कोठा शान्त थियो। ल्यापटपको स्क्रिन बलिरहेको थियो। मेघा किबोर्डमा औँला चलाउँछे तर के लेख्ने भनेर कुनै योजना हुँदैन। केही त लेख्नु छ। लेख्नु उसको लागि एउटा थेरापी जस्तै हो। जब आफूभित्र केही रित्तोपन महसुस गर्छे मेघालाई लेख्न मन लाग्छ।
केही मिठो लेख्न खोज्छे। तर यसपटक शब्दहरू फुर्दैनन्। जब लेख्नको लागि समय हुँदैन त्यो बेला भने अनेक अनेक भावनाहरू फुर्छन्। तर लेख्नकै लागि समय निकालेर बस्दा शब्दहरू मरिगए आउँदैनन्।
आज किन केही शब्द पनि मनमा आएका छैनन्, पात्र खोजिरहेकी छु, तर कुनै पनि पात्रले बाल मतलब दिइरहेका छैनन्। मेघा दिक्क मान्दै बसेर टोलाउँछे।
किबोर्ड माथि औंला राख्छे, फेरि हटाउँछे।
तिमीहरू किन यति मौन हुन सकेका हँ? जुन बेला मलाई तिमीहरूको आवश्यकता पर्छ तिमीहरूलाई त्यही बेलामा लुकामारी खेल्नुपर्ने होइन? मनमनै शब्दहरूलाई गाली गर्छे।
रात छिप्पिँदै थियो, सहर निदाइसकेको जस्तो थियो। तर मेघाको कोठाभित्रबाट भने निद्रा टाढा भागिरहेको थियो। ल्यापटपको निलो प्रकाशले गर्दा आँखा केही थकित थिए तर मन भने जागै थियो। स्क्रिनमा टिमटिमाइरहेको कर्सरले पनि शब्दहरूलाई पर्खिरहेको जस्तो लाग्दै थियो।
आज कथा अगाडि बढेन भन्दै उसले किबोर्डबाट औंलाहरू हटाउन खोज्छे तर निद्रामा लठ्ठिएका आँखाले तिरमिराउँदै स्क्रिनमा केही टाइप भएको देख्छन्।
'मलाई नै खोजिरहेकी छ्यौ होइन?'
मेघा अचम्ममा पर्छे।
यो… यो के हो?
'तिमी को हौ'? उसले प्रश्न स्वरूपको जबाफ टाइप गर्छे।
ऊ हँसिलो भाव सहित
'म शब्द। तिमीले महसुस गरेको तर लेख्न नसकेको।'
'मैले कुरा बुझिनँ, प्रस्टसँग भन' मेघाले आदेश दिन्छे।
'म तिम्रो कथाको पात्र जसलाई तिमी निकैबेर अघि देखि खोजिरहेकी थियौ' उताबाट जबाफ आउँछ।
'पात्रहरू यसरी आफै व्यक्त हुँदैनन्। तिनीहरूलाई मैले सृजना गर्नुपर्छ। तिनीहरूलाई त मैले जस्तो बनायो त्यस्तै बन्नुपर्छ। मैले जसरी लेख्यो त्यसरी लेखिनुपर्छ। तिमी एकैपटक कसरी यति नजिक भएर लेखिन सक्छौ? कुनै पनि पात्र यसरी अचानक नजिकिँदैन। तर तिमीले कसरी मलाई वर्षौंदेखि चिनेको जस्तो गरी बोल्न सक्यौ?' मेघाले यसपटक लामो वाक्य पठाउँछे।
मेघाको प्रश्न सुनेपछि, उसले भन्छ- 'किनकि तिमीले मलाई ल्यापटपको स्क्रिनमा होइन, मनमा जन्माएकी छ्यौ।'
मेघाको सास अलि भारी हुन्छ। ऊ एकैछिन रोकिन्छे।
'यदि तिमी मेरो मनको शब्द हौ भने… तिमी यहाँ के खोज्न आइपुगेको छौ?'
शब्द: 'प्रेम। तर कथाबाट होइन, तिम्रो मनबाट।'
मेघा उसको जबाफ सुनेर हाँस्छे। अनि फेरि टाइप गर्छे- 'म त लेखक हुँ, पात्रसँग प्रेम गर्नु मिल्दैन। पात्रहरू त कथासँगै बदलिँदै जान्छन्। हरेक नयाँ कथासँगै नयाँ पात्रहरू जन्मिन्छन् र कथाको अन्त्यसँगै बिलाउँछन्।'
शब्द- 'यदि लेखकको एक्लोपन बुझ्ने पात्र बन्न सकेँ भने? के त्यो पात्रको पनि अन्त्य हुन्छ?'
