मैले भित्ताको माथितिर टाँसिएको पेन्टिङलाई देखाउँदै विवेकलाई सोधेँ 'तिमीले यति राम्रो चित्र कहाँबाट ल्यायौ?'
विवेक सिङ्गो कथा भन्नलाई मेरो यही प्रश्न पर्खिरहेको थियो।
***
हामी चार पाँच जना केटाहरूको समूह कलेजबाट फर्कँदै गर्दा प्राय ऊ बाटैमा भेटिन्थी। हामी उरन्ठेउला केटाहरूले एक्लै हिँड्दै गरेकी बैसालु उमेरकी केटीलाई स्वाभाविक रूपमा नै गिज्याउन थालेका थियौँ। हाम्रो बोली र व्यवहारले ऊ त्यसै पनि हैरान भएकी थिई। ऊ घरिघरि हामीलाई छड्के आँखाले हेर्थी र केही नबोली बाटो काटेर जान्थी।
कलेज पढ्दै गरेका अल्लारे उमेरका हामी निकै निस्फिक्री थियौँ। त्यसबेला मिठोमा मात्र मन अडिने थिएन, टर्रा मेल चपाएर फरक स्वादको अनुभव लिने बेला थियो। सरलतिर मात्र होइन जटिलतालाई समेत छामेर बुझ्ने मन थियो। यस्तो समयमा प्रगतिका सिँढी चढ्ने मन हुँदाहुँदै भासमा पर्ने सम्भावना पनि उत्तिकै थियो।
आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी हुँदैछ भनी जानकारी गराएर जाने प्रस्ताव राख्ने गेहेन्द्र नै थियो । उसले भन्यो, 'चित्रलाई हेर्ने र बुझ्ने पनि कला चाहिन्छ रे। खाली आँखाले मात्र हेर्दा त चित्र केही बुझिँदैन रे त्यसको गहिराइलाई बुझ्न मनले हेर्नुपर्छ रे।'
चित्रकलाको आकर्षणले तानेर होइन, हामी होहोरेमा लागेर त्यहाँ पुगेका थियौँ। त्यहाँ पुग्नेबित्तिकै हामी सबै एकैपटक नतमस्तक भयौँ। हामी सबै केटाहरूले विस्मातमा चकित भएर एकअर्कालाई हेर्यौं। हामीलाई त्यहाँ नमस्कार भन्दै उही केटीले स्वागत गरी, जसलाई हामी दिनदिनै बाटोमा भेटेर गिज्याउने गर्थ्यौं। यो उसकै चित्रहरूको प्रदर्शनी रहेछ।
ऊ हाम्रो छेउमा उभिँदा निकै फरासिली देखिएकी थिई। मानौं बाटोमा हिँड्दा आफूलाई गिज्याउने केटाहरू यिनै हुन् भनेर चिन्न सकेकी छैन। तर हामी सबै केटाहरूका आँखा भित्तामा रहेको एउटा आर्टमा परिसकेका थिए। त्यसमा हाम्रो उदण्ड व्यवहारलाई कलात्मक रूपमा झल्काइएको थियो।
दृश्यमा श्रीमान उकालो बाटोमा पिठ्युँमा झोला र झोलामाथि सानो बच्चा बोकेर पछाडि फर्किएर खिन्न मुद्रामा हेर्दै गरेको देखिन्छ। सानो ह्यान्डब्याक बोकेर उसको पछिपछि हिँड्दै गरेकी श्रीमती चाहिँ प्रसन्न मुद्रामा देखिन्छे। सुनौला अक्षरमा त्यसको क्याप्सन लेखिएको छ :-
'उसको घरको बाटो हिँड्दा अहम् अहम् खोक्थ्यो
नखोकेको भए मेरो झोला कसले बोक्थ्यो?'
