‘खै के हो के हो दाजु, आजकल त। थाहै नपाई म केही नजान्ने पो भइसकेँ छु,’ यसो भन्दै उनी खिसिक्क हाँसे। यो वाक्यले मेरो ध्यान उनैतिर खिचिएछ। मलाई उनको अनुहारको भाव पढ्न मन लाग्यो। अनुहार हँसिलो बनाउन खोजे पनि दिक्दारी भाव झल्किएको देखिन्थ्यो। उनको यो मनोभावले मलाई सोच्न बाध्य बनायो।
‘किन र भाइ के भयो?’ मैले जिज्ञासा अघि सार्न खोजेँ।
नाताले उनी मेरा भाइ। हाम्रा मामाका छोरा। सानैमा आमाको हात समाउँदै मामाघर जाँदादेखि चिनेको भाइ। हामीलाई डाँडामा देख्ने बित्तिकै ‘मेरो दाजु’ भदै हाँप र झाँप गर्दे दगुरेर हाम्रो नजिक आइपुग्ने मेरो बालसखा। उनी हाम्रा पाँच जना मामाहरू मध्येका जेठा सन्तति हुन्। ठुला मामा सानैमा घर छोडेर परदेशतिर लाग्नु भएको रे। हजुरआमालाई ‘घर धान्ने बुहारी चाहियो’ भनेर बाह्र वर्ष नपुग्दै माइला मामाको बिहे भएछ। त्यो जमानामा अहिले जस्तो परिवार नियोजन गर्ने चलन नै थिएन। त्यसैले उहाँको सन्तान चाँडै हुने नै भए।
यता हाम्री आमाको त झन् सात वर्षको कलिलो उमेरमा बिहे भएको रे। आफ्ना दुई जना दाजुहरूको बिहे गर्न बाँकी हुँदाहुँदै कलिलै उमेरमा उहाँ पराइ घर आउनु भएको रे। बिहे नभएसम्म त यो घर नि उहाँका लागि पराइ घर नै त थियो नि। त्यसैले त बेलाबेलामा उहाँले सुनाउने गर्नु हुन्छ, ‘मैले यो पराइ घरको बुहार्तन सात वर्षको उमेरदेखि खेपेर आएकी हुँ। मैले त्यो समयमा खेपेको जस्तो दुःख अहिलेका बुहारीहरूले त सोच्न पनि सक्दैनन् बाबै।’ उहाँको यो कुरा सुनेर यति बेला मेरी आमाले त्यो समयमा खेपेको कहर सम्झिएर भावुक बनिसकेको हुन्थेँ।
हाम्री आमाको बिहे पहिले भएपछि हामी मामाका सन्तानहरूभन्दा पहिले जन्मिएर दाजुहरू भयौँ। माइला मामाका जेठा छोरा हुन् उनी। यी भाइ र मेरो उमेरमा झन्डै एक वर्षको मात्र फरक छ। हामी झन्डै जुम्ल्याहा जस्ता देखिन्थ्यौँ भनेर मामाघरमा मात्र होइन, छिमेकी मामा-माइजूहरूले पनि भन्ने गर्नु हुन्थ्यो। उनको परिवारमा भाइ-बहिनीहरू पाँच/सात वर्ष कान्छा मात्र थिए। त्यसैले बाल्यकालदेखि नै हामी मिल्ने दौँतरी भयौँ।
बालककामा बनेको सम्बन्ध र यसको स्मरण चाहिँ पछि बनेका अरूसँगको सम्बन्धभन्दा फरक हुँदो रहेछ। त्यो नै दिगो र भरपर्दो पनि हुने रहेछ भन्ने लाग्छ। सायद एकअर्काको भावना बुझ्न र व्यवहार गर्न बाल्यकालको सहयात्राबाट सहज बन्ने होला। त्यसैले उनले आफ्ना बारेका साना साना निर्णय लिन पनि सानैदेखि मेरो सल्लाह र सुझाव चाहने गरेका थिए। हाम्रा बिचमा हुने निष्कपट कुराकानी र सरसल्लाहको नतिजा चित्त बुझ्दो हुने गरेको छ सधैँ। त्यसैले हो, कुनै गम्भीर विषयमा निर्णय लिनु परेमा मलाई पनि उनका साथमा बसेर छलफल गर्न मन लागि हाल्छ सधैँ।
