कविता
मलाई थाहा छ
बिहे यहाँ दुई मनको भेट होइन
दुई हैसियतको सम्झौता हो।
कुन्डली मिल्ने नातासँग
अन्य निश्चल प्रेमहरू
पराजय हुन पुग्छन्।
कुण्डली मिलाउनकै लागि
बा! म बिहे गर्दिनँ।
आज फेरि सुनको भाउ बढ्यो।
खुसी होइन,
छोरी भएका घरमा
रोदनको खबर आएको हो।
मलाई डर लाग्छ—
कुनै परिवार, मेरो नाममा
ऋणको रसिद नबनून्।
दाइजोको तौल जोख्नकै लागि
बा! म बिहे गर्दिनँ।
छोरी जन्मिँदा दुर्भाग्य देख्ने समाज,
छोरालाई 'वंश' भनेर बोक्छ।
र म—
त्यही वंशको बोझबाट
थकित छु बा।
मैले बिहे गर्दा हजुरको
वंश त अवश्य बढ्ला।
केवल वंश बढाउनकै लागि
बा! म बिहे गर्दिनँ!
जात नहेरी माया गर्न
यहाँ अपराध लाग्ने गर्छ।
गरिब भएर प्रेम गर्नु
सामाजिक अयोग्यता ठहरिन्छ।
पहिले थर सोधिन्छ, पछि तलब।
सामाजिक इज्जत कमाउने नाममा
बा! म बिहे गर्दिनँ।
यहाँ विवाहलाई
प्रेमको उत्सवको रूपमा होइन,
समाजको प्रदर्शनीको अर्थमा हेरिन्छ।
जहाँ मण्डपमा मान्छे होइन,
उनीहरूको हैसियत उभ्याइन्छ।
सायद म स्वार्थी छु, गलत छु।
तर बा! म बिहे गर्दिनँ।।