मन छ नि
बुथसम्म पुगेर भोट हाल्ने
मन छ नि
आफूलाई मन पर्ने नेताको
पोस्टर र पम्प्लेट टाँस्दै
गाउँ बस्ती चाहर्ने
मन छ नि
बुढी भएको आमाको बैसाखी बनेर
बुथसम्म पुगेर
आमालाई मन पर्ने
मलाई मन पर्ने
दुवै जनाको सहमतिमा
देशको मुहार फेर्छु भन्ने
नेतालाई भोट हाल्ने-
तर-
परदेशीको कुरा
कहाँबाट हुन्छ र सुनवाइ?
ए सरकार!
हामी आफ्नै रहरले त आका होइन परदेश
तिम्रै कुकर्मको
सिकार भएको सत्यतालाई
सक्छौ तिमी पुर्न?
सरकार!
कति सुन्दर छ है हाम्रो देश?
जहाँ सीता जन्मे
जहाँ बुद्ध जन्मे
जहाँ सगरमाथाले नेपालमा बस्न राजी गरे-
ती तीन कुराको मात्रै
सही सदुपयोग गरेको भए
तिम्रो देशको युवा
बिग्रने थिएनन् होला अरू-अरूको देशका
सस्तो श्रम बजारमा
दुःख लाग्छ-
अस्वस्थ अवस्था भएको कुरा
ढाँटेर आमासँग
'ठिकै छु आमा' भन्न विवश भएको समय-
सरकार!
जे छु,
ठिक नहुँदा पनि ठिक छु
भन्न बाध्य छ।
दुःखद कुरा
साँच्चै भन्नु पर्दा
हामी जस्तै प्रवासी युवाले पठाएको रेमिटेन्सले
देशको आर्थिक उन्नतिमा
कुनै चुक नहुने
तर हाम्रो भोट
जहिल्यै किन चुक हुने?