राजनीति
सत्ताको खेल मात्र होइन
एक अदृश्य युद्ध हो
जहाँ गोली चल्दैन
तर निर्णयहरू
मानिसको भाग्यमा विस्फोट हुन्छन्
त्यही युद्धको बिचमा
ऊ उभिन्छे बलियो युद्धसेना
उसका हातमा न त बन्दुक छ
न कुनै झन्डाको अन्धो विश्वास
उसले बोकेकी छ
प्रश्न गर्ने साहस
उसको शत्रु
कुनै दल वा कुनै व्यक्ति होइन
स्वार्थको त्यो मौन जाल हो
जसले सत्यलाई
सुविधाअनुसार मोड्छ
ऊ जान्दछे
राजनीति बाहिर जितेर केही हुँदैन
यदि भित्रको लोभ
अझै जिउँदै छ भने
त्यसैले
ऊ सडकमा मात्र होइन
आफ्नै चेतनामा पनि आन्दोलन गर्छे
जहाँ हरेक निर्णयअघि
ऊ आफैँसँग सोध्छे
‘यो शक्ति हो कि सेवा?’
उसको युद्ध
कुर्सीका लागि होइन
कुर्सीको अर्थका लागि हो
किनकि
कुर्सी बदलिँदा देश बदलिँदैन
चेतना बदलिँदा मात्र
इतिहास मोडिन्छ
ऊ हार्छे पनि
कहिलेकाहीँ, भीडको स्वरमा
उसको सत्य दबिन्छ
तर ऊ थाक्दिन
किनकि ऊ बुझ्छे
सही कुरा
ढिलो सुन्ने गरिन्छ
तर गहिरो बस्छ
अनि एक दिन
जब राजनीति
फेरि परिभाषित हुन्छ
त्यो दिन
विजय कुनै पार्टीको हुँदैन
तर
मानवताको हुन्छ
र त्यहाँ
युद्धसेना
नेता भएर होइन
एक सचेत आत्मा भएर उभिन्छे
जसले सिकाउँछ
सबैभन्दा ठुलो क्रान्ति
बाहिर होइन
भित्रको इमानदारी हो
ऊ युद्धसेना हो
महिला शक्तिकी प्रतीक
र
नारीहरू भित्र पितृसत्ताका लागि
बल्ने अग्निकी ज्वाला
ऊ आफैँमा राज्य हो
ऊ आफैँमा राजनीति हो
र आफैँमा राजमाता...