कीर्तिपुरको बाघ भैरव डोजोभित्र हरेक साँझ घण्टी बज्थ्यो। घण्टीको आवाजसँगै सुरु हुन्थ्यो सन्ध्याको पसिना, संघर्ष र सपनाहरू। त्यही डोजोकी सबैभन्दा कडा र मेहनती खेलाडी थिई सन्ध्या।
सन्ध्या राष्ट्रिय स्तरकी कराँते खेलाडी थिई। उसको जीवनमा अनुशासन थियो, नियम थियो तर प्रेमको कुनै ठाउँ थिएन। ऊ सधैँ भन्ने गर्थी, ‘कराँते मेरा संसार हो। मेरो जीवन जिउने तरिका हो।’
ऊ सधैँ सोच्ने गर्थी- ‘आज म हिजोभन्दा अझै राम्रो बन्नुपर्छ।’
सन्ध्याको शरीर थाक्छ, चोट लाग्छ, पसिना बग्छ तर थकान सँगै एउटा सन्तुष्टि पनि उसले पाउँछे। घुँसाले लक्ष्य छोएपछि मात्र होइन असफल प्रहारपछि फेरि उठ्ने हिम्मतमा उसले सन्तुष्टि महसुस गर्छे। उसलाई थाहा छ हार सफलता होइन, सिकाई हो। सच्चा खेलाडी पीडाबाट भाग्दैन। सन्ध्या पनि भाग्दिन। खुट्टा दुख्दा पनि ऊ अभ्यास गर्छे, किनकि उसले जानेकी छ सपना सजिलै पूरा हुँदैन। सन्ध्याको मनमा सधैँ जिम्मेवारी छ। साथै आफ्नो शरीर प्रतिको माया पनि।
प्रतियोगिताको रंगशालामा उभिँदा उसले केवल आफूलाई देख्दिन। उसले परिवारको त्याग देख्छे। आमाबुवाको विश्वास देख्छे र देशको झन्डा देख्छे। त्यो क्षणमा उसको मनमा एउटा मौन प्रतिज्ञा गुन्जिरहन्छ- ‘म केवल आफ्नो लागि होइन, सबैका लागि लड्दै छु।’ सन्ध्यालाई कराँतेले आक्रमण मात्र होइन नियन्त्रण पनि गर्न सिकाएको छ। सच्चा खेलाडीलाई थाहा हुन्छ सबैभन्दा ठुलो जित भनेको आफ्नै रिस, डर र अहंकार माथिको विजय हो। डोजोको मौनतामा बसेर आँखा चिम्लिँदा सन्ध्याको मनले भन्छ- ‘म बलियो छु तर नम्र पनि छु।’
जित्दा ऊ कहिल्यै चिच्याउँदिन। केवल शान्त मुस्कान मात्र दिन्छे। हार्दा ऊ रोए पनि त्यो आँसु कमजोरी होइन बरु उसको उत्साहको अर्को रूप देखिन्छ। उसको मनमा एउटै भावना बगिरहन्छ- ‘सन्ध्या, तँ फेरि जित्नेछस्।’ प्रेम, पीडा, गर्व, डर, आशा र अदम्य आत्मविश्वासका साथ सन्ध्या फेरि जित्ने आशामा लडिरहन्छे।
एक दिन डोजोमा नयाँ अनुहार देखा पर्छ। ऊ अभिनव थियो। ऊ कराँते सिक्नलाई आएको थिएन। आफ्नो सानो भाइलाई भर्ना गर्न आएको थियो। सन्ध्याको अभ्यास हेर्दा ऊ त्यहीँ अड्कियो। थाइकट कपाल, स्वस्थ र तन्दुरुस्त शरीर, सिम्पल, अग्ली, ठिक्कको ज्यान, गहुँगोरी, अनुहारमा आत्मविश्वास, आँखामा कठोरता प्रस्टै देखिन्थ्यो।
‘तपाई किन सधैँ यति गम्भीर देखिनुहुन्छ?’ अभिनवले एक दिन सोध्यो।
सन्ध्या केही बेर चुप लागी र लामो सुस्केरा हाल्दै भनी, ‘ किनकि जीवनले मलाई हाँस्न सिकाएको छैन।’
त्यो दिनदेखि अभिनव हरेक साँझ भाइलाई पुर्याउने बहानामा आउन थाल्यो र डोजो नजिकै बस्न थाल्यो। ऊ सन्ध्यालाई कराँतेको बारेमा प्रश्न गर्थ्यो। सन्ध्याले भन्ने गर्थी, ‘कराँते केवल लडाइँ गर्ने कला होइन, यो आत्मअनुशासन, सम्मान र आत्मरक्षाको माध्यम हो।’
