प्रिय, तिमीलाई सम्झनु भनेको केवल बिछोडको पीडा बोक्नु मात्र होइन, त्यो त माया पुनः बाँच्नु जस्तै रहेछ। त्यो माया, जसले मेरो अपूर्ण अस्तित्वलाई एक पटक पूर्णताको स्पर्श गराएको थियो। त्यो माया, जसले यो संसारको सीमाभन्दा परको मिठास चखाएर आत्मालाई शान्त बनाएको थियो।
कहिलेकाहीँ लाग्छ— समय त अघि बढिसक्यो तर मेरो मन अझै त्यहीँ अडिएको छ जहाँ तिम्रो हाँसो हावामा घुल्थ्यो र मेरो संसार उज्यालो हुन्थ्यो। तिम्रो हाँसो अझै पनि मेरो स्मृतिमा संगीत बनेर बजिरहन्छ। तिम्रो स्पर्श जाडो रातमा न्यानो घाम झैँ सम्झनामा चम्किन्छ। तिम्रो स्वर आज पनि थाकेको आत्मामाथि मलम बनेर बस्छ।
तर विडम्बना हेर— ती सबै पलहरू अब समयको कुहिरोभित्र हराएका छायाजस्ता भएका छन्। तिमी नभएपछि दिनहरू चल्छन्त र जीवन भने रोकिएजस्तो लाग्छ।आकाशमा तारा उस्तै छन् तर मेरो आँखामा तिनको उज्यालो मरेको छ। फूलहरू फुल्छन्त र मेरो मनको बगैँचामा वसन्त आउँदैन।
मलाई थाहा छ हामीबिचको दूरी अब समयले मात्र होइन, नियतिले पनि बनाएको हो। तिमीलाई फेरि भेट्ने बाटो सायद कहिल्यै खुल्ने छैन। तर पनि अचम्म लाग्छ— मेरो हरेक श्वासले अझै तिम्रै नाम उच्चारण गरिरहेको हुन्छ।
तिमी टाढा छौ तर मेरो आत्माको गहिराइमा तिमी अझै बाँचिरहेका छौ। तिमी मौन छौ तर मेरो मन तिम्रै आवाज सुन्दै बस्छ। तिमी फर्कने छैनौ तर म भने हरेक क्षण तिम्रै प्रतीक्षामा समयसँग लडिरहेको छु। तिमी मेरो लागि केवल अतीतको कथा होइनौ, न त केवल यादको तस्बिर। तिमी त मेरो जीवनले एक पटक पाएको अर्थ हौ, मेरो मुटुले चिनेको सबैभन्दा साँचो धड्कन हौ। त्यसैले तिमी नभए पनि, म तिम्रै सम्झनामा बाँचिरहेछु। मेरो रगतमा बग्ने भावनामा, मेरो श्वासको निसास्सिएको तातोपनमा, मेरो नबोलेका रुवाइका भित्री आवाजहरूमा—तिमी अझै जीवित छौ, प्रिय।
सम्बन्ध सुरु गर्नु भनेको कसैको हात समाउनु मात्र रहेनछ, आफ्नो केही अंश बिस्तारै छोड्दै जानु पनि रहेछ। आफ्ना पुराना बानीसँग सम्झौता गर्नु, अहंकारलाई थोरै झुकाउन सिक्नु र मनभित्र थन्किएका केही यादहरूलाई चुपचाप बिदा गर्नु— सायद यही प्रक्रिया प्रेमको पहिलो पाठ रहेछ।
