एउटा छाया आज देखापर्यो
आवाज रहित
अदृश्य रूपमा
तर वेगमा एक्कासि
हावाको झंकार बढेर उसले
पृथ्वी हेर्न आएको आभास दियो।
जहाँ धेरै पहिले
मृत्यु वरण हुनु पूर्वको
अवस्थामा पुर्याइदियो स्मरणले,
जहाँ उसलाई यो शरीर खोस्नु पूर्व
आफ्नै जीवनले कसरी पटक-पटक
छल गरिरहेको थियो
जहाँ उसले
एउटा पुरुष बनेर नजन्मिएको
नाममा कति पटक
घाउहरू हृदयभित्र लुकाउनु परेको थियो,
उसले जितेकी थिई हरेक
आफ्नो भागका युद्ध
परिश्रम र इमान
साथै स्वधर्मले,
तैपनि त्यो जीवन यात्रामा
कति पटक चटके जस्ता लाग्ने
अनुहारहरूले
धोकाको तिरले हानिरहे,
स्वार्थका तिखा काँडा
बाटोमा ओछ्याइरहे,
त्यहाँ कुनै ऐया भन्ने ठाउँ
बाँकी थिएन,
त्यहाँ कुनै गुहार माग्न लायक
सम्बन्ध थिएनन्,
मुकुटधारी आफन्तहरू
हर हालमा आफू परिपूर्ण बन्न चाहन्थे
उसैको पसिना र आँसुको सरोवर
निर्माण गरेर आफ्नो सन्तान
वा आफ्नो निमित्त सुन्दर तलाउ
बनाउन चाहन्थे,
त्यो एउटा हिंस्रक
अदृश्य ज्वालाको समूह थियो,
जहाँ चहर्याएको घाउ नियालेर
नुन छर्ने समाज थियो,
किशोरावस्थामा हरदम अस्तित्व
जोगाउँदै सास राख्ने युद्ध
परीक्षा दैनिक नाइँ दिनु पर्दथ्यो,
एउटा आमा बाहेक सबैले
तरुण हुनु र राम्रो हुनु नै
एउटा श्राप हो भनी
अपमानका हिलो छ्यापेर आनन्द
मान्दथे,
कहिले रातो रगतलाई
अछुतको बर्सात गराई
कहिले नारी हुनुमै अपराध बोध
गराउन पारंगत थिए
समाजका हिंस्रक स्त्री पात्रहरू नै
अर्काको छोरीको जुनको अनुहारमा
खोट खोज्दथे,
जहाँ तमाम युद्ध झेलेर पनि
एक समय आयो,
यौवन अवस्थामा शरीर
चुँडेर पराई घर वा कुनै क्रूरतालाई
बलि चढाइ पूजा गर्नु थियो,
सृष्टि चक्र वा संस्कारको नाममा।
आमासँग बिछोड गराएपछि
हरदम रेट्न आउनेहरू
औकातलाई प्रश्न उठाई
सामर्थ्यको हतियार उठाइरहन्थे
कर्तव्यको नाममा कुटिलता मिसाएर
विष तत्त्व पिउन दिई रहन्थे,
ती निर्लज्ज प्राणीहरू
ईश्वरको आकृतिमा
फोहोर बर्साएर
अत्यन्त सदाचारी बनिरहन्थे,
उनीहरूको चाडमा कुनै पशु प्राणी
त वर्षमा एक पटक बलि बन्दथ्यो
तर
एउटा चार दिवार भित्र
एउटा गरिब इमानदार नारी हरदम
दुष्टको देह शान्त राख्न झुटो आरोप
अपमान र तिरस्कार बिच पनि
जीवनको नाममा
प्रत्येक प्रहर नै बलि बनी रहन्थी।
छाया आज जीवन हुँदाको जस्तो
रक्तस्राव र आँसुमा लपेटिएको देखिएन
तर उसलाई लागिरह्यो यति छोटो
जीवनमा ममताको पल यति थोरै त
दुर्भाग्यपूर्ण अवस्था त्यति धेरै किन भोग्नु पर्यो
एक मानव हुनाको खातिर
अर्को मानवको हिंसाको ज्वाला
किन यति क्रूर
आखिर यात्रा त चिहानसम्मकै रहेछ
फेरि यो मनको युद्धमा समाहित गर्नेहरूलाई
स्वर्ग, नर्क वा पातालको ख्याल किन भएन!
के तिनीहरूले मेरो जीवनलाई
स्नेहपूर्ण शब्द बोलेर शान्ति दिनुभन्दा
हिंस्रक बोली व्यवहारको रापमा
जलाइरहँदा आफ्नो पोलिएर जाने
शरीरको ख्याल रहेन
सायद तिनीहरूलाई
अग्निदेवताले जलाइरहँदा
सँगै अहंकारको चेतना पनि
भस्म बनाउनु हुन्छ होला।