आमा तिमी शून्यतामा
आभास दिन सक्ने
एउटा कंकालसरि
झुटो हाँसोलाई सहारा बनाउन
बाध्य बनाउने समाजको अगाडि
नभनेर, नकहेर नै
हृदयको वेदना पढ्न सक्ने!
सारा संसारले उडाउने छ
असफलतामा खिल्ली,
कमजोर बखतमा भन्ने छ नालायक,
गल्तीमा घोल्नेछ विषको प्याला,
आपतमा बोल्नेछ
तिक्त वाणी,
घाउमा भन्नेछ अभिनय,
दुखमा भन्नेछ पुर्पुरोको भाग,
गहिराइमा डुबेको बेला
थप्नेछ माथिबाट कुलेसो,
उराठ गरामा पानी
लगाउने बेला पुर्नेछ र आफूतिर
फर्काउनेछ त्यही कुलो,
औँसीको बेला निस्पट्ट अँध्यारोमा
लुकाउनेछ हातमा बोकेको लाल्टिन,
अनि म भुइँमा बज्रिएपछि
छेउमा आएर भन्नेछ चोट त लागेन
वा तिम्रो पैतालाले हिँड्न जानेन,
पीडाले मुर्छित हुँदा बोल्नेछ
कस्तो जन्म खोटी,
पाइला चाल्दा देख्नेछ
पुनः पाउमा दोषी,
बाल्यकालमा देख्नेछ जन्म नै खोटी,
किशोरावस्थामा भन्नेछ सम्पत्ति छैन
भ्रष्ट हुनसक्छ मति,
जब म टेक्छु स्वावलम्बनको
त्यो गोरेटो जहाँ आमा तिमीले
वर्षौँदेखि आफैँ टुहुरो भएर पनि
हामीलाई एक्लो नबनाउन
कत्रो युद्धमा सामेल भयौ,
आफ्नै दैलोभित्र कत्रो
घना सागरमा चुर्लुम्म डुब्यौ,
अभाव, व्यथा, वेदना,
अपमान, हीनताबोध गराउने
असंख्य त्यो पीडाका घाउ,
लुकायौ एउटा छातीभित्र
हाम्रो खातिर धैर्यता, त्याग र
सहनशीलताको बलमा
पलपल आफ्नो एउटा प्राण कयौँ पटक
समाजको कोसे ढुङ्गा अनि
बाध्यतामा आफ्नो बनेका पात्रका
सीमाहीन ती आर्तनादहरू
एउटा सिरानीमा बिसाएर पुनः
हाम्रो निमित्त हरबखत मुस्कुराई
सेवा गरिरह्यौ,
जुगौँ जुगलाई
हृदयको कुनामा ममताको
सागर खाँड गर्यौ,
मेरो शान्ति, शिखरमा पुग्ने गन्तव्यसम्मको
निमित्त हर साँझको बत्तीमा प्रार्थना
गर्न कहिले भुलिनौ,
फेरि आफ्नो मुटुको टुक्रालाई
चम्किलो ज्योति बनाई आफ्नो
अँध्यारो बेलामा एक्लै घिस्रिन
तयार भई अर्काको,
कहिले नचिनेको अनकन्टार
भूमिमा चम्किनको निमित्त
दान गर्यौ,
पुनः आफूलाई शून्यतामै
समाहित गर्यौ,
त्यसैले आमा अब यो जुनीमा
तिम्रो अँध्यारो अवस्था र कमजोर
बेलाको साक्षी बस्ने रहर
समयपूर्व नै खोसिएकोले
म आफ्नो जीवन पछिका
सयौँ जुनी सम्मलाई
ती बाल्यकालका सुनौला
दिन सम्झेर यो जीवित रहेर पनि
अस्तित्वहीन गराउने रङ्गमञ्चबाट
बिदा लिँदै गर्दा निसंकोच
सृष्टिकर्तासँग बाचा गर्दछु कि
तिमी धर्तीमा रहँदा मेरो उमेरसम्म लागोस्,
शान्तिको धुनले तिम्रो त्यो
कोमल आत्मा सदैव खुसीले भरियोस्
निस्वार्थ तिम्रो पवित्र अँजुलीभरि
ईश्वरको कृपाले सन्तोषका गुच्छा बर्सियोस्।