कुनै लहरामा झुन्डिँदै यो गहिरो कालीको वारपारका दुई पहाडको यात्रा गर्न सक्ने हो भन्ने कस्तो हुन्थ्यो होला? आकाशमा चराजस्तै उड्न पाउने हो भने कस्तो हुन्थ्यो होला? खस्दै गरेका ताराजस्तै आकाशको टुप्पाबाट चिप्लेटी खेलेर पृथ्वीमा खस्न पाउने हो भने कस्तो हुन्थ्यो होला?
सानै उमेरदेखि यस्तै यस्तै प्रश्नहरूले मथिंगल चराइरहन्थ्यो।
तीज र दसैँका बेलामा समीको रुखमा हालिने पिङ खेल्दा बाहेक यी पैतालाले जमिन छाडेनन्। छाड्ने कुरा पनि भएन। चरा भए पो आकाशमा उड्नु। तारा भए पो आकाशमा अडिनु।
पहिलो पटक जमिनभन्दा अलि अग्लो ठाउँमा खुट्टा राख्न पाएको भनेको काठमाडौँ जाने बस चढेको बेला हो। कुश्माको शिवालय चोकमा।
अनि पहिलो पटक आकाशको अनुभव गरेको काठमाडौँमा हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेको एउटा जहाज चढेर।
त्यो जहाजले पर्खन त कतिलाई पर्खेको थियो कुन्नि, तर मेरो मनले सोच्यो– यो जहाज बनेकै मलाई पहिलो पटक आकाशमा उडाउन हो। बादलको माथि-माथिको बाटो हुँदै कतै सुदूर पुर्याउनका लागि हो।
एकाबिहानै उठ्दा आँखै अगाडि धौलागिरि हिमाल सेतै फुल्थ्यो। माछापुच्छ्रे र अन्नपूर्ण हिमालले परेलामै छोइएजस्तै गरी स्पर्श गर्थे। चिसो बतासले गालामा थप्पड हान्थ्यो। मायाको मीठो थप्पड। नीलो आकाशले आँखाका नानी भरिएर शीतल पारिदिन्थ्यो। उदाउँदै गरेको रातो घामले छातीमा न्यानो पार्थ्यो। घर पल्तिरको कुवाको पानीले ज्यानलाई चंगा बनाउँथ्यो। आँगनमा रातभरि सुतेर भर्खर ब्युँझेको डोकोले मेरो जिन्दगी सम्झाउँथ्यो।
यो सबै गाउँमा हुँदाको कुरा हो।
यता यो मरुभूमिको जंगलमा कहाँ पाउनु हिमालको सौन्दर्य, कुवाको चिसो पानी र बतासको थप्पड?
जुगल हिमालको फेदबाट पहिलो पटक हवाईजहाज चढेर उड्ने बेला जिन्दगीमा नलागेको डर लाग्यो। यति डर त एसएलसीको रिजल्ट आएको दिन गोर्खापत्र हेर्दै गरेको बेला पनि लागेको थिएन। बा’को आस्कोटबाट एक सयको आइसी नोट चोरेर स्कुल गएको दिन पनि लागेकै थिएन। तर जहाजले एयरपोर्टको पल्लो छेउबाट रन लिन सुरु गर्दा मेरो मुटु भुकभुक गर्न लाग्यो। छाती पटपट चिरिन लाग्यो। मानौँ यो छाती हैन, हप्तौँसम्म कुलो लाउन नपाएको धानखेत हो।
ज्यानलाई कक्रक्क पार्दै, हातमा मुठी कस्दै त्यही डरलाई आफूभित्र गाँठो पारेर जहाजको सिटमा बसिरहेँ। जति डर लागे पनि निस्केर जानु पो कहाँ थियो र?
