कहिलेकाहीँ,
देशले आफ्नै साहसलाई चिन्दैन
उ त्यो पहाडजस्तै मानिसलाई
पहिले ढुंगा हान्छ
र पछि
त्यही ढुंगाबाट मूर्ति बनाउँछ।
तिमीलाई सम्झँदा
मलाई अदालतका ती चिसा गल्छेडा याद आउँछन्
जहाँ शब्दहरू, कानुनका अनुच्छेद मात्र थिएनन्,
ती त,
अडानको धारिलो फलाम थिए।
सुशीला,
तिमी सत्ताको झ्यालबाट पस्ने घाम थिइनौ,
तिमी अँध्यारो कोठाभित्र
आफैँ बल्ने आगो थियौ, दन्किरहेकी ज्वाला थियौ।
त्यसैले
जब तिमीले शक्तिको ढोकामा
न्यायको हतौडा बजायौ
देशको आधा भाग डरायो
र बाँकी आधाले
तिमीमाथि प्रश्नहरूको वर्षा गर्यो।
तिमीलाई दोषी भनियो
किनकि
सत्य कहिल्यै सजिलो हुँदैन
तिमीलाई हटाउन खोजियो
किनकि
सत्यले सिंहदरबारको निद्रा बिगार्छ।
त्यो दिन
संसदका कागजहरू
आकाशमा उडेका चिलझैँ थिए
र तिम्रो नाम
आँधीमा एक्लै उभिएको ‘देवदारु’
तर देवदारुहरू
आँधीले ढल्दैनन्
आँधी थाक्छ, तर देवदारु उभिइरहन्छ।
आज
त्यही देश
त्यही जनता
त्यही सडकहरू
अचानक
आफ्नो गल्ती सम्झिएका जस्तो
तिम्रो नामलाई
मतको नदीले नुहाइरहेका छन्।
कहिल्यै आलोचना गर्ने हातहरू
आज
तिमीलाई जितको फूल चढाइरहेका छन्
र मलाई लाग्छ
यो चुनाव
कुनै पदको विजय होइन।
यो त
वर्षौँअघि
अन्यायको अगाडि उभिएको
एक्ली स्त्रीको विजय हो
यो त
ढुंगाले हानेको देवदारु
फेरि हरियो भएको कथा हो।
किनकि
देशहरू
कानुनले मात्र बाँच्दैनन्
देशहरू, त्यस्ता मानिसले बाँचिरहेका हुन्छन्
जो एक्लै हुँदा पनि
सत्यको पक्षमा उभिन डराउँदैनन्।
र इतिहास
कहिल्यै तुरुन्त लेखिँदैन
इतिहास पहिले आलोचना बन्छ
पछि आँसु बन्छ
अनि अन्त्यमा ‘सम्मान’
र आज
देशले ढिलो भए पनि
एउटा कुरा बुझेको छ
पहाडहरू, मतले ठुलो हुँदैनन्
पहाडहरू, पहिले नै पहाड हुन्छन्।
सुशीला,
आज तिमीले जित्यौ
देशमा सर्वाधिक मतान्तरले तिमी विजयी भएकी छौ।