ऊ भुइँमान्छे भएर जन्मियो
यो भूमिको सच्चा भक्त बनेर जिउने
सपना देख्न थाल्यो,
ऊ भुइँमान्छे,
प्रकृतिले सबै कुरामा अब्बल बनाएर
जन्माएको भएता पनि
एक समय जो जीवनको निर्णायक
समयको कालो चक्रमा फस्यो!
जीवनको आधार स्तम्भको रूपमा रहेको
यौवन अवस्था वा तरुण अवस्थामा
ऊ नराम्रोसँग बजारियो,
उसको निम्ति बोलिदिने एउटा
आवाज बाँकी रहेछ,
जीवनको भारले यति नराम्ररी थिच्यो कि
ऊ अध्ययनमा तेज भएर
कर्मशील भएर विवेकशील
भएर पनि आफ्नो सास धान्न
समयको बन्दी बन्यो।
त्यस समय बाँच्नु नै ठुलो चुनौती भयो
र
उसले चाहर्नु पर्यो अनगिन्ती
अपरिचित गोरेटो
हात जोडी ईश्वर पुकारिरहँदा
एक दिन भेटियो एउटा
मालिकको दैलो
ऊ खुसी भयो, सुन्दर सपना बुन्यो
वर्षौँ कैद भयो नियतिको कठघरामा
धेरै शिशिर वसन्त आए गए
उसको बाँच्ने अभीष्ट पूरा भयो
तर एक समय आयो,
उसले आफ्नो कैदको घेरामा
उमेर सकिन आँटेको
उसलाई महसुस भयो जीवन थाक्न
थालेको र उसले मालिकलाई
बिन्ती बिसायो
थोरै सुविधा थप गरिदिन
उसको मालिकको दुष्टता त्यही दिनबाट
उसले राम्ररी देख्न पायो!
उसले खान पायो होला भोकको आहारा
तर कहिल्यै चाख्न पनि पाएन
ममताको एक थोपा
ऊ समुद्रभित्र नै थियो
तर इमानदारिताको तक्मा भिरेर
ऊ सच्चा सेवक बन्ने दौडमा
सदैव दिएको आधा अँजुलीमै
खुसी भयो!
वर्षौँ बित्यो
सयौँ आन्दोलन
त दसौँ पटक संविधान
एवम् सत्ता फेरियो
आज उसको
कपाल फुल्न आँटेको बेला
उसका मोबाइल टिभीहरूमा
बज्न थाले एकनासले बजेटका भाषण
बच्चा, युवादेखि वृद्ध सम्मका
निमित्त बजेट आएछन्
उसले दिनहुँ भेट्ने आफन्त कर्मचारी
जो देशको सेवा गरेको गफ
लगाउने र तलब कम भएको कुरा
दैनिक नै सुनाउने गर्थ्यो
त्यो राष्ट्रसेवक पनि
मुस्कानको झोला लिएर आफ्नो
निवास भित्र पस्यो
तर
यो कुनै मालिकको सेवामा जीवन
सकाएको प्राणी
जेहेन्दार भएर पनि समयमा
उसको जीवनको दीप निभेकोले
सरकारी सेवामा प्रवेश गर्न नसकेको योद्धा
आज एकोहोरो सोचिरहेछ
ऊ वास्तवमा देशको लागि
को हो?
न कहिले सीमा कटेर बाहिर गाको छ,
न आफ्नो कर्ममा इमान बेचेको छ
तर पनि ऊ आज निरीह छ
ऊ आज निरीह छ,
देशभरि उमंगको बर्सात आउँदा
समेत ऊ क्षितिज पारिको घाम सरी
पर बनेको छ
आफ्नैले एक पटक आफ्नो नसोचेर
दासत्वमा आफूलाई समाहित
गरेर जीवन धानेको ऊ आज
बेकारको भएको छ
अझ ऊ त त्यो देशको मान्छेको
पनि एक दर्जा माथिको पुरुष मान्छे
अझै मारमा त
त्यो निरीह पुरुषलाई
भात पकाइरहेकी स्त्रीको जीवन पो
परेको रहेछ
जो अत्यन्त कर्म, ज्ञान र इमानमा
अब्बल भएर पनि घर नभएको
जात नभएको र अस्तित्व पनि
नभएको निर्जीव आकृति बनिरहेको छे
न बालक न युवा न वृद्ध
न कर्मचारी भएर केही सुविधा पाएकी छे
किनकि ऊ फुल्नु अगावै
नियतिले निमोठिएकी पात्र
ऊ आफ्नैले पर सारिएकी पात्र
उसको कुनै देश छैन, कुनै भेष छैन,
तर थाहा भएदेखि उसको
एक थोपा आँसु र पसिना नबगाई
एक गाँस खाएकी छैन,
सिरानी नभिजाई एक रात
निदाएकी छैन,
हो, प्राइभेटमा जागिर गरी
जीवन सक्काएको भुइँमान्छे
आज उसको देशमा
बजेट विनियोजन भयो रे।