जहाजले काठमाडौँको माटो छोडेर आकाशको बाटो समाउँदै गर्दा साँझ छिप्पिन लागेको थियो। हिमालमा घाम रातो रंग लिप्न व्यस्त थियो।
पहिलो पटकको जहाजी यात्रा। केही जानेको छैन। तीन लाइनका सिट। बिचको लाइनका तीन सिटमध्येको पनि बिचकै सिटमा म पेटी बाँधेर बसेको थिएँ। मलाई त्यही पेटीले आकाशमा अड्याएजस्तो लाग्यो।
जहाजले उचाइ लिँदै गयो। मेरो मनमा पनि भय र शंकाको हिमाल चुलिँदै गयो।
अलिअलि हल्लिँदै जहाजले जमिनलाई धेरै तल पार्यो। आफू धेरै माथि पुग्यो।
टाउको अलिकति निहुराउँदै अलि परको झ्यालबाट बाहिर हेरेँ। लाग्यो– म चढेको जहाज स्वर्गको नजिकै छ। नत्र त धरती देखिनुपर्ने। हिमाल पनि कहाँ हो कहाँ तल पो छन् त।
डरले मुटु थरथर पार्न छाडेकै थिएन। घरीघरी जहाज हल्लिँदा अगाडिको सिटको सिरानको भाग समाएर धानिन्थेँ। मानौँ, मैले त्यसरी समाएकै भएर जहाज हल्लिन छाड्थ्यो। नत्र त कच्ची बाटोको बसजस्तै झल्ट्याङझुल्टुङ गरिरहँदो हो।
त्यसै बेला पिसाब लाग्यो। रोक्न खोजेँ। सकिन। गाह्रो भयो। लगाएकै पाइन्ट भिज्ला कि? डर भयो।
यताउति हेरेँ। पिसाब गर्ने ठाउँ देखिन।
सोचेँ– अब जहाज अर्को एयरपोर्टमा नपुग्दासम्म पिसाबलाई च्यापेर बस्नुको विकल्प छैन।
त्यसै बेला आइपुग्यो– पेय पदार्थ।
चिसो पिउँदा पिसाबको जोखिम झनै बढ्ने सोचेर नाइँ गरेँ। मलाई तिर्खाभन्दा प्यारो पिसाब थियो।
मेरो छेउमा थियो मेरै उमेर बराबरको केटो। चिसो लिएर आउनेलाई हिन्दी भाषामा खै के पो भन्दै थियो। खासै बुझिनँ। निकै बेरसम्म केही बोलचाल भएन। साथमै भएको भए पनि आँखा जुधे तर मुखको साइनो मिलेन।
त्यति बेलासम्म झ्यालबाट हिमाल देखिन छोडेका थिए। बाहिर अँध्यारो भैसकेको थियो।
त्यसै बेला त्यही केटोले मलाई एउटा इसारा गर्यो। दाहिने हातको कान्छी औँला उठाउँदै अरू औँलालाई निहुराएर बुढी औँलाले थिच्यो।
बुझेँ– उसलाई पनि पिसाब लागेछ।
त्यतिसम्म कतै देखेर संकेत बुझ्ने भएको थिएँ।
टाउको हल्लाएँ। आफूलाई पनि पिसाब लागेको संकेत गरेँ।
कम्मरमा बाँधेको पेटी खोलेर ऊ सिटबाट निस्क्यो।
ऊ कता जान्छ भनेर उसकै चियो गर्न लागेँ।
सरासर जहाजको पछाडि गयो। अन्तिम सिटको पछिल्लो भागमा केही कुराले पार्टेशन गरेको भित्तो लगाएजस्तो देखियो। उसले त्यसकै भित्तोजस्तोमा केही थिच्यो। भित्र पस्यो।
आफ्नो सिटबाट मुन्टो घुमाएर मैले यो सबै हेरिरहेको थिएँ।
एकछिन हेरिरहेँ। मैले त्यसरी मुन्टो बटारेर पछाडि फर्केको देखेर अरू धेरै यात्रुले मलाई क्वारक्वारती हेरेको जस्तै लाग्यो।
एकछिनमा मेरो सहसिटधारी साथी त्यहाँबाट बाहिर निस्क्यो। आफ्नो सिटमा आएर फेरि पेटीले कम्मर बाँध्यो।
जानी नजानी सोधेँ– पिसाब है क्या?
हाँ। उसले यत्ति भन्यो।
अब भने मलाई प्रस्ट भयो– ऊ पाइखाना गएको थियो। पिसाब गरेर फर्किएको थियो।
त्यो बुझाइले मलाई दिनु राहत दियो। ज्यान आकाशको बादलजस्तै हलुका भयो। म पनि त्यतै लागेँ।
ढोकामा उभिएँ। ढोका खोल्न जानिनँ। धेरै बेर उभिइरहेँ मात्रै। ढोका खोल्ने चुकुल कतै देखिनँ।
त्यही बेला जहाजको एउटा केटो आयो।
‘टु पी?’ भनेर सोध्यो।
‘यस,’ यत्ति भनेर उसको प्रश्नबाट तर्किएँ। सायद उसले पिसाबकै कुरा गरेको होला भनेर यस भनेको थिएँ। नत्र त पी भनेको अर्थ बुझ्न मलाई अरबमा एक हप्ता लागेको थियो।
उसले खै कुन्नि कुन एउटा बटन थिच्यो। ढोका खुल्यो। भित्र पसेँ।
