रातो कपको लाली- भाग २
‘सुशील, चिया पाक्यो?’ तिमीले सोध्यौ। मेरो छेउमा रहेको रातो कपमा चिया देखेर भन्यौ, ‘ओहो, कति मिठो बास्ना आइरहेको छ। जाऔँ छतमा बसेर खाने।’
त्यति राति बाहिर चिसो हावा चलिरहेको थियो, यहाँ कोठामै बसेर खाऔँ भन्दा तिमी मानेनौ। आफूसँग भएको कालो हावा नछिर्ने ज्याकेट र न्यानो टोपी तिमीलाई लगाइदिएँ र बाहिर छतमा गएँ।
दुई वटा प्लास्टिकका कुर्सीहरू थिए। हामी त्यही एकअर्काको सामुन्ने बस्यौँ।
‘सुशील, चिया साह्रै मिठो बनाउँदो रहेछौ,’ चियाको पहिलो चुस्की लिँदै तिमीले भन्यौ। यो प्रशंसाले मेरो आँखालाई प्रेमको नरम स्पर्शले छोइदियो।
मैले भनेँ, ‘तिम्रो लागि यो चिया मात्र होइन, यो त मेरो माया र सम्झनाहरूले भरिएको मिठो पेय हो।’
तिमी मुसुक्क मुस्कुरायौ। तिम्रो मुस्कानले मेरो हृदयलाई यति गहिरो छोयो कि मेरो मुस्कान आफैँ ओठसम्म आइपुग्यो।
हाम्रो सम्बन्ध पनि अनौठो थियो। मेरो मनमा तिमीप्रति के छ, तिमीलाई सब थाहा छ। माया, ममता, भावना र आदर सबै। सायद त्यही भएर होला, त्यति रात पनि तिमी मकहाँ आउन मन्जुर गर्यौ। तिम्रो मनमा मप्रति के छ भन्ने कुरा म सहजै महसुस गर्न सक्थेँ, तर विडम्बना हामी दुवैले एकअर्कालाई पूर्ण रूपले खुलेर भन्न सकेका छैनौँ। कारण खोज्दा पनि कुनै निचोडमा पुगेका छैनौँ। सायद यही कारणले यो नाम नभएको सम्बन्ध डेढ दशकभन्दा बढी समयदेखि कायम रहेको छ।
मनका केही कुराहरू एकअर्कासँग गरे पनि हामी कहिल्यै सँगै हुन सकेनौँ। यो एउटा यस्तो अधुरोपन थियो, जसका लागि म जीवनभर अधुरो नै रहन्छु, र तिमी सायद त्यही अधुरोपनालाई पूरा गर्न सधैँ मेरो सम्झना र कल्पनाको संसारमा रहिरहन्छौ। यस्ता भावना तिम्रो मनमा पनि थिए, सायद त्यही भएर तिमी सधैँ ममाथि विश्वास गर्छौ। यो अधुरोपनको मिठो दूरीले नै हाम्रो प्रेमलाई अमर बनाएको छ, जसमा हरेक सम्झना प्रेमको चम्किलो तारा जस्तै बनेको छ।
मनमा अनेक कुरा आइरहेका थिए। हामी रातको छतमा चिसो हावामा बसेर चियाको चुस्किसँगै मिठा-मिठा कुरा गरिरह्यौँ।
‘ओह, यहाँबाट त प्लेन उडेको पनि देखिन्छ,’ माथि आकाशमा प्लेनको बत्ती देखाउँदै भन्यौ। बिस्तारै चियाको चुस्किसँगै हाम्रो कुराकानी जारी रह्यो।
चिया सकेपछि तिमी एकदम मौन र शान्त भई एकोहोरो मेरो आँखामा हेरिरह्यौ। लागिरहेको थियो कि, मानौँ तिम्रो आँखाले मेरो आत्मासँग सिधै संवाद गरिरहेको छ। तिम्रो त्यो गहिरो हेराइलाई म धेरै बेर थेग्न सकिनँ र मुस्कुराउँदै सोधेँ, ‘के भयो र? किन यसरी हेरिरहेकी?’
