म अहिले जीवनको उत्तरार्धमा आरामको जीवन व्यतीत गर्दैछु। मेरो मानसपटलमा अतीतका अनेकौँ घटनाहरूको स्मृतिहरू एकपछि अर्को गर्दै आउँछन्। कतिपय घटनाहरूको सम्झनाले म आफैँलाई लज्जित बनाउँछ; कतिपय सम्झनाले उत्तेजित बनाउँछ र कतिपय सम्झनाले निराश वा हतोत्साही पनि बनाउँछ।
अहिले म मेरो जीवनको ओरालो यात्रा तय गर्दै छु। यो ओरालो यात्रामा विगतका घटनाहरूको सिंहावलोकन गर्दै त्यसबाट शिक्षा लिन सकेँ भने यात्रा सहज हुने मैले ठानेको छु। हुन त कतिपय विद्वान्हरू विगतलाई हेरेर होइन; आगतलाई हेरेर यात्रा तय गर्नुपर्छ भन्दछन् तर मलाई लाग्छ, त्यो जीवनको उकालो यात्रामा मात्र हो; जतिबेला मानिसलाई पछाडि फर्कनेधरी फुर्सद हुँदैन। म्याराथन दौडमा जस्तो, पछाडिको साथी कहाँ आइपुग्यो भनेर हेर्न थाल्यो भने अर्को प्रतिस्पर्धीले उछिन्ने सम्भावना हुन्छ। तर जीवनको ओरालो यात्रामा न कुनै गन्तव्य हुन्छ; न प्रतिस्पर्धा नै। त्यसो भएकोले ओरालो यात्रामा अतीतका घटनाहरूको सम्झना तिनीहरूको व्यावहारिक पक्ष र अव्यावहारिक पक्षको विश्लेषण अनि त्यसबाट सन्तुष्ट–असन्तुष्ट हुने इत्यादि नै प्रमुख हुँदो रहेछ।
आज एकाएक मेरो मानसपटलमा मेरो जन्मस्थल कोटगाउँको परिदृश्य देखा पर्दछ। त्यहाँ म जन्मिएँ र हुर्किएँ। त्यो रमाइलो पारिलो डाँडो आज कस्तो भयो होला? त्यहाँका खेतहरू र बारीहरू अहिले पनि उब्जनी दिइरहेका छन् कि अन्यत्र जस्तो बाँझो पल्टिएका छन्। दशैँ अगाडि सबै गाउँले जम्मा भएर, बर्खाको पानीले भत्केका बिग्रेका बाटो मरम्मत गर्ने चलन अहिले छ कि छैन; अहिले चन्दने डाँडामा रोटे र लिङ्गे पिङ हालिन्छ कि हालिँदैन; पिपलेमा जात्रा लाग्छ कि लाग्दैन; लाग्छ भने जुवारी, जुवा र रक्सी पसलको बाहुल्यताको जात्रा लाग्छ कि अर्कै किसिमको लाग्छ आदिइत्यादि तर्कनाले राति अबेरसम्म पनि मलाई निद्रा लागेन। फेरि, अर्कोतिर कोटगाउँको नामकरण नै कसरी रह्यो होला भन्ने पनि लाग्न थाल्यो।
कोटगाउँ, कोत अथवा कोट, राज्यले हातहतियार खरखजाना राख्ने ठाउँ, अथवा किल्ला भन्ने बुझाउँछ; तर कोटगाउँमा त्यस्तो कुनै ऐतिहासिक संरचना वा भग्नावशेष फेला परेको मैले देखिनँ वा कसैले भनेको सुनिनँ पनि। एउटा जनश्रुति के थियो भने सन् १३२४ मा मुगलानका सुलतान गयासुद्दीन तुगलकले सिम्रौनगढ राज्यमा आक्रमण गर्दा त्यहाँका राजा हरिसिंहदेव भागेर काठमाडौँ गएको र उनी जनकपुर, सिन्धुली र कोटगाउँ हुँदै रोसीखोलाको बाटोबाट धुलिखेल हुँदै काठमाडौँ पसेको भन्ने छ।
