प्रायः साँझ म यसो बहलिन डुल्छु
भारी सपनाले किचेर गह्रुँगो भएको माथ लिई
आफ्नाबाट टाढा आफैँलाई आफ्नो साथ लिई
ती सडकका पेटी-पेटी डुल्छु
मनमा अनेक किसिमका नानाथरी कुराहरू खेलाउँदै
आफ्नाबाट टाढा आफैँसँग भुल्छु
प्रायः साँझ म यसो बहलिन डुल्छु।
ढल्दै गरेको साँझसँगै ढल्दै गरेको आफ्नो दैनिकी छुन्छु
आँखामा परेका गाडीका बिम्बमा छलिँदै दुई थोपा रुन्छु
बजारको कोलाहलमा म यो संसारको आवाजलाई सुन्छु
कसैले सुन्लान् कि भनी अनि मन भित्रको आवाजलाई थुन्छु
मनमा अनेक किसिमका नानाथरी कुराहरू खेलाउँदै
आफ्नाबाट टाढा आफैँसँग भुल्छु
प्रायः साँझ म यसो बहलिन डुल्छु।
आकाशमा घाम रहुन्जेल बन्द कोठामा आफूलाई थुन्छु
जूनले आफ्नो रूप देखाउँदै खुला जमिनमा उसलाई चुम्छु
बन्द कोठाका बाँधिएका विवशताका पोकाहरूलाई
जूनको बिम्बलाई साक्षी राख्छु अनि आजादी दिन्छु
सँगसँगै आफू पनि आजाद भएको कृत्रिमतालाई चुम्छु
आफ्नाबाट टाढा आफैँसँग भुल्छु
प्रायः साँझ म यसो बहलिन डुल्छु।