तिम्रो त्यो नजरले मेरो हृदयमा मायाको मिठो लहर दौडायो, जसले हरेक धड्कनलाई तिम्रै नामले भरिदियो।
तिमी केही नबोली उठ्यौ। मलाई लाग्यो, सायद कोठाभित्र जाँदैछौ, तर तिमी मेरो काखमा आएर बस्यौ र मलाई यति कस्सिएर अँगालो हाल्यौ कि तिम्रो हृदयको स्पन्दन मेरो छातीमा ठोक्किइरहेको महसुस भयो। म पूरै मौन, तटस्थ र शान्त रहिरहेँ। यो अँगालोमा मेरो आत्मा मायाले यति गहिरो छोयो कि वर्षौँदेखि बोकेका सबै अभावहरू एकैचोटि मिठो पूर्णतामा बदलिए जस्तो लाग्यो। यो अँगालो नै मेरो जीवनको सबैभन्दा ठुलो जवाफ थियो।
एकअर्कालाई अँगालोमा लिइरहँदा तिमीले बिस्तारै सोध्यौ, ‘तिमी किन मलाई यति माया गर्छौ? यति वर्ष भयो, हामी सँगै नभए पनि तिमीले कहिल्यै मलाई बिर्सेनौ। एक्लै भएको बेला मेरो आँखामा आँसु आउँछ र मलाई रुन मन लाग्छ। आजसम्म म तिमीलाई केही दिन सकिनँ। तिमी मलाई आफ्नो जीवनसाथी बनाएर जति खुसी हुन्थ्यौ, म त्योभन्दा धेरै खुसी हुन्थेँ। तर मेरो भाग्य नै यस्तो थियो कि म तिम्रो हुन सकिनँ।’
त्यो कुरा सुन्दा मेरो आँखा मायाले भरिए र हिमालबाट हिउँ पग्ले झैँ मेरो हृदय नै पग्लियो। तिम्रो आँखामा पनि त्यही मायाको मिठो लहर उर्लिरहेको थियो। हामी दुवै मौन थियौँ, त्यो मौनतामा हाम्रो प्रेम सबैभन्दा ठुलो स्वीकारोक्ति बोलिरहेको थियो। त्यो एउटा यस्तो सत्य थियो जसलाई हामी एकअर्कालाई थाहा हुँदाहुँदै पनि कहिल्यै नकार्न सकेनौँ। यो आँसु हाम्रो अमर प्रेमको सबैभन्दा गहिरो प्रमाण थियो।
मैले आफ्नो ज्याकेटको बाहुलाले तिम्रो आँसु पुछेँ र गाला समाएँ।
‘यो जुनीमा तिमी मेरो हुन सकेनौ भने मलाई कुनै गुनासो छैन तर अर्को जुनीमा तिमी मेरो भएनौ भने म भगवानसँग गुनासो गर्छु। तिमी जहाँ भए पनि खुसी छौ र हाम्रो सम्बन्ध निरन्तर छ। एकअर्काप्रतिको माया र विश्वास कायम छ। यो जुनीमा सायद भगवानले मलाई तिमीलाई सम्झिँदै एक्लो काल्पनिक मायाको संसारमा बाँच्नु लेख्नुभएको छ।’
यी शब्दहरू बोल्दा मेरो आवाज मायाले यति भरिएको थियो कि हरेक अक्षर काँपिरहेको थियो।
तिमीले मेरो गाला समात्यौ र बिस्तारै आफ्नो ओठ मेरो ओठसँग जोड्यौ। रातको चिसो हावामा आफूभित्र तिम्रो मायाको न्यानोपना महसुस गरिरहेँ। हामी एकछिन बाहिर नै बसिरह्यौँ र खुला आकाशमा टिलिक्क चम्किरहेका ताराहरू र चन्द्रमालाई नियाल्दै जीवन र मायाका अनेक कुरा गर्न थाल्यौँ। यो क्षणमा मेरो हृदय रुन्थ्यो र खुसी पनि हुन्थ्यो।
