प्रिय पत्र-प्रापक,
अरू के भनी सम्बोधन गर्नु र तिमीलाई? ‘दाइ’ भनी सम्बोधन गर्नेलाई ‘बहिनी’ भनूँ भने त्यो सम्बोधनमा दूरीको आभास हुन्छ, नभनूँ भने तिमीले छोडेको त्यो स्नेही शब्द अधुरो लाग्छ। तिम्रै सम्बोधनको निम्ति त्योभन्दा पनि अझै पवित्र, अझै प्रस्ट शब्द खोजिरहेछु।
भर्खरैजस्तो लाग्छ, ओठ कँपाउँदै केही भन्न खोज्दै थिएँ, त्यत्तिकैमा तिमी झर्ने घडी आइपुग्यो। झर्दै गर्दा गलामा सुरिलो स्वर र अधरमा मिठो मुस्कान भरेर हृदयमा तरङ्ग मच्चाउने गरी ‘चिठी लेख्न नबिर्सनू है दाइ’ नभनेको भए पनि हुने तिमीले। त्यही अधुरो सम्बोधनको कर्तव्य सम्झेर व्यथित छु। बिर्सन नसकेरै लेख्दै छु यो चिठी।
***
बबरमहलबाट पूर्वतिरको लागि छुट्ने त्यो गाडीमा अन्तिम यात्री थियौ तिमी।
बसका यात्रीहरूको एकै स्वरले 'लक्ष्मी छुटी! लक्ष्मी छुटी!' को कोरसले गुड्नै थालेको गाडी अचानक रोकिँदा मेरो मनमा कौतूहलको तरङ्ग उठेको थियो, को होलिन् ती ‘लक्ष्मी’ नामकी अपरिहार्य यात्री जसको प्रतीक्षा यति धेरै भएको छ?
चालक रामले हर्नले बोलाएपछि सहचालक टोम बसको ढोकामा उक्लिए।
मेरा नजर पनि ढोकामा बसको ढोकामा केन्द्रित हुन पुगे। ढोकाबाट टोम सरिदिएपछि त्यस ठाउँमा एक युवतीको सुन्दर चित्र टाँसिएको थियो। बुलबुले कपाल, कपालमाथि अड्याइएको नीलो रङको गगल्स, थोरै तल मंगोलियन अनुहारभित्र एक जोर नीला आँखा, कलेजी रङको अधरमा मिठो मुस्कान, सुन्तला रङको टिसर्ट, नीलो ट्राउजर, एक हातमा पहेँलो ह्याट, पिठ्युँमा नीलै रुकस्याक। त्यो चित्रको सुन्दरता कल्पनातीत थियो।
मैले हेर्दा हेर्दै त्यो चित्र चलमलायो र नतमस्तक हुँदै जम्लाहात जोड्यो। म जिल्ल परेँ। कस्तो अद्भुत दृश्य! सबै यात्रुबसमा नारीले जम्लाहात जोडिरहेको चित्र देख्दै आएको थिएँ। यस यात्रुबसमा किन यत्रो भिन्नता?
फिल्मको हिरोनी पहिलो पटक पर्दामा देखिँदा हुने दर्शकहरूको हुटिङसहितको हलचलजस्तै, बसभित्र पनि तिम्रो आगमनले हलचल मच्चायो- 'ल ल, आइहालिन्। ढोकामै आइपुगिन् लक्ष्मी।'
यात्रीहरूका नजर तिमी टाँसिएको ढोका तिरै डोरिएपछि मेरो मनले पनि नजर उठाउनू कि नउठाउनू?