कोटगाउँको मध्यभागमा अवस्थित मन्दिरमा स्थापना गरिएकी पाटनदेवी उनै हरिसिंहदेवले सिम्रौनगढबाट ल्याएकी पटनादेवी हुन् भनिन्छ। कतिपय इतिहासकारले राजा हरिसिंहदेवले काठमाडौँमा रहेको तलेजु भवानीको तान्त्रिक पूजा विधिको चलन चलाई राज्यदेवीको रूपमा प्रतिस्थापन गरेका हुन् भन्ने भनाइ पनि छ। पाटनदेवी र तलेजुभवानीको पूजा गर्ने विधि समान भएकाले पनि हरिसिंहदेवले पटनादेवी स्थापना गरेको भनाइलाई बल पुग्छ; कालान्तरमा उनै पटनादेवी अपभ्रंश भएर पाटनदेवी भएकी हुनसक्छ।
त्यसो हो भने हरिसिंहदेव लामो समय यहाँ बसेका र उनले आफ्नो साथमा ल्याएका सैनिक तथा हातहतियार राखेको स्थान भएकाले यसलाई कोटगाउँ भनिएको पनि हुनसक्छ।
जे भए पनि यो एउटा गहिरो ऐतिहासिक खोजको विषय हो र यसतर्फ सम्बन्धित विशेषज्ञको ध्यान जानुपर्ने जस्तो लाग्छ।
यस विषयमा अध्ययन गर्दा पाटनको चोंछे टोलमा रहेको पुरानो तथा ऐतिहासिक पाटनदेवी मन्दिरलाई समेत समावेश गर्दा तथ्यको नजिक पुगिन्छ जस्तो लाग्छ।
यी सबै कुरा रहस्यको गर्भभित्र रहेको भएता पनि म मेरो जन्म एउटा ऐतिहासिक स्थानमा भएको हो भनेर ढुक्कसँग भन्न सक्छु।
बाल्यकालका मेरा साथीमा पल्ला घरकी सावित्रा दिदी, डहरपरी कोइरालाका छोरा हेमप्रसाद थिए। हेमप्रसादलाई हामी ह्यामे भन्दथ्यौँ। यसरी बाल्यकालमा सावित्री दिदी, ह्यामे र म गरी जम्मा तीन जनाको एउटा समूह थियो। हाम्रो खेल खासमा पुतलीको बिहा गर्ने, जन्ती जाने भतेर पकाउने इत्यादि हुन्थ्यो। त्यस्तै अर्को समूह पनि थियो। अर्को समूहमा मेरा तीन वटी दिदी र काजीलाल मितबाकी छोरी रेसम र दालचिनी दिदीहरू थिए।
मितबाको ठुलो पसल थियो। उहाँका छोरीहरू खासमा दालचिनी दिदी सधैँजसो मिश्री नरिवल लिएर आउनुहुन्थ्यो। मिश्री नरिवल खान पाउने आशले हामीहरू पनि कहिलेकाहीँ उहाँहरूकोमा जान्थ्यौँ।
दिदीहरू गट्टा खेल्नुहुन्थ्यो; हाँसठट्टा खुब गर्नुहुन्थ्यो। मलाई सबैभन्दा रमाइलो चाहिँ के लाग्थ्यो भने रेसम दिदीले बिँडी र सलाई ल्याउनुहुन्थ्यो र उहाँ लगायतहरूले बिँडी खानुहुन्थ्यो। बिँडीको धुवाँ मुखमा भएको थुकसँग घोलेर धुवाँले भरिएको थुकको फोका बनाउनु हुन्थ्यो। मैले पनि त्यस्तो गर्न प्रयास गरेँ तर सकिनँ। उल्टो एकपल्ट धुवाँ सर्किएर झण्डै परमधाम गइनँ।
