कविता
प्रिय अपरिचित!
म तिमीलाई यस्तो प्रेम गर्छु कि जसले जरूरी ठान्दैन
- न तिम्रो नाम
- न तिम्रो अनुहार
- न तिम्रो आवाज
- न त तिम्रा कुनै कथा नै
बस् यत्ति भन्छु
आफ्नो छुट्टै अस्तित्व बनाई
कब्जा गरी बसेका छौ यो हृदयलाई।
तिमीलाई चिन्नु जान्नु छैन प्रिय!
छुट्टै आनन्द छ-
नचिनेरै नजानेरै प्रेम गर्नुमा
आँखा बन्द गरी तिमीलाई हरपल महसुस गर्नुमा
तिमीलाई नदेखी तिम्रो तस्बिरले हृदयको भित्ता सजाउनुमा
अनि तिमी को हौ, कहाँको हौ, कस्तो छौ भनी थाहा नपाई
बारम्बार तिमीसँग मात्रै प्रेममा परिरहनुमा।
चिन्दा सम्बन्धमा किनारा बन्न थाल्छन् प्रिय!
शब्दहरूले चोट पुर्याउन सक्छन्
मौनताहरूले पीडा दिन सक्छन्
असमझदारीले बारम्बार विश्वास तोड्न सक्छन्
प्रेमले कसरी मुटु टुक्र्याउने भनी सिक्न सक्छ
म तिमीलाई यति टाढा राखेर प्रेम गरिरहन चाहन्छु कि
जहाँ हानि पुर्याउन नसकोस् हामीलाई कुनै चिजले पनि।
अथाह प्रेम छ यही जुनीमा
पर्फेक्ट छौ तिमी यही दुरीमा
कुनै कमी नभएर हैन तिमीमा
बस् अछुत भएर हो तिमी
बहसबाट, क्रोधबाट, विश्वासघातबाट
अनि अन्तमा बिदाइको प्रतीक्षाबाट
हो, यही दुरीमा पूर्ण हुन्छ मेरो प्रेम पनि।
हराइरहन्छु म तिम्रै ख्यालमा
आनन्द लिइरहन्छु तिमीले दिने शान्तिमा
गरिरहन्छु म प्रेम तिमीलाई कुनै अपेक्षाविना
पछाडि छोडिन्छु कि, तिमीलाई गुमाउँछु कि,
अनि हृदय टुक्रिन्छ कि भन्ने डरविना
गरिरहन्छु एक आभास कहिल्यै नछुट्ने, खत्तम नहुने प्रेमको
साँच्चै, गरिरहन्छु म प्रेम तिमीलाई स्वतन्त्र रूपमा
जसरी आकाशले ती ताराहरूलाई प्रेम गर्छ
जसलाई उसले कहिल्यै आफ्नो समीपमा राख्दैन,
जसरी दिलले ती सपनाहरुलाई प्रेम गर्छ
जसलाई उसले कहिल्यै ब्युझाउँदैन।
प्रिय अपरिचित!
तिमी मेरो शान्ति हौ,
मेरो शान्त भक्ति हौ,
विना कुनै पीडा श्वास लिने एक अजम्बरी प्रेम हौ
अनि कहिल्यै भेट नभए पनि तिमीसँग
कहिल्यै गुमाउँदिनँ म तिमीलाई
आफूभित्रै राखेकी छु शुद्ध, शान्त र गुप्त प्रार्थनाझैँ तिमीलाई।
अन्तमा सदा सदाका लागि मेरो हृदयमा बस्न सफल तिमीलाई प्रणय दिवसको अधिक शुभकामना प्रिय!