हामीले पनि त्यही गर्यौँ। तिमीले पनि बदलिन सिक्यौ, मैले पनि।
तिम्रो स्वभाव छिटो रिसाउने थियो तर माया गहिरिँदै जाँदा तिमीले शब्दभन्दा अगाडि नै भावनालाई सम्हाल्न सिक्यौ। तिम्रो विगतमा केही अधुरा पानाहरू थिए तर तिमीले ती पानाहरू बन्द गरेर हाम्रो नयाँ अध्याय खोल्यौ।
अनि म… मैले पनि आफ्नो तरिका बदलेँ। हरेक कुरामा तर्क गर्न खोज्ने बानीलाई थामेँ किनकि तिमीलाई जित्नु होइन, तिमीलाई बुझ्नु नै सम्बन्धको साँचो जित हो भन्ने थाहा पाएँ। आफ्ना समस्या पनि कहिलेकाहीँ मनमै सीमित राखेँ किनकि ती छायाहरूले हाम्रो उज्यालोलाई ढाकुन् भन्ने चाहन्न थिएँ।
यस्ता साना–साना परिवर्तनहरूले हामीलाई नजिक मात्र होइन, एकअर्काको भित्री संसारसम्म पुग्न मद्दत गर्यो। हामीले एकअर्कालाई समयभन्दा छिटो स्वीकार गर्यौँ। केवल हात होइन, मन, विश्वास र जीवनका बाटाहरू पनि सुम्पियौँ।
त्यो क्षणमा महसुस भयो— माया कमजोर भावना होइन, दुई जीवनलाई एउटै दिशामा मोड्ने शक्ति रहेछ। हामीलाई लाग्थ्यो हाम्रो प्रेम कथा होइन, वास्तविकता हो। कविताका प्रेमहरू सुन्दर होलान्त र हाम्रो प्रेममा सास थियो, आँसु थियो, त्याग थियो र एकअर्कामा बाँच्ने चाहना थियो।
हाम्रो कथालाई शब्दमा उतारियो भने सायद त्यो सुनौलो अक्षरमै लेखिन्थ्यो किनकि यसमा अभिनय थिएन, साँचोपन थियो। हामीले भविष्यलाई सँगै रङ्यौँ, सपना बुन्दै गयौँ र एक दिन— मैले मेरो जीवनको दिशा तिम्रो भरोसामा छोडेँ अनि तिमीले तिम्रो मेरो। त्यो क्षणमा हामी दुई जना होइन थियौँ, हामी एउटै यात्राका सहयात्री भइसकेका थियौँ।
तर सम्बन्ध सधैँ साथमा हिँड्नु मात्र होइन रहेछ। कहिलेकाहीँ टाढा भएर पनि एउटै अनुभूति बाँचिरहनु पनि सम्बन्ध नै रहेछ। शरीर अलग हुन सक्छन् तर मनले छुट्न नमानेको दूरीलाई सायद नियतिले पनि छुट्टाउन सक्दैन। हामीले सँगै बिताएका पलहरू समयको पानामा पुराना भइसके होलान् तर मेरो आत्माको पुस्तकमा ती अझै ताजा अक्षरजस्तै छन्।