त्यस दिनदेखि मलाई दिदीहरू जस्तो बिँडी खान मन लाग्न छोड्यो; बरु मिश्री खाने लोभले खरबारीबाट घाँसको भारी लिएर कहिले आउनुहुन्छ भनेर रेसम दिदीको र दालचिनी दिदीको बाटोमा पर्खन थालेँ। मलाई देखेर उहाँहरू घाँसको भारी बिसाउनुहुन्थ्यो र मलाई काखमा राखेर मेरो हात र टाउको सुम्सुम्याउनु हुन्थ्यो अनि चोलाको गोजीबाट झिकेर मिश्री दिनुहुन्थ्यो। म मिश्री खान पल्किसकेको थिएँ। रेसम दिदी र दालचिनी दिदीको घाँस लिन जाने र घाँस लिएर आउने बेला पारेर म सधैँजसो उहाँहरू आउने बाटोमा हाजिर हुन थालेँ।
हाम्रो समूहमा पहिले पुतलीको बिहे हुन्थ्यो, अनि माटाको भतेर पाक्थ्यो। हाम्रो समूहका सबैजना खबटामा माटाको भात हालेर चिउँडोमा खान्थ्यौँ।
बिहेमा बेहुलो बेहुलीको घरमा जाने र बेहुली लिएर आउने कुरामा सावित्रा दिदी सधैँ असहमत हुनुहुन्थ्यो। उहाँको भनाइ थियो— ‘बेहुलो बेहुली लिन जाने होइन, बेहुली बेहुलो लिन जाने हो।’ र सावित्री दिदी हामीलाई हप्की दप्की पारेर आफ्नो भनाइमा सहमत हुन बाध्य गराउनु हुन्थ्यो।
मैले एकदिन प्रतिवाद गरेको थिएँ– ‘यस्तो बेहुलो लिन जाने चलन मलाई मन परेन।’
‘किन मन परेन?’ दिदीले उतर्सिएर सोध्नुभयो।
‘के म ठुलो भएर केटीको घरमा बिहे गरेर जानु?’ मैले पनि उतर्सिएरै भनेँ।
‘अनि मैले चाहिँ जानु त?’ दिदीले भन्नुभयो।
‘तपाईं छोरी हो; तपाईं जानु पर्छ।’ मैले भनेको थिएँ।
‘तँ पनि त्यही आमाको दूध खाएर हुर्केको; म पनि आमाकै दूध खाएर हुर्केकी। तैँले चाहिँ जानु नपर्ने मैले चाहिँ जानुपर्ने?’ दिदीले भन्नुभयो।
मैले उहाँलाई जवाफ फर्काउन सकिन;
‘म अब तपाईँसँग खेल्दिनँ।’ मैले फन्किँदै भनेको थिएँ।
‘तँ नखेले नखेल्, ह्यामे छैन र ! ऊ र म खेल्छौँ।’ दिदीले भन्नु भएको थियो।
त्यो दिनको सावित्रा दिदीको वचन मलाई नराम्रो गरी बिझ्यो।
त्यस दिनदेखि म सावित्रा दिदीसँग खेल्न जान छोडिदिएको थिएँ।
त्यसपछि म कहिले दिदीहरू खेलेको ठाउँमा मिश्री खान पाउने लोभले जान्थेँ। धेरैजसो चाहिँ रेसम र दालचिनी दिदी खरबारीबाट घाँसको भारी लिएर आउने बाटो पर्खेर बस्थेँ।
आज रेशम दिदी र दालचिनी दिदी आउनुभएन। मलाई धेरै शून्य लाग्यो। मैले जसोतसो दिन बिताएँ। भोलिपल्ट पनि दिदीहरू आउनुभएन। म अधैर्य भएर उहाँहरूकै घरमा गएँ। उहाँहरू घरमा पनि हुनुहुन्नथ्यो। मितआमाले ‘कान्छो आएछ’ भनेर कागजमा मिश्री र नरिवल दिनुभयो। मैले चिरिप्प खाएँ, तर मलाई रेसम र दालचिनी दिदीले दिएको जस्तो