तिमी गाडीभित्र पस्दा सबैका आँखा तिम्रो वदनमै टाँसिएका थिए। ‘लक्ष्मी’ कोसँग बस्छिन् होली भनेर सबै चुपचाप प्रतीक्षा गर्दै थिए। बसका आधाभन्दा सिटहरू भरिइसकेका थिए, केहीले तिमी छेउमै बस्न सक्ने आशामा आफूछेउको सिट खाली गराइसकेका थिए। बबरमहलबाट गाडी कुन बेला छुट्यो र कुन ठाउँ पुग्यो कसैलाई हेक्कै रहेन।
ढोकासँगै सुन्दर बसेका थिए र सुन्दरसँग तुलसी थिए। अघिल्तिर सबै बुढापाका मात्र थिए। उनीहरूले तिम्रो नमस्कार मात्र खान पाए। पछिल्तिर सुवास, महेश र चन्द्र एक्लै थिए। ठिक बिचमा राजेश्वर र म थियौँ। सबैलाई नमस्कारको औपचारिकतामा चित्त बुझाउन बाध्य पार्यौ र सुकुमारहरूलाई समेत परवाह नगरेर कुमारीछेउको खाली सिटलाई रोज्यौ। कुमारी हाम्रो ठिक अगाडिको सिटमा बसेकी हुँदा अघिल्लो सिटको हरेक गतिविधि सन्निकटबाट नियाल्न मैले सुविधा पाएको थिएँ। तिमीले लामो यात्रामा सँगिनी रोज्नु अस्वाभाविक थिएन, तर मलाई कता कता अस्वाभाविक जस्तो लाग्यो।
तिमी धेरै बेरसम्म चुपचाप बस्यौ। हुनसक्छ ढिला आइपुग्नुको भरभराउँदो आत्मग्लानि तिमीभित्र सेलाइसकेको थिएन। हुनसक्छ, नायिकाको भूमिका गम्भीर, शान्त तर बलशाली देखिने अभिनय गर्नुपर्छ भन्ने ठान्यौ तिमीले।
जब महेश र कुमारी एउटै कलेजका सहपाठी हुन् भन्ने भेद खुल्यो, त्यसपछि कुमारीसँगको तिम्रो साथ कमजोर हुन पुग्यो। कुमारी उठेर जब महेशलाई साथ दिन हतारिइन्, तिमी एक्लियौ। तिमीले कुमारीलाई नउठ भन्न पनि सकिनौ, आफैसँग बसिराख पनि भन्न सकिनौ।
महेशले कुमारीको अगाडि आफ्नो कलेज लाइफका प्रेमिल सहसम्बन्धका प्रमाणहरू जुटाउने क्रममा कुमारीसँगको युवाकालीन रोमाञ्चक अतीतलाई एकएक गरी कोट्याउन थाले। सबैको ध्यान उनीहरूकै स्मृतिमा खिँचिए। तिमी दुरुस्तै त्यस्तै आफ्नै अतीतमा हरायौ होला, त्यो मैले पढ्न सकिनँ।
***
हाम्रो यात्रा नसकिँदै तिम्रो यात्रा सकिँदै थियो। झर्दै गर्दा तिमीले भनेकी थियौ, ‘मेरो मन यतैकतै छुटेको छ।’ हराएको मन खोज्न त्यहाँ न सर्त राख्यौ, न सीमा तोक्यौ। आफ्नै वय वरपरकाले मात्र खोज्न पाउनुपर्छ भनिनौ। 'चिठी पठाउनू' त भन्यौ तर चिठीसँगै हराएको मन पठाइदिनू भनिनौ। तिम्रो मन छुट्दा तिम्रो समीपमा को थियो भनी ख्यालसम्म गरिनौ।
तसर्थ यतै छुटेको तिम्रो मन मैले खोज्नू कि नखोज्नू? त्यो बहुमूल्य मन टिपेर हृदयको थैलीको कुनामा कसले लुकायो होला भनी शङ्का गर्नू कि नगर्नू? तिम्रो हराएको मन खोज्नलाई म स्वयम पनि हराउनू कि नहराउनू? खोज्ने क्रममा म आफैँ हराइगएँ भने तिमीले त्यसको जिम्मेवारी लिनू कि नलिनू?
रहरको अनुहार छाम्दा छाम्दै आफैँभित्र हराइजानेलाई खोजेर फेरि नहराउने गरी बन्धनमा राख्नू कि फुकाफाल छोडिदिनू?
