्क आइ पिँढीमा बसिरहेको हल्दार बाजेलाई साइलाले खबर सुनायो।
हल्दार बाजे केही बोलेनन्, प्रतिकृया दिएनन्। पारी डाँडातिर हेर्दै बसिरहे। उनलाई लाग्यो घर जाने दिनमा फूलमयालाई 'बा- आमा खै त?' को उत्तर थाहा भइसकेको थियो।
साँझ पर्न लागेको थियो। चराको एक बथान डाँडातिर उड्दै थियो, हेर्दाहेर्दै डाँडा काटेर ओझेल भयो।