स्वादिलो मितआमाले दिएको मिश्री र नरिवल लागेन; दिदीहरूले दिएको मिश्रीमा स्नेह मिसिएको हुन्थ्यो त्यो यहाँ थिएन; मितआमाले केवल औपचारिकता पूरा गर्नुभएको थियो। मैले मितआमासँग दिदीहरूको बारे सोधेँ। थाहा भयो— उहाँहरू आफ्नो पुर्ख्यौली घर धुलिखेल जानुभएको रहेछ। म दौडिँदै घर आएँ। मलाई घरमा पनि बस्न मन लागेन। कत्लेशिखरमा माइली दिदीको घर थियो। माइली दिदीको घर जान घरमा कर गर्न थालेँ। भोलिपल्ट अम्बिका दिदीले मलाई माइली दिदीको घरमा लिएर जानु हुने भयो।
कत्लेशिखरमा बट्टी दिदी हुनुहुन्थ्यो। बट्टी दिदी शिवलाल बा की छोरी। उहाँहरूको पनि ठुलो पसल थियो। अम्बिका दिदी र बट्टी दिदीको खुब मिलाप थियो, उहाँहरू पनि एकान्तमा बिँडी खानुहुन्थ्यो र धुवाँका फोका पार्नुहुन्थ्यो। म चाहिँ बट्टी दिदीले दिएको मिश्रीमा रमाउँथेँ।
सरकारले औलो उन्मूलनको घोषणा गरेपछि हाम्रो परिवार कोटगाउँबाट बेंसी (तीनपाटन)मा झरेको थियो। कुनै राजाले आफ्नी छोरीलाई दाइजो दिएको थियो रे तीनवटा पाटन। यी पाटनहरूमा एउटा गौमती नदीको फाँट रे। गौमतीको फाँटलाई हिजोआज सिन्धुली माडी नामले चिनिन्छ। दोस्रो पाटन कमला नदी वारिपारिको फाँट रे। कमला नदीले बनाएको फाँटलाई हामी कमला खुँज भनेर चिन्दै आएका छौँ। अनि तेस्रो पाटन चाहिँ यही चदाहा खोलाको वारिपारिको फाँट रे; हाम्रो बेसी यही हो; हामी कोटगाउँबाट यही चँदाहा नदीले बनाएको फाँटमा झर्यौँ।
तीनपाटनमा औलोको बिगबिगी हुँदा वरिपरिका डाँडामा रहेका मुङ्रेथाम, कत्लेशिखर, कोटगाउँ, जखनिशिखर, नेपालेशिखर जस्ता ठाउँहरूमा स्थायी घर बनाई बेसीमा खेतीघर वा धन्सार बनाउने चलन थियो। हाम्रो पनि धन्सार थियो। दिनभर बेसीमा खेतको काम गरेर साँझमा बास बस्न शिखरमा जानु पर्दथ्यो। अब त्यसो गर्नु परेन; औलो उन्मूलन भइसकेको थियो। एकातिर औलो उन्मूलन भएपछि यसरी गाउँ बेंसी गरेर जीवन व्यतीत गर्ने आम नेपालीहरूको जीवन सहज भयो भने अर्कोतिर मानवजातिले प्रकृतिमाथि घातक प्रहार पनि सुरु गर्यो। औलोको डर हटेपछि चुरे पर्वत शृङ्खलादेखि दक्षिणतर्फ अवस्थित चारकोसे झाडी धमाधम फाँड्ने काम सुरु भयो; जताततै आगो र धुवाँको मुस्लो देखा पर्न थालेका थिए। झाडी, सेउला, रुखका हाँगाबिँगा र कम गुणस्तरका रुखहरूमा आगो लगाउन पनि थालियो।