त्यसैले यति मन मिल्ने मेरो भाइको यो भाव देखेर मलाई वर्तमानको चित्र नियाल्न मन लागेर आउँछ। सायद सोचमग्न भएको लामो समय भएछ कि? उनी मलाई एकटकले हेर्छन् र अझ थप्दै जान्छन्, ‘हामी बिहानभरि घरका काममा व्यस्त हुन्थ्यौँ। अनि कामले थाकेको शरीर लिएर पढ्न पुग्थ्यौँ। विद्यालय पुग्न दैनिक दुई-दुई घण्टा हिँड्नु पर्ने। घरबाट लामो बाटो हिँड्दा झन् शरीर गलेको हुन्थ्यो। यसरी दुख गरेर घरका काम धान्दै पढेका गाउँलेहरू अहिलेको दुःख बुझ्न नसक्ने भएछौँ।’
मैले तत्कालै भनेँ, ‘हो त नि भाइ अहिले त।’
म आफ्नो बाल्यकाल सम्झिन थाल्छु। हामी खुसीका लागि घरका पुराना कपडा खोज्थ्यौँ। घरमा जुत्ता र मोजा लगाउने कोही भए पो उहाँहरूका मोजा चोर्नु? अनि कि त छिमेकीका घरतिर नजर लगाउनु पर्ने। त्यो पनि पछि चिनेर चोरी गरेको भनेर बदनाम हुने डर। त्यसैले उनीहरूका घर नजिकै फालेका कपडाका टुक्राहरू खोजिन्थ्यो। प्वाल परेर लगाउनै नमिल्ने भइसकेर फालेका थोत्रा मोजा भेटिँदा पनि खुसीको सीमा हुन्न थियो। त्यसैलाई लामो लौरोले झुन्ड्याउँदै नजिकैको कुवासम्म तानिन्थ्यो। साबुन त कहाँ पाइने र? कुवाको नजिकै लुगा धुन कसैले बाहन लगाएको ढुङ्गाको चुलोमा अलिकति खरानी भेटिन्थ्यो। त्यही खरानीमा भिजाएर खुट्टाले किचिमिची पारेर धोइन्थ्यो। यसरी धोएको त्यो मोजाले आफ्नो सक्कली अनुहार देखाएर हामीलाई चियाउँथ्यो। हामी मक्ख परेर साथी साथी हेराहेर गर्थ्यौँ। यसरी खोज्दा कहिले मोजा बुट्टे भेटिन्थे। कहिले सादा कालो हुन्थे। कुनै अलिक जातका पर्थे र लामो समय टिक्थे। कुनै चाहिँ कामै नलाग्ने हुन्थे र त्यतिकै फालिदिन्थ्यौँ।
धोएर घाममा सुकाएको त्यो थोत्रे मोजा नसुकुन्जेल पर्खिन लागेको समय हामीलाई लामो लाग्दथ्यो। हावाले उडाई लैजाला कि भन्ने डरले हुन्थ्यो। सुक्यो कि भनेर छोइरहन मन लाग्थ्यो। बल्लतल्ल अख्रिएपछि हाम्रो अभियानले अर्को चरणमा प्रवेश गर्थ्यो।
हाम्रो समूहका भाइहरूलाई नजिकै पाइने थोत्रे झुम्राहरू खोज्न अघि नै पठाइएको हुन्थ्यो। नजिकै नपाए गाउँको एकान्तमा भएको दमाई दाइको घरसम्म पुगेर भए पनि लिएर आउन भनिन्थ्यो। त्यति परसम्म पुगेर ल्याउन उनीहरूलाई पनि समय लाग्थ्यो। उनीहरू आइपुग्ने र हामीले धोएर सुकाएको मोजा सुक्ने समय करिब मिल्थ्यो। त्यसपछि मोजाभित्र सकेसम्म झुम्रा कोचेर डल्लो बनाइन्थ्यो। अहिले सम्झिँदा त्यो भकुन्डो बनाउने हाम्रो कला रमाइलो लाग्छ। लामो मोजा भए त्यसलाई बटारेर दोबारिन्थ्यो। त्यसपछि खेल्न मिल्ने हुन्थ्यो। छोटो भएमा सिलाएर कसिलो बनाउनु पर्ने। यसका लागि घरमा आमाले उध्रिएका लुगा तुन्न र झरेका टाँक लगाउन जोहो गरेको सियो धागो खोज्न पुग्नुपर्ने।
