घडी तीन सुईले बनेको हुन्छ जुन सधैँ एउटै रफ्तारमा हिँडिरहन्छन्; न रोकिन्छन्, न बाटो फेरिन्छन्। ठिक त्यसै गरी, मेरो जीवन पनि एउटै लयमा चलिरहेको छ। हरेक बिहान उही समय उठेर फ्रेस भई कार्यालय जानु। दिनभरि विभिन्न कामहरू, मिटिङ र भ्रमणका क्रमले शरीर थकाइले भरिन्छ। साँझ सूर्य अस्ताएपछि ढिलो कोठामा फर्किन्छु अनि भान्सामा आगो बल्छ। आफैँ खाना पकाएर खान्छु र खाइसक्दासम्म प्रायः राति ९–१० नै बजिसकेको हुन्छ।
यही क्रम, यही रफ्तार, मेरो जीवनको दैनिकी बनेको छ। छुट्टीका दिनहरू घडी अलि बिस्तारै चलेजस्तो लाग्छ। कोठा र लुगाहरू सफा गर्दै र अलि आराम गर्दै बित्छन्। कहिलेकाहीँ साथीहरूसँग चिया खाँदै रमाइलो गर्ने समय मिल्छ तर त्यस्ता क्षणबिच महिनाहरू चुपचाप बितिसकेका हुन्छन्। घडीका सुई झैँ समय अगाडि बढिरहेछ र म पनि नरोकी, नफर्की, उही दिनचर्याको घेराभित्र निरन्तर हिँडिरहेछु। तर मोबाइलमा सुरक्षित तिम्रो तस्बिर देखेपछि र विगतका दिनहरू सम्झँदै कल्पनाको संसारमा तिमीसँग कुरा गर्न थालेपछि, दिनभरिको थकान मानौँ कहिल्यै थियो नै जस्तो लाग्दैन।
राति सुत्नुअघि सधैँ तिम्रो तस्बिर हेर्दै मनमा कल्पना गर्थेँ, 'काश, तिमी मसँग हुन्थ्यौ। तिमीसँग बसेर धेरै कुराहरू गर्थेँ। कहिल्यै नसकिने गरी तिमीलाई माया गर्थेँ। तिमीलाई मन पर्ने मिठो चिया पकाउँथेँ र खुला आकाशमुनि टिलिक्क टल्किरहेका ताराहरूकाे तल बसी चिसो-चिसो हावामा तिमीलाई अँगालोमा राखेर चियाको चुस्कीसँगै मायाका कुराकानी गर्थेँ।' तर मेरा सबै एकतर्फी, काल्पनिक कुराहरू ममै सीमित भई म भित्रै हराइरहेँ र सगरमाथाको उचाइभन्दा पनि बढी उँचो कल्पनाको हिमाल खडा भयो। जसको उचाइसम्म पुग्नु र त्यसपारि जानु एउटा सपना जस्तै बन्न गएको छ।
यी कल्पनाहरूले मेरो हृदयलाई यति गहिरोसम्म छोइदिन्थे कि एक्लोपनको हरेक रात मायाले भरिएको हुन्थ्यो। तिम्रो अभावको पीडाले आँखाबाट आँसु झारिदिन्थ्यो, जसको हरेक थोपामा तिम्रै नाम लुकेर बसेको हुन्थ्यो। मनमनै तिमीलाई माया गर्दै तिमीसँग अनेकन् मायाका कुरा गर्ने यो मेरो जीवनको एक निरन्तर अंग बनिसकेको थियो, जुन शायद जीवन सके पनि आत्मामा पनि निरन्तर भई यो हावामा हराउँथ्यो।
यस्तै अनेक कुराहरू मनमा आइरहन्थे। मेरो लागि यो कुनै नौलो थिएन। हरेक दिन, हरेक क्षण तिम्रो सम्झनामा म यति डुबिसकेको थिएँ कि एक्लै भएको बेला मेरो मनमा रहेका ती छोटा, मिठा र मायाले भरिएका सम्झनाहरूसँग सधैँ एकआपसमा कुराहरू गरिरहन्थे। कहिलेकाहीँ ती सम्झनाहरू यति बलिया हुन्थे कि वास्तविक र काल्पनिक बिचको फरक छुट्टाउन नै गाह्रो हुन्थ्यो। तिम्रो स्पर्शको कल्पनाले मेरो मुटुले कमाउँथ्यो, त्यो कमाइमा पनि प्रेमको अमर सङ्गीत निरन्तर बजिरहन्थ्यो।
