एकाबिहानै
निद्रामा लट्ठिएको काठमाडौँलाई
झकझकाउँदै उठ्छ बजार
क्यार-क्यार क्यार-क्यार गर्दै
शताब्दीको सास फेरिरहेसरि
खुल्छन् पुराना सटरहरू
चलिरहन्छ
हाँसो, आँसु र इतिहासको व्यापार
बटुवाहरू आउँछन् जान्छन्
कति त जीवनभर
कहिल्यै फर्कँदैनन्
तर कुरिरहेछन्
बटुवाको बाटो
ढुंगाजस्ता मान्छेहरू।
असनका साँघुरा गल्लीहरूमा
पाटनका पुराना चोकहरूमा
जहाँ घाम भित्र पस्न लजाएर
बाहिरैबाट बाटो लाग्छ
जहाँ वर्तमानले
इतिहासको भार देखाएर
नपसी अन्तै भाग्छ
त्यहाँ कुरिरहेछन्
स्वयम् पर्खाइ बनेर
अपरिचित बटुवाका
कहिल्यै नआएका
पाइलाहरूलाई
नआत्तिई
नहडबडाई
मानौँ उनीहरू
अड्याइरहेछन् सहर,
मानौँ उनीहरू
रोकिरहेछन्
वर्षौँदेखि समय।
कुनै नामुद संग्रहालय जस्तै
जीवन्त इतिहास
पुराना सटरभित्र बोकेर
झुर्रिएका अनुहारमा
कथा सजाएर
थाकेका आँखामा
सहर नचाएर
कुरिरहेछन्
ढुंगा जस्ता मान्छेहरू
यी नै ढुंगा जस्ता मान्छेहरू
सहरका मौन स्तम्भ हुन्
यी नै ढुंगा जस्ता मान्छेहरू
इतिहास थाम्ने खम्बा हुन्
जसले पसिना र नबोलिने पीडाले
जिन्दगी मात्र होइन
सम्पूर्ण सहर
सदियौँदेखि जीवन्त बनाइरहन्थे
बनाउँदै छन्
र भविष्यमा पनि बनाइरहने छन्।