मेट्न खोज्दा झन् गहिरो छाप छोड्ने— यही त साँचो सम्बन्धको चिन्ह रहेछ। तिमी आज मेरो साथमा छैनौ तर तिमीले बनाइदिएको 'म' अझै मसँगै छ। तिमीले सिकाएको सहनशीलता, तिमीले दिएको भरोसा, तिमीले जगाएको माया— यी सबै अहिले पनि मेरो जीवनको आधार बनेर उभिएका छन्। सायद यही सम्बन्धको अन्तिम रूप हो— जहाँ अधिकार हुँदैन तर अनुभूति बाँकी रहन्छ। जहाँ साथ छुट्छ तर आत्माको कुनामा एकअर्काको नाम कहिल्यै नमेटिने गरी लेखिएको हुन्छ।
हामी सँगै नहुन सक्छौँ तर हामीले बाँडेको माया अझै समयसँग हार मानेको छैन। त्यो हरेक श्वासमा, हरेक सम्झनामा, हरेक निसास्सिएको मौनतामा बाँचिरहेको छ।
सम्बन्ध सधैँ विवाह, साथ वा एउटै छानामुनि बस्नु मात्र होइन— कहिलेकाहीँ सम्बन्ध त्यो हो, जसले टाढा भएपछि पनि हाम्रो सोच, हाम्रो स्वभाव, हाम्रो आत्मालाई सधैँका लागि बदलिदिन्छ। त्यसैले आज पनि म भन्छु— हामी छुट्यौँ होला तर हाम्रो सम्बन्ध टुटेको छैन। यो अब शब्दमा होइन, अनुभूतिमा बाँचिरहेको छ। समयले यसलाई अलग गर्यो तर स्मृतिले अमर बनाइदियो। सायद यही हो— सम्बन्धको सबैभन्दा साँचो रूप।
हाम्रो प्रेम अन्त्यतिर पुगिसकेको रहेछ तर म भने अझै सुरुवातकै न्यानोपन समातेर बसेको थिएँ। हामीबिच कहिल्यै ठुलो झगडा भएन। कुनै कठोर शब्दले मुटु चिरेन। न त 'अब सँगै हिँड्न सकिँदैन' भन्ने निर्णय नै भयो। तर पनि हामी सँगै हुँदाहुँदै टाढिँदै गयौँ— जसरी एउटै छानामुनि टाँसिएको धुवाँ बिस्तारै हावामा हराउँछ। पहिला तिमीबिना एकछिन पनि दिन कट्दैनथ्यो। अहिले दिनहरू बित्छन् र म आफैलाई सम्झाउँछु— 'तिमी व्यस्त छौ, थाकेको छौ, समय मिलेको छैन।'
मैले सधैँ तिमीलाई बचाएँ, तिमीले टाढिँदै गरेको सत्यबाट पनि। तिमीले कम बोल्न थालेपछि मैले तिम्रो मौनतालाई थकानको नाम दिएँ।
तिमीले चासो घटाउँदा मैले त्यसलाई परिस्थितिको दोष दिएँ।
तिमीले 'पछि कुरा गरौँला' भन्न थालेपछि मैले त्यो 'पछि' कहिल्यै नआउने कुरा बुझ्नै चाहिनँ। म अझै पनि तिमीलाई मन पर्ने गीत नसुनेको जस्तो गरी जोगाएर राख्थेँ। तिमीले मन पराएको ठाउँमा जाँदा मनमनै तिमीलाई देख्थेँ। तिमीले मन नपर्ने कुरा नगर्ने प्रयास अझै पनि गरिरहेँ तर त्यो प्रयास अब कसका लागि थियो, म आफैलाई थाहा थिएन।
कुन दिनदेखि तिम्रो प्राथमिकता हुन छोडेँ? कुन क्षणदेखि मेरो खुसी तिम्रो जिम्मेवारी रहेन? कुन साँझ मेरो आवाज तिमीलाई बोझ लाग्न थाल्यो?