यस्तै अनेकन् कुरा सम्झिरहेँ। मोबाइलमा तिम्रो तस्बिर हेरिरहँदा त्यसलाई आफ्नो छातीमा राखेर मायाको काल्पनिक गहिरो संसारमा डुबी पल्टिरहेको थिएँ। अचानक फोनको घण्टी बज्यो। धेरै समयपछि मोबाइलमा तिम्रो नम्बर देखेर म अचम्मित भएँ। एक क्षण पनि नगुमाई मैले फोन उठाएँ। धेरै समयपछि तिम्रो आवाज सुन्न पाउँदा मेरो मुहारमा खुसी र चमक यति फैलियो कि तिमीले देखेको भए थाहा पाउँथ्यौ होला तिमी मेरो लागि कति महत्त्वपूर्ण छौ। तिम्रो आवाजले मेरो हृदयमा वर्षौँदेखि सुकेको मरुभूमिमा प्रेमको वर्षा गरायो, जसले मेरो आत्मालाई निभिरहेको दियोलाई तेल दिएर जीवन जस्तै जीवन दियो।
सामान्य कुराकानी हुँदै गर्दा तिमी, म बसेको ठाउँ नजिकै आएको थाहा पाएर झन् खुसी भएँ। त्यति राति चिसोमा टाढा घर फर्किनुभन्दा बरु मकहाँ आएर बस्ने र बिहान उज्यालोमा घर फर्किने प्रस्ताव राखेँ। सुरुमा तिमीलाई अलि अप्ठ्यारो लागे पनि राति असुरक्षित यात्रा गर्नुभन्दा मकहाँ आउन मन्जुर गर्यौ। मैले तुरुन्तै आफू बसेको ठाउँको लोकेसन पठाइदिएँ। लगभग आधा घण्टापछि तिमी मकहाँ आइपुग्यौ। त्यो आधा घण्टाको हरेक पल कति लामो थियो, सायद प्रतीक्षा गर्नेले मात्र महसुस गर्न सक्छन्। घरी-घरी घडी हेर्थेँ, एकछिन अघिसम्म चाँडो हिँड्ने त्यो घडीको सुई बिस्तारै हिँडेको देखेर मनमा रिस पनि उठिरहेको थियो।
प्रतीक्षा गरिरहेकै क्रममा कोठाको ढोका ढकढकाएको आवाज आयो। हतार-हतार एक क्षण पनि नगुमाई ढोका खोल्दा चिसो हावाको झोक्काले तिम्रो मुलायम, सिल्की कपालहरूलाई उडाउँदा, ती केशहरू मेरो मुहारमा लहराउँदै आए जस्तो कि तिम्रो आत्माले नै मलाई चुम्बन गर्न आएको हो। त्यो नरम स्पर्श यति मिठो थियो कि मेरो छाला सिहरियो, हृदयभित्र वर्षौँदेखि सुकेको मरुभूमिमा अचानक वसन्त फुल्यो। तिम्रो कपालबाट आएको त्यो हल्का सुगन्ध फूलको मन्द बास्ना जस्तो, चिसो रातमा पनि न्यानो बनाउने मेरो हरेक सासमा मिसियो। अतीतका कल्पनाहरू, ती अधुरा सपनाहरू, सबै त्यही एक स्पर्शमा जीवन्त भएर उर्लिए। मेरो मुटुले लामो समयपछि आनन्दको गहिरो श्वास तान्यो जस्तो कि यो क्षण मेरो जीवनको सबैभन्दा पूर्ण, सबैभन्दा अमर पल हो। तिम्रो यो स्पर्शले चिसोलाई जित्दै मेरो एक्लोपनलाई हरायो, र प्रेमलाई अनन्त बनायो। मनमनै भगवानलाई प्रार्थना गर्न थालेँ- 'भगवान्, यो समयलाई यही रोक्दिनुहोला।'
तिमीलाई पहिलो पटक देखेको क्षण आज पनि मेरो स्मृतिमा उत्तिकै ताजा छ। तिम्रो मुहारमा त्यो बेला देखिएको सुन्दरता समयसँगै अझ गहिरिएको जस्तो लाग्थ्यो, मानौँ समयले समेत त्यसलाई छुन सकेन। पहिलो भेटमै तिमीलाई देख्दा जसरी मेरो मुटुको ढुकढुकी असहज रूपमा बढेको थियो, त्यो रात तिमीलाई अगाडि पाउँदा त झन् मुटु आफ्नै लय बिर्सेर धड्किरहेको थियो। मानौँ त्यसलाई मभन्दा पनि बढी आतुर थियो, तिम्रो मुटुसँग भेटिन।