अभिनवले सन्ध्याको बारेमा पनि सोध्थ्यो। सन्ध्याले आफ्नो जीवनका संघर्ष सुनाउँथी। बुवाको निधनपछि उसले परिवार धान्न खेलकुद रोजी। परिवारमा कमाउने मुख्य व्यक्ति भनेको बुवा नै हुनुहुन्थ्यो। बुवा नहुँदा परिवारलाई आर्थिक कठिनाइ हुन थाल्यो जसले खेल, पढाइ र घर खर्च धान्न मुस्किल भएको कुरा सुनाउँथी। समाजले छोरी मान्छे भएर कराँते खेल्ने भनेर हाँसो उडाउँथे।
सन्ध्याको कुरा सुनेर अभिनव ऊप्रति झनै आत्मीय अनुभूति गर्न थाल्यो। उसले सन्ध्यालाई हृदयदेखि सम्मान, साथ र सहयोग गर्न थाल्यो। ‘तिमी कमजोर छैनौँ सन्ध्या, तिमी त आँधी हौ आँधी भन्थ्यो।’
अभिनवको साथ र सहयोग देखेर सन्ध्यालाई अझै भित्रैबाट अदम्य साहस र आँट आउँथ्यो। सन्ध्याको कठोर मन बिस्तारै पग्लिँदै गयो। उसले महसुस गर्न थाली, घुँसाभन्दा त भावना बलियो रहेछ।
तर केही दिनपछि सन्ध्याको भाग्य फेरि कठोर बन्यो। राष्ट्रिय प्रतियोगिताको केही दिनअघि अभ्यासका क्रममा सन्ध्याको खुट्टामा गम्भीर चोट लाग्यो। डाक्टरले भने- केही महिना आराम गर्नुपर्छ नत्र करियर नै सकिन सक्छ। सन्ध्याको सपना, उसको संघर्ष सबै एकैछिनमा टुटेजस्तो भयो। सन्ध्याको खुट्टा शरीरको भाग होइन, त्यो उसको सपना टेक्ने आधार थियो। जब उसको खुट्टामा समस्या आयो, पीडा केवल हड्डीमा थिएन त्यो सिधै मनमा पुगेको थियो।
केही महिना डोजो बाहिर बस्दा सन्ध्याको भित्र कतै खालीपन गुन्जिरहेको थियो। अरू साथीहरू अभ्यास गरिरहेका हुन्थे, घण्टी बजिरहेको हुन्छ तर सन्ध्या कुर्सीमा बसिरहेकी हुन्छे, आफ्नै सपनाको दर्शक बनेर। आज सन्ध्यालाई शरीरले रोकेको छ। उसलाई यो असहायता सबैभन्दा ठुलो हार जस्तो लागिरहेको छ। आफ्नो सपनाहरू पछाडि छुटेको देखेर सन्ध्या उदास भएकी छे।
त्यसै बेला अभिनवले सन्ध्यालाई सहानुभूति दिन्छ, ‘सन्ध्या तिमी कराँते होइनौँ। कराँते तिम्रो एउटा हिस्सा हो। तिमी त्यसभन्दा धेरै बलियो छौ। यस्ता अवसर त जीवनमा कति आउँछन् कति।’
पहिलो पटक सन्ध्याले अभिनवको हात समातेर रोई। त्यो आँसु हारको थिएन, मन हलुका भएको थियो। हो, यस्तै-यस्तै बेलामा सहानुभूति दिने मान्छे चाहिएको थियो सन्ध्यालाई जुन अभिनव जस्तो साथी पाई।
महिनौँको उपचारपछि सन्ध्या फेरि डोजोमा फर्की। खेलाडीको रूपमा होइन, प्रशिक्षकको रूपमा। साना बालबालिकालाई आत्मरक्षा सिकाउँदै गर्दा उसको आँखामा फेरि चमक फर्कियो।
डोजो मैदान शान्त छ। अभ्यास सकिएको छ। सन्ध्या आफ्नो बेल्ट फुकाल्दै छे। पसिना निधारमा टल्किरहेको छ। बिस्तारै अभिनव नजिक जान्छ र भन्छ– ‘सन्ध्या, तिमीलाई हेर्दा मलाई सधैँ एउटा कुरा महसुस हुन्छ। तिमी खेल मात्रै खेल्दैनौ, तिमी आफ्नो सपनासँगै लड्छौ। तिम्रो हिम्मत, तिम्रो अनुशासन, कहिल्यै हार नमान्ने बानी यी सबैले मलाई तिमीप्रति झन् सम्मान र माया जगाएको छ।’
केही क्षण फेरि आँखा जुधाएर भन्छ– ‘म तिम्रो जीतमा ताली बजाउने मात्र होइन, तिम्रो हारमा साथ दिने मान्छे बन्न चाहन्छु। तिम्रो प्रत्येक चोटमा मल्हम र तिम्रो प्रत्येक सफलतामा मुस्कान बन्न चाहन्छु। यदि तिमीले अनुमति दियौ भने म तिम्रो जीवनको खेलमा सधैँका लागि टिममेट बन्न चाहन्छु। म तिमीलाई अथाह प्रेम गर्छु। के तिमी मेरो प्रेमलाई स्विकार्छौ?’