तिमीसँग बसिरहँदा कतिखेर रातको २ बजिसकेको रहेछ, थाहै भएन। तिमी अझै मेरो काख र अँगालोमा बसिरहेकी थियौ। सायद तिमीलाई त्यहाँबाट उठ्न मन थिएन।
‘जाऔँ भित्र अब सुत्नुपर्छ’ भन्दै तिमीलाई काखमा बोकी कोठाभित्र लगेँ।
कोठामा कहिलेकाहीँ साथीभाइहरू आउँदा उनीहरूलाई सुत्न गाह्रो नहोस् भनेर टन्न ओछ्यानहरू छन्। तिमीलाई बेडमा सुत्न दिएर म तल ओछ्यान लगाउन थालेँ।
तिमीले भन्यौ, ‘सुशील, ओछ्यान नलगाऊ। माथि आऊ न, आज सँगै सुतौँ।’
मनभित्र अनेकौँ भावनाहरू एकसाथ उर्लिएर खेल्न थाले। मैले केही सोचिनँ, हामी सँगै ओछ्यानमा पल्टियौँ। रातको चिसोलाई जित्न एकअर्कालाई कस्सिएर अँगालो हालेर सिरक ओढ्यौँ। दुई शरीर बिस्तारै एकअर्कामा विलीन हुँदै जाँदा तिम्रो न्यानोपना मेरो छाती, पेट र हातहरू हुँदै शरीर भित्रसम्म पुगिरहेको थियो। मध्यरातको कठ्याङ्ग्रिने चिसो क्रमशः हराउँदै गयो। एकछिन मैले तिम्रो नरम गाला सुमसुम्याइरहेँ, औँलाहरू तिम्रो कपालमा खेलाउँदै तिम्रो सुगन्ध लिइरहेँ।
त्यो एकतामा मेरो आत्मा मायाले यति भरियो कि हरेक धड्कन अमर सङ्गीत जस्तो बज्न थाल्यो। किनकि त्यो क्षण मिठो, छोटो र अनन्त थियो। एकछिनपछि म पूर्ण रूपमा तिमीमा हराएँ र तिमीलाई आफ्नो अँगालोमा बाँधेर गहिरो निद्रामा डुबेँ।
बिहान सूर्योदयको पहिलो किरण मेरो आँखामा पर्दा बिउँझिएँ। मेरो हातले तिमीलाई छेउमा समाउन खोज्यो तर तिमी मेरो छेउमा थिएनौ। मेरो लागि चिया बनाउँदै थियौ कि भनेर उठेर भान्सामा गएँ तर तिमी त्यहाँ पनि थिएनौ। बाथरुमको ढोका खुला थियो, भित्र कोही थिएन।
म एकदम गहिरो सदमामा परेँ। त्यो मेरो सपना थियो कि वास्तविकता, केही फरक छुट्याउन सकिनँ। मेरो सोच्ने क्षमता हराइसकेको थियो। कोठाको ढोका भित्रबाट बन्द थियो। तिम्रो रातो कोट कोठाको कुनामा राखेको याद थियो तर त्यो पनि थिएन। कोठाभित्र चारैतिर खोजेँ, तिमी कहीँ पनि थिएनौ। राति छतमा बसेर चिया खाएको सम्झेँ, छतमा रहेको प्लास्टिकको कुर्सी चिया खाँदा जहाँ राखेको थिएँ, त्यहीँ थियो। एकछिन म पागलझैँ चारैतिर खोजेँ, घरमुनि भाडामा बस्ने साथीहरूसँग तिम्रो बारेमा सोध्दा कसैले पनि केही भन्न सकेनन् र तिम्रो उपस्थितिको कुनै सङ्केत पाइनँ। यो रित्तोपनले मेरो हृदयलाई चिरा-चिरा पार्यो।