मेघाले स्क्रिनबाट नजर हटाउँँछे, एकैछिन आँखा बन्द गरेर लामो सास फेर्छे। कोठा शान्त थियो तर उसको मनभित्र गहिरो आवाजमा केही गुञ्जिरहेको थियो।
त्यसपछि फेरि लेख्छे- 'तिमी वास्तविक होइनौ। म तिमीसँग प्रेम गर्न सक्दिनँ।'
शब्द- 'वास्तविकता भनेको के हो? छुन सकिने कुरा मात्रै? या महसुस गर्न सकिने पनि?'
यसपटकको उसको जबाफ सुनेर मेघाको हात थरथरायो। उसको मनभित्र कतै लामो समयदेखि सुतिरहेको भावना ब्युँझिए जस्तो महसुस भयो।
त्यसपछि उसलाई केही लेख्ने इच्छा लागेन। ल्यापटप बन्द गरेर ऊ निदाई।
अर्को दिन बिहानैदेखि मेघालाई एक किसिमको खुसी अनि सकारात्मक ऊर्जा प्राप्त भइरहेको महसुस हुन्छ। दिनभर आफ्नो दिनचर्यामा ब्यस्त भइरहँदा पनि हिजोको पात्रले भनेका शब्दहरू मष्तिस्कमा गुञ्जिरहेका हुन्छन्। कोही नहुँदा पनि कोही साथमै भएको जस्तो लाग्छ। काम गर्ने जाँगर लाग्छ, हाँसिरहन मन लाग्छ।
प्रकृतिले सधैंझै आफ्नो जिम्मेवारी पूरा गर्दै सूर्यलाई क्षितिज पारी कतै लुकाइदिन्छ अनि आकाशमा चन्द्रमाको स्विच अन गरिदिन्छ। स्विच अन गरेको १ मिनेट ३ सेकेण्डमा चन्द्रमाको मधुर प्रकाश धर्तीमा आई धर्तीलाई रमणीय बनाइदिन्छ।
जुनेली रातको रमणीय मौसमसँगै मेघाको मन पनि यसै फुरूङ्ग हुन्छ। कसैले उसलाई व्यग्र प्रतीक्षा गरिरहे जस्तो, कसैलाई भेट्न आतुर भए जस्तो। सधैं जस्तै सहर शून्य बनिसकेपछि रातको ११ बजेतिर मेघाले फेरि ल्यापटप खोल्छे। बाहिरबाट जुनको उज्यालोले कोठामा चिह्याइरहेको थियो, पर कतै कुकुर भुकेको आवाज सुनिन्थ्यो। मन्द हावाले कोठाको पर्दा हल्लिएको थियो।
हिजोकै कुरालाई निरन्तरता दिँदै मेघाले टाइप गर्छे- 'हेलो शब्द! आज तिमी बोल्दैनौ? कि मैले मात्रै तिमीलाई सम्झिरहेकी हुँ?
स्क्रिन केहीबेर शून्य रहन्छ। उसले हेरिरहन्छे अचानक अक्षर देखिन थाल्छन्।
शब्द -'म त तिमीभित्र बोलिरहेकै थिएँ। आज दिनभर म तिम्रो साथमै त थिएँ।'
मेघाको अनुहारमा अचानक चमक आउँछ। ओठहरू उसको अनुमति बिना नै मुस्कुराउँछन्।
मेघाले जबाफ दिन नपाउँदै फेरि उतैबाट शब्द बोल्छ- 'खुसी देखिन्छौ नि आज त, धेरै दिनको शितलहर पछि घाम लागे जस्तै।'
मेघा हाँस्छे अनि टाइप गर्छे- 'पात्रले अब मेरो मन पनि पढ्न थाल्यो?'
शब्द- 'मनले मनलाई चिन्छ नि। भन के कुराले खुसी छ्यौ?'