सन्ध्या खेलाडी हो। उसले धेरै चोट सहेकी छ। धेरै हार बेहोरेकी छ। धेरै जित पनि चुमेकी छ। उसलाई रिङमा उत्रिदा कहिल्यै डर लागेन। तर त्यो दिन जब अभिनवले उसको अगाडि उभिएर प्रेम प्रस्ताव राख्यो, उसको मुटु पहिलो पटक अस्थिर भयो। सन्ध्याको हात काँपिरहेको थियो। स्वर अलिअलि थर्थराइरहेको थियो। उसको मुटु यति छिटो धड्किरहेको थियो कि उसले आफ्नै मुटुको आवाज सुनिरहेकी थिई।
केही सेकेन्डको मौनतापछि उसले भनी– ‘तिमीले हिम्मत जुटाएर मनको कुरा राख्यौ। मलाई सधैँ बलियो बन्न सिकायौ। मेरो शक्ति मात्र होइन, मेरो थकान पनि तिमीले नजिकबाट नियाल्यो, मेरो जीतको लागी मात्र होइन, हारमा पनि उभिन तयार छौ भने अवश्य पनि तिमी जस्तो मान्छेप्रति म सकारात्मक छु।’
सन्ध्याले हल्का मुस्कान दिई। उसको आँखा रसाए। उसले फेरि थपी, ‘म त सधैँ एक्लै लड्ने बानी परेको मान्छे तर अब सायद मलाई पनि साथ चाहिएको छ।’
डोजोको अन्तिम घण्टी फेरि बज्यो तर त्यो दिन घण्टीले केवल अभ्यास सकिएको संकेत दिएको थिएन, त्यो दिन सन्ध्याको एक्लोपन पनि अन्त्य भएको थियो।
दिनहरू बित्दै गए। दुवै जना एकअर्कालाई हौसला दिँदै अघि बढिरहेका थिए। करिब एक महिनापछि अभिनवको अस्ट्रेलियाको भिसा आयो। ऊ अस्ट्रेलिया जाने भयो। सन्ध्या खेलाडी हो। बिछोडसँग डराउन नपर्ने मान्छे जस्तो देखिन्छे। रिङमा उत्रिदा चोटको डर हुँदैन न त हारको डर नै हुन्छ। तर त्यो दिन अभिनवले भन्यो- म विदेश जाँदै छु।
सन्ध्याको मन चर्कियो। सन्ध्याले उसको अगाडि आँसु झारिन्। ऊ मुस्कुराई, उसले सोची मेरो सपना जस्तो त छ नि अभिनवको सपना पनि। तर त्यो बुझाइभित्र कति पीडा थियो त्यो केवल सन्ध्याको मुटुले मात्र चाल पायो। किन मान्छे यति छोटो समयमा यति धेरै माया लाग्ने हुन्छन्? ऊ आफै आफै सोच्न थाली।
हेर्दा हेर्दै अभिनव जाने दिन पनि आयो। एयरपोर्टमा अभिनवले सन्ध्यालाई बलियो गरी अँगालोमा कस्यो र भन्यो– ‘सन्ध्या तिमी त साहसी छौ, आफ्नो ख्याल गर्नू। सपना पूरा गर्नू। तिमीलाई साथ दिने म हरबखत तम्तयार छु।’
सन्ध्याले टाउको हल्लाई। उनीहरू छुटिए। जहाज उड्यो। आकाशमा जहाज हराउँदै गर्दा सन्ध्याको साहस पनि कतै टाढा जाँदै थियो जस्तो लाग्यो।
अर्को दिन फेरि सन्ध्या डोजो पुगी। घण्टी उस्तै बज्यो। अभ्यास उस्तै भयो तर बिचबिचमा उसको नजर ढोकातिर जान्थ्यो। प्रत्येक प्रहारमा ऊ आफ्नो पीडा पोख्थी। प्रत्येक किकमा अभिनवको सम्झना मिसाउँथी। राति फोनमा कुरा हुँदा अभिनव नजिकै छ जस्तो लाग्थ्यो तर स्क्रिन बन्द भएपछि कोठा असाध्यै शून्य हुन्थ्यो। कीर्तिपुरका साँघुरा गल्लीहरू ऊबिना खाली खाली लाग्थ्यो।
अभिनवले भन्थ्यो– ‘सन्ध्या, म फर्किनेछु तिम्रो जीत हेर्न।’
सन्ध्याले भन्थी, ‘म तिमीलाई पर्खिनेछु।’