रातको समय, चिसोको बेला, तिम्रो उपस्थितिको त्यो सुगन्ध, तिम्रो मुहारको उज्यालोपन र तिम्रो त्यो मुस्कान यस्तो लागिरहेको थियो, मानौँ रातकी अप्सरा मेरो अगाडि उभिरहेकी छिन्। मनले तिमीलाई सम्झिरहेको बेला तिमीलाई वास्तवमा अगाडि पाउँदा तिमीलाई अँगालोमा राख्नबाट रोक्न सकिनँ। मैले केही सोचिनँ र तिमीलाई जोडले अँगालोमा बाँधेँ। पुस-माघ महिनाको चिसो हावामा तिमीलाई अँगालोमा राख्दाको न्यानोपना मेरो जीवनको अर्को सबैभन्दा मिठो सम्झना बन्यो। तिम्रो निधारलाई हत्केलाले समातेर मायाले चुमेँ, तिमीले पनि मलाई कस्सिएर अँगालोमा बाँध्यौ। त्यो बेला मेरो मुटुको ढुकढुकी जोडले बढ्यो।
सायद मेरो छातीमा टाँसिएको तिम्रो निधारले त्यो सहजै महसुस गर्यो र तिमीले सोध्यौ, 'तिम्रो मुटु किन यति जोडले ढुकढुक गर्न थाल्यो?'
तिम्रो यो प्रश्नले मेरो हृदयलाई अझ गहिरोसम्म छोयो, त्यो स्पन्दन तिम्रै लागि थियो, तिम्रै नाममा थियो।
मैले केही भन्न सकिनँ, एकदम मौन ढोकामा खडा भएर तिमीलाई कहिल्यै नछुट्ने गरी अँगालोमा बाँधिरहेँ। 'तिमीलाई धेरै दिनपछि यसरी भेट्न पाउँदा मेरो मुटु जोडले ढुकढुकिरहेको हो। आऊ न भित्र' भनेँ। त्यो अँगालोमा मेरो आत्मा तिम्रैमा विलीन भएको थियो, जसमा प्रेमको अमरता र पीडाको मिठास दुवै मिसिएका थिए।
कोठाभित्र प्रवेश गरेपछि बाहिरको खुला छतभन्दा न्यानो भएकोले तिमीले लगाएको रातो कोट निकालेर कोठाको कुनामा राख्यौ। तिमी मलाई मन पर्ने कालो रङको सारीमा थियौ, जसमा सेतो र रातो टिलिक्क टल्किने जरीहरू सजिइएको थियो। तिम्रो त्यो सुन्दरता, मुहारमा फैलिएको चमक, जसरी अँध्यारो कोठामा दियोको सानो टुकीले कोठालाई उज्यालो बनाउँछ, तिम्रो सुन्दरतामा पनि त्यस्तै चमक थियो। तिम्रो त्यो रूपले मेरो हृदयलाई यति गहिरो छोयो कि लाग्यो, जीवनको सबैभन्दा ठुलो उपहार तिमी नै हौ र अन्धकारमा हराएको यो जीवन तिमीसँग, तिम्रो हात समाई, अधुरो यात्रा पूरा गर्न हिँड्ने छ।
त्यो क्षण तिमीले केही नबोले पनि, तिम्रो आँखाको नजरले सबै कुरा भनिरहेझैँ लाग्यो। कोठा मौन थियो तर त्यो मौनताभित्र स्मृतिहरू जन्मिइरहेका थिए, जुन सायद समय बिते पनि कहिल्यै मेटिने थिएनन्।
बेलाबेला म तिमीलाई चोरी नजरले नियालिरहन्थेँ। तिमीले पनि सायद त्यो बुझिसकेकी थियौ र मुस्कुराउँदै भन्यौ, 'म साँच्चिकै तिमीकहाँ आएकी छु। ल, विश्वास छैन भने छोएर हेर।'