थकित भएर, मनमा अनेक जवाफ नभएका प्रश्न बोकेर कोठाभित्र छिरेँ। एकछिन ओछ्यानमा पल्टिएर सबै कुरा मनन गर्न थालेँ, मन थकित भएर एकछिनको लागि पुनः निद्रामा गयो। केही बेरपछि उठी भान्सामा चिया बनाउन गएँ। भान्साभित्र छिर्दा मेरा आँखा खुल्लाको खुल्लै भए, अविश्वसनीय कुरा के थियो भने राति तिमीसँग खाएका रातो चियाका जुठा कपहरू त्यत्तिकै भाँडा धुने ठाउँमा राखिएका थिए। मैले त्यो कप उठाएर नियालिरहेँ, जहाँ तिम्रो रातो ओठको लाली अझै स्पष्ट देखिन्थ्यो।
त्यो कपलाई जोडले आफ्नो हत्केलामा समातेर छातीमा टाँसेँ। त्यसको लालीले मेरो हृदयमा तिम्रो अमर प्रेमको मिठो लहर दौडायो, जुन कहिल्यै सुक्ने छैन। त्यही क्षण एउटा चिसो सास मेरो घाँटीमा अड्कियो, यो लाली त आज पनि ताजा छ, तर तिम्रो सुगन्ध, तिम्रो स्पर्श, तिम्रो हाँसो... सबै हराइरहेको छ। के यो लाली मेरो मनले कोरेको मात्र हो वा तिमीले छोडेर गएको एउटा सङ्केत?
मैले कप बिस्तारै राखेँ। दुई कप थिए, एउटा मेरो, अर्को तिम्रो। दुवैमा बाफ उक्लिरहेको थिएन, चिया चिसो भइसकेको थियो। तर तिम्रो कपमा मात्र त्यो रातो लालीको छाप थियो, जुन झ्यालबाट आइरहेको बिहानको किरणमा पनि टल्किरहेको थियो। लाग्यो, यो छाप समयसँगै फिक्का हुँदैन, बरु मेरो हरेक साससँगै गाढा बन्दै जान्छ।
झ्याल खुला थियो, बाहिरबाट चिसो हावा आयो। घडीका सुईहरू उही रफ्तारमा हिँडिरहेका थिए— नरोकी, नफर्की। तर मेरो लागि समय रोकिएको जस्तो थियो। तिमी गएपछि यो कोठा फेरि एउटा खाली घेरा बनेको छ, जहाँ हरेक कुनामा तिम्रो छाया लुकेको छ— अदृश्य तर महसुस हुने। के तिमी राति यहाँ थियौ वास्तवमा वा मेरो वर्षौँ देखिको कल्पनाले नै तिमीलाई एक रातको लागि जीवित बनाएको थियो?
मैले चियाको कप उठाएर घुट्की लिएँ। चिया तितो थियो तर त्यसमा तिम्रो मायाको मिठास मिसिएको थियो। अर्को कप भने त्यत्तिकै रह्यो, जुठो, रातो लाली बोकेर, जस्तो कि तिमीले भोलि फेरि आउने वाचा गरेकी थियौ। तर मलाई थाहा छ, तिमी कहिल्यै आउने छैनौ। यो प्रेम अब केवल यो रातो कपमा, यो लालीमा र मेरो हृदयको हरेक धड्कनमा बाँकी छ।
मैले मनमनै भनेँ, ‘तिमी गए पनि ठिक छ... किनकि तिमी कहिल्यै गएनौ। तिमी त्यो रातो कपको लाली जस्तै अमर छौ, कहिल्यै फिक्का नहुने, नमेटिने। यो अधुरो कथा मेरो एक्लोपनको सबैभन्दा सुन्दर रहस्य बनेको छ।’
बिहानको उज्यालोले कोठा भरियो। मेरो छातीमा अझै त्यो रातको न्यानोपना महसुस भइरहेको थियो। एउटा रहस्य भई जसको जवाफ म कहिल्यै खोज्ने छैन, किनकि जवाफ खोज्दा नै यो माया मेटिन सक्छ र यो रातो कपमा भएको लाली फिक्का भई यो मायालाई फिक्का बनाउनेछ।