उनीहरू शारीरिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा अति नै नजिक भइसकेका थिए। उनीहरूको कुरा प्रायः पढाइ र खेल सम्बन्धी नै हुने गर्थ्यो।
सन्ध्याले सोच्ने गर्थी- म अभ्यास गर्दा केवल आफ्ना लागि मात्र होइन, अब अभिनवको सपनाको लागि पनि लड्छु। उसले अभिनवलाई आफ्नो जीवनको एक हिस्सा मानिसकेकी थिई। अभिनवको प्रोत्साहनले सन्ध्यालाई खुब बल आउँथ्यो। यदि विश्वास बलियो छ भने दूरीले प्रेम घटाउँदैन, यो कुरा दुवैलाई थाहा थियो। सन्ध्यालाई अभिनव बिना खल्लो त लाग्थ्यो तर यति छिटै हार मान्ने वाला पनि कहाँ थिई र! किनकि प्रेम पनि त एउटा खेल न हो। जहाँ धैर्य, विश्वास र पर्खाई नै सबैभन्दा ठुलो शक्ति बनेको थियो उसको लागि।
अभिनव अस्ट्रेलिया गएको पनि दुई वर्ष भइसकेको थियो। यता सन्ध्याको राष्ट्रिय अन्तर्गतको ठुलो प्रतियोगिता नजिकिँदै थियो। प्रतियोगिताको दिन आयो। रंगशालामा दर्शकको भिड थियो। चारैतिर क्यामेरा लगाइएका थिए। सन्ध्याले हरेक प्रहारमा आफ्नो मेहनत पोखिरहेकी थिई। सन्ध्याको समर्थकहरू चिच्याइरहेका थिए। सन्ध्या.... सन्ध्या... भन्दै हुटिङ गरिरहेका थिए।
अन्तिम राउन्डअघि दर्शकदीर्घाबाट कसैले ठुलो स्वरमा भन्यो– ‘सन्ध्या तिमी जित्नै पर्छ।’ यो अरू कसैको बोली नभएर अभिनवको थियो। यो शब्दले सन्ध्याको थाकेको शरीरमा नयाँ शक्ति आयो। अन्तिम घुँसा सिधा लक्ष्यमा लाग्यो। अन्तिम घण्टी बज्यो। रेफ्रीले सन्ध्याको हात माथि उठायो। सन्ध्या विजेता बनी।
सन्ध्याको आँखाले त्यो भिडभाडबिच अभिनवलाई खोज्यो। एकैछिनमा उनीहरूको नजर जुध्यो। अभिनवलाई दर्शकदीर्घाबिच देखेर सन्ध्याको आँखामा आँसु आयो। दर्शकदीर्घाबाट अभिनव तल झर्यो र सन्ध्याको नजिक आयो। माहौल शान्त थियो। केवल क्यामेराम्यानले सन्ध्याको फोटो लगातार खिचिरहेको आवाज आइरहेको थियो। सबैलाई लाग्यो सन्ध्याको ठुलो फ्यान होला र बधाई दिन गयो होला तर त्यस्तो भएन। अभिनवले सन्ध्याको हात समात्यो र बेस्सरी आफ्नो अँगालोमा कस्यो। र बिस्तारै भन्यो– ‘कस्तो लाग्यो मेरो सर्प्राइज? मैले भनेको थिएँ नि तिम्रो जीत हेर्न म फर्किनेछु भनेर।’
सन्ध्या भावुक बनी। अभिनवले एउटा सानो बाकस गोजीबाट निकाल्यो र खोल्यो। त्यो औँठी थियो। सन्ध्याको अगाडि घुँडा टेकेर ‘विल यु म्यारी मी’ भन्यो। त्यसपछि सन्ध्याले केवल सहमतिको भावमा टाउको हल्लाई, अभिनवले सन्ध्याको औँलामा औँठी लगाइदियो। रिङमा जित्दा पनि ऊ यति नआत्तिएकी होली सायद त्यो पल आत्तिएकी थिई।
माहौल रोचक थियो। भिडले ताली बजायो। तर त्यो आवाजभन्दा ठुलो ताली सन्ध्याको मुटुले बजायो। त्यो दिन सन्ध्या केवल च्याम्पियन बनिन, उनीहरूले आफ्नो भविष्यको यात्रा सुरु गरे। सन्ध्याको हातमा मेडल थियो। साथै औँलामा अभिनवले लगाइदिएको औँठी पनि। उनीहरूको मनमा एउटै कुरा थियो। अबका जीवनका सबै खेल सबै संघर्ष र सबै सपना उनीहरू सँगै खेल्नेछन्।