त्यसमा पहिले आफूलाई गिज्याउने केटासँग नै यो केटीको विवाह भएको हो भन्ने देखिन्छ। उसले अहिले त्यही केटालाई झोला र बच्चा बोकाएर पहिले गिज्याएकोमा खुचिङ भन्दै गरेकी छे।
हामी सबैले त्यसलाई एकै हेराइमा उसरी नै बुझ्यौँ।
तत्कालै सिर्जना भएको असामान्य तथा विपरीत परिस्थितिले हामीलाई पूरै अलल्याएको थियो। हामीले खाउँला जस्ता आँखाले एकैपटक गेहेन्द्रलाई हेर्यौं।
'मलाई पनि के थाहा त?' उसले हाम्रो भाव बुझेर सानो स्वरमा उत्तर दियो।
हामी पाँच भाइ केटाहरू नै त्यो चित्रकला प्रदर्शनीका सबैभन्दा बुझ्ने दर्शकहरू थियौँ। हामी त्यहाँ पुगेपछि चित्रकारका आँखामा ज्यादै सन्तुष्टिको भाव झल्किएको बुझ्याैँ। संसारका सबै मानिसहरू यो प्रदर्शनीमा आउनु तर हामी नआउनुचाहिँ चित्रकारलाई त केही खल्लो नै लाग्ने थियो होला।
त्यस चित्रमा हाम्रो आफ्नै जीवनको सम्भावित कथा कोरिएको थियो।
मैले आफूहरू बीचको असामान्य स्थितिमा पनि अर्को पेन्टिङतिर आँखा पुर्याएँ। भित्तामा माला लगाएर राखिएको आफ्नी मृत आमाको फोटो अगाडि बसेर एक वयस्क छोरी रोइरहेकी छ। त्यसमा उसले आफ्नी आमा गुमाएको पीडालाई जीवन्त रूपमा प्रस्तुत गर्न खोजेकी थिई होला।
हामी लठ्ठक केटाहरूमा बैसको उन्माद मात्र थियो। तर ऊ त्यहीबेला आफ्नो मनमा आमाको मायाको अभाव र न्यास्रो बोकेर हिँडेकी थिई। मैले यही अनुमान गरेँ कि 'त्यही पीडित मनलाई शान्त पार्न ऊ गम्भीर ढङ्गले चित्रकलामा डुबेकी रहिछे।'
हावादारीमा कोही पनि स्रष्टा वा सर्जक बन्न सक्ने होइन। त्यसका लागि त मनमा ठूलो अठोट र धैर्य चाहिने रहेछ।
उसका अन्य पेन्टिङहरू हेर्न पाइएन। के गर्ने र के नगर्ने भन्ने अन्योलकैबीच गेहेन्द्र त्यहाँबाट बाहिर निस्कियो। हामी उसका पछिपछि लाग्यौँ। ढोकामा पुग्नै लाग्दा सबैभन्दा पछाडि रहेको मैले फर्किएर चित्रकारलाई हेरेँ। ऊ हाँसेर हात हल्लाउँदै थिई। मैले कुनै प्रतिक्रिया जनाइनँ।
अरूको हेपाइमा पर्ने भनेका कमजोर मानिसहरू नै रहेछन्। त्यही मानिस सबल रहेको बुझेपछि उसका सामु कोही पनि पर्न सक्ने होइनन्। अस्तिसम्म हामी पाँच भाइको डोमिनेटमा एक्ली केटी परेकी थिई। एउटै सानो परिस्थितिले अहिले हामी पाँचै भाइ उसको डोमिनेटमा पर्यौं।
पछि त यस्ता प्रसङ्गहरूको त्रासद परिणाम पनि अवगत भएको छ। उस्तै पात्रको अगाडि परेको भए के हुन्थ्यो? आफ्नो उदण्डताका लागि हामीले उसका अभिभावकहरूको गाली खानुपर्ने सम्भावना थियो। बेइज्जती सहनुपर्नेसम्मको पनि सम्भावना थियो। तर त्यस्तो केही नगरी सरल ढंगबाट हाम्रो उदण्डता उत्रियो।
मैले बाटोमा साथीहरूलाई सोधेँ 'तिमीहरूले चित्रको भाव बुझ्यौ?'
कोही केही बोलेनन्। तर मलाई चाहिँ खित्का छोडेर हाँस्न मन लागिरहेको थियो।
केही दिनपछि फेरि त्यही बाटोमा उसँग हाम्रो जम्का भेट भयो। ऊ बाटोमा उभिई र हामीतिर हेर्दै नमस्कार भनी। मेरा साथीहरू उतिर हेर्दै नहेरी सडकको एउटा कुनाबाट टाप कसिसकेका थिए। उसँग आँखा जुधाउने र उसले गरेको नमस्कारको प्रतिउत्तरमा हाँसो फर्काउने त म मात्र थिएँ।
काम बिराउनेहरू आफ्नो गल्तीको मात्रा अनुसार आफै तर्सने गर्दा रहेछन्। हाम्रो समूहबाट कसले कति गिज्यायो भन्ने व्यक्तिपिच्छेको लेखाजोखा उसँग छैन। त्यस्तोबेला मौन बसेका मलाई चाहिँ ऊसँग त्यति धक लागेको थिएन।
भन्नुको मतलब यो पनि होइन कि मेरा अरू सबै केटा साथीहरू खराब थिए, म एउटा मात्र असल थिएँ। तर ती सबै आफूलाई लागेको कुरा प्रकट गरिहाल्ने बहिर्मुखी स्वभावका थिए। मचाहिँ आफ्ना इच्छा, चाहना र मनका कुरालाई हत्तपत्त प्रकट नगर्ने अन्तर्मुखी स्वभावको थिएँ। त्यसैले आफ्नै मूल्याङ्कनमा म गल्तीको आंशिक भागीदार मात्र थिएँ।