अब साल, विजयसाल, सतिसाल, सान्दान, करम जस्ता गुणस्तरीय काठहरू इन्डिया निकासी हुन पनि थाले। जनकपुर–जयनगर रेल्वे बिजलपुरासम्म विस्तार गरियो। यी रेलगाडीहरूले मानिसभन्दा रुख बढी बोक्न थालेका थिए; इन्डियाको भीमनगरदेखि सुनसरीको चक्रघट्टीसम्म चल्ने मालगाडीले ढुङ्गा, गिट्टी, बालुवा त बोक्थे नै; अब रुख टुक्र्याएर बोक्न बढी प्राथमिकतामा राख्न थाले। रक्सौल अमलेखगञ्ज रेलले पनि रुख बोक्न नै बढी प्राथमिकतामा राख्यो; उता महाकाली नदीमा शारदा ब्यारेज तरेर रेल्वे लाइन चुरे घाँचसम्म पुग्यो। हामीले हेर्दाहेर्दै पूर्वपश्चिम राजमार्ग उत्तर चुरे पर्वतसम्मको समथर भाग र कतिपय ठाउँमा दक्षिणतर्फ समेतमा रहेको घना जङ्गल सखाप भएर मानव बस्तीमा परिणत भएको थियो।
जाबो एउटा औलोको लामखुट्टेलाई विनाश गर्दा यति ठुलो उथलपुथल हुन्छ भने हजारौँ स्क्वायर किलोमिटर वन फँडानी गर्दा कति सूक्ष्म किराहरू लोप भए होलान्। कैयौँ वनस्पति तथा जीवजन्तु लोप हुने अवस्थामा पुगे होलान्, कैयौँ किरा फट्याङ्ग्राको जीवन समाप्त भयो होला; कयौँ सर्प, बिच्छी, खजुरा, सालक, ठोटरी जस्ता जीवहरू अनि कयौँ चराचुरुङ्गीहरू लोप भए होलान्; ठुला जीवजन्तु–अर्ना, बाघ, बँदेल, हरिण, मिर्ग, निलगाईहरू कता बिलाए होलान्। अनि यत्रो विनाशको परिणाम हामी मानिस र पर्यावरणका लागि कति घातक र भयानक होला !
जन्मको ठाउँ कोटगाउँबाट तीनपाटन बेसीमा झर्दा म पाँच वर्षमा हिँड्दै थिएँ क्यारे। त्यसपछि निरन्तर पन्ध्र सोह्र वर्षसम्म पढ्ने नाउँमा मैले विभिन्न स्कुल कलेजमा चाहर्नु पर्यो। आफ्नै गाउँमा बस्न पाइनँ। कलेजको पढाइ सकेर म आफ्नै गाउँमा आएँ। गाउँमा आएपछि थाहा भयो– ह्यामेले बिहे गरिसकेछ। सावित्रा दिदीले पनि बिहे गर्नुभएछ। तर दुवैको बिहे फरक किसिमले भएछ। ह्यामेले बेहुलीलाई घरमा भित्र्याएछ, तर सावित्री दिदी चाहिँ सानामा पुतलीको बिहे खेल्दा बेहुली बेहुलो लिन जानुपर्छ भनेर जिद्दी गर्नुहुन्थ्यो, आफ्नै वास्तविक जीवनमा समेत त्यो जिद्दी छोड्नु भएनछ। उहाँले भिनाजुलाई आफ्नै घरमा ल्याएर आनन्दले जीवन बिताइरहनु भएको रहेछ।
एक दिन मैले सावित्रा दिदीलाई यसबारे जिज्ञासा राखेँ। उहाँले हाँस्दै भन्नुभयो— ‘यो कुनै ठुलो कुरो होइन। जे गर्दा समस्या समाधान हुन्छ त्यही गर्ने हो। कसैका छोरी मात्र छन् भने उनीहरूले ज्वाइँलाई बिहे गरेर ल्याउने हो। जसका छोरा छन्; उनीहरूले घरमा बुहारी ल्याउने हो। जस्तोसुकै परे पनि छोरीले अर्काको घरमा जानुपर्छ भन्ने नियम गलत हो।’ उहाँको स्वरमा दृढता पनि मिसिएको थियो।