कहिलेकाहीँ घिरौँलाको जालोबाट पनि हलुका भकुन्डो बनाएर खेलिन्थ्यो। मोजाभित्र यस्तो जालो राख्दा झन् मजाको बन्थ्यो। काम नलाग्ने भएर फालिएका स्रोत साधनको सदुपयोग गरेर यसरी हामीले मनोरञ्जन गर्ने गरेका एक-एक क्रियाकलापहरू स्मृतिमा खेल्न थाल्छन्।
हामी दुई दाजुभाइ सधैँ एउटै पक्षमा भएर खेल्ने गर्दथ्यौँ। हामीलाई फरक समूहमा बसेर खेल्न अरूले अनुरोध गर्थे। तर हामी सधैँ नकारी दिन्थ्यौँ। खेलमा प्राय: हाम्रो नै विजय हुने गर्दथ्यो। जितेको समूहबाट जे आदेश हुन्छ हार्नै समूहले त्यही कुरा मान्नु पर्ने नियम बनेको हुन्थ्यो। त्यसैले हार्नेलाई कहिले गीत गाएर नाच्न लगाउँथ्यौँ। कहिले चरनमा गएका गाईबस्तु कम्तीमा दुई घण्टा देखभाल गर्ने आदेश दिन्थ्यौँ। कहिले रूख चढेर देखाउन सुर्याउँथ्यौँ। हामी कहिले कुखुरा जस्तै बन्न भन्थ्यौँ। त्यो बेला हाम्रा लागि हामीले बनाएको हाम्रै बाल कानुनको पालना सबैबाट हुन्थ्यो। कानुन विपरीत गरेमा उसले फेरि खेल्न नपाउने। समूहमा त्यसरी रमाउने बाहेक अरू विकल्प थिएन सायद। त्यसैले पनि खेलको नियम पालना गर्नुमा नै सबैको कल्याण थियो।
अहिले त भकुन्डो उफार्ने र गुडाउने खेलमा पनि नयाँ-नयाँ सुविधाहरू बढेका छन्। नरम रबरका उफ्रिने साना-ठुला सबै खाले तयारी भकुन्डाहरू उफार्ने र गुडाउने खेलले सबैको ध्यान खिचेको छ। यति मात्र होइन, हावा भर्न मिल्ने र अझ सिलाएका बुट्टे र सादा साना ठुला भकुन्डाहरू आइसकेका छन्। त्यसमा पनि हात र खुट्टा दुवैले खेल्न मिल्ने खेलहरू सबैतिर लोकप्रिय बनेका देखिन्छन्। खेलका नियम र त्यसको पालनाका लागि अनेक उपाय गर्नु परेको छ। उ बेला सबै आपसी समझदारी मै चलेको थियो।
‘त्यो समयमा हाम्रो उमेरका लागि जे सुविधा हुन्थ्यो अहिले त कल्पनाभन्दा बाहिर भइसके नि भाइ।’ यसो भन्दै थपेँ, ‘हामी दाजुभाइ सँगसँगै रहँदा रमाइलो गर्ने अरू खेलहरू पनि हुन्थे। हामी डण्डीबियो खेल्थ्यौँ। बियोलाई तीन चार ठ्याक लगाएर बढी गणना गर्न पाउँदा कति मजा लाग्थ्यो भन त।’
यसपछि उनलाई पनि बाल्यकालको स्मरणले तान्न थाल्यो। उनी आफ्नो अनुभव सुनाउन थाले।
‘हामी रमाउँदै खोप्पी खेल्थ्यौँ। ढ्याक पैसाले अर्को ढ्याक पैसालाई ताकेर हान्नु पर्ने। हानेर तोकिएको खोपिल्टामा पुर्याएमा चाहिँ जित हुने खेल थियो त्यो। जङ्गलबाट टिपेर ल्याएका पाङ्ग्रा खेल्ने अमराइट जस्ता उफ्रिने खेलहरू उस्तै रमाइलो थियो। बाघचाल जस्ता खेलहरू हेर्थ्यौँ। जानेको भए र खेल्न मिल्ने भए आफू पनि खेल्थ्यौँ।’