म आफ्नो ठाउँमा रोकिएपछि ऊ मेरो छेउमा आएर मुसुक्क हाँसी र भनी, 'त्यो आर्ट धेरैले मन पराए। अनि त्यसका बारेमा धेरैले प्रश्नहरू गरे।'
उसले त्यो आर्ट भन्नेबित्तिकै मैले उसको अहम् अहम् खोक्थ्यो भन्ने क्याप्सन लेखेको आर्ट भन्ने बुझिहालेँ। ऊ भन्दै गई, 'अन्तिम दिनमा त्यो आर्ट रु ५० हजारमा बिक्यो। मलाई निकै हौसला र राम्रो आर्थिक सहयोग पनि मिल्यो। मैले अझ मेहनत गरेर त्यस्तै अर्को आर्ट तयार पारेकी छु।'
ऊ भन्दै गई, 'हुन त जिस्क्याउनु गिज्याउनु राम्रो कुरा होइन। तर त्यसरी जिस्क्याएको गिज्याएको कारणले नै धेरैको जीवनको सुरूआत भएको हुँदो रहेछ।'
उसले हाम्रा बारेमा अरू केही सोधिन, बरू आफै बोलिरही, 'तपाईंका साथीहरूलाई पनि भनिदिनु ,म रिसाएकी छैन। उहाँहरूले ठूलो विराम गर्नुभएको छैन। त्यही कारण मेरो सर्वोकृष्ट चित्रकला जन्मियो। म त निकै खुसी पो छु।'
मलाई लाग्यो एक असल स्रष्टाले जतिसुकै खराब परिस्थितिमा पनि निकै मूल्यवान कला सिर्जना गर्न सक्दो रहेछ।
सिर्जना गर्न मात्र ठूलो कुरा होइन। त्यसकै माध्यमबाट व्यक्तिको सोचाइ र चरित्र पनि परिवर्तन गरिदिन सक्दाे रहेछ।
मैले उनकाे खबर मेरा साथीहरूलाई सुनाएँ। तर साथीहरूले त्यसको प्रतिक्रिया बेग्लै ढङ्गले दिए , 'उसलाई हाम्रो पनि नमस्कार छ अरे भनेर सुनाइदिनु।'
मेरा साथीहरूको चाहिँ उसँग भेट्ने र बोल्ने इच्छा मरिसकेको थियो। म भने ऊसँग दिनदिनै भेट्न र बोल्न थालेँ। उसलाई नभेटेको दिन मनमा खल्लोपन भरिन थाल्यो। हामी एकअर्कामा निकै नजिक भयौँ।
मानिसहरू सबै उस्तै सामान्य नै हुन्। कुनै विशिष्ट परिस्थितिपछि तिनै मानिसहरू अनौठा, रहस्यमय र असामान्य लाग्दा रहेछन्। तिनी चित्रकार युवतीप्रति म त्यसरी नै सोच्न थालेँ। तिनीसँगको मेरो प्रत्येक भेट अविस्मरणीय बन्न थाल्यो। तिनको प्रत्येक बोली जादुमय लाग्न थाल्यो।
अस्ति तिनले मलाई आफ्नो कोठामा बोलाएकी थिइन्। म त्यहाँ पुग्दा उनी भर्खर यो चित्र बनाउन थाल्दै थिइन्। त्यहाँ साना ठूला आकारका केही कुचीहरू थिए। बट्टामा केही रङहरू थिए। यिनै रङहरू मिसाइँदा नै अन्य धेरै रङ्गहरू बन्दा रहेछन्। उनी तन्मयका साथ चित्र बनाउँदै थिइन् , म कौतुक दृष्टिले त्यो बन्दै गरेको चित्र हेर्दै थिएँ।
त्यसमा पहिले पुतली, चरा र बगैंचाको चित्र उत्रियो। त्यसपछि खोला ,वन र पहाडले चित्रमा ठाउँ पायो। अग्रभागमा आलिङ्गनमा बाँधिएका प्रेमी प्रेमिकाको चित्र देखियो। युवतीको पृष्ठ भाग मात्र देखिएको यस चित्रमा पुरूष मुखाकृति त मेरै हो कि जस्तो पो देखियो।
हामी त्यति धेरै बोलेनौँ। तर धेरै कुरा त्यही चित्रले बोलेको बुझेँ।
उनले मलाई यो चित्र उपहार दिइन्, चित्रका साथै उनले आफ्नाे मनको प्यार पनि उपहार दिइन्।
केही बोल्दै नबोली सांकेतिक रूपमा मनभित्र बिझ्ने गरी मायाको सन्देश पठाउने उनको यो कलात्मक उपहार मैले सहज रूपमा ग्रहण गरेँ।
मलाई त यो लियोनार्दो दाभिन्चीले बनाएको मोनालिसाको चित्रजतिकै मूल्यवान लागेको छ।
हिजोआज यो चित्र उपहार दिने कलाकारलाई म मनमा बोकेर हिँडेको छु र यो संसारलाई अस्तिभन्दा बेग्लै उज्यालो र रसमय देख्न थालेको छु।
समाजमा धेरैजना निकम्बा र बेकार मानिसहरू छन्। तिनीहरूको संगतमा पुगेको भए भासमा जाकिने सम्भावना पनि उत्तिकै थियो। असल मानिससँगको संगतले मानिसको जीवनमा निकै ठूलो परिवर्तन आउने रहेछ।
यस्तो सोचाइ मेरा लागि निकै रोमाञ्चक र आनन्ददायी बन्दै छ। म अहिले उनकै जिन्दगीको भारी बोकेर हिँड्ने तरखरमा छु।