म बेलुकाको खाना खाएर ओछ्यानमा पल्टिएँ। मनमा अनेक कुराहरू खेल्न थाले मेरो जन्मस्थान कोटगाउँ, मेरा खेल्ने साथीहरू, दिदीहरूले बिँडीको धुवाँलाई डल्लो बनाएर पातमा राखेको, रेशम दिदी र दालचिनी दिदीले सधैँजसो दिने मिश्री र नरिवल अनि सावित्रा दिदीसँग बेहुलाले बेहुली ल्याउने कि बेहुलीले बेहुला ल्याउने भन्ने विषयमा भएको मतमतान्तर, दिदीको जिद्दी र मेरो असहमति, कोटगाउँ र तीनपाटनका बारेमा सुनेका कुरा आदि मनमा एकपछि अर्को गर्दै आइरहे र आज राति निकैबेरसम्म मलाई निद्रा परेन।
सावित्रा दिदीमा त्यति सानो उमेरमा कसरी आयो होला— पितृसत्ताको मेरुदण्डमै प्रहार गर्ने त्यस्ता कुरा ! समाजमा दिदीले भन्नु भए जस्तै व्यवस्था लागू होला त भन्ने कुरामा पनि आज म अल्झिएँ। मलाई लाग्यो— ‘अहँ, यस्तो हुन सक्दैन।’ फेरि अर्को मनले भन्यो— ‘हरेक सामाजिक कुरीति अन्त्य गर्न कसै न कसैले जिद्दी गरेकै हुनुपर्छ; बालविवाह, सतीप्रथा पनि यसैगरी अन्त्य भएका होलान्।’
फेरि मनमा तर्कना उठ्यो— ‘त्यो त हो तर फेरि सतीप्रथा र बालविवाह जस्तो सामाजिक अपराध जस्तो होइन— विवाहको रीतिथिति।’ फेरि सम्झिएँ— ‘सावित्रा दिदीले भने जस्तो आवश्यकता अनुसार गर्दा भैगयो नि। बेकारको किन टेन्सन लिने !’
मैले निदाउने प्रयत्न गरेँ। तर फेरि सकिनँ। मनमा फेरि यस्तै कुरा खेल्न थाले। समाजमा जसले बढी जिम्मेवारी वहन गर्दछ; उसैको हाइहुकुम चल्छ भन्ने कुरा आयो भने पनि पुरुष तल नै पर्ने जस्तो लाग्यो। किनभने सृष्टि स्थितिलाई निरन्तरता दिन पुरुषभन्दा महिलाको नै दायित्व बढी छ। दश महिनासम्म गर्भमा बोकेर सन्तान जन्माउने, दशधारा दूध खुवाएर हुर्काउने पढाउने लेखाउने र बुद्धिमान नागरिक बनाउने दायित्व त लोग्नेमान्छेको भन्दा बढी स्वास्नीमान्छे कै छ।
त्यसै भएर मानव सभ्यताको सुरुवाती अवस्थामा मातृप्रधान समाज थियो। निजी सम्पत्तिको उदयसँगै मातृसत्ता कमजोर हुँदै गयो र पुरुषहरूको वर्चस्व हाबी हुँदै गयो। तर यो पितृसत्ता नदीको स्वाभाविक गतिलाई बाँध बाँधेर नहरतिर पानी चढाएको जस्तो लाग्यो।
अनि लाग्यो— त्यस बाँधलाई हाम्री सावित्रा दिदी जस्ता जागरूक नारीहरूले बिस्तारै बिस्तारै कोपर्दै जानेछन् र यो युगौँदेखि कायम रहेको पितृसत्तात्मक बाँध भत्किने छ।’
म बाल्यकालका अनेकन् घटनाहरूको सम्झना र मनमा उठ्ने तर्कवितर्कमा जेलिइरहेँ।