कोठाको बेड छेउ भुइँमा ओछ्याइएको मोटो डस्नामा बसेर हाम्रो कुराकानी सुरु भयो। एकजना साथीको बिहे भोजमा आएकी थियौ, राति साथीहरूसँग रमाइलो गर्दै गर्दा अबेर भएको र म बसेको ठाउँ नजिकै भएकोले राति असुरक्षित यात्रा नगर्ने निचोडमा मकहाँ आइपुग्यौ। तिम्रो यो निर्णय मेरो लागि मायाको सबैभन्दा ठुलो उपहार बन्यो, जसले मेरो हृदयलाई शान्ति र खुसीले भरिदियो।
'कोठा तँ साह्रै राम्रो र सफा छ। सबै कुरा चिटिक्क मिलेको,' कुराकानी गर्दै भान्साकोठातिर छिर्यौ ँ। त्यहाँका विभिन्न भाडाहरू मध्ये तिम्रो आँखा चियाको दुई वटा रातो कपमाथि गयो।
'ओह! यी त त्यही कपहरू हुन् नि, जसका फोटोहरू तिमी फेसबुकमा पोस्ट गर्छौ?' तिमीले मुस्कुराउँदै सोध्यौ। यो साधारण प्रश्नले मेरो मनमा हाम्रा साना-साना खुसीहरू फुलिदिए, मायाका अनेक शब्दहरू एकअर्कासँग खेल्न थाले।
मैले हो मा टाउको मात्र हल्लाएँ।
'अनि म आएकी छु, मलाई चिया नखुवाउने? फेरि कुनै नयाँ कविता र कथा लेख्ने हो कि?' तिम्रो यो सानो कुराले मेरो हृदयलाई मायाको मिठो स्पर्शले छोइदियो र मुटुभित्र पुनः मायाका नयाँ नयाँ शब्दहरू जन्मिन थाले।
धन्न, त्यो साँझ कार्यालयबाट फर्किने बेला दूध ल्याएर राखेको रहेछु।
'तिमी बेडमा बस्दै गर, म चिया बनाउँदै गर्छु' भनेँ।
तिमी कोठाको ओछ्यानमा पल्टियौ र शरीरलाई न्यानो बनाउन कम्बल ओढ्यौ। म चिया बनाउँदै थिएँ। तिमी पल्टेको ठाउँ भान्साको सिसाको झ्यालबाट सजिलै देखिन्थ्यो। तिमी आँखा बन्द गरेर पल्टिरहेकी थियौ। मन भित्रको अधुरोपनालाई पूरा गर्नको लागि चिया पकाउँदै तिमीलाई चोरी नजरले नियालिरहेँ। थाकेर होला, तिमी सुतिसकेकी थियौ। चिया पाकेपछि त्यही रातो कपहरूमा राखेर तिमी पल्टेको छेउमा गएँ। तिमीलाई सुतेको देखेर उठाउन मन लागेन, चियाका कपहरू तल राखेर तिमीलाई मायाले नियालिरहेँ। तिम्रो सुतिरहेको रूपले मेरो हृदयमा अमर प्रेमको मिठो लहर दौडायो र न्यानो कोठामा शरीरभित्र चिसोपना बढायो।
मनमनै भगवानलाई फेरि हृदयदेखि धन्यवाद मात्र दिइरहेँ। मेरो प्रार्थनामा हृदयको हरेक धड्कन मिसिएको थियो।
एकोहोरो तिमीलाई नियालिरहेँ र सम्झनामा हराएको त्यो मनले तिम्रो रातो ओठलाई चुम्न जागरूक गरिरहेको थियो। तिम्रो आँखामा लगाइएको काजलको त्यो पातलो कालो रेखालाई औँलाको टुप्पोले हल्का स्पर्श गरेर त्यसैमा मायाका अनगिन्ती दृश्य कोर्न मन लागिरहेको थियो।
हाम्रो भेटको त्यो लजालु मुस्कान, रातभरि गरेका अनन्त कुराकानी, एकअर्कालाई अँगालोमा बाँधेर बिताएका ती न्यानो पलहरू र जिन्दगीभरि सँगै हिँड्ने मौन प्रतिज्ञाहरू, सबै सम्झना एकसाथ उर्लिए। तिमीलाई यसरी नजिक देखेर मैले आफ्नो मनलाई रोक्न सकिनँ र बिस्तारै तिम्रो ओठमा चुम्बन गरेँ। तिमी जुरुक्क आँखा खोल्यौ, गाली गर्छौ कि लाग्यो र मेरो मुटु फेरि जोडले स्पन्दन गर्न थाल्यो। तर तिमीले केही भनिनौ। त्यो चुम्बनले मेरो हृदयमा प्रेमको गहिरो पीडा र आनन्द दुवै जगायो।