पछि-पछि अलिक नयाँ खेलको सुरु हुन थाल्यो। चेस खेल्ने भनेर तयारी राजा, मन्त्री, घोडा, हात्ती, उँट र सिपाहीहरू हाम्रो गाउँसम्म पुग्न थाले। कोठा-कोठामा बसेका यिनीहरूलाई अर्को कोठामा चलाउन हाम्रा गुरुहरू घोत्लिएर लामो समय लगाउनु हुन्थ्यो। यसरी ढिलो गरेको देख्दा हामीलाई झ्याउ लाग्थ्यो। फटाफट चलाए हुने नि भन्ने सोची बस्थ्यौँ। सायद यस्तै पट्यार लाग्दा खेललाई पछि पार्दै अहिले छिटो-छिटो चल्ने भिडियो गेमहरू बनाएको हुन सक्छ भन्ने लाग्यो मलाई।
अलिक पछि क्यारेम बोर्ड खेल्ने चलन बढ्दै आयो। बोर्डको कुनामा रहेको प्वालसम्म पुर्याउनु पर्ने। रानी गोटीलाई ताकी ताकी हानेर खेलेको हेर्दा पनि रमाइलो लाग्थ्यो। यो खेल्न त पैसा तिर्नु पर्ने हुन्थ्यो। यसैले हाम्रा लागि यो केवल हेर्ने खेल मात्र थियो।
ठुलो चौरमा साथीहरू मिलेर कबड्डी खेलेको याद आयो। कबड्डी खेल्दा त पैसा नि नलाग्ने। अरू कुनै चलानी खेल सामग्रीको जोहो पनि गर्नु नपर्ने। त्यसैले रूखका पोथ्रामा लुक्दै र अथवा माटो खनेर पारेको खाल्डोमा र चौरको अर्को कुनामा पसेर लुकामारी खेलिन्थ्यो। यसै गरी कहिलेकाहीँ गोलो घेरामा बसेर टोपी लुकाइ खेलिन्थ्यो। टोपी नपाए हाम्रो सामु जे उपलब्ध छ त्यसैबाट काम चलाइन्थ्यो।
हामी दाजुभाइले लहरे चस्मा लगाइ खेलेको स्मरण हुन थाल्छ। भुईँमा जरा बिना नै सिमालीको बुटा र डाले घाँसका पोथ्रामा पहेँलै लहरा फैलिएको हुन्थ्यो। यो पहँले लहराको चस्मा बनाएर लगाइन्थ्यो। लहरालाई बटारेर चस्मा बनाउन त मलाई कसले जित्न सक्ने र? अनि सबैका लागि थाहै नपाइ म लहरे चस्मा बनाउने कालिगड बनिसकेको थिएँ। चस्मा बनाउन पनि कि त मन परेकोले मौका पाउँथे कि त हप्कीदप्की गर्नेले। ‘मैले बनाउने पहेँलो चस्मा सधैँ तिम्रो हुन्थ्यो है’ भन्दै म उनको अनुहार हेर्छु। आफ्नो समयको बाललिला सम्झिएर दुवै हाँस्छौँ।
म सोच्न पुग्छु, ‘यसरी प्रकृतिमा लुटुपुटु गर्दै हुर्किएको हाम्रो जीवनले प्रकृतिबाट आफूलाई टाढा राख्न चाहेन। समाजका स्थापित मूल्य मान्यताबाट टाढा पुग्न मेहनत गरेन। तर त्यो सन्निकटता अहिले टाढा हरायो भन्ने प्रश्न उठेको न हो’ भन्ने लाग्छ।
आफ्नो हुर्कँदो समयको दिनचर्या र नयाँ पुस्तासँगै आएको परिवर्तनको चपेटामा परेको मेरो भाइले आफूलाई यसरी केही नजान्ने अनुभूति गरेको हो। अब म आफ्नो अनुभव पनि उनको जस्तै रहेको पाउँछु। अनि म सुनाउँदै जान्छु, ‘हामी छुट्टीको दिन वस्तु बाख्रा चराउन जङ्गल लैजान्थ्यौँ। दिनभर प्रकृतिको सुन्दर काखमा हाम्रो समय बितेको पत्तै नहुने। खोल्सीको किनारमा हरियो निगुरो टिपेर मुठा पार्थ्यौँ। सिमखेतमा जलुको टिपेर बोक्थ्यौँ। आमाले बिहान हिँड्ने बेलामा नै बेलुका हामी घर फर्किँदा निगुरो र जलुको टिपेर तरकारीको जोहो गर्नुपर्ने अपेक्षा हुन्थ्यो। आमाको यो अपेक्षा पूरा गर्दा कति सन्तुष्टि मिल्थ्यो हामीलाई।’