म धेरै सोच्थेँ तर हाम्रो सम्बन्ध टुटेको प्रमाण कतै भेटिनँ। सबै कुरा सामान्य देखिन्थ्यो— सन्देशहरू कहिलेकाहीँ आउँथे, कुरा हुन्थ्यो तर भावनाको तापक्रम घट्दै गइरहेको थियो। त्यो चिसोपनले मलाई बिस्तारै भित्रैदेखि जमाउँदै थियो।
हामी छुट्टिएको दिन मलाई याद छैन। सायद त्यो कुनै विशेष दिन थिएन। सायद त्यो दिन थियो जुन दिन हामीले अन्तिम पटक मन खोलेर कुरा गर्यौँ र त्यो अन्तिम हो भनेर थाहा पाएनौँ।
हाम्रो प्रेम चिच्याएर मरेन— यो त बिस्तारै सास फेर्न छोडेको बिरामी जस्तो थियो। पहिले कमजोर, पछि मौन, अन्ततः शान्त।
र एक दिन— म अझै 'हामी' भन्न खोज्दै थिएँ तर हाम्रो बिचमा केवल 'म' मात्र बाँकी थियो। सायद सबैभन्दा पीडादायी बिछोड
त्यो हो जहाँ कसैले दोषी महसुस गर्दैन तर सम्बन्ध भने मरेको हुन्छ। र त्यसको अन्त्य कहिले भयो भनेर न तिमीले भन्न सक्यौ,
न मैले बुझ्न सकेँ। हाम्रो प्रेमको मृत्यु बेखबर भयो र म आजसम्म त्यसको शोक मनाउन ठिक मिति नै खोजिरहेको छु।
हाम्रो प्रेम कहिले सकियो, त्यो मिति मसँग छैन। तर हाम्रो जीवन भने प्रेम बाँकी छ भन्ने भ्रममै अर्कैतिर मोडिइसकेको रहेछ। न झगडा, न विश्वासघात, न 'अब सँगै हुँदैन' भन्ने अन्तिम संवाद— हामी त त्यसरी छुट्यौँ, जसरी बिस्तारै सुकेको फूल डाँठमै टाँसिएको देखिन्छ तर भित्रबाट जीवन हराइसकेको हुन्छ। म अझै 'हामी' को सपना बोकेर हिँडिरहेँ,तर समयले मलाई अर्कै मोडमा पुर्यायो— म विवाह गरेर जिम्मेवारीको अर्को जीवनतिर लागेँ। सोचेँ— स्मृति त स्मृति हो, जीवन त चलाउनै पर्छ।
तर अचम्म! शरीर नयाँ सम्बन्धमा थियो, मन अझै पुरानै नाम जपिरहन्थ्यो। उता तिमी पनि रोकिएनौ— तिमीले पनि आफ्नो जीवन अगाडि बढायौ, नयाँ हात समात्यौ, नयाँ हाँसो सिक्यौँ, सायद नयाँ सपना पनि देख्यौँ। त्यहीँ मैले पहिलो पटक बुझेँ— हाम्रो प्रेम झगडाले मरेको थिएन, समयले बिस्तारै हटाएर हामीलाई फरक जीवनमा राखिदिएको थियो।
म कहिलेकाहीँ राति ढिलो आफ्नो छेउमा सुतिरहेको मान्छेलाई हेर्छु र मनभित्र एउटा चुपचाप अपराधबोध उठ्छ किनकि मुटुको एउटा कुनाम अझै पनि तिमी बसिरहेकी छौ। सायद तिमी पनि कहिलेकाहीँ आफ्नो नयाँ सम्बन्धको बिचमा अचानक मेरो सम्झनाले छुन पुग्छ्यौ होला। तर अब हामी दुवै त्यो सम्झनालाई आवाज दिन मिल्ने ठाउँमा छैनौँ। कति अचम्म छ है—हामीले प्रेम गर्दा सधैँ सँगै रहने वाचा गरेका थियौँ तर अहिले हामी दुवै सँगै नभएर पनि अर्काको जीवनमा बाधा नबनौँ भनेर मौन छौँ।
हाम्रो प्रेमको अन्त्य कसैले घोषणा गरेन। न त कसैले शोक मनायो। यो त चुपचाप जीवनका नयाँ जिम्मेवारीहरू मुनि गाडियो। अब हामी प्रेमी होइनौँ, हामी त एकअर्काको जीवनमा 'एक पटक धेरै नजिक भएको व्यक्ति' मात्र हौँ। तर साँचो कुरा के हो भने— हामी छुट्टियौँ; झगडाले होइन, बेवास्ताले पनि होइन, जीवनले हामीलाई अलग–अलग कथा दिएर छुट्टायो।
हाम्रो प्रेम, त्यो न त पूर्ण रूपमा बाँच्छ, न पूर्ण रूपमा मर्छ— बस सम्झनाको एउटा शान्त समाधिमा नाम लेखिएर बसेको छ। सायद यही नै हो— बेखबर अन्त्य।