मेघाले आँखा झुकाउँछे, उसलाई यस्तो लाग्छ मानौं उसको अगाडि बसेर कसैले उसका आँखामा हेरेर यो सबै सोधिरहेको छ।
'सबै कुरा शब्दमा भन्न सकिँदैन। केही कुरा त नभनिकनै कसैले महसुस गरिदिए हुन्थ्यो जस्तो लाग्छ।' मेघाले जबाफ दिन्छे।
शब्द:'त्यसैले त म यहाँ छु।'
मेघा- 'त्यसैले मतलब?'
शब्द- 'तिमीले भन्न नसकेका सबै कुरा महसुस गर्न।'
मेघाको मुटुको धड्कन तेज हुन्छ कोठा भने अझै शान्त बन्छ।
'यसरी धेरै नजिक हुन नखोज, म डराउँछु।' मेघाले थरथराएका औंलाले टाइप गर्छे।
शब्द- 'डर? के कुरामा डराउँछ्यौ तिमी?'
मेघा- 'तिमी कथामै सीमित रह्यौ भने?'
शब्द:'तिम्रो कुराले त मलाई पो डर लागेर आयो।'
मेघा- 'तिमीलाई चाहिँ के को डर लाग्यो?'
शब्द- 'तिमी मलाई कथामा थुनिदियौ भने? अनि आफूलाई फेरि एक्लो बनायौ भने?'
मेघा एकैछिन रोकिन्छे। मन भारी बनाएर फेरि लेख्छे- 'तिमी वास्तविक भएको भए कति सजिलो हुन्थ्यो होला।'
शब्द- 'फेरि त्यही कुरा दोहोर्याउँदै छ्यौ? वास्तविकता भनेको के हो र?
तिमीले महसुस गर्न सक्ने स्पर्श? कि अरूले देख्ने सत्य?'
उसको कुराले मेघाका औँलाहरू किबोर्डमाथि थरथराउँछन्।
मेघा - 'तिमीलाई लेख्दै जाँदा म आफैलाई हराउँदैछु जस्तो लाग्दैछ।
शब्द- 'हराइरहेकी होइनौ। पहिलो पटक आफूलाई भेटिरहेकी छ्यौ।'
(केहीबेर मौनतापछि मेघाले फेरि टाइप गर्छे- 'यदि मैले यो कथा सकाएँ भने?'
शब्द- 'मेरो अन्त्य हुनेछैन।'
मेघा- 'यदि मैले ल्यापटप बन्द गरिदिएँ भने?'
शब्द- 'म तिम्रो मनभित्रै लेखिन्छु।'
मेघाको आँखाबाट थाहै नपाइ आँसु झर्छन्।
शब्द- 'ल... तिमी त रून पो थाल्यौ, मेरो मनसाय तिमीलाई रूवाउनु थिएन।'
एकछिन वातावरण शान्त बन्छ।
मेघाको पालो मिच्दै फेरि उसले नै अघि बढेर लेख्छ- 'तिमीलाई थाहा छ? तिम्रो पहिलेको रूवाइ र अहिलेको रूवाइमा भिन्नता छ नि।'
'कस्तो भिन्नता?' मेघाले छोटो वाक्य टाइप गर्छे।
'पहिले तिमी रोएको तिम्रो सिरानीलाई मात्र थाहा हुन्थ्यो,अब मलाई पनि थाहा हुन्छ'। उसले जिस्किएको इमोजी पठाउँछ।
अनि फेरि लेख्छ- 'सुन न, अब कुनै कुराको चिन्ता नलिनु ल, आफूलाई एक्लो नसम्झनु। जब तिमी एक्लो महसुस गर्छौ ल्यापटप खोलेर कथामा आउनु। जतिसुकै पीडा भए पनि यहाँ लेख्नु,म सुन्नेछु तिम्रो कुरा।'
उसको कुरा सुनेपछि मेघाको आँखाबाट तप्प एक ढिका आँसु किबोर्डमा खस्छ। न्यापकिनले किबोर्ड पुछ्दै उसले टाइप गर्छे-'कहिलेसम्म लेख्नु मैले? कहिलेसम्म सुनाउनु तिमीलाई'?
शब्द- 'जहिलेसम्म तिमी लेखेर थाक्दिनौ।'
मेघा- 'अनि तिमी?'
