मेरा क्रोध पनि
विचलित भए
जति क्रोधित हुनु पर्ने
त्यो म भइनँ
मस्ती गलेर फतक्क भए
पाउ पनि लुलो देख्छु
मासी सुके सरी
लम्पसार, तनक्क पसारिएको छु
आइन्दा बौरिनै नसक्ने जसरी
आफूमै म महान् मान्छे
खै खोजेको मैले मेरो महानता?
आफैमा दीपक हुँ म
खै बालेको मैले मेरो मनको दियो?
मन्दिर हो मेरो मन
खै पुजेको मैले मेरो देवता?
फलानाले त्यो गरिसक्यो
मैले किन गरिनँ?
ढिस्कानाले त्यो पाइसक्यो
म किन त्यस्तो बनिनँ?
हरेक रात यी ज्वारभाटा
बल्किएर मैले मेरो
सपनै देखिनँ
म को हुँ मैले आफैलाई
चिन्नै सकिनँ
के मैले जून छुने आँट नगर्ने?
के मैले मेरो माटो चिन्ने साहस नगर्ने?
के मैले म आफै बन्ने विश्वास गर्ने?
के मैले यी हिमालका
गहिराई नाप्ने कल्पनै नगर्ने?
के मैले यो बतासको झोका देख्ने आँखा नउघार्ने?
के मैले बर्सातको थोपा छुने चाह नगर्ने?
कहिलेसम्म?
वसन्तका पत्कर सरी म लडिरहूँ?
चैतको वेगको हुरी चल्दा
बेतुकमा थाहै नपाई उडिरहूँ
कहिले यता र कहिले उता।
यो बाटो
किन
लम्पसार छ?
किन
सर्दैन बामे पनि?
चुपचाप
ठिङ्ग उभिएको
यो पहाडलाई
सोध्छु
कहिलेसम्म
तँ यहाँ ठडिइरहन्छस्?
प्रत्येक प्रहर
झिजाउन मन लाग्छ
तँलाई कति जङ्गली र चरा
बचेराले बिस्टाइसके?
आकाशले हेपेको
हेक्का छ?
ऊ कहिले बगाउने गरी
बर्सात पारिदिन्छ
कहिले सहनै नसकिने
धूप लगाइदिन्छ
आखिर किन सहन्छस्
यति विघ्न?
गर्ल्यामगुर्लुम पहिरो जाँदा पनि
सहेकै छस्
मनुखेले खुइलाउँदा पनि
मन्द छस्
धीमा जाग्ने बानी परको छ सायद यसलाई
नाजवाफ हुन्छु म।
म जून समात्न हिँडेको
खै के भेटेँ?
आफैलाई बिर्सन्छु कहिलेकाहीँ
साहस आउँदैन सोध्न आफैलाई
म
किन रुमल्लिएको छु?
उसै हतार छ किन मलाई
जलन छ भतभती पोल्ने
चैन किन मिल्दैन कहीँ कतै?
के म मात्रै यो जन्जिरमा छु?
म मात्रै यो हतारमा हुँ?
म मात्रै माकुराको जालो सरी
बेचैनमा अल्झिएको हुँ?
यी प्रश्नले थिचिएको छु
म बारबार
यो आकाशले
थिचे जस्तो लाग्छ
फोक्सो फुलेर
श्वासै रोकिन खोज्छ
अनि एउटा
प्रश्न तेर्सिन्छ
के आकाश खसेछ?
मेरा सपना छिन्नभिन्न पारिदिन
मेरो पागलपन लुटिन दिन
म आफैलाई आफ्नो नबनाउन
मेरो धरातल पुरिदिन।
लाग्छ!
म
कहिल्यै नभरिने धोक्रो भर्न तल्लीन छु
थुपार्दै छु आँखैले नदेखिने चुली
देखाउँदै छु मेरो चुरीफुरी दुनियाँलाई
ए म त
आँखा देख्दा देख्दै दृष्टिविहीन पो भएछु
कान सुन्दा सुन्दै बहिरो पो भएछु
बोल्दा बोल्दै मत लाटो पो भएछु
हिँड्दा हिँड्दै मत कुजो पो भएछु
मेरा कयौँ आकाङ्क्षा तुहाएर पनि
मेरा खुसीहरूलाई
आत्मत्याग गर्न बाध्य बनाएर पनि
अनेकौँ वेदना लुकाएर पनि
हजार कामना भजाएर पनि
मत मान्छे बन्नु छ
एउटा मान्छे
भोलि मर्ने साधारण मान्छे।