भित्र त पसेँ।
काम पनि सकियो। तर निस्कने कसरी? फेरि अलमल्ल परेँ।
पिसाब गरेर ढोकाको भित्र रहेका बटनजस्ता संकेत हेर्दै सोचिरहेँ। जे त होला भनेर एउटा हरियो बटन थिचेँ। ढोका खुल्यो।
गाउँमा गुन्द्रीको ढोका लगाएको आफ्नो पाइखाना सम्झिएँ।
सोचेँ–जहाजमा त यस्तो हुँदो रहेछ।
आफ्नो सिटमा आइपुगेको थिएँ। खानेकुरा भएको बट्टा बोकेर एउटी केटी आइपुगेकी थिई। सिटमा बसेँ। पेटी बाँधेँ। अनि उसको हातबाट एउटा प्याकेट लिएँ।
लिन त लिएँ, तर के हो भन्ने कुराको थाहा थिएन। थाहा पाएको भनेको दाहिने छेउकाले प्याकेट खोलेपछि मात्रै हो।
अघिल्लो सिटको पिठ्यूँमा पर्ने गरी टेबल हुँदो रहेछ। अरूले के गर्छन् भन्ने कुरा ख्याल गर्दै मैले पनि त्यस्तै गरेँ। एउटा सानो टेबल मेरो अगाडि बस्यो। अडियो। हातको प्याकेटलाई त्यही सिटमा राखेँ। अरूले जस्तै गरी प्याकेट खोलेँ।
प्याकेटभित्र खानेकुरा थियो। गाउँमा आँटो र ढिँडो मात्रै खाँदै काठमाडौँ पुगेको म। थालमा पस्केर हातले मुछ्दै खाने केटो म। त्यो प्याकेटको कुरा खाने तरिका जान्दै जानिनँ।
आफैँलाई लाज लाग्यो।
छेउको त्यही काले केटोलाई हेरेँ। ऊ पनि म जस्तै थियो। पल्याकपुलुक यताउति हेरिरहेको थियो। यताउतिका अरूलाई हेरेँ। उनीहरूकै सिको गर्दै पहिलो पटक जहाजको खाना खाएँ।
पिसाब लाग्दा त के भएको थियो र? आफूलाई पिसाबले च्यापेको कुरा अरूलाई थाहा हुने कुरा थिएन। तर आफ्नै अगाडि भएको खाने कुरा खान नजान्दा लाज लाग्दो रहेछ। जसोतसो लाज बचाएँ।
यसरी जहाजको पहिलो पिसाब र पहिलो खानाको अनुभव गरेँ।
दायाँबायाँको सिटमा भएका दुवैसँग बोलचाल थिएन। नबोलेरै आकाशबाट कति देश तरेको थिएँ कुन्नि?
प्लास्टिकको चम्चाले प्याकेटको कुरा खाएँ। अनि यताउति हेरेँ– त्यो प्याकेट राख्ने ठाउँ खोजेँ। देखिनँ। अघिल्लो दिन काठमाडौँ आउँदा बसमा बिचको कोरिडोरमा डस्टबिन थिए। चाउचाउका प्लास्टिक त्यही डस्टबिनमा राखिदिएको थिएँ। जहाजमा त डस्टबिन पनि हुँदो रहेनछ। मनमनै सोचेँ।
रित्तो भएको प्याकेटलाई त्यही टेबलमा राख्दै फेरि आँखा यताउति दौडाउन लागेँ। त्यही बेला तिनै प्याकेट बटुल्न भन्दै जहाजका केटा आइपुगे। इसाराले प्याकेट मागे। छेउको अपरिचित यात्रुले दिएपछि मैले पनि उसकै नक्कल गरेँ।
फेरि उसकै नक्कल गर्दै अगाडिको टेबललाई मोडेँ। गाउँमा गुन्द्री बटारेर दैलाका कुनामा ठडाउँथ्यौँ। त्यहाँ त्यो जहाजी टेबललाई पट्याउँदै अघिल्लो सिटको ढाडमा अड्याइदिएँ।
पिसाब, खाना र डस्टबिन सम्झेर आफैँलाई लाज लाग्यो। यति कुरा पनि किन विदेश गएर फर्केकाहरूलाई नसोधेको होला भन्ने कुराले मन अमिलो बनायो।
फेरी सम्झेँ– मलाई विदेश उडाइदिएको त्यो म्यानपावरवालालाई।
कमसेकम जहाजभित्रका कुरा सिकाएर पठाइदिएको भए त्यो म्यानपावरवालाको के जान्थ्यो र? मनमनै म्यानपावरवालालाई गाली गरेँ। गाली गरेको कसैले सुन्ने कुरा भएन। मनमा आए जतिका शब्दले गाली गरेँ। गाउँमा बोल्ने गालीका शब्द प्रयोग गरेरै मन गुन्जियो।
विज्ञानको यत्रो चमत्कार बनेको जहाजभित्र आफूलाई त्यही फलामखानीको पाखे केटाको रूपमा जहाजको सिटमा पेटीले बाँधेर बाँकी समय आँखा चिम्लिएँ।
अब अरू नझर्ने बेलासम्म म केही गर्दिनँ। मनमनले सोचिरहेँ।
जबरजस्ती आँखाका परेला एक आपसमा खप्टिरहेँ।
(लेखक महाशिला गाउँपालिका, पर्वतका प्रमुख प्रशासकीय अधिकृत हुन।)