***
हराउनमा त कृष्णराज नै अगाडि देखिए। गाडीबाट झर्यो कि हरायो। उनी आफ्नै सिटमा बसी बसी पनि हराइरहेका थिए। केदारमान व्यथितको चस्मा हराएको प्रसङ्ग झिकेर अशेष पनि अतीतमा हराएका थिए। मोमी अघिल्लो सिटमा तारासँग बसिदिँदा राजेश्वर पछाडि हराइरहेका थिए। विमल आफ्नी अर्धाङ्गिनी अनीसँग नारिएर बसे पनि उनको आधा मन पनि अतीतमै हराएको देखिन्थ्यो। सुन्दर र तुलसी गाडीमा चढ्नु पहिल्यै शरीरलाई मात्र सिटमा छोडेर आफू बेपत्ता थिए। त्यति लामो यात्रामा उनीहरूको प्रगाढ मौनता हेर्न लायक थियो। मोमी र तारा यात्रा व्यवस्थापनमै हराइरहेका थिए। मणि र जयदेव घरी अशेषतिरबाट हराएर महेशकहाँ भेटिन्थे भने घरी महेशबाट हराएर विमलकहाँ भेटिन्थे। सबै सबै हराइरहेको बेला म स्वयम् पनि हराउनू कि नहराउनू?
तर तिमीले त चिठी लेख्नु है दाइ भनी हराइरहेका सबैलाई एकै ठाउँमा ल्याइदिएकी थियौ। सबै एकत्रित भइसक्दा पनि म पनि एकाकार हुनू कि नहुनू?
परन्तु दाइ सम्बोधन सबैको साझा थियो। अपितु वीरेन्द्र र सुवासहरू भाइ भन्न लायक थिए। तिम्रो वयभन्दा केही माथि तर आधा शताब्दी वयभन्दा तलैका लक्ष्मण, चन्द्र, मुकुन्द, जयदेव र मणि पनि थिए दाइ भनिन लायक।
तिमीले त झन्डै दोब्बर उमेरका अशेष, विमल, राजेश्वर र कृष्णराजलाई पनि बारम्बार दाइ सम्बोधन गरिरहेकी थियौ। सुन्दर र तुल्सीले तिम्रो सम्बोधन सुन्ने अवस्थामा थिएनन्। मोमी, तारा, अनी, कुमारी दिदीहरू थिए। लक्ष्मण, चन्द्र र मणिको आसपासमा रहेको म बबुरोले त्यो 'दाइ' सम्बोधन मेरो लागि पनि हो भनी मैले विश्वास गर्नू कि नगर्नू?
***
हो, यतिखेर वाचाल महेश हुँदा हुन् त सम्बोधन आफैप्रति लक्षित ठानी तिमी नझर्दै यो पत्रभन्दा सशक्त पत्र झारिसक्थे होलान्। महेशले त्यसो गर्दा हुन् त तिमी नहराउँदै कुमारीको मन हराइसक्थ्यो। कुमारी महेशमा हराउनु र महेश कुमारीमा हराउनुको त्यो रोमाञ्चकता शब्दमा पनि व्यक्त गर्न सकिँदैन।
तिमीले कविता वाचन गर्न थाल्यौ, म तिम्रो कवितामा हराएँ। तिमीले कविताका शब्दहरू फुकाउँदा म शब्दभित्रै पसेँ। तिमीले आफ्नै भावलहरीमा हरायौ, म तिम्रै स्वरभित्र बिलाएँ।
सहरको अनियन्त्रित भीडबाट भागेर मेरो गाउँमा आइपुगेको पाहुनालाई सबैबाट भागी हिँड्ने समय चौतारीमै कुरिरहन्छ भने त्यो चौतारीमा म बसूँ कि उठूँ? यात्राको एउटा शृङ्खलाबाट विशृङ्खलित हुने यात्रीलाई फेरि शृङ्खलामा ल्याउनू कि यत्तिकै छोड्नू?
सल्लेरीबाट फर्कँदा कुमारी कति चिन्तित देखिन्थिन्! उनको चिन्ता तिमीलाई थाहा थियो। हिजोसम्म अनेकौँ प्रमाण पेस गर्छु भन्ने महेशले कुमारीलाई खबरै नगरी सल्लेरीमा हराएर आफ्नो प्रमाण आफै नष्ट गरेका थिए! सिर्जनामा मात्र लाग्नुपर्ने महेश विशृङ्खलित भएपछि कुमारी पनि विशृङ्खलित हुनू कि महेशलाई कुरेर शृङ्खलामै अडिरहनू?
