हावाको वेगमा उडिरहेको चङ्गा
विश्वासमा माथि, माथि, माथि धरै माथि
झन्डै-झन्डै आकाश छुन लागे जस्तो
धर्तीबाट हेर्दा आहा बादल छिचोल्दै
कति रमणीय मनमोहक दृश्य है।
ए प्रिय मन, निर्धक्क सोच त
एउटा विश्वास अनि एउटा सेतो धागो
कति परसम्म पुग्ने रहेछ है
भरोसा नहुँदो हो त सिधै धर्तीमा भासिँदो हो
त्यति सहजै त्यति माथि कसरी पुग्यो
एउटा धागोको सहारामा एउटा चङ्गा।
के लाग्छ तिमीलाई
सहाराबिना उड्न सकिन्छ त?
निस्फिक्री सुस्त-मस्त उड्न पनि
कुनै एक सहारा त चाहिने रहेछ
ठिकै छ म धागो बनिदिउँला
तिमी चङ्गा बनेर उड्नू।
कति पनि हलचल नगरी
नियन्त्रित भएर उडिरहनु
तर ख्याल गर्नु नि माथि पुगेसी
एउटै गल्ती काफी छ।
भरोसा टुट्नु र धागो चुँडिनु उस्तै हो प्रिय
यदि धेरै माथि पुगेसी धागो टुट्यो भने
हामीले नियाल्दै गरेको दृश्य एकाएक
भयावह हुन्छ, थर्थराउन थाल्छ
गल्तीमा लरबराएको जिब्रो जस्तै हुन्छ।
टुटिनु उसको गल्ती हैन, केवल प्रभाव हो
हावाको वेग अनि दबाबको परिणाम हो
स्वतन्त्र हुँदो हो त अझै हामीलाई
मिठो आभास दिलाउँदो हो।
अभाव, दबाब र प्रभावले छिनभरमै
टुटाउने रहेछ है
यदि धागोले ढाडस दिँदो हो
धैर्यता नगुमाउँदो हो त
चङ्गा अझै नाचिरहन्थ्यो।
चङ्गा थोरै मात्र संयम भइदिए
त्यो वेग कतै अन्त बहन्थ्यो
एउटा भयानक दुर्घटना टर्थ्यो
अपसोच स्यानो हेलचेक्र्याइँले
धागो टुट्यो र चङ्गा हावामै विलीन भो।
सेतो रङमा कालो रङको मिश्रण
कति अस्वाभाविक
कति निर्दयी लाग्छ
रङ होस त एकनास
सेतोलाई कालोले बदल्नु
कालोलाई सेतोले पखाल्नु
झारो टार्नु र झुक्क्याउनु मात्र हो।