साँगा भञ्ज्याङ प्राचीन समयमा काठमाडौँ उपत्यकाको सामरिक महत्त्वको भञ्ज्याङ। काठमाडौँ उपत्यका बाहिरिने तथा भित्रिने ऐतिहासिक भञ्ज्याङ जसले भक्तपुर र काभ्रेपलाञ्चोकलाई जोड्छ।
डाँडाको घरको आँगनमा एकजना महिला कराउँदै यता उता गर्दै थिइन्।
‘लौ न नि बर्बाद पारी यो लाटीले! कसको भुँडी बोकिछ, को होला त्यस्तो पापी! यस्तोलाई भुँडी बोकाउने! थुक्क!’ एकजना महिला भञ्ज्याङको उत्तरतिरको डाँडामा रहेको टिनको घर अगाडि आँगनमा कराइरहेकी थिइन्।
पुस महिनाको दिउँसो, पारिलो घाम लागेको थियो। आँगनमा बिछ्याइएको गुन्द्रीमा बसिरहेकी बोल्न नसक्ने युवती आमा कराएको सुनेर उल्टो रिसाए झैँ गरी आमालाई हेर्दै थिइन्।
‘अझै रिसाउँछस्? तँलाई पख् न सिस्नु पानी लगाउने हो! कसको हो यो भुँडी?’ पेट तिर इशारा गर्दै आमा बोलिन्।
बोल्न नसक्ने युवतीले पनि आमाले जसरी आफ्नै पेट छामिन्। पेट बढेको थियो।
‘कस्को हो?’ आमाले फेरि बोल्न नसक्ने युवतीको पेट तिर इशारा गर्दै सोधिन्।
‘हेँ हेँ’ मात्र गरिन् युवतीले, कसरी बुझ्ने!
‘तलाई पख’ भन्दै आमाले आँगनमा यताउता नाचिएर एउटा सानो लट्ठी लिएर युवतीलाई हिर्काउला जसरी ताकिन्।
युवती झन् रिसाएर आमालाई हेर्न थालेपछि आमाले लौरो आँगनबाट तल्लो बारीमा फालेर युवतीको छेउमा थचक्क बसिन्। एक्कासि रुन पो थालिन्।
‘कसको हो सानी भन् त!’ युवतीको गाला मसार्दै आँसु पुछ्दै आमा।
सानी ‘ह्याँ’ गरेर ङिच्च दाँत देखाउँदै हाँस्दै आफ्नो पेट छामिन्।
‘यसलाई त माया गरेर सोध्दा नि भन्दिन! पख! तेरो ठुलोबालाई बोलाएर ल्याउँछु, ठुलो बा ले तलाई सिस्नो पानी लगाउँछन्’ भन्दै आमा आँगनबाट ओरालो लागिन्।
सानी उठेर ‘ह्याँ ह्याँ’ गर्दै आमालाई रोक्ने प्रयास गरिन्। आमा रोकिइनन्।
सानीको बुबा गाउँको सामान्य किसान। सानीको ठुलोबुबा नजिकै रहेको एउटा बोर्डिङ स्कुलमा घण्टी बजाउने काम गर्दथे। महिनावारी तलब बुझ्ने हुनाले परिवारमा सानीको ठुलोबुवाको प्रभाव थियो। सानी पनि ठुलोबुवासँग एक प्रकारले डराउने गर्थिन्। आँगनको डिलसम्म पुगी फर्केर गुन्द्रीमै आई बसिन्।
एकैछिनमा सानीको ठुलोबुवा, बुवा र ठुलीआमा आँगनमा जम्मा भइहाले। सबैले सानीलाई हेरे।
‘कुन पापी होला’ भन्दै पेट देखेर ठुलोबुवा आँगनको डिलमा थचक्क बसे।
‘के भन्छे यसले? कस्को हो रे?’ ठुलोबुवाको छेउमा बस्दै सानीको बुवा बोले।
‘के भन्ने? हेँ हेँ मात्र गर्छे, आफ्नो पेट छामेर हाँस्छे, बुझे पो!’ सानीकी आमाले भनिन्।
‘छोरी सानी, भन् त कसको बच्चा हो यो तेरो पेटमा?’ नरम भएर सानीकी ठुलीआमा।
‘हेँ हेँ’ गर्दै हाँस्दै लजाउँदै आफ्नो अनुहारमा जुँगा पालेको मान्छे जस्तो देखाए जसरी अनुहारमा हातले जुँगा बनाइन्।