तिमीले बाटोमा देख्यौ नि, रोसी विशृङ्खलित भएर आफ्नै किनारा भताभुङ्ग पार्यो र अन्तमा नियमित शृङ्खलामा आइपुग्यो। मूलकोटको माथि सडकको भित्ताभरि टाँगिएका ऐनाहरूलाई विशृङ्खलित गरेर हुरी आफ्नो ठेगानमा आइपुग्यो। ऋतु विशृङ्खलित भएर शिशिरको सुख्खा र खडेरी खन्याई जीव र वनस्पतिमा हाहाकार मच्चाएर वसन्तको शृङ्खलामा आइपुग्यो।
तिम्रो विशृङ्खलित मन एकचोटि शृङ्खलामा आउनेछ भनेर मैले अब विश्वास गर्नू कि नगर्नू? तिमी टाढा टाढा छरिएका सपना टिप्न हराएपछि आघातका कुइनेटाहरूमा टेकेर विश्वासको एक थोपा खोज्न गाउँ पस्नू कि सहर पस्नू? हजारौँ चोटि भत्किएर पनि तिमीले आफूलाई सम्हाल्न नसकेको देखेर रोसी खोलाले आउँदो वर्षामा फेरि आफूलाई सम्हाल्नू कि नसम्हाल्नू?
महेशले वाचा बिर्सिएर हिमालतिर लाग्दा एक्लिएपछि कुमारी पनि सजलतिर लाग्नु कुन ठुलो कुरा भयो र? कुमारीले तिमीलाई छोडेपछि तिमीले कुमारीसँगैको सिट छोडेर आफू नहराउन्जेल मेरै बगलमा बस्नु कुन ठुलो कुरा भयो र?
तिमीले मेरो छेउमा बस्ने बित्तिकै सुमधुर कोकिल कण्ठले गाएकी थियौ- 'बोलाऊँ भने तिमीलाई बात लाग्ने डर, नबोलाऊँ त तिम्रो प्रीतको पाप लाग्ने डर…।' मैले यही गीत गाउन चाहेको थिएँ। मैले यही सुन्न चाहेको थिएँ। मेरो अन्तर्मनले फर्माइस गरेको गीतको बोल तिम्रो अन्तर्मनले कसरी चाल पायो? तिमीले त आफ्नो मन हराएर मेरो मन पो चोरिछौ।
तिमीले गाउँदा यो गीतले जति शीतलता प्रदान गरेको थियो अहिले तिमी नहुँदा यसैले मलाई भतभती पोलिरहेको छ।
तर म भने तिम्रै बिम्बात्मक प्रश्नमा हराइरहेँ। कहाँ गयो होला मकैको खोस्टाको तिम्रो पुतली? कहाँ हरायो होला बनमारा फुलेर चम्किने तिम्रो त्यो बाटो? कहाँ भेटिएला डबकामा जीवनको असली सुगन्ध खोज्ने तिम्रो त्यो बाल्यकाल? कहाँ होला तिम्रो गाउँ जो दुरुस्तै तिमी जस्तै छ पैरोलाई लुकाउने हरियाली जस्तो, डाँडाको मौनता जस्तो, बिर्सिएको चिठी जस्तो।
तिमीले मन छुट्यो भन्थ्यौ तर चिठी पनि त बिर्सिइछौ। कसले लेख्यो होला तिमीलाई त्यो चिठी? तिम्रो हातमा नपारी कसले बिर्सिगयो होला त्यो चिठी? तिमीले बिर्सिएको त्यही चिठीमा नै खामिएको हुनुपर्छ तिम्रो मन। तिमीले मन हराएर खोजिरहेको आफ्नै अनुहार, आफ्नै नाम कस्तो होला? सायद यहीँ कतै फेरि भेटिनेछ भनी मैले खोज्नू कि नखोज्नू? मैले त्यो चिठी फेला पारिनँ भनेर अर्को चिठी तिमीलाई लेख्नू कि नलेख्नू?