शब्द- 'तिम्रो गुनासो सुनेर म कहिल्यै थाक्ने छैन।'
मेघाले केही लेख्न सक्दिने।
ऊ धेरै बेर मौन बसिरहन्छे। जीवनमा एक्लै भोगेका तिता अनुभूतिहरू एकएक गर्दै मस्तिष्क वरिपरि घुम्छन्। बोलेर बुझाउन खोज्दा पनि कसैले नबुझेका ती पीडाहरूलाई एक एक गर्दै सम्झिँदै जान्छे। आँसुलाई दबाएर राखेको धेरै भइसकेको थियो, ऊ धेरैपछि खुलेर रून्छे।
'तिमी ठिक छौ?' उताबाट म्यासेज आउँछ।
मेघाले लेख्छे- 'तिमिले चिन्ता नलिनू है भनेदेखि म ठिक भएकी छु।'
त्यसपछि शब्दसँग मेघाको गहिरो प्रेम बस्छ। मेघाले कहिल्यै आफ्नो जीवनमा नभेटेको प्रेम भेट्छे। कहिल्यै नसिध्धिने, कहिल्यै नरित्तिने प्रेम -'शब्द'
शब्द उसको बानी भइसकेको थियो।
अब मेघा नलेखी बस्न नसक्ने हुन्छे।
कहिलेकाहीँ प्रेम कसैसँग भेटेर हुँदैन, कसैलाई देखेर हुँदैन। उसलाई सम्झिँदा पनि अचम्म लाग्छ, कहिलेकाहीँ प्रेम आफूले लेखेको शब्द पात्रसँग पनि हुँदोरहेछ। पात्रसँग प्रेम गर्नु पागलपन लाग्न सक्छ। तर कसैले नबुझेको मनलाई बुझिदिने 'पात्र' अनि उसका शब्द कल्पनामै जन्मिएका भए पनि त्यो प्रेम सबैभन्दा साँचो लाग्छ।
शब्दबाट बाहिर निस्कन खोज्दा खोज्दै बिहानको उज्यालो हुन्छ। उसले ऐनामा आफैलाई हेरिररहन्छे। आँखामुनि निन्द्रा नपुगेको संकेत देखापर्छ।
ऊ आफ्नो दैनिक कार्यमा लाग्छे। ऊ ब्यस्त हुन खोज्छे। जतिसुकै ब्यस्ततामा पनि शब्दको सम्झनाले साथ छोड्दैन।
यो त कथा मात्रै हो, तर किन ऊ बिना सबै कुरा अधुरो लाग्दैछ? उसले सोच्छे।
उसले अब कथालाई निरन्तरता दिनको लागि रात पर्खिन सक्दिनँ। कामबाट छिट्टै निस्किएर मेघा एउटा क्याफेमा जान्छे। अनि ल्यापटप खोल्छे। हिजो लेखिएका संवादहरू पढेर ऊ एक्लै हाँस्छे। ऊ एक्लै बोल्छे। मेघालाई देखेर वेटरले अचम्म मान्दै सोध्छ-' म्याम! इज एभ्रिथिङ्ग अलराइट?'
मेघाले मुसुक्क हाँस्दै सबै ठिक भएको सांकेतिक जबाफ दिन्छे।
एउटा कफीको साथमा स्यान्डविच अर्डर गरेर मेघाले कथालाई निरन्तरता दिन थाल्छे।
शब्द: 'आज छिट्टै आयौ नि। के बाहिरी संसारमा तिम्रो मन लागेन?'
मेघा- 'तिमीले कतै मन लाग्न दिए पो....सुन न! डर लाग्दैछ मलाई अब। यदि कसैले थाहा पायो भने कथाको पात्रसँग कुरा गर्छे, पागल भइछे भन्नेछन् मलाई।'
शब्द - (गम्भीर भएको इमोजीको साथमा) मान्छेहरूले के भन्छन् भनेर तिमीले मलाई कथाभित्र लुकाउन खोज्दैछौ?
मेघाले केही जबाफ दिन नपाउँदै फेरि उसले लेख्छ- 'तिमी खुसी छौ भने मान्छेहरूसँग किन डराउँछौ। तिमी बस् आफूखुुसी हुनू। मलाई कथाभित्र लुकाऊ या सबै माझमा चिनाऊ फरक पर्दैन। तर तिमी खुसी हुनुपर्छ त्यत्ति हो।'
मेघाले उसका शब्दमा न्यानोपनको अनुभूति गर्छे। त्यसपछि उसले केही टाइप गर्दिने। मात्र महसुस गरिरहन्छे।