‘जुँगा पालेको मान्छे भन्छ!’ ठुलीआमाले ठुलोबुवा र सानीको बुवा तिर हेर्दै भनिन्।
‘को जुँगा पालेको? अब कहाँ खोज्न जाने जुँगा पालेको मान्छे’ भन्दै ठुलोबुवा जुरुक्क उठेर सानी छेउमा गएर थचक्क बसे।
सानीले ठुलोबुवालाई फेरि जुँगा पालेको मान्छे बन्दै हातले आफ्नो अनुहारमा जुँगाको इशारा गरिन्। सबैले एक अर्काको अनुहार हेर्न थाले। कसैको अनुहारमा उत्तर थिएन।
एकैछिनमा तल्लो घर माथिल्लो घरमा मान्छेहरू जम्मा भए। कोहीसँग उत्तर हुने कुरै भएन। सानीले जुँगा पालेको मान्छे भनेर मात्र इशारा गरेकी थिइन्। उनको पेटमा भएको बच्चाको बाउ जुँगा पालेकै मान्छे हो भनेर समेत यकिन गर्न सक्ने अवस्था भएन।
सानी जन्मजात बोल्न नसक्ने भएर जन्मिइन्। गाउँमा सबैले लाटी भन्ने गर्थे। बिस्तारै ठुली हुँदै गएपछि सानीको पाँच थान बाख्रा हेर्ने काम भयो। उनी घरबाट बाहिर जाने भनेको त्यही बाख्रा हेर्न थियो। सानीसँग उनकै भाषामा वार्तालाप गर्न सक्ने क्षमता गाउँमा कसैको थिएन।
समय रोकिएन, रोकिँदैन।
अन्दाजी तीन महिनापछि सानीको छोरा पो जन्मियो। सानी आफैँ बोल्न नसक्ने, आफ्नै स्याहार गर्न नसक्ने। उनी अब आमा भइन्, आमा जो आफ्ना सन्तानको सम्पूर्ण जिम्मेवारीको भारी बोक्छिन्। सबै सानीको आमाले गर्नु पर्थ्यो। सानीको दूध भने आयो, बच्चालाई दूध खुवाउन समस्या भएन।
‘छ दिन भइसक्यो! एघार दिनमा न्वारन गर्नुपर्छ, बाउ नै खुलेछैन कसरी गर्ने?’ एक साँझ अगेनाको छेउमा बसेका सानीको बुवाले भने।
‘त्यही त के गर्ने होला? कोही खोज्न पर्ला दुखी गरिब! के गर्ने त अरू उपाय छैन, बाउ भएन भने त पण्डितले मान्दैन न्वारन गर्न,’ बोर्डिङ स्कुलमा घण्टी बजाउने सानीको ठुलोबुवा बोले।
नवौँ दिनमा सानीको ठुलोबुवा गाउँमा देखिएनन्। भोलिपल्ट दशौँ दिनको साँझ टुप्लुक्क एकजना झुत्रे मान्छे लिएर आइपुगे।
‘ल कान्छा! उता धुलिखेल पारिको गाउँबाट खोजेर ल्याएको! तँसित त के पैसा होस्, मैले यसलाई अलिअलि पैसा दिएको छु, यसैको बच्चा भन्ने अब, न्वारन त्यसरी नै गर्ने!’ पिँढीमा बस्दै ठुलोबुवाले भने।
केही नबोल्ने हेर्दा लाटो न बाठो जस्तो मान्छे। ह्वास्सै रक्सी गन्हाउने मान्छे सानीको बच्चाको बुवा हुने भयो।
सोही अनुसार न्वारन गरियो। नाम ह बाट आउने भयो। हर्क बहादुर राखियो। न्वारन सकिएर न्वारनको लागि ल्याइएको हर्क बहादुरको भनिएको बुवालाई बिदा गरियो।
सानीकी आमा मेलापात गर्न यताउता जानु पर्ने हुन्थ्यो। सधैँभरि हर्क बहादुरले स्याहार पाएन। मेलापातमा फर्किँदा कहिले पिसाब फेरेर, कहिले दिसा गरेर थाङ्ना भिजाएको हुन्थ्यो।
खोइ! कति समय हर्क बहादुर चिसोमै पल्टिएको हुन्थ्यो!