तिमी गीतकी सौखिन रहिछौ। समूहमा गीत गाउनको निम्ति तिमी ठिक पछाडिको सिटमा सरिदियौ। तिमीसँगको मेरो झिनो दूरी पनि समाप्त हुन पुग्यो। अब तिम्रो मिठो स्पर्शको निम्ति मैले गाडीसँग हल्लिनुपरेन। तिमी पुराना गीतहरूमा हराइरहेकी थियौ। अशेष, विमल, जयदेव र मणिहरूले फर्माइस गर्थे गीतका मार्मिक बोलहरू। तिमीले दुरुस्तै स्वरमा एक अन्तरा पनि अन्तर नपारी मिठो कण्ठले गुनगुनाउँथ्यौ। तिम्रो सुरिलो कण्ठ र मिठो लयमा बाँकी सबै हराउँदा म हराउनू कि नहराउनू?
सबैभन्दा नजिक म नै थिएँ। तिम्रो मिठो सुगन्ध मलाई नै छोएर अन्त पुग्थ्यो। तिम्रो मिठो स्वर मबाटै तरङ्गित भएर अन्त पुग्थ्यो। तिम्रो त्यो मिठो स्पर्श मैले बाहेक अरूले अनुभूत गर्न सक्तैनथे। तिम्रो अनमोल कला आफ्नै ठान्न थालेँ। तिम्रो सुरिलो गला आफ्नै ठान्न थालेँ। तिम्रो वैभव आफ्नै ठान्न थालेँ। अतः तुलनात्मक रूपमा तिमीबाट अरूभन्दा बढी पाउने सौभाग्यशाली आफैलाई ठान्दै थिएँ।
तिम्रो अर्को गीत थियो- 'यो यात्रा सुनौलो अनि साथ तिम्रो…।' ३ घण्टाको त्यो साथ तिम्रोलागि ३ सेकेन्ड बराबर पनि थिएन, मेरो लागि भने ३ युग बराबर थियो। तिमी नजिक हुँदा समय टक्क अडिएजस्तो लाग्थ्यो। तिमी नै टाढिएपछि मैले त्यो प्राप्तिलाई दोब्बर पार्नू कि नपार्नू?
चालक रामको आदेश नै नभएर सहचालक टोमले अचानक बसको ढोकाबाट त्यो वर्णनातीत चित्र उतारिदिए।
तिमी जसरी अचानक यो यात्रामा आएकी थियौ, त्यसरी नै हरायौ पनि। जब तिमी सन्निकट हुँदा हुँदै हरायौ सबैभन्दा बढी मै एक्लिएँ। जब तिमी साँच्चिकै नै सशरीर हरायौ सबैभन्दा बढी मै झस्केँ, मै दुखेँ, मै रेटिएँ। मेरो सपनाको महल भत्कियो। तिमी शृङ्खलामा पुग्ने उद्देश्यले विशृङ्खलित भयौ, म बिना उद्देश्य शृङ्खलाबाट विशृङ्खलित हुन पुगेँ।
फेरि कहिले बन्ला रोसी खोलाले बगाएको बाटो? कहिले जोडिएला मूलखोलाको भित्ताबाट खसेर फुटेको ऐना? कहिले हेर्न पाउँला मैले सग्लो ऐनामा त्यो यात्राले खजमजिएको आफ्नो अनुहार? फेरि कहाँ र कहिले भेटिएला त्यो गम्भीर अनुहार? अब कहिले सुनिएला त्यही कण्ठको सुमधुर गीत- बोलाऊँ भने तिमीलाई बात लाग्ने डर…?
तिमीले लेख्न नबिर्सनू भनेर सम्झाएको यो चिठी तिम्रो हातमा पर्ने वसन्त कुर्न म सकुँला कि नसकुँला? तिमीले बिर्सिगए पनि म त्यो अपूर्व संयोग अब कहिल्यै बिर्सन सकुँला कि नसकुँला?
उही पत्र-प्रेषक।