हाम्रो संवादले दुवै जनालाई अतीततिर फर्काइरहेको थियो। जंगल जाँदा पिपिरी बजाएको मिठो संगीत र त्यो बजाउने कलाको सम्झना हुन्छ। लामा-लामा पात भएका भिरमा फैलिएका पुरूनी लहराको कलिलो मुना भाँचेर डाँठको अमिलो टोकेको सम्झँदा जिब्रोमा पानी आउन थाल्छ। जङ्गलमा जामुना र क्यामुनाको रूखमा चढेर फल टिप्दै खाइन्थ्यो। त्यो समयमा हामी दुई दाजुभाइ अरू साथीहरूभन्दा जान्ने र अगुवा बन्दै गर्दा जीवन निर्वाह गर्न पनि आँट र हौसला बढेको थियो सायद।
त्यसैले म उनलाई सम्झाउने प्रयत्न गर्छु, ‘अहिले प्रविधिको लहरले हाम्रा सन्ततिलाई छोएको छ। धेरै काम कुरा गर्न सबैलाई यसले सजिलो बनाएको छ। हिजो ‘दुई एकान दुई’ भनेर हिसाब घोक्नु पर्थ्यो। अहिले त प्रविधिले सजिलो बनाइदियो। हाम्रा गाउँघरमा हुलाकबाट हुने पत्राचारको लामो समयका सट्टा साथमै रहने फोनको सुविधा सजिलो भएको छ। म प्रविधिले ल्याएका सजिला पक्षहरू सुनाउँदै जान्छु। उनी ध्यानमग्न बनिरहन्छन्।
हामी आफैँले पसिना आउने गरी मेहनत गरेको स्मरणले आफ्नो पाखुरा छाम्न मन लाग्छ। प्रकृतिको स्वच्छ वातावरणमा भएको उत्पादनबाट तन्दुरुस्त बनेको समय झलझली आउँछ। अहिले प्रविधिले परिदिएको सजिलो सम्झन्छु। यो सहजतासँगै हाम्रो दिमागले गर्नुपर्ने अभ्यासको आवश्यकता हराउन थालेछ। मेहनत गर्ने कार्य कमजोर हुँदै आयो। प्रविधिको उपयोगबाट उत्पादन बढ्न थाले। जीवन निर्वाह गर्न चाहिने न्यूनतम सिप जस्तै उध्रिएको सामान्य लुगा सिलाउने, पातका भाडाकुँटी र खेल्दै सिक्ने अभ्यास पनि छायामा परिसके। हाते सिपलाई चुनौती थपिन थाल्यो। अनि मान्छेको व्यक्तिगत सृजनशीलता पनि कमजोर हुँदै आयो।
मैले थपेँ, ‘समय समयमा पानी पिउन पनि फोनमा एपको प्रयोग हुन थालेको छ। सामाजिक सञ्जालको विषय हेरेर नै धारणा बनाउन थालेका छन्। अठार वर्ष उमेर पुगेपछि आफ्नो परिवारबाट अलग बस्ने पश्चिमी अभ्यासको सिको गर्ने बढेको सम्झाउँछु। तर मानसिकता भने आफूलाई सजिलो भए पश्चिमी र अप्ठ्यारो भए पूर्वीय सभ्यताको परख गर्ने दुबिधाग्रस्त देखिएको छ अहिले।
यति भनेर म वर्तमान दुबिधाग्रस्त समयका सन्ततिको आक्रोशसँग हताश नहुन सम्झाउँदै थिएँ। उनको हातमा भएको मोबाइलको घण्टी बज्छ। उनी चाँडै घर फर्किने जवाफ दिन्छन्। म उनलाई यही मेसोमा थप्छु।
देख्यौ त कति सजिलो। अनि म मोबाइलको स्क्रिनमा गुडिरहेको बुट्टे भकुन्डो हेर्छु। म त्यसलाई हामीले बनाएको मोजाको भकुन्डोकै पनाति सम्झिएर उफार्न थाल्छु।
उनी चाहिँ मुस्कुराउँदै थप्छन्- ‘नयाँ कुरा पनि कति थपिएका हुन्? जान्न खोज्दा खोज्दै अलमलिन्छु। खै के हो के हो आजकल त।’