एक दिन आमा घाँस लिएर आउँदा हर्क बहादुर त पिँढीमा सुताएकोमा पिँढीबाट घस्रिएछ कि के गरी हो आँगनमा खसेछ। हर्क बहादुरको आमा सानीलाई यता उता हेरिन्, थिइनन्। हर्क बहादुरको आँखा गालामा आँसुका टाटाहरू बसेका थिए। शायद हर्क बहादुर रुँदा-रुँदा थाकेर रुन बन्द गरेको थियो।
हर्क बहादुरलाई उठाएर पिँढीमा राखिदिइन्। पिसाब फेरेको थाङ्ना फेरिदिएर फेरि पिँढीमा सुताएर गोठतिर जाँदा त सानी, हर्क बहादुरको आमा त बाख्रासँग पो खेल्दै रहेछिन्।
आमाले केही भनिनन्। आँखाबाट अनायासै आँसु बग्यो। कसैले देखेन।
हर्क बहादुर घस्रिन सुरु गर्यो, हिँड्न सुरु गर्यो, बोल्न सुरु गर्यो। उसले बोलेको सुन्दा सानीको बुवा-आमाका परेलीहरू फेरि रसाए। बोल्दैन कि भनी कुरा गरी राख्थे। आखिर हर्क बहादुर अरू जस्तै बोल्ने भएर निस्कियो।
बोर्डिङ स्कुलमा घण्टी बजाउने सानीको ठुलोबुवाले नजिकै रहेको सरकारी विद्यालयमा हर्क बहादुरलाई भर्ना गरिदिए। सानीको छोरा आकाशे रङको कमिज, गाढा निलो पेन्ट र चप्पल लगाएर विद्यालय जान लाग्यो।
‘आ...आ’ गर्दै ङिच्च हाँस्थिन् सानी छोरा स्कुल गएको देखेर। कहिलेकाहीँ पछ्याउने गर्थिन्। आमाबुवाले तानेर घरमा राख्नु पर्ने। शायद सानीलाई खुब रमाइलो लाग्थ्यो उसको छोरा हर्क बहादुर विद्यालयको पोशाकमा सजिएर गएको।
बिदाको दिन हर्क बहादुरको काम उसको आमाले हेर्ने गरेको बाख्रा हेर्ने हुन थाल्यो।
नजिकै रहेको बोर्डिङ स्कुलको कम्पाउन्ड ठुलो थियो। घाँस भएका चउरहरू थिए। हर्क बहादुरले बाख्रा त्यहीँ लैजान्थ्यो। त्यहीँ लग्नु पछाडि अर्को कारण पनि थियो। बोर्डिङ स्कुलको होस्टलमा बसेका विद्यार्थीहरूले उसलाई फुटबल खेल्न दिने गर्थे। बोर्डिङ स्कुलका विद्यार्थीहरूले उसको नाम हर्क बहादुरबाट ‘हर्क्युलस’ राखिदिएका थिए। हर्क बहादुरलाई पनि हर्के भन्दा हर्क्युलस नाम नै ठिक लागेको थियो, हर्क्युलस भन्दा मक्ख पर्ने गर्थ्यो।
कहाँको जुपिटर र अल्कमेनाको छोरा ग्रीक नायक हर्क्युलस कहाँको सानीको छोरा हर्क्युलस भनिने हर्क बहादुर।
बोर्डिङ स्कुलको होस्टेलको कक्षा १० मा पढ्ने आशिष र हर्क्युलसको मन खुब मिल्ने। हर्क्युलसले आफ्नो बारीको हरियो केराउ धेरै पटक आशिषलाई ल्याइदिने गर्थ्यो। आशिषले फुटबल खेल्न दिने गर्थ्यो। हर्क्युलसले खाली खुट्टा फुटबल खेल्दा खेल्दै कति पटक बाख्रा अरूको बारीमा पसेर बाली खाइदिएको थियो। उसकै विद्यालयमा घण्टी बजाउने बाजेको नाति भएको, आमा बोल्न नसक्ने भएकी र बाउको ठेगान नभएकोले पनि होला आशिषलाई हर्क्युलसको झन् धेरै माया लाग्यो।
पृथ्वी कहाँ रोकिन्छ र सूर्यको परिक्रमा गर्न!
