हिजो
गरिबको चुल्हो निभ्दा रोइरहने छोरो
आमाको काँधमा टाउको राखेर
न्यायका गीत गाउँथ्यो।
आज त्यही छोरोको
विशाल नाम छ
ठुलो पद छ
छोराको फोटोहरू भित्ताभरि
आमाभन्दा माथि टाँगिएका छन्।
ऊ आमामाथि नै औँला उठाउँदै छ
भनिरहेछ-
हाम्री आमाले छिमेकीलाई दुःख दिइन्
आमाले सिमाना नाघिन्।
आमा स्तब्ध छिन्
छोराका शब्दहरू नै ढुंगा बनेर
आमाको छातीमा बज्रिरहेछ।
आमा रोइरहेकी छिन्
आमाको आँखाबाट बगेका ती आँसुहरू
इतिहासका आँसु
माटोका आँसु
यो देशको आँसु हो।
उता छिमेकीहरू
ढोल बजाउँदै नाचिरहेका छन्
आमाको पीडामा उत्सव मनाइरहेका छन्।
र समयको चोकमा उभिएर
हावाले बिस्तारै उत्तर दिँदै छ
आमा कहिल्यै हार्दिनन्
हार्ने त ती सन्तान हुन्
जसले आफ्नो उचाइ मापन गर्दा
आमाको कद नै होच्याउन खोज्छन्।