जुन दिन रोकिनेछ, सबै रोकिनेछ, सकिनेछ!
१२ वर्षपछि आशिष फेरि उसको बोर्डिङ स्कुलको होस्टेल गयो। हर्क्युलसको घण्टी बाजे वृद्ध भएर स्कुलमा काम गर्न छोडिसकेका रहेछन्। आशिष सोध्दै घण्टी बाजेको घर पुग्यो।
‘बाजे म १२ वर्ष अगाडि तलको बोर्डिङ स्कुलबाट एसएलसी दिएर गएको! हजुरले त काम छोडिसक्नु भएछ, हजुरको नाति थियो नि हर्क बहादुर?’ आँगनमा बसिरहेका वृद्ध भइसकेका घण्टी बाजे।
‘हँ...!’ कान नसुन्ने इशारा गरे घण्टी बाजेले।
आशिषले नजिकै गई ठुलो आवाजमा फेरि सोही कुरा दोहोर्यायो। बल्ल दाँत नभएको गिजा देखाउँदै ङिच्च हाँसे घण्टी बाजे। हाँस्दा हाँस्दै मज्जाले खोके।
‘आ... हर्के त त्यही पारिको स्कुलमा पढ्यो क्यारे... नौ कक्षासम्म पढ्यो, त्यसपछि पढ्न सकेन, त्यो दुखी बालखाले के पढोस् बाबु! पछि नागरिकता बनाएर साउदी गयो’ मुसुक्क हाँसे घण्टी बाजे।
‘राम्रो गर्यो त्यसले, दुख चिनेको थ्यो! पैसा पनि कमायो! अहिले त यहाँ बस्दैन, खै त्यसलाई यहाँ बस्न किन मन भएन कुनी! गाउँले सबैले तेरो बाउ खै भनेर नबोले पनि आँखाले सोधे जस्तो लाग्छ रे त्यसलाई! अहिले त काठमाडौँ बस्छ, आमालाई नि उतै लिएर गाछ... .मेरी छोरी सानीले नि सुख पाछ अहिले, सहरमा बस्छे, छोरा हर्के सित,’ डाँडाबाट धमिलो देखिने भक्तपुर सहरतिर हेर्दै घण्टी बाजे बोले।
‘लाऊ! चा....’ बुढी आमाले दुई वटा स्टिलको ग्लासका चिया दिइन्।
घण्टी बाजेसँगै आशिषले पनि धमिलो देखिने भक्तपुर तिर हेर्दै चिया पिउन लागे। दूध कम थियो, चिनी अलि धेरै राखिएको थियो तर पनि आशिषलाई खुब मिठो लाग्यो, चिया।
आशिषलाई भक्तपुर, काठमाडौँ सहर धुवाँ धुलोले धमिलो देखिएता पनि